काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन | Khabarhub Khabarhub

काठमाडौं टावर विवाद

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने- निर्णय अनुमोदन गरेको हुँ, अनियमितता गरेको छैन

मेयरको सचिवालयले भ्रष्टाचारी भन्दै हिँडेकोमा आपत्ति


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुरानो बसपार्कस्थित काठमाडौं टावरको विवादमा आफ्नो चरित्र हत्या भएको काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले बताएका छन् । उनले आफू आउनुभन्दा पहिलै नै भसकेका निर्णयहरूलाई अनुमोदन मात्रै गरेको दाबी गरेका । ‘कुनै अनियमितता गरेको छैन’, उनले भने, ‘मेरो चरित्र हत्या गरिएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पछिल्लो समय आफूमाथि कपोलकल्पित र भ्रामक सूचनाका माध्ययमबाट निरन्तर आरोप र पिप्पणी हुन थालेपछि बाध्य भएर मुख खोलेको बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौं टावर नक्सा पासको विषयलाई जोडेर आफूलाई लगाइँदै आएको आरोपमा कुनै सत्यता नभएको बताए ।

‘मैले पहिला भएका निर्णयहरू अनुमोदन र ‘इन्डोर्स’ मात्रै गरेको हो । नक्सा स्वीकृत गर्ने बेलामा पनि प्रष्टसँग त्यही उल्लेख गरेको छु,’ गुरागाईंले भने, ‘म फेरि पनि भन्छु, मैले पहिलेका निर्णयलाई निरन्तरता मात्रै दिएको हो । त्यसमा मेरो दोष छैन । सम्बन्धित निकायले मेरो कमजोरी देखाएर नियम, कानुन र प्रक्रियामा दोषी प्रमाणित गरे कारबाही भोग्न तयार छु तर अहिले जुन ढङ्गबाट लाञ्छना लगाउने काम भएको छ, त्यो गलत छ ।’

नक्सा पाससँग सम्बन्धित कागजातले के भन्छ ?

प्रमुख प्रशासकीय अधिकृतले भनेजस्तै काठमाडौं टावरको नक्सा स्वीकृतिको कागजपत्र प्रक्रियागत रुपमा अघि बढेको देखिएको छ ।

तत्कालीन प्रशासन विभागले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई सम्बोधन गरेर फाइल उठाएको थियो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले हस्ताक्षर गरेर उक्त फाइल मेयर बालेन्द्र साहकहाँ पुगेपछि २०८० पुस २ गते पाँच लाख जरीवानासहित स्वीकृत गरेको देखिन्छ ।

२०८० मङ्सिर २७ गते मेयर साहलाई पठाएको फाइलमा भनिएको छ, ‘नगर प्रमुखज्यू पेश भएबमोजिम जरिवाना तोक्न निर्णय प्रस्तुत गरेको छु।’ त्यही फाइल प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले स्वीकृत गरेको देखिन्छ ।

गुरागाईंले स्वीकृत गरेको फाइलमा समेत ‘मिति २०८०/९/०२ गतेको श्रीमान् नगर प्रमुखज्यूले रु ५, ००००० (पाँच लाख) जरिवाना गर्ने निर्णय र मिति २०८०/९/०५ गतेको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीज्यूको कानुनअनुसार नक्सा स्वीकृतका लागि पेश गर्ने भन्ने आदेश अनुसार नक्सा स्वीकृत’ भनेर उल्लेख गरिएको छ ।

गुरागाईंले काठमाडौं टावरका सन्दर्भमा निर्णय भइसकेको विषयमा प्रमाणपत्र मात्रै दिएको दोहोर्‍याएका छन् । आफूमाथि लगाइएका आरोपको खण्डन विगतमा पनि समाचारहरूबाटै भइसकेको भन्दै पटक–पटक आफूमाथि किन प्रहार भइरहेको छ त्यो राजनीति बुझ्न नसकेको उल्लेख गरे ।

प्रशासन विभागका तर्फबाट ०८० मङ्सिर २७ मै प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै पठाएको फाइलको ९ नम्बर बुँदामा भवन निर्माणअवधि पाँच वर्ष भनी उल्लेख भएको हुँदा हालसम्म सुपर स्ट्रक्चर बनाउन अनुमति माग भएको र हालसम्म अनुमति नदिएको हुँदा सुपर स्ट्रक्चर नक्सापास गरिदिने आधारमा निर्माण गर्ने अवधि कायम गर्ने र नक्सापास गरेको मितिलाई आधार मानी निर्माण अवधि तोक्ने र हाल स्वीकृतिका लागि पेश गरेको नक्सा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३८ को अवधि रही श्रीमान् प्रमुख प्रशासकीय अधिकृतज्युबाट नक्सा पास हुनुपर्ने उल्लेख छ ।

त्यस्तै बुँदा नम्बर १० मा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५० अनुसार श्रीमान् प्रमुखज्यूबाट जरिवाना गरी स्वीकृत गर्न उपयुक्त हुने भन्ने उल्लेख छ ।

त्यसैगरी ११ नम्बर बुँदामा साविकमा पेश भएको भवनको नक्सा र हाल निर्माण भएको भवनमा मापदण्डको प्रतिकूल नहुने भएकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३५ बमोजिम प्रमुख प्रशासकीय अधिकृतज्यूले स्वीकृति गरी अनुमति दिने भन्ने उल्लेख छ ।

‘मेयर सा’बको सचिवालयकै हवला दिँदै केही सञ्चार माध्ययममा आएका समाचारप्रति पनि मेरो गम्भीर गुनासो छ,’ गुरागाईंले भने । छानबिन समितिले समेत आफ्नो दोष देखाउन नसक्नुले अरोप लगाए जस्तो आफू दोषी नभएको तर्क उनको छ ।

मेयर साहले २०८० पुस २ गते ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकोइ जेभीलाई पाँच लाख रूपैयाँ जरिवाना तोकेका थिए । काठमाडौं टावरको नक्सा स्वीकृति दिने निर्णयमा स्वयम् मेयर साहले नै हस्ताक्षर गरेका थिए ।

‘नियम अनुसार नक्सा पास गरेपछि त्यो टावर अरू थप ९ वर्ष अर्थात् ३९ वर्षसम्म प्रयोग गर्न पाउने बाटो खुला गरिदिएको भन्ने हुन्छ,’ एक कर्मचारीले भने, ‘भ्रष्ट्राचारी भनेर अरुलाई दोष देखाए पनि यो प्रकरणमा समेत मेयरको नै साहको पनि कमजोरी देखिन्छ । त्यसैले यो प्रकरणमा अख्तियार र सीआईबीले समेत गम्भीरताका साथ अनुसन्धान अघि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

बजेट रोकिनु हुँदैन

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले टावरको विषयले बजेट रोकिन नहुने बताएका छन् । उनले आफ्ना तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताए ।

‘म बजेट आउनुपर्छ भन्नेमा छु । मेयर सा’ब तथा उपमेयरज्यू र जनप्रतिनिधिका निर्णयहरूमा बाधक बन्दिनँ भनेर मैले भन्दै आएको छु,’ गुरागाईंले भने, ‘तर, अहिले जुन ढङ्गले बजेटसँग टावरको विषयलाई जोडिएको छ त्यो जोड्नुपर्ने कारण छैन भन्ने लाग्छ । कसैले ‘तँ भ्रष्टाचारी हो भनेर भन्ने बितिक्कै ऊ भ्रष्टाचारी हुँदैन ।’

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले आफू नरहेका बेला पनि लामो समयदेखि बैठक नबसेको बताए ।

‘व्यक्ति तोकेर तँ भ्रष्टाचारी हो भनेर त्यसरी तोक्न मिल्ला ? त्यो विषय आधिकारिक निकायले भन्ने कुरा होला नि,’ उनले भने, ‘त्यसरी व्यक्तिको चरित्रहत्या गर्ने कुरा गलत छ । यदि तपाईंलाई कसैले बिनाप्रमाण चरित्र हत्या गर्छ भन्ने त्यसलाई ठिक भन्न सक्नुहुन्छ ? मैले अहिलेसम्म मेयर सा’बबामा केही भनेको छैन । अनि मेयरको सचिवालयको हवला दिँदै मलाई आरोप लगाउने कुरा कसरी ठिक हुन्छ ? मलाई भ्रष्टाचारी करार गर्ने निकाय उहाँको सचिवालय त होइन होला नि ? आधिकारिक निकाय हुन्छ होला ? उसले मेरोबारे छानबिन गरिरहेको होला नि ?’

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : ५६ बजे

पाटन दरबारको ऐतिहासिक घण्ट जीर्ण अवस्थामा

ललितपुर– विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरको पाटन दरबार स्क्वायरमा मल्लकालीन

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

भोजपुर– अभिभावकविहीन तथा अतिविपन्न २२ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ

आँबुखैरेनीमा चेपाङ समुदायका छात्रछात्रालाई निःशुल्क शिक्षा

तनहुँ– आबुखैरेनी गाउँपालिका–५ खोलागाउँका अमृत प्रजा (चेपाङ)ले छात्रवृत्तिमा कक्षा १२

थारू समुदायले आज अटवारी पर्व मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ– पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी

विभाग सक्रिय भएपछि बढ्यो देउवाको सक्रियता, दिन बिराएर पुग्छन् सानेपा

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूमाथि लामो समयदेखि लाग्ने आरोपमध्येमा पर्छ– घरमै