काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अध्यादेशबारे पार्टीको औपचारिक धारणा शनिबार आउने बताएका छन् । कांग्रेस एमालेले अध्यादेश जारी गर्दा आफूहरुसँग कुनै छलफल नगरेको र जसपाका लागि सरकार प्राथमिकतामा नरहेको यादवले स्पष्ट पारेका छन् ।
अध्यादेशलाई लिएर जसपाले मन्त्री र मुख्यमन्त्रीका लागि बार्गेनिङ गरेको भनेर मिडियामा आएको प्रचार ‘हावादारी’ भएको यादवले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीबार बिहान भएको भेटमा सरकारबारे कुनै कुरा नभएको यादव बताउँछन् । भेटमा ओली र देउवाले अध्यादेश पारित गर्न सहयोग मागेको र आफूहरुले यसबारे शनिबार मात्र निर्णय दिन सक्ने जवाफ दिएको अध्यक्ष यादवले खबरहबसँग बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सांसद राजकिशोर यादवले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । भेटका क्रममा जसपाका दुई नेताले आफूलाई सरकारमा सहभागी गराउन केन्द्रमा भए गृहमन्त्री र स्वास्थ्य मन्त्रीमध्ये एक र प्रदेशमा भए मधेस प्रदेशको मुख्यमन्त्री दिनुपर्ने माग समाचार बाहिर आएको थियो । तर, जसपा अध्यक्ष यादव सरकारबारे कुरै नभएको दाबी गर्छन् ।
उनी भन्छन्, ‘म अचम्मित छु । यी सबै हावादारी कुरा हुन् । म आफैँ यो कुरा सुनेर छक्क परेँ । कसले त्यो कुरा गरेको हो ? भित्र त्यो कुरा नै भएको छैन ।’
यसैबीच, जसपाले अध्यादेशबारे पार्टीको ठोस धारणा निर्माणका लागि अध्ययन गर्न राजकिशोर यादवको नेतृत्वमा आन्तरिक कार्यदल बनाएको थियो, जसले अध्यादेशलाई समर्थन गर्न नसकिने रायसहितको ६ पृष्ठ लामो प्रतिवेदन पार्टी अध्यक्ष यादवलाई बुझाइसकेको छ ।
सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्नका लागि राष्ट्रिय सभामा जसपा नेपालका तीन सांसदले सहयोग नगरेसम्म बहुमत पुग्दैन । माथ्लो सदनमा बहुमत पुगेन भने सरकारले ल्याएका सबै अध्यादेश फेल हुनेछन् र सरकार नैतिक संकटमा पर्नेछ । यही कारणले गर्दा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपाका नेताहरुसँग विहीबार गुहार मागेका हुन् ।
के जसपाले अध्यादेश पारित गरेर सरकारको ‘नाक’ जोगाइदेला त ? यसै प्रशंगमा खबरहबले जसपा अध्यक्ष उपेन्द्र यादवसँग गरेको संक्षिप्त कुराकानी–
यहाँले विहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नुभएको थियो, के–के कुरा भयो ?
खास भेटघाट सामान्य नै थियो । ठूलो निर्णय लिएको छैन । उहाँहरूले अध्यादेशमा सरकारलाई सहयोग गर्नु के गर्नुपर्ने हो, हामी तयार छौँ, देश विकासका लागि मिलेर जानुपर्छ भन्नुभएको छ । हामीले पार्टीमा छलफल गर्छौं भनेका छौँ । के कसरी अगाडि बढ्ने भनेर अब हाम्रो पार्टीमा छलफल हुन्छ ।
तर, तपाईले त स्वास्थ्यमन्त्री र गृहमन्त्रीमध्ये एउटा, त्यो नभए मधेसमा मुख्यमन्त्री माग्नुभयो रे त ?
