गभर्नरको ‘बहिर्गमन’ बहानामा उचालेर थेचारिएको साताको शेयर बजार | Khabarhub Khabarhub

गभर्नरको ‘बहिर्गमन’ बहानामा उचालेर थेचारिएको साताको शेयर बजार


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यो साता सामाजिक सञ्जालदेखि प्रायः सबैजसो सञ्चारमाध्यमसम्म नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ‘बहिर्गमन’ नै शेयर शेयर बजार सन्दर्भमा ‘हट टपिक’ बन्यो ।

गभर्नरको अधिकारीको कार्यकाल आगामी चैत २५ गते सकिने र राष्ट्र बैंक मौद्रिक नीतिको समीक्षा गर्ने तयारीमा रहेकाले शेयर बजारसँग केन्द्रीय बैंकका प्रमुखलाई जोडिएको थियो ।

बहिर्गमन हुनुअघि गभर्नरले शेयर बजारका लागि लचिलो नीति ल्याउने भन्दै फेसबुक लगायत सामाजिक सञ्जालमा साताभर चर्चा चलाइयो । क्लब हाउस, शेयर बजारका नाममा खोलिएका विभिन्न ग्रुप र ह्वाट्सएप ग्रुपहरूमा ‘राष्ट्र बैंकले शेयर बजारका लागि लचिलो नीति ल्याउने’ भन्दै हल्ला चलाइएको थियो ।

केन्द्रीय बैंकमा गभर्नर फेरिँदा बजारले ५०० अङ्कको ‘सेलिब्रेसन’ गर्ने भन्दै शेयर कारोबारीहरू विभिन्न सञ्चारमाध्यम धाए । शेयर बजारका प्रतिक्षक तथा सेलिब्रेटी लगानीकर्ताका रूपमा आफूलाई चिनाउने प्रयास गरिरहेका सुवासचन्द्र भट्टराईले त सामाजिक सञ्जालमा आगामी मौद्रिक नीतिलाई लक्षित गर्दै सुखद समाचार आउने दाबी नै पोष्ट गरे ।

त्यस्तै हल्लाले गर्दा साताको पहिलो दिन शेयर बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ६९.८० अङ्कको उछाल आयो । सोही उछालका कारण साताको ५ दिन भएको कारोबारमा तीन दिन बजार घट्दा पनि समगमा ४२ अङ्कको वृद्धि देखियो ।

तर, शेयर बजारमा गभर्नरलाई जोडिएर मच्चाइएको हौवा टिकेन । गभर्नर अधिकारीको ‘बहिर्गमन’ हल्लाले साताको पहिलो दिन उछालिएको बजार दोस्रो दिनदेखि थच्चिन थाल्यो ।

आइतबारको बजार लतबाट माथितिर उछालिएर बन्द भएको थियो । तर, सोमबारको बजारमा त्यस्तो उछाल १२ः४५ सम्ममात्रै टिक्न सक्यो । नेप्सेको चार्ट हेर्दा त्यसपछि शेयर बजार घट्न थालेको देखिन्छ । सोमबार नेप्से परिसूचक ४५ अङ्कसम्म बढ्ने र घट्ने गर्‍यो ।

आइतबारलाई छाडेर बजारको चार्ट हेर्दा अन्य चार दिन नै नेप्से उचालिने र थेचारिने नै गरेको देखिन्छ ।

गभर्नरको ‘बहिर्गमन’ बहानामात्र

गभर्नरको ‘बहिर्गमन’ बहानामात्र भएको लगानीकर्ता बताउँछन् । उत्तराधिकारी राम्रो नै आउँछन् भनी दाबी नसकिने अवस्था रहेकाले गभर्नरलाई हेरेर बजारमा हौसिन नहुने लगानीकर्ताको भनाइ छ ।

गत शुक्रबार मन्त्रिपरिषद्ले नयाँ एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन शेयर बजार नियामक नेपाल धितोपत्र बोर्डलाई अनुमति दिएको समाचार आएकाले आइतबारको बजारमा उछाल आएको लगानीकर्ता नवराज दाहाल बताउँछन् ।

तर, आइतबार एकाएक उचालिएको बजार सेबोनको बैठकले कुनै निर्णय नगरेपछि सोमबारबाट रिसाइज हुन थालेको दाहालको तर्क छ ।

‘गभर्नरको बहिर्गमन एउटा फण्डामात्र बन्नसक्छ । यो गभर्नर जाँदै गर्दा राम्रै हुन्छ बजारको लागि ठीकै हुन्छ भन्ने हुँदैन’, दाहालले भने, ‘सरकारले यही गभर्नरलाई पुनर्बहाली पनि त गरिदिन सक्छ नि !’

पछि अर्थमन्त्रीसमेत भएका पूर्वगर्भनर डा. युवराज खतिवडाले पनि शेयर बजारका खास केही नगरेका, तर हटेपछि भने बजारबारे राम्रो बोल्ने गरेको अवस्था कोट्याउँदै दाहालले भने, ‘युवराजको पालामा पनि धेरै नराम्रो भएको हो, तर हिजो उनी पदमा बस्दा जति नराम्रो काम गरे – अहिले बाहिर बस्दा राम्रो बोलिरहेका छन् ।’

गभर्नर अधिकारीले एउटा मौद्रिक नीतिको समीक्षा गर्ने पाउने भएकाले आफूमाथि लागेका दागहरू पन्साउँछन् कि भन्ने आशााले मात्र बजारमा अनुमान हावी भएको दाहालको भनाइ छ ।

‘नभए त ३–४ अर्बमा खुम्चिएको दैनिक कारोबार एकाएक १० अर्ब पुग्नु भनेको छुट्टै माहौल हो’, दाहालले थपे, ‘नेप्से परिसूचक रातो भयो, हरियो भयो भन्ने कुरा फरक हो, कारोबार राम्रो हुँदै छ है भन्ने सन्देश हो ।’

अहिलेको नेप्सेको उतारचढावलाई सामान्य रूपमा लिनुपर्ने दाहालको भनाइ छ । ‘अत्तालिएर माथि गइयो भने खतरा हुन्छ, खरिदकर्ताहरू अहिले पनि लो लेबलमा छन् भन्ने कुरा बिर्सिनु हुँदैन’, दाहाल भन्छन्, ‘लो लेभलमा किनेर बसेका व्यक्तिले अलिकति हाई लेभलमा गएपछि प्रफिट बुक त गर्छ गर्छ !’

‘धेरै स्टकहरू जुनसुकै बेला पनि सप्लाइमा आउन सक्छ’, दाहाल भन्छन्, ‘लगातार माथि बढिरहेको छ भने अब प्रफिट बुक गर्दै जानुपर्छ भन्ने कुरा बिर्सिनु हुँदैन ।’

शेयर बजार सेन्टिमेन्टमा चल्ने भएकाले चलखेल हुने पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । बजारका खेलाडीले कहिले मौद्रिक नीति, कहिले बजेट त कहिले सरकार ढल्ने हल्ला मच्चाएर बजारमा खेल्ने गरेको पोखरेलको आरोप छ ।

‘बजारमा एउटा न एउटा पासा फाल्ने हुन्छ नि ! जसले शेयर किनेर बसिरहेको छ – उसलाई हल्ला मच्चाएर ४००–५०० अङ्क बढाइहालौ भन्ने पनि होला’, पोखरलेले भनिन्, ‘अबको गभर्नर गएर अर्को गभर्नर त्यो भन्दा कडा पो आउनु हुन्छ कि ! कसलाई केही थाहा छैन ।’

हालका अर्थमन्त्री विष्णुप्रसाद पौडेलको शेयरबजारमैत्री अघिल्ला कार्यकालको क्रेजका कारण बजार बढेको, तर यसपटक त्यो क्रेज टिक्न नसकेको पोखरेलको बुझाइ छ । नीतिका कुराले बजार माथि जान खोज्ने र पुनः तल झर्ने अवस्था सेन्टिमेन्ट भएको पोखरेल बताउँछिन् ।

राज्य स्थिर हुने र अर्थमन्त्रीले बोलेरमात्र केही नहुने भन्दै शेयर बजारसम्बन्धी नीति नै राम्रो बनाउनुपर्नेमा पोखरेल जोड दिन्छिन् ।

‘कतिले त गभर्नरको पासा फालेर कमाइरहेका पनि छन् नि ! साना लगानीकर्ता चाहिँ मारमा परेका छन्’, पोखललेले भनिन्, ‘त्यसैले शेयर बजारका लागि स्थिर नीति चाहिन्छ । नीति स्थिर हुन्थ्यो भने हामीले न मौद्रिक नीति पर्खिनुपर्थ्यो, न त गभर्नरको बहिर्गमन नै !’

