काठमाडौं – एक समय मूलधारका मिडियामा समाचार लेख्ने पत्रकारलाई ‘मास’ मा निस्किएर रिपोर्टिङ गर्न हम्मेहम्मे भयो । केही पत्रकार कुटिए । केही मिडियाले आफ्नो लोगो छोपेर रिपोर्टिङ गरे ।
यो धेरै पूरानो घटना होइन । वि.सं २०७९ माघमा विकसित राजनीतिक घटनाक्रमको बाछिट्टा हो । दोहोरो नागरिकता काण्डले सांसद र गृहमन्त्रीको पद चिप्लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाप्रति आक्रोश पोखे । उनले मूलधारका मिडियाका सम्पादकलाई ‘१२ भाइ’ को संज्ञा दिए । त्यसपछि उनका समर्थकले मिडिया ‘अनफलो’ र बहिष्कारको ‘ट्रेन्ड’ चलाए । हरेक समाचारमा रविका समर्थकले ‘बहिष्कार’ र ‘१२ भाइ’ को ‘कमेन्ट’ वर्षाउन थाले । अहिले पनि छिटपुट यस्ता ‘कमेन्ट’ देखिइरहन्छन् ।
मिडिया तथा पत्रकारमाथि ‘साइबर अट्याक’ र ‘बुलिङ’ को जड रवि हुन् । अदालतले पद खोस्यो, दोष मिडियालाई दिँदा श्रमजीवि पत्रकार असुरक्षित बन्नुपर्यो ।
सामाजिक सञ्जालमा बहिष्कारले उग्ररूप लिएको यहीँबाट हो । यसअघि ‘बहिष्कार’ हुँदै नभएको भने होइन । रविको घटनाले बहिष्कार प्रवृत्ति र मानसिकतालाई टेवा पक्कै पुर्याएको देखिन्छ ।
अहिले बहिष्कारको फण्डामा कलाकार बढी पीडित छन् । महिला कलाकार यसै पनि सामाजिक सञ्जालबाट असुरक्षित थिए । अहिले ‘बहिष्कार’ बाट थप डराउनु परेको छ ।
कलाकारहरू अन्तर्वार्ता दिन डराउन थालेका छन् । ‘कुन बेला के बोल्दा विवादमा आइन्छ’ ठूलो डर छ । उनीहरू अन्तर्वार्ता दिन डराउँछन् । बहिष्कार फण्डाको डण्डा चल्ने सोचले अन्तर्वार्ताबाट टाढा रहेका कलाकार टन्नै छन् ।
फिल्म लेखक तथा निर्देशक नवीन सुब्बा भन्छन्, ‘अरूको विचार सुन्ने सहनशक्ति नभएको समाजमा यस्तो डर हुने गर्छ ।’
स्वतन्त्र विचार राख्दा, कुनै व्यक्तिको प्रशंसा गर्दा वा कुनै व्यक्तिप्रति भद्र टिप्पणी गर्दासमेत कलाकारले बहिष्कारको फण्डा सहनु परेको छ । सार्वजनिक व्यक्ति भएपछि सकारात्मक वा नकारात्मक प्रतिक्रिया पचाउने गुण कलाकारमा हुनुपर्छ । तर, बहिष्कारको फण्डा बेतुकमा भोग्नुपरेको बुद्धिजीविको बुझाइ छ ।
किन बहिष्कारमा पर्छन् कलाकार ?