म अचम्म छु । यी सबै हावादारी कुरा हुन् । म आफैँ यो कुरा सुनेर छक्क परेँ । कसले त्यो कुरा गरेको हो ? भित्र त्यो कुरा नै भएको छैन । त्यस्तो त कुनै कुरा नै हुन पाएन । उहाँहरूको भनाइ सहयोग गर्नुपर्ने भन्ने छ, मैले केही अध्यादेशको सन्दर्भमा पहिला फरक मत राखेको थिएँ तर अहिले त त्यो कुरा पनि हुन पाएन । त्यो कुरामा प्रवेश नै भएन । उहाँहरूले सरकारमा ल्याउने ‘रिक्वेस्ट’ गर्नुभयो तर म र राजकिशोरजी यादवजीले पार्टीमा सल्लाह गर्छाैं भनेका छौँ ।
देउवा र ओलीले के ‘रिक्वेस्ट’ गर्नुभएको रहेछ ?
अध्यादेश पास गर्न सहयोग गर्नु, जनताका लागि चाहिने कुराहरू छन् । ६ वटा अध्यादेश पास गरेर छिटोछिटो जनताका कुरालाई पूरा गर्नुपर्ने छ । भूमि समस्या समाधान गर्नुपर्ने छ । बरु त्यसमा थप छलफल गरौंला, यहाँहरूका पनि कुरा समेटौंला, मधेसका पनि कुरा राखौंला भनेर सभापति देउवा र प्रधानमन्त्रीले भन्नुभयो । जनताको काम नभएर फाइल घुमेको घुम्यै गर्छ, छिटो सेवा दिनुपर्ने वातावरण तयार गर्नु छ । मिलेर अगाडि जाउँ भनेर ‘रिक्वेस्ट’ गर्नुभएको छ ।
हामीले अध्यादेश आउने बेलामा किन छलफल गरिएन ? हाम्रो पनि साथ त चाहिने रहेछ, हतार किन गर्नुभयो ? सहमतिमा गर्नुपर्ने थिएन ? भन्ने कुरा गरेका छौँ । सरकारमा जाने कुरामा ‘स’ पनि उच्चारण भएकै छैन । मिडियामा के–के कुरा आउँछ, नियोजित रूपमा आउँछ ।
तर, कांग्रेस, एमालेकै कतिपय नेताहरु त सरकारमा जान उपेन्द्र यादवले बार्गेनिङ गरे भन्दैछन् नि ?
म त्यो कुरा सुनेर आफैँ अचम्ममा छु । हामीले त्यस्तो कुनै प्रस्ताव गरेको छैन । मागेको छैन । यहाँहरूले पनि प्रधानमन्त्री ओली र सभापति देउवालाई गएर सोध्न सक्नुहुन्छ । हामीले मन्त्रालय मागेको छैन । यो बार्गेनिङको कुरा कसरी आयो ? यो सबैले मनगढन्ते कुरा लेखे ।
यस्ता कुरामा मलाई समस्या छैन । सरकारका विषयमा त्यस्तो कुरा भए त उनीहरुले पनि भन्ने थिए । हुँदै नभएका कुरा प्रचार भयो । अहिले हाम्रो पार्टीले यसको खण्डन गरिसकेको छ ।
उसोभए अब के गर्नुहुन्छ त ? अध्यादेशलाई समर्थन कि विरोध ?
म यहाँलाई के भन्छु भने शनिबार जसपा संसदीय दलको बैठक बस्छ । अहिले हामी यो सबै राजनीतिक घटनाक्रमलाई सूक्ष्म ढंगले केलाइरहेका छौँ । सबै कुरालाई अध्ययन पनि गर्नुपर्ने छ । मधेसी दल पटक–पटक टाढिएका दलहरू हुन् । यसको पनि मूंल्याकन गर्नुपर्ने छ । पार्टीमा, दलमा छलफल गरेर शनिबार निर्णय हुन्छ । बैठकले निर्णय गरेको कुरा आधिकारिक हुन्छ । शनिवार मात्रै निर्णयमा पुग्छौँ ।
तर, जसपाको निर्णय नआउँदा शुक्रबार दुवै सदनमा अध्यादेश पेस गर्ने कार्यसूची हटाइयो भनिएको छ, अर्को बैठकमा प्रस्तुत होला ?