शेयर विश्लेषक छोटेलाल रौनियार पनि बजारमा बदमासी भएको बताउँछन् । ‘विकास बैंक नकारात्मक हुँदाहुँदै माथि बढाइदिने !’, रौनियारले भने, ‘फाइनान्स धेरै बढाउने/घटाउने गरेकाले बजार अनुमान नै गर्न नमिल्ने भएको छ ।’

यो सबैकुरा नियन्त्रण गर्न नियामक धितोपत्र बोर्ड नै लाग्नुपर्ने रौनियारको भनाइ छ । ‘यत्तिका उतारचढाव गराउँदै मिडियामा बोलिरहेका छन्’, रौनियारले भने, ‘सेबोन के हेरेर बसेको हो, कुन्नि !’

गभर्नरले चारवटा मौद्रिक नीति ल्याउँदा शेयरधनीका लागि एउटामात्रै अनुकूल आएकाले लगानीकर्ताले गभर्नरलाई मन नपराएको रौनियार बताउँछन् । त्यसैले गभर्नर अधिकारीको बहिर्गमनलाई लिएर लगानीकर्ता रमाएको रौनियारको भनाइ छ ।

‘लगानीकर्ता र गभर्नरबीच विश्वास छैन’, रौनियारले थपे, ‘गभर्नर जाने कुराले लगानीकर्ता खुसी हुनु स्वाभाविक छ ।’

बिदाइ लिँदै गर्दा राम्रो गरेर जानुपर्ने भएकाले अबको मौद्रिक नीति समीक्षा शेयर बजार अनुकूल हुनसक्ने रौनियारको अनुमान छ ।

साताको कारोबारमा उत्साह

यो साता शेयर कारोबारमा केही उत्साह देखिएको छ । पाँच दिनमा ५१ अर्ब ९५ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा दैनिक औसतमा १० अर्ब ३९ करोड ९१ लाख ३६ हजार रुपैयाँ बराबर भयो । जुन कारोबार बजारमा धेरै दिनपछि सृजित उछाल नै थियो ।

कारोबार मात्र होइन, यो साता शेयर कित्ता पनि उल्लेखीय मात्रामा कारोबार भयो । सातामा १० करोड ३३ लाख ९८ हजार ६८ कित्ता शेयर कारोबार हुँदा दैनिक औसतमा दुई करोड छ लाख ७९ हजार ६१४ कित्ता कारोबार भयो ।

यता; किनबेच मात्रा पनि यो साता बढेको देखियो । पाँच दिनको अवधिमा पाँच लाख १५ हजार १११ पटक शेयर किनबेच हुँदा दैनिक औसत एक लाख तीन हजार २२२ पटक शेयर किनबेच भयो ।

दैनिक बजारमा उचालिने र थेचारिने उत्तिकै

साताको पहिलो दिन अर्थात् गत आइतबार नेप्सेमा उछाल नै आएको थियो । आइतबार एकैदिन नेप्से ६९.८० अङ्कले बढेर २७२७.५८ बिन्दुमा पुगेको थियो ।

उक्त दिन नेप्से २.६२ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २७२७.५८ बिन्दु र न्यूनतम २६६२ बिन्दुसम्म पुगेको थियो । कारोबारमा पनि उछाल आएको थियो ।

आइतबार एकै दिन १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रुपैयाँ बराबरको दुई करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर एक लाख ३० हजार ९१३ पटक किनबेच भएको थियो । आइतबार ३३० वटा कम्पनीको शेयर कारोबारमा आएको थियो ।

आइतबार बजारमा उछाल आउँदा सोमबार भने नेप्से हरियो त देखियो, तर शेयरधनीलाई खासै उत्साह दिन सकेन । नेप्से झिनो अङ्कले बढ्दा कारोबारमा एकैदिन करिब दुई अर्ब रुपैयाँको गिरावट आयो ।

सोमबार नेप्से २.४१ अङ्कले बढेर २७३० बिन्दुमा परिसूचक पुगेको थियो । तर, सोमबार भने ४५ अङ्कले उतारचढाव देखियो ।

उक्त दिन नेप्से ०.०८ प्रतिशतले बढ्दा परिसूचक उच्चतम २७६४.१७ बिन्दु र न्यूनतम २७२०.४२ बिन्दुसम्म पुगेको थियो ।

सोमबार ३१९ वटा कम्पनी कारोबारमा आउँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको दुई करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर एक लाख ११ हजार ९१८ पटक किनबेच भएको थियो ।

सातामा दुई दिन बढेको नेप्सेमा मङ्गलबार भने ब्रेक लाग्यो । मङ्गलबार नेप्से १४ अङ्कले घट्न गयो । उक्त दिन नेप्से ०.५१ प्रतिशतले घट्दा परिसूचक २७१५.९१ बिन्दुमा पुगेको थियो ।

मङ्गलबार पनि बजारमा ४० अङ्कले उतारचढाव देखियो । उक्त दिन नेप्से परिसूचक उच्चतम २७४५.१५ बिन्दु र न्यूनतम २७०७.३७ बिन्दुसम्म पुग्यो ।

नेप्से राताम्मे भएसँगै मङ्गलबार कारोबारमा पनि तीन अर्ब रुपैयाँको गिरावट देखियो । उक्त दिन ३१५ वटा कम्पनीको शेयर कारोबारमा आउँदा आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँ बराबरको एक करोड ६९ लाख १७ हजार ८२५ कित्ता शेयर ९० हजार २०२ पटक किनबेच भयो ।

मङ्गलबारको तुलनामा बुधबार बजार सम्हालिएको देखियो । बुधबार नेप्से राताम्मे देखिए पनि ठूलो अङ्कको गिरावट भने देखिएन । बुधबार नेप्से ४.४५ अङ्कले घट्दा परिसूचक २७११.४५ बिन्दुमा पुग्यो ।

बुधबार पनि नेप्सेमा २४ अङ्कको उतारचढाव देखियो । उक्त दिन नेप्से ०.१६ अङ्कले घट्दा परिसूचक उच्चतम २७२६ बिन्दु र न्यूनतम २७०४ बिन्दुसम्म पुग्यो ।

उक्त दिन नेप्से घटेको फाइदा खरिदकर्ताले उठाएको देखियो । बुधबार ३०९ वटा कम्पनी कारोबारमा आउँदा एक करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भयो । बुधबार ९० हजार ७५२ पटक शेयर किनबेच हुँदा आठ अर्ब ९५ करोड ८० हजार रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

साताको अन्तिम दिन पनि शेयर बजारमा राताम्मे भएरै बन्द भयो । बिहीबार नेप्से ११.६४ अङ्कले घटेर परिसूचक २६९९.८१ बिन्दुमा झर्‍यो । बिहीबार पनि बजारमा ३० अङ्कको उतारचढाव देखियो ।

उक्त दिन नेप्से ०.४२ प्रतिशतले घट्दा परिसूचक उच्चतम २७२०.४८ बिन्दु र न्यूनतम २६९१.५६ बिन्दुसम्म पुग्यो ।

बजार घटे पनि बिहीबार कारोबार रकम भने बढ्यो । उक्त दिन ३१५ वटा कम्पनीको शेयर कारोबारमा आउँदा नौ अर्ब रुपैयाँ २४ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको एक करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर ९२ हजार ३२६ पटक किनबेच भयो ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १० : १७ बजे

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

ढाका- बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् ।

स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो

धरान– स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायलाई चलायमान बनाउन र आन्तरिक पर्यटनलाई

रुबियोले इजरायल, अरब राज्यहरूको भ्रमण गर्ने

एजेनसी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

 काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  बिहीबार प्रतितोला

चालु आर्थिक वर्षमा जुम्लामा ११ किलोमिटर सडक निर्माण

जुम्ला– जुम्लास्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा