ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो | Khabarhub Khabarhub

ओलीले हरियो झन्डा नदेखाएपछि अन्तिममा खनालको बाटो फेरियो

वाम एकताको प्रस्तावमा ओलीले भने- ‘म कसैलाई वाम नै देख्दिन’ 



काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेकपा (माओवादी केन्द्र)सहित १० पार्टी एकताको पक्षमा उभिएसँगै पार्टीका कार्यकर्ता, शुभेच्छुक र मतदाताले शंकाको दृष्टिले हेरेका छन् ।

विचार मिल्नेसँग कार्यगत एकता गरेर मोर्चा गठन गरेर अगाडि बढ्ने बताइरहेका खनाल एकाएक बुधबार बिहान माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादी र अन्य दलबीच भएको एकतामा सामेल भएपछि शुभचिन्तक आश्चर्यमा परेका छन् । अघिल्लो रात भक्तपुर गुन्डु पुगेर नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसँग बसेका खनाल उज्यालो हुँदा एकताको पक्षमा देखिएपछि यसले एकतामा सहभागी नेता तथा कार्यकर्ता आश्चर्यमा परेका हुन् ।

अहिलेको पार्टी गलत नेतृत्वका कारण बन्न नसकेको भन्दै निरन्तर आवाज उठाइरहेका खनाल किन माओवादीसहित आठ दलको एकतामा गए ? एमाले अध्यक्ष ओलीले स्वागतका लागि हरियो झन्डा नदेखाउनु नै खनाल एकतामा सहभागी हुनुको पहिलो कारण बनेको छ । ओलीसँग लामै गफ गर्दा पनि खनाललाई सम्मानसहित स्वागत गर्ने संकेत ओलीले नगरेको खनाल स्वयम्ले स्वीकार गरेका छन् । यता प्रचण्डले तेस्रो वरीयताका लागि नेता तयार भएको बताएपछि खनाल एकतामा खुशीसाथ सहभागी भएका हुन् ।

ओलीसँगको त्यो भेट

खनाल र एमाले अध्यक्ष ओलीको गुण्डुमा मङ्गलबार दुई घण्टा लामो भेटघाट भएको थियो। खनालका अनुसार ओलीले नै भेट्न बोलाएर उनको निवासमा पुगेका थिए। भेटका क्रममा राजनीतिक गफगाफ भन्दा पनि ओलीले खनालकी पत्नीको स्वास्थ्य अवस्थाका विषयमा बुझेका थिए। जेनजी आन्दोलनमा घाइते भएकी खनाल पत्नी अहिले भारतमा उपचार गरिरहेकी छिन् । 

खनाल र एमाले अध्यक्ष ओलीको गुण्डुमा मङ्गलबार दुई घण्टा लामो भेटघाट भएको थियो। खनालका अनुसार ओलीले नै भेट्न बोलाएर उनको निवासमा पुगेका थिए।

ओलीलीसँगको भेट सुमधुर रहेको खनाल बताउँछन् । ‘ओली कमरेडले मलाई राम्रो रेस्पोन्स गर्नुभएको थियो । तर म उहाँले बोलाएर भेट्न गएको हो । मसँग कटुता रहेन । जहाँ भए पनि कम्युनिस्ट आन्दोलन एक बनाऊ भन्नुभएको छ’, खनालले खबरहबलाई भने, ‘हाम्रो बीचमा खासै राजनीति गफ भएन । पार्टीमा आउँ मिलाैँ भन्नुभएको होइन ।’

खनालले वाम एकता हुन ओलीलाई आग्रह गर्दा त्यसलाई भने ओलीले अस्वीकार गरेको बताए।

भेटमा ओलीले एमाले मात्र असली कम्युनिस्ट र वाम पार्टी रहेको दाबी गरेका थिए। ओलीले यसो भन्दा अन्य पार्टीलाई झटारो हानेको देखिन्छ। 

ओलीसँग भएको कुराकानी शेयर गर्दै खनालले भने, ‘मैले वाम एकता गरौँ भने। उहाँले म कसैलाई वाम नै देख्दिन, कहाँको एकता गर्नु। एमाले बाहेक वाम भन्ने पार्टी छ र नेपालमा ? को सँग एकता गर्नु र ?’ 

खनाल राजनीति भन्दा पनि अन्य कुरा गर्न ओलीको निवास पुगेको बताउँछन्। ‘म उहाँसँग राजनीति गफ भन्दा पनि श्रीमतीमाथि भएको आक्रमणमा मलाई साथ दिएको कारण गएको हुँ।’ 

ओलीले खनाललाई एमाले घर हो यहाँ आएर सहयात्रा गरौँ नभनेको खनाल स्वीकार गर्छन्। न्। यसबारे उनले भने, ‘आउनु यात्रा सँगै गरौँ भन्नुभएन। किनकि उहाँलाई थाहा छ म यस्तो कुरामा सहमत हुन्न्।’ 

ओलीले आत्मालोचना नगरेपछि 

खनालका अनुसार जेनजी आन्दोलन राजनीतिक पार्टीका कर्मका कारण भएको भन्नेबारे ओलीले आत्मालोचना गरेनन्। आन्दोलन हुँदा प्रधानमन्त्री रहेका ओलीले आफूले राम्रो काम गरिरहेको तर विदेशीहरूले विभिन्न खासका षडयन्त्र गरेको उल्टो आरोप लगाए । उनले नेता खनालले कम्युनिस्ट पार्टीहरूले आक्रमण गरेर विध्वंश मच्चाएको आरोप लगाए। 

