जंगलको बीचमै बिते आमा र नवजात शिशु, सासूको काखमा प्राण त्यागिन् सविताले « Khabarhub

कुप्रथाको परिणाम

जंगलको बीचमै बिते आमा र नवजात शिशु, सासूको काखमा प्राण त्यागिन् सविताले


२३ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

धनगढी– बझाङको केदारस्युँ गाउँपालिका-१ की सविता बोहरालाई गर्भजाँच गरेको स्वास्थ्य संस्थाले आगामी माघ २४ गते मात्रै बच्चा पाउने मिति दिएको थियो । घरपरिवार त्यसैको आधारमा तयारी गर्दै थिए । रोजगारीका लागि भारतको कर्नाटकमा रहेका पति उमेश बोहरा पनि माघ दोस्रो साता घर आउने तयारीमा थिए। 

सविताले भैरवनाथ स्वास्थ्य चौकीमा अन्तिम ८ औँ पटक जाँचसमेत गराइसकेकी थिइन् । स्वास्थ्यकर्मीले पनि अवस्था राम्रै रहेको बताएका थिए । एकाएक व्यथा लाग्ला र यस्तो अवस्था आउला भन्ने परिवार र सविता कसैले सोचेका थिएनन् । तर, पुस २१ गते साँझबाट सविताको पेट दुख्न सुरु भयो । मध्यरातिसम्म कसैलाई भनिनन्, पीडा सहेर बसिन् । 

तर उनले सहनै नसक्ने अवस्था आयो । सासु र नन्दालाई पेट दुखिरहेको खबर गरिन् । त्यसबेलासम्म सहनै नसक्नेगरि पेट दुखिरहेको थियो । 

पति विदेशमा थिए । घरमा वृद्ध सासू-ससुरा, सानै उमेरकी नन्द । उपाय लगाउने कोही थिएनन् । त्यसैमा ससुरा दृष्टिविहीन । छिमेकीलाई खबर गर्न पनि उनको परिवारले ध्यान दिएन । 

बिहान पौने ५ बजेतिर घरबाट निस्किए । गाउँमा सडक पुगेको छ । छिमेकीसँग अटो पनि थियो । पालिकासँग एम्बुलेन्स । स्वयम्सेविकासँग स्ट्रेचर पनि । तर, उनीहरूले कसैलाई केही नभनेरै रायल प्राथमिक स्वास्थ्य चौकी जाने निधो गरि हिँडे । अत्यधिक दुखाईबीच हिउँदको चिसोमा पहाडको बाटो छिचोल्दै थिए।

घरबाट करिब २ किलोमिटर बाटो हिँडेपछि सवितालाई हिँड्न गाह्रो भयो । जंगलको बाटो, बीचबाटोमै थचक्क बसिन् । 

त्यसबेलासम्म न छिमेकीलाई भनेका थिए न त बाटो छेउछाउ पर्ने कसैलाई । स्वास्थ्यकर्मीलाई जानकारी गराउनु त  परको कुरा । बाटोमै सविताले बच्चा जन्माइन् । जन्मेको शिशु छोरो थियो । दुईजना सानै उमेरकी नन्द र सासू खुसी भए । लगत्तै कान्छी नन्द देवु बोहरा बाटोनजिकै पर्ने वडा सदस्य प्रेम बोहराको घर पुगिन् । आँसी मागिन् । पौने ६ भइसकेको थियो । किन केका लागि भन्दा पानीको घैला पनि दिनु, भदु जन्मियो भन्दै उनीहरू त्यहाँबाट हिँडेको वडा सदस्य प्रेम बोहरा बताउँछन् । 

बोहराले स्वास्थ्यकर्मीलाई खबर गर्न सल्लाह दिए । उनीहरू हतारमा भाउजू सुत्केरी भएको ठाउँमा गए । त्यहाँ पुगेसम्म सविताको शरीर रगतले भिजिसकेको थियो । पीडाले ज्यान शिथिल हुँदै थियो । जन्मेको शिशुले श्वास फेर्न छोडिसकेको थियो । वडा सदस्य बोहरा पनि घरनजिकै भएकोले त्यही पुगे । हतारमा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव कमल कुमार मल्ललाई फोन गरे । एम्बुलेन्स लिएर आउन भने ।

सुत्केरी भएको ठाउँबाट स्वास्थ्य संस्था ५ देखि ७ किलोमिटरको सडक दूरीमा पर्छ । सिनियर अहेब मल्ल पनि साथमा स्टाफ नर्स जानकारी कुमारी भण्डारीलाई लिएर एम्बुलेन्ससहित साढे ६ बजेतिर पुगे । तर, स्वास्थ्यकर्मी र एम्बुलेन्स पुग्दासम्म न शिशुको श्वास बाँकी थियो, न त आमाको । 