दीपाश्री निरौला : दीपाश्रीले एक अन्तर्वार्तामा ‘राजेश हमाललाई महानायक मान्दिनँ’ भन्ने अभिव्यक्ति दिइन् । यो पाँच वर्ष अगाडिको घटना हो ।
यही भनाइले बहिष्कारमा परेकी उनी अझै उम्कन सकेकी छैनन् । उनको नयाँ फिल्म प्रदर्शनमा आउँदा सामाजिक सञ्जालमा ‘बहिष्कार’ को फण्डा चलाउनेहरू आइहाल्छन् ।
प्रकाश सपुत : ०८१ सालमा एक कार्यक्रममा गायक प्रकाश सपुतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरे । नेतृत्वको आलोचना गर्नुभन्दा प्रशंसा गर्दा उचित हुने मञ्चमा थिए उनी ।
त्यो प्रशंसा उनका लागि भारी बन्यो । ‘बहिष्कार’ को फण्डा चलाउनेहरू सलबलाउन थाले । एमाले पार्टी मन नपराउनेले उनलाई ‘झोले’ को ‘ट्याग’ भिराइदिए । गत चैतमा उनको डेब्यू निर्देशन रहेको फिल्म ‘वसन्त’ बहिष्कारको शिकार भयो । प्रकाशले खुलेर फिल्म प्रचार गर्न पाएनन् । त्यसबेला उनले भनेका थिए, ‘प्रशंसाकै कारण मलाई मानसिक तनाव दिने काम भयो ।’
सुरक्षा पन्त : सुरक्षा ‘बहिष्कार’ को ताजा उदारहण हुन् । उनी पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रप्रतिको भद्र टिप्पणीले नै बहिष्कारको शिकार बनिन् ।
उनले हृदयेन्द्रलाई भनेकी थिइन्, ‘युवा पुस्तामा उहाँको ठूलो ‘फ्यान फलोइङ’ छ । अभिनय सिकेर फिल्ममा आउँदा हुन्छ ।’ सुरक्षाको यो टिप्पणी राजावादीलाई मन परेन । हृदयेन्द्रलाई भावी राजाका रूपमा लिएका राजावादी सुरक्षामाथि खनिए । छन् । हृदयेन्द्रलाई फिल्ममा आउन सुझाव दिनु उनका लागि प्रत्युत्पादक बन्यो ।
फलतः सामाजिक सञ्जालमा राजावादीले सुरक्षा केन्द्रीय भूमिकामा रहेको फिल्म ‘खेल’ बहिष्कारको ट्रेण्ड चलाए । यो ट्रेण्डले फिल्म प्रचारमा बाधा पुग्यो ।
बहिष्कारको घानमा बढी पिल्सिने कलाकार यी तीन हुन् । साना–तिना बहिष्कारको घानमा अरू पनि कलाकार परेका छन् ।
गत वैशाख १२ गते प्रदर्शनमा आएको फिल्म ‘भुठान’ मा हरिवंशले आफ्नो धर्म त्यागेर ‘क्रिश्चियन’ बनेको दृश्य छ । यो दृश्यलाई लिएर हरिवंशलाई पनि बहिष्कार गर्नुपर्ने मत राख्ने सामाजिक सञ्जालमा भेटिन थालेका छन् ।
अर्थात्, सानो कुरा मन परेन वा ‘इतर विचार’ कुनै कलाकारले राख्यो भने एक झुण्डबाट बहिष्कारको शिकार भइहाल्छन् ।
सुरक्षालाई बहिष्कार गरिएको विषयमा नायिका ऋचा शर्माले लेखेकी थिइन्, ‘केही व्यक्ति सधैँ आफू अनुकूल बोलोस् भन्ने सोच्छन् ।’ परिदृश्य ऋचाको विश्लेषण जस्तै छ । आफू अनुकूलको विचारअनुसार कलाकार वा व्यक्ति बोलेन वा गरेन भने बहिष्कार ।

फिल्म विश्लेषक सामिप्यराज तिमल्सेना भन्छन्, ‘आफूभन्दा इतर विचार राख्नेलाई सामाजिक सञ्जालमा सिध्याउन खोज्ने प्रवृत्ति देखिएको छ । जुन भुङ्ग्रोमा हाम्रा कलाकार पर्न थालेका छन् ।’ एक कलाकारलाई बहिष्कार गर्दा अन्य कलाकारले आवाज उठाउने अवस्था पनि छैन । बहिष्कारमा परेका कलाकारको पक्षमा अर्को कलाकार बोल्यो भने ऊप्रति पनि आक्रमण सुरु हुन्छ । तिमल्सेना भन्छन्, ‘बहिष्कारमा परेका कलाकारको पक्षमा बोल्दा आफू पनि त्यही भुङ्ग्रोमा परिने हो भन्ने डर छ । कलाकारको पक्षमा बोल्दा अर्को कलाकार तनावमा परेको उदाहरण पनि त छ ।’