‘उहाँले आत्मालोचना गर्नुभएन। आफ्नो गल्ती पनि स्वीकार गर्नुभएन। लगातार आफ्ना कुरा माथि पारेर कुरा गर्नुभयो। मैले बसेर सुनिदिए। खास भन्दा उहाँसँग राजनीतिक गफ भएन।’

भेटका क्रममा ओलीले कुनै समूहगत पार्टीगत नभएर व्यक्तिगत रूपमा आउन भनेका थिए। ओलीले व्यक्तिगत रूपमा ढोका खुला भएको बताए पनि खनाललाई स्वागत गर्दा कुन पद दिने भन्ने विषयमा बोलेनन्।  

ओलीले आफ्नो गल्ती महसुस नगरेको र अन्य पार्टी र नेताप्रति सम्मानको दृष्टिकोण नराखेकाले खनालले एमालेसँगको यात्रा अगाडि बढाउने निर्णय लिन सकेनन्।

जब प्रचण्डसँग खनालले भेटे…

खनालसँग माओवादी र एकीकृत समाजवादीका केही नेता संवादमै थिए। मङ्गलबार पनि दिनभर जसो प्रचण्ड र माधवले खनालको पदको विषयमा लामो छलफल गरेको स्रोतको दाबी छ। छलफल अन्य नेताहरूसँग पनि गरेपछि झलनाथलाई तेस्रो वरियता दिन नेताहरू तयार भएका थिए। त्यसपछाडि प्रचण्डले एक पटक खनालसँग भेटेर यसबारे कुरा गर्ने निर्णय गरे। यता खनालले आफूलाई सम्मानपूर्वक स्थान दिए वाम एकतामा सरिक हुने आश्वासन प्रचण्डलाई दिइसकेका थिए। 

बिहानको भेटमा सुरुमा त खनालले यो एकतामा सामेल नहुने नै बताइरहेका थिए। तर विदेशी र प्रक्रियावादी शक्ति मिलेर नेपालमाथि नै आक्रमण भएपछि मिल्नुको विकल्प नरहेको भन्दै प्रचण्डले खनालसँग लामो राजनीतिक गफगाफ गरे। दुई नेताको गफमा एमाले अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई धराप पारेको विषयमा पनि चर्चा भएको थियो। यस्तै नेता वामदेव गौतम कम्युनिस्ट आन्दोलन बचाउने नाममा यता न उता भएको भन्दै खनाललाई प्रचण्डले एकीकृत भएर अगाडि बढ्न सुझाव दिए। 

सुझावमा खनाल गम्भीर भएपछि प्रचण्डले पार्टीमा तेस्रो वरीयताको कार्ड फ्याँकेका थिए। खनालले यसमा सबैको सहमत छ त भनेर प्रचण्डलाई सोधेका थिए। प्रचण्डले ‘सहमत छ साथीहरूसँग नै छलफल गरेर यसो निर्णय गरिएको हो।’ भनेपछि खनाल एकता घोषणा कार्यक्रममा उपस्थित हुन तयार भएको स्रोतको दाबी छ। 

‘खासमा अहिले कम्युनिस्ट पार्टीहरू एक हुनु पर्ने नै अवस्था आएको छ। किनकि विभिन्न देशी विदेशी शक्तिले नेपालमाथि आक्रमण गरिरहेको देखिन्छ। विभिन्न सवालमा प्रचण्डले खनाल समक्ष लामो ब्रिफिङ गरेर तेस्रो वरीयता दिन तयार भएपछि उनी पार्टी एकतामा सहभागी भएका हुन्।

दुई नेताहरूबीच भएको कुराकानीबारे जानकारी गराउँदै माओवादीका एक नेताले भने, ‘अहिले नमिले रेल गाडीमा यात्रु छुटे जस्तै झलनाथ छुट्ने संकेत देखिएपछि उहाँ तयार हुनुभएको हो। उहाँले पार्टीमा समाजवादी कार्यदिशाका कार्यक्रम अगाडि बढाउनुपर्छ समेत भन्नुभएको छ। हामीले चाहेको पनि समाजवादी दिशाका नयाँ नीति र कार्यक्रम हुन्। त्यही कारण उहाँ हाम्रो टिममा आउन तयार हुनुभयो।’ 

प्रचण्डले वाम एकताको प्रमुख पात्र खनाल रहेको पनि बताएका थिए। उनले अहिले कम्युनिस्ट पार्टीहरू एक नभए ठुलै समस्या आइलाग्ने बताए।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार  ७ : १८ बजे

कोरियाली सहयोगमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना सुरू

काठमाडौं – कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)ले सङ्घीय मामिला तथा

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

काठमाडौं – नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा

एन्फा प्रेसिडेन्ट लिग : चित्लाङको विजयी सुरुवात

काठमाडौं – एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ बुधबार सुरु भएको

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, बाँकी सदस्यले धारणा राख्ने 

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।

म्याग्दीको धार्मिक पर्यटकीयस्थल तीनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा