नेपालमा गोरखापत्र प्रकाशन भएको दिन अर्थात् वैशाख २४ गते। यहि गौरवपूर्ण दिनको सम्झनामा २०७३ सालयता विभिन्न कार्यक्रमका साथ राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै आएको छ। विक्रम संवत १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो। त्यहि दिनको सम्झना र सम्मानमा यो वर्ष पनि पत्रकारिता दिवस राष्ट्रियरुपमै मनाइँदै छ। यो वर्ष ‘‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’’ भन्ने मूल नारा तय गरिएको छ।
गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५ औँ वर्ष प्रवेश तथा संस्थानको ६३ औँ वार्षिकोत्सव मनाउँदै गर्दा पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम पनि भएरहेका छन्। यस दिन नेपालको पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकारलाई सम्मान समेत गरिन्छ। केहीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार दिइन्छ। हरेक वर्ष निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउने विषयमा बहस पनि चल्छ। तर पत्रकार र आमसञ्चारका विषयमा चर्चा भइरहँदा अहिलेको पुस्ताले पत्रकारितालाई व्यवसायका रुपमा अंगीकार गरिरहँदा पुस्तौंसम्म नमेटिने प्रशस्तै कलंक छाडिरहेको आभास हुन्छ।
यस लेखमा केही प्रतिनिधि तथ्य समेटिएका छन्। पत्रकारिताका माध्यमबाट मुलुकमा लामो समय योगदान पु-याइरहेका दिग्गज पत्रकार तथा केही व्यवसायिक घरानाले पहिलो हुने हतारोमा गरेका त्रुटीहरु भोलिका पुस्ताका निम्ति गहिरो अनुसन्धान गर्ने गतिलो विषय बन्न सक्छ।
पत्रकारितामा लज्जित श्रृंखला
२०६० साल कात्तिकमा कान्तिपुरले ‘पाँच डलरबाट खर्बपति नेपाली’ शीर्षकमा रसेन्द्र भट्टराईसम्बन्धी एउटा गजबको सामग्री छाप्यो। लामो समय सोल्टी होटलमा डेरा जमाएर बसेका रसेन्द्रले गरेको दाबीमा आधारित यो समाचारमा मात्र छपिएन कान्तिपुