काठमाडौं– यी तस्बिरका दुई व्यक्ति हेर्नुस् त ! झट्ट हेर्दा यी दुवै तस्बिर एकै व्यक्तिको हो जस्तो लाग्दैन ?
धेरैलाई यी दुई तस्बिर जेल जीवन बिताइरहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताबको लाग्न सक्छ । जो अहिले कर्तब्य ज्यान सजाय काटिरहेका छन् ।
अफताब होइनन् भने को हुन् त अर्का व्यक्ति ? जुन तस्बिरको अहिले सामाजिक सञ्जालमा चर्चा छ ।
फिल्म ‘लाज शरणम्’को ट्रेलर र त्यसको गीत ‘हेर्दा हेर्दै’मा हुबहु आफ्तब जस्तै व्यक्ति देखिन्छन् ।
कतै अफताबले नै त फिल्म खेलेनन् ? भन्ने लागेको छ भने तपाईं सही हुनुहुन्न । फिल्मको ट्रेलर र गीतमा देखिएका यी व्यक्ति सीताराम कट्टेल ‘धुर्मुस’ हुन् ।
आफ्ना भाइ अर्थात् कुमार कट्टेल जिग्रीको निर्देशन रहने फिल्म ‘लाज शरणम्’मा सीतारामले निर्वाह गरेको चरित्रमा उनी अफ्ताबको हुलियामा देखिएका हुन् ।
निर्माण पक्षले सीतारामले निर्वाह गरेको पात्रको हुलिया अफ्ताबसँग मिल्नु संयोग मात्रै भएको जनाएको छ ।
हुन त फिल्ममा सीतारामको भूमिकाबारे निर्माण पक्षले गोप्य राखेको थियो । फिल्मका सहायक पात्रमा अनुबन्ध भएको खबर सार्वजनिक भए पनि सीतारामको अभिनय रहने गोप्य राखियो ।
सीताराम छायाङ्कनस्थल पुगेपछि उनको भूमिकाबारे चर्चा सुरु भयो । तर निर्माण पक्षले यो चर्चा सत्य नभएको दाबी गर्दै आएको थियो ।
निर्माण पक्षले पोस्टरमार्फत् सीतारामको अभिनय रहने जानकारी केही साताअघि मात्रै दिएको हो ।
अहिले सीतारामलाई अफताबसँग दाँजेर हेर्ने गरिएको छ । सामाजिक सञ्जालमा उनले अफताबको गेटअप हुबहु नक्कल गरेको प्रतिक्रिया आउँदै छ ।
कमब्याक फिल्ममा आफ्तब
सीताराम वि.सं. २०७२ सालको भूकम्पपछि समाज सेवामा जुटे । ‘धुर्मुस–सुन्तली’ फाउन्डेसनमार्फत् समाज सेवामा सक्रिय भए ।
०७४ मा जनताबाट पैसा उठाएर चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण जुटे । तर, कोभिड महामारीसहितका संकटका कारण उनको यो योजना असफल भयो ।
यही रंगशाला निर्माणका लागि आर्थिक जोहो गर्न सीतारामले फिल्म ‘सेन्टी भाइरस’ निर्माण गरेका थिए । समाज सेवामा लागेयता उनले कलाकारिता क्षेत्रमा देखिने गरी गरेको काम त्यही फिल्म हो ।
रंगशाला निर्माणमा असफल भएपछि सीताराम कलाकारितामा फर्किसकेका छन् । उनी अहिले विभिन्न स्टेज कार्यक्रममा देखा पर्न लागेका छन् ।
उनको कमब्याक फिल्म भने ‘लाज शरणम्’ हो । जसको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तोकिएको छ ।
फिल्मका प्रचार सामाग्री र चर्चा बुझ्दा सीताराम ‘लाज शरणम्’को केन्द्रीय भूमिकामा छन् ।
यस फिल्ममा उनले निर्वाह गरेको चरित्रले अहिले सामाजिक सञ्जलामा सकारात्मक प्रतिक्रिया पाएको छ ।
चरित्र निर्माणमा निपुणः
सीतारामलाई आफ्नो आफ्नो वास्तविक नामभन्दा टेलिसिरियल ‘मेरी बास्सै’का ‘धुर्मुस’ भनेर बढी चिन्ने गरिन्छ ।
चरित्र निर्माणमा उनको दख्खल यहीँबाट प्रष्ट हुन्छ । आफ्नो वास्तविक परिचय नै सिरियलमा निर्वाह गरेको पात्रले ओझेलमा परेको छ ।
अर्कोतर्फ सीताराम एकै सिरियलमा सबैभन्दा बढी पात्र निर्वाह गर्ने कलाकारका रुपमा पनि लिइन्छ ।
सीतारामले ‘मेरी बास्सै’मा धुर्मुससहित करिब दुई दर्जन पात्र निर्वाह गरेका छन् । तीमध्ये केही त लोकप्रिय समेत छन् ।
उनले मेरी बास्सैमा निर्वाह गरेको र दर्शकले रुचाएको पात्रहरु हुन्– खड्काजी, मुस्कान पासा, केपी ओली र खडानन्द बाबा ।
कम ब्याक फिल्ममा पनि सीताराम अफ्ताबको गेटअपमा देखिएका छन् । अब हेरौं उनको यो भूमिकालाई दर्शकले कत्तिको रुचाउलान् ?
प्रतिक्रिया