यो हाम्रा कारणले हटेको होइन, उहाँहरूको आफ्नै कारणले हो । मान्छे चाहिँदा मात्रै छलफल हुने गरेको छ । पार्टीको निर्णय एक–दुई जनाले दिन सकिँदैन । हाम्रो पार्टी त्यो किसिमको होइन । मैले यो कुरामा आजै निर्णय दिन सकिन्न भनेर भनिसकेको थिएँ । बाँकी उहाँहरूको कुरा भयो ।
सरकारले खास काम गर्न खोजेको भए त पहिला नै सल्लाह हुनुपर्ने थियो अनि पो निर्णय दिन सकिन्थ्यो । शनिबार ‘रिक्वेस्ट’ मा छलफल गर्छौं ।
त्यसपछि फेरि प्रधानमन्त्री ओलीसँग सम्वाद भयो ?
शुक्रबार बिहान बाहेक छैन । मैले बिहान नै शनिबार मात्रै निर्णय हुन्छ है भनेर दुवै नेता (ओली देउवा) भनिसकेको छु ।
सरकारले ल्याएका ६ वटा अध्यादेशको सन्दर्भमा खासमा जसपाको धारणाचाहिँ के हो ?
मैले यहाँलाई व्यक्तिगत धारणा दिएर हुँदैन । धारणा बनाउन अध्ययन गरिरहेका छौँ । पर्सि मात्र थाहा हुन्छ । मेरो व्यक्तिगत धारणालाई पार्टीको धारणा भन्न मिल्दैन । संगठन भएपछि विधि–पद्दतिमा चलाउनुपर्ने हुन्छ । अहिले मैले यसै भन्न सक्दिनँ । व्यक्तिगत कुरालाई कहिलेकाहीँ सीमित पनि राख्नुपर्ने हुन्छ । पार्टीमा छलफल गर्नुपर्छ ।
पार्टीमा अलकति त छलफल गर्न भ्याउनुभयो होला नि ? अरु नेताहरु के भन्नुहुन्छ ? सरकारमा जाऊँ भन्नुहुन्छ कि ?
अध्यादेश संसदको कार्यसूचीबाट हटाइयो भनेर आयो । सदनमै भएकाले छलफल हुन पाएन । शनिबार नै बिस्तारै गरौंला भनेर केही कुरा गर्न पाइएन । सरकार हाम्रो प्राथमिकता होइन भन्ने हाम्रो कुरा हो । बाहिर जे–जे आए पनि हाम्रो प्राथमिकतामा सरकार छैन । सहभागी हुन मन्त्रालय दिने भनेर त पहिला असार ३० मा पनि ओलीले भन्नुभएकै हो नि । तर, सरकार प्राथमिकतामा हाम्रो परेन ।
त्योबेला त यहाँहरुले संविधान संशोधनमा आशावादी हुँदै सरकारलाई विश्वासको मत दिनुभएको हैन ?
यो पुरानो कुरा भयो । यसबारे त कुरा गर्न समय लामै लाग्छ । शुक्रबारको भेट सामान्य नै थियो । भेट त भइरहन्छ । कुराकानी सामान्य भए । अरू कुरा भएन ।
उसोभए ओली र देउपवासँगको भेट सकारात्मक नै भयो भनेर मानौं ?
सकारात्मक र नकारात्मकको कुरै छैन । उहाँहरूले भन्नुभयो– अध्यादेशलाई जसरी पनि यहाँहरुले सहयोग गर्नुहोस् । के गर्नुपर्छ, हामी तयार छौँ ।
हामीले पार्टीमा छलफल गर्छौं भन्यौँ । सकारात्मक र नकारात्मक कुरा आउने अवस्थामा पुग्न नै बाँकी छ । अब शनिबार मात्र थाहा हुन्छ ।
प्रतिक्रिया