मृतशिुश आमाको काखमा थियो । आमा सासूको काखमा थिइन् । २१ वर्षकी सविता र उनको प्रेमको निशानी दुवैले काखमै प्राण त्यागे । 

उक्त स्थानमा पुग्दासम्म दुवैको श्वास रोकिएको सिनियर अहेव कमल कुमार मल्लले बताए । 

‘साँझ नै खबर गरेको भए, आमा र शिशु दुवै बाँच्न सक्ने अवस्था थियो । बिहान पनि घरबाट नआएर एम्बुलेन्सका लागि खबर गरेको भए, हुन्थ्यो,’ मल्लले भने । 

गाउँमा अझै कसैलाई पनि व्यथाबारे भन्नु हुन्न भन्ने कुप्रथा कायमै छ । त्यसबेला पनि स्वास्थ्य संस्थाभन्दा धामीलाई बोलाइदिन सविताकी सासूले अनुरोध गरेको वडा सदस्य प्रेम बोहरा सुनाउँछन् । 

बुहारी मृत्युसँग लडिरहेको र शिशुले श्वास बन्द गरिसकेको अवस्थामा पनि पुरानै मान्यता र अशिक्षामा हुर्केकी सविताकी सासूले धामी बोलाइदिन अनुरोध गर्दै, पानी खुवाउन र फेरि पनि श्वास आउने विश्वासमा बिलौना गरिरहेको भिडियोमा देख्न सकिन्छ ।

सविता र उमेशले बिहे गरेको वर्ष दिन पुगेको छैन । गत वैखमा उनीहरूले बिहे गरेका थिए । बिहेलगत्तै उमेश कामको खोजीमा भारत गए । अहिले सविता र नवजात शिशु बितेको दृश्य देख्दा र सुन्दा मन थाम्न सक्ने अवस्था  छैन । 

वडा सदस्य प्रेम बोहराले भने, ‘पहिलो कमजोरी परिवारकै देखिन्छ । छिमेकीलाई भन्नु पर्ने, नभए घरकालाई समयमै खबर गर्नु पर्ने, आफैँ काल खोजेजस्तो घटना भयो। पालिकाले सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । त्यसबारेसमेत जानकारी आफन्तले नराखेको देखिन्छ ।’ 

परिवारको तयारी र पूर्व जानकारी नभएकै कारण अकालमै ज्यान गुमाएको गाउँपालिका अध्यक्ष गणेश बहादुर शाहीले बताए ।

‘घटनाबारे थप अध्ययन गर्न पालिका स्वास्थ्य शाखाको बैठक बोलाइसकेको छु, वास्तविकता त्यहाँ पनि थाहा होला, कमजोरी कसको भनेर, तर आफ्नो ख्याल, स्वयम र परिवारले गर्नु पर्ने हो, छिमेकीलाई समेत खबर नगर्नु थप समस्या हो, उनले भने रातभरिको व्यथा, हिउँदको चिसो र अत्यधिक रक्तश्राव मृत्युको कारण बन्यो ।’

केही महिनाअघि त्यही पालिकाको ६ नम्बर वडाका एक आमाले सुत्केरी अवस्थामै ज्यान गुमाएकी थिइन् । सचेतनाको कमी र पारिवारिक बेवास्ताले पनि सुत्केरी आमाको ज्यान जोखिममा पर्ने गरेको देखिन्छ । 

राज्यले नीतिगत रूपमै सुत्केरी सुरक्षालाई विशेष प्राथमिकतामा राखे पनि यस्ता घटना भइरहेका छन् । सबैभन्दा बढी दुर्गमका गाउँहरूमा यस्तो समस्या दोहोरिने गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  २ : १८ बजे

काठमाडौंमा पनि लगाउन थालियो एचपीभी खोप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी)

भारत सरकारप्रति प्रधानमन्त्री कार्कीद्वारा कृतज्ञता ज्ञापन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनका निम्ति भारतबाट प्राप्त सहयोगका

अफगानिस्तानमा विश्व बैंकद्वारा वित्त पोषित पानी आपूर्ति नेटवर्कको निर्माण सुरु

एजेन्सी- विश्व बैंकको सहयोगमा अफगानिस्तानको गजनी प्रान्तमा तीनवटा सफा पिउने

नवलपुर–२ का मतदाता भन्छन्, ‘चुनावी बाचा ‘केही पूरा भए, केही अधुरै छन्’

नवलपुर– प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मतदाता

महाशिवरात्रि व्यवस्थापनमा गुठी संस्थानले दियो ४० लाख

काठमाडौं– गुठी संस्थानले महाशिवरात्रि पर्व व्यवस्थापनका लागि ४० लाख बजेट