निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न « Khabarhub

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न


२२ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड– एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ । 

राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिए ।

उनका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो । हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुनिलबाबु पन्तले जानकारी दिए । उनका अनुसार डाइभर्सन मर्मतपछि निर्माण सुचारु गरिएको हो । 

‘पन्ध्र मिटर लम्बाइ र छ दशमलव पाँच मिटर उचाइ रहेको यो क्रसिङ संरचनाको निर्माण लागत रु तीन करोड ३९ लाख ५८ हजार रहेको छ । हालसम्म एक करोड ५२ लाख रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको छ’, उनले भने ।

चाराली क्षेत्र वरिपरि रहेका सामुदायिक वन, नेपाली सेनाको वन संरक्षण इकाइ र खुला सिमाना भएर भारततर्फबाट आउने जङ्गली जनावरहरूको आवागमनका कारण यो क्षेत्र वन्यजन्तु–मानव द्वन्द्वको उच्च जोखिममा परेको छ । 

पछिल्ला केही वर्षयता हात्ती, चितुवा र बाघको आक्रमणबाट ३० जनाको ज्यान गइसकेको इञ्जिनीयर पन्तले उल्लेख गरे । उनका अनुसार हात्तीको आक्रमणबाट मात्रै झापा र मोरङका बस्तीमा ठूलो जनधनको क्षति पुगेको छ ।

जिल्लास्थित डिभिजन वन कार्यालयका अधिकृत ऋषि तिम्सिनाका अनुसार मेचीनगर, अर्जुनधारा, भद्रपुर, बिर्तामोडलगायत क्षेत्रमा बाँदर र हात्तीको समस्या रहँदै आएको छ भने उत्तरी झापामा चितुवा र बाघको आतङ्क देखिएको छ ।

स्थानीयवासी तथा वन अभियन्ताहरूका अनुसार यस प्रकारको संरचनाले वन्यजन्तुका लागि सुरक्षित मार्ग सुनिश्चित गर्न सहयोग गर्नेछ । बिर्तामोड–७ का वन अभियन्ता बद्री प्याकुरेलले हात्ती जोगाउन विगतमा लगाइएका ‘फेन्सिङ’ तारहरू पूर्ण प्रभावकारी नदेखिएको बताए ।

उनले सभामुख देवराज घिमिरेको पहलमा लगाइएको तारले केही हदसम्म काम गरे पनि हालको समस्या समाधान गर्न अझ प्रभावकारी संयन्त्र आवश्यक रहेकामा जोड दिए । 

चाराली क्षेत्रमा बसोबास गर्ने स्थानीयवासी बद्री महतले राजमार्ग दुवैतर्फ सामुदायिक वन रहेकाले वन्यजन्तुको सहज आवागमनका लागि एलिफेन्ट क्रसिङ अत्यन्त उपयोगी हुने धारणा राखे ।

उनले भने, ‘यो संरचनाले वन्यजन्तुको सुरक्षा मात्र होइन, मानवीय क्षति न्यूनीकरणमा पनि योगदान पुर्‍याउने विश्वास छ ।’

हात्ती अभियन्ताका रूपमा परिचित बाहुनडाँगीका अगुवा अर्जुन कार्कीले हात्तीको आक्रमणलाई द्वन्द्वका रूपमा मात्र हेर्न नहुने बताउँदै वन्यजन्तुको संरक्षण र व्यवस्थापनमार्फत समुदायमा रोजगारी र आम्दानी सृजना गर्ने सम्भावनालाई पनि ध्यानमा राख्नुपर्नेमा जोड दिए ।

उनले खुल्ला सिमानाबाट नेपाल प्रवेश गर्ने हात्तीहरूको उचित व्यवस्थापन गर्न तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।

एसियन राजमार्गअन्तर्गत निर्माणाधीन उक्त एलिफेन्ट क्रसिङले दीर्घकालीन रूपमा वन्यजन्तु व्यवस्थापन र पूर्वी झापा क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । रासस
 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  २ : १६ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण