निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न « Khabarhub

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । 

राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिए ।

उनका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो । हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुनिलबाबु पन्तले जानकारी दिए । उनका अनुसार डाइभर्सन मर्मतपछि निर्माण सुचारु गरिएको हो । 

‘पन्ध्र मिटर लम्बाइ र छ दशमलव पाँच मिटर उचाइ रहेको यो क्रसिङ संरचनाको निर्माण लागत रु तीन करोड ३९ लाख ५८ हजार रहेको छ । हालसम्म एक करोड ५२ लाख रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ’, उनले भने ।

चाराली क्षेत्र वरिपरि रहेका सामुदायिक वन, नेपाली सेनाको वन संरक्षण इकाइ र खुला सिमाना भएर भारततर्फबाट आउने जङ्गली जनावरहरूको आवागमनका कारण यो क्षेत्र वन्यजन्तु–मानव द्वन्द्वको उच्च जोखिममा परेको छ । 

पछिल्ला केही वर्षयता हात्ती, चितुवा र बाघको आक्रमणबाट ३० जनाको ज्यान गइसकेको इञ्जिनीयर पन्तले उल्लेख गरे । उनका अनुसार हात्तीको आक्रमणबाट मात्रै झापा र मोरङका बस्तीमा ठूलो जनधनको क्षति पुगेको छ ।

जिल्लास्थित डिभिजन वन कार्यालयका अधिकृत ऋषि तिम्सिनाका अनुसार मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रमा बाँदर र हात्तीको समस्या रहँदै आएको छ भने उत्तरी झापामा चितुवा र बाघको आतङ्क देखिएको छ ।

स्थानीयवासी तथा वन अभियन्ताहरूका अनुसार यस प्रकारको संरचनाले वन्यजन्तुका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न सहयोग गर्नेछ । बिर्तामोड–७ का वन अभियन्ता बद्री प्याकुरेलले हात्ती जोगाउन विगतमा लगाइएका ‘फेन्सिङ’ तारहरू पूर्ण प्रभावकारी नदेखिएको बताए ।

उनले सभामुख देवराज घिमिरेको पहलमा लगाइएको तारले केही हदसम्म काम गरे पनि हालको समस्या समाधान गर्न अझ प्रभावकारी संयन्त्र आवश्यक रहेकामा जोड दिए । 

चाराली क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बद्री महतले राजमार्ग दुवैतर्फ सामुदायिक वन रहेकाले वन्यजन्तुको सहज आवागमनका लागि एलिफेन्ट क्रसिङ अत्यन्त उपयोगी हुने धारणा राखे ।

उनले भने, ‘यो संरचनाले वन्यजन्तुको सुरक्षा मात्र होइन, मानवीय क्षति न्यूनीकरणमा पनि योगदान पुर्‍याउने विश्वास छ ।’

हात्ती अभियन्ताका रूपमा परिचित बाहुनडाँगीका अगुवा अर्जुन कार्कीले हात्तीको आक्रमणलाई द्वन्द्वका रूपमा मात्र हेर्न नहुने बताउँदै वन्यजन्तुको संरक्षण र व्यवस्थापनमार्फत समुदायमा रोजगारी र आम्दानी सृजना गर्ने सम्भावनालाई पनि ध्यानमा राख्नुपर्नेमा जोड दिए ।

उनले खुल्ला सिमानाबाट नेपाल प्रवेश गर्ने हात्तीहरूको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

एसियन राजमार्गअन्तर्गत निर्माणाधीन उक्त एलिफेन्ट क्रसिङले दीर्घकालीन रूपमा वन्यजन्तु व्यवस्थापन र पूर्वी झापा क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रासस
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : १६ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४