काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जारी केन्द्रीय कार्यसमिति बैठकमा १० बुँदे कार्ययोजना पेश गरेका छन् ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार जारी केन्द्रीय कार्यसमिति बैठकमा नेता आचार्यले पार्टी सुदृढीकरण, संगठनात्मक सुधार, संविधान संशोधन र जनपक्षीय सरकार सञ्चालनका लागि १० बुँदे कार्ययोजना प्रस्तुत गरेका हुन्।
उनले संगठन सुदृढीकरणसँगै पार्टीको वैचारिक, नीतिगत र कार्यशैलीगत रूपान्तरण अपरिहार्य भएको भन्दै कांग्रेसले ‘जनतासँग एकाकार’ हुने अभियान तत्काल सुरू गर्नुपर्ने बताए ।
उनले आगामी १५ औँ महाधिवेशनको कार्यतालिकाको खाका पनि बैठकमा प्रस्तुत गरेका छन् ।
१. महाधिवेशन कार्यतालिका :
नेता आचार्यले पार्टीको १५ औँ महाधिवेशन २०८२ चैत मसान्तसम्म सम्पन्न गर्ने कार्यतालिका बैठकमा प्रस्ताव गरेका छन् ।
आगामी कात्तिक मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउने
मंसिरभित्र वडा–पालिका अधिवेशन सक्ने
पुस, माघ, फागुनमा बाँकी तहको अधिवेशन सक्ने
चैतमा केन्द्रीय महाधिवेशन आयोजना गर्ने
२. विधान संशोधन समिति :
पार्टी विधान परिमार्जनका लागि तत्काल ‘विधान संशोधन सुझाव मस्यौदा समिति’ गठन गर्नुपर्ने प्रस्ताव पनि उनले गरेका छन् ।
३. एमालेसँगको गठबन्धनको समीक्षा
नेता आचार्यले नेकपा एमालेसँगको गठबन्धनको समीक्षा हुनुपर्ने बताएका छन् । उनले जनतासँगको प्रतिवद्धता कार्यान्वयनबारे पनि उनले प्रस्ताव गरेका छन् । वर्तमान गठबन्धनको कार्यसम्पादनमाथि मध्यावधि समीक्षा हुनुपर्ने उनको तर्क छ ।
शिक्षक, किसान, सुकुम्वासी, मिटरब्याजी पिडितहरूसँग गरिएका सम्झौताहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न पनि उनले माग गरेका छन् ।
संविधान संशोधनबारे पार्टीभित्र आन्तरिक बहस चलाएर ठोस प्रस्ताव तयार गर्न ‘संविधान संशोधन सुझाव समिति’ गठनको प्रस्ताव आचार्यले गरेका छन् ।
४. सर्वोच्चको फैसलामाथि पार्टी धारणा :
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मा संसद् विघटन गरेपछि बहुमतका आधारमा संवैधानिक निकायका ५२ पदमा गरेको नियुक्तिसम्बन्धी सर्वोच्च अदालतको पछिल्लो फैसला संविधानको मर्मविपरीत रहेको उनले ठहर गरेका छन् । यसबारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने माग उनले गरेका छन् ।
५. भ्रातृ संस्थाको अधिवेशन
नेता आचार्यले भ्रातृसंस्थाहरू अधिवेशनमा अभावमा लथालिङ्ग भएको कुरा पनि उठाएका छन् । हरेक २ वर्षमा तय मितिमा अधिवेशन सम्पन्न गर्ने र सफ्टवेयर प्रणालीमार्फत् प्रत्यक्ष निर्वाचनको प्रस्ताव पनि उनले गरेका छन् ।
६. कार्यकाल घटाउने प्रस्ताव :
नेता आचार्यले पार्टीका सबै तहको कार्यकाल ४ वर्षबाट घटाएर ३ वर्ष कायम गर्नुपर्ने प्रस्ताव पनि बैठकमा गरेका छन् ।
७. सुशासन र सुसंस्कार निर्देशिका :
पार्टीभित्र पनि सुशासन अभियान सञ्चालन गरी ‘नेपाली कांग्रेस सुशासन र सुसंस्कार निर्देशिका’ जारी गर्ने प्रस्ताव पनि उनले बैठकमा राखेका छन् ।
८. विभाग गठन :
नेपाली कांग्रेसका बाँकी सबै विभाग तुरुन्त गठन गरी प्रत्येकमा कम्तीमा एक-तिहाई युवापुस्ता (१८-३० वर्ष) र विज्ञहरूको सहभागिता सुनिश्चित गर्नुपर्ने माग पनि उनले राखेका छन् ।
९. भ्रष्टाचारविरुद्ध अभियान :
‘कोही अपराधी नउम्किउन, निर्दोष नफसुन्’भन्ने कांग्रेसको प्रतिवद्धतालाई अझ प्रखर बनाउँदै भ्रष्टाचारलाई तिरष्कार गर्ने स्पष्ट आह्वान पार्टीले गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
१०. दुई राष्ट्रिय अभियानको प्रस्ताव :
चितवन विशेष अभियानको अनुभवका आधारमा दुईवटा व्यापक अभियान सञ्चालनको प्रस्ताव पनि उनले गरेका छन् ।
(क) आन्तरिक मेलमिलाप तथा एकता अभियान
(ख) जनताको सरोकार, जनतासँग एकाकार अभियान
नेता आचार्यले प्रस्तुत गरेका सुझावहरूमा पार्टीभित्र संगठनात्मक रूपान्तरणका साथै जनअपेक्षा सम्बोधनमा कांग्रेसले अग्रसर भूमिका खेल्नुपर्ने आवश्यक रहेको औँल्याइएको छ ।
आगामी १५ औँ महाधिवेशनलाई सफल बनाउने, संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र जनजीविकाका सवालमा ठोस धारणा र कार्ययोजना निर्माण गर्न उनले नेतृत्वलाई भनेका छन् ।
प्रतिक्रिया