यसको पछिल्लो उदाहरण ऋचा नै हुन् । ऋचा सुरक्षाको बचाउमा उभिएकी थिइन् । नतिजामा उनीमाथि पनि बहिष्कारको फण्डा चलाइयो । ‘साइबर अट्याक’ र ‘हर्यासमेन्ट’को शिकार बन्नुपर्यो । ऋचाले आफूलाई अश्लील सन्देश पठाउने केही व्यक्ति सार्वजनिक पनि गरिन् । तर गाली त कति खाइन् खाइन् ।

कलाकारको फरक विचार मन नपराउनेले रिस फेर्न ‘बहिष्कार’ को ट्रेण्ड चलाएको नायिका केकी अधिकारीको बुझाइ छ ।
यस्तो अवस्थामा भीड एक कलाकार लक्षित हुँदा ‘ठूलो टिमको मिहिनेत खेर जाने’ जोखिम देख्छिन् केकी । उनी भन्छिन्, ‘फिल्म एउटा कलाकारको मात्रै होइन । ठूलो टिमको मिहिनेतमा बनेको हुन्छ । एउटा कलाकारको विचारले फिल्म बहिष्कारमा पर्दा कति धेरै जनाको सिर्जना, लगानी र मिहिनेत खेर जान सक्छ ।’
सबैको एक स्वर– बहिष्कार उचित होइन
अहिले हामीले भोगिरेहको बहिष्कारको प्रवृत्ति कुनै हातलमा ठीक नभएको फिल्मकर्मी र विश्लेषकहरूको एकै स्वर छ ।
बहिष्कार प्रवृत्तिप्रति उनीहरूको बुझाइ छ – अरूको विचारको सम्मान र सहनशक्ति कमजोर भएको समाज ।
केही विकसित राष्ट्रहरू बहिष्कार प्रवृत्तिबाट गुज्रिसकेको निर्देशक नवीन सुब्बा बताउँछन् । उनी भन्छन्, ‘विकासित र हामीले उदार मानेका राष्ट्रहरूमा पनि बहिष्कार ‘कल्चर’ देखिएको थियो तर, ती राष्ट्रहरू यो प्रवृत्ति ठीक होइन भन्ने निचोडमा पुगिसकेका छन् ।’

अहिले देखिएको बहिष्कारलाई उनले कलाकारलाई विचार राख्न सेन्सर लगाएको रूपमा बुझेका छन् । भन्छन्, ‘जसरी राज्यले हाम्रा फिल्ममा सेन्सर लगाउँछ । भीडले पनि कलाकारको बोलीमा सेन्सर लगाउन खोजेको छ ।’
कलाकारहरूले परम्परावादी, उदारवादी र प्रगतिशील जुन वर्गमा रहेर विचार राख्दा पनि उदारताका साथ मनन गर्ने समाज चाहिने सुब्बा बताउँछन् । उनी भन्छन्, ‘कलाकारहरू कोही परम्परावादी सोच राख्ने पनि छन् कोही उदारवादी सोच राख्ने पनि छन् । बहिष्कार गर्ने हो भने यहाँ सबै पर्न सक्छन् । आज बहिष्कार गर्ने भोलि आफैँ बहिष्कारमा पर्न सक्छ । सोही कारण बहिष्कारले समाज गतिशील हुन्छ भन्ने लाग्दैन ।’
पब्लिकले अन्तिम अस्त्रको रूपमा बहिष्कारलाई प्रयोग गरेको फिल्म विश्लेषक तिमल्सेनाको बुझाइ छ । उनी भन्छन्, ‘आफूले मन पराएको कलाकारले आफ्नै जस्तो विचार राखेन भने बहिष्कार गर्ने माध्यम सहज भयो । सामाजिक सञ्जलामा गएर लेखिदिए भयो । अनि पब्लिकले गर्न सक्ने भनेको अन्तिम ठूलो अस्त्र नै बहिष्कार हो ।’
देश विकास र अवसरको कमीले जनताको आक्रोश ‘बहिष्कार’ सम्म आइपुगेको नायिक केकी अधिकारीको बुझाइ छ । उनी भन्छिन्, ‘यो बहिष्कारमा सहभागी कतै न कतै देशको अवस्थाबाट निराश व्यक्ति हुनुहुन्छ । त्यो आक्रोश हाम्रो क्षेत्रसम्म आइपुग्यो ।’
प्रतिक्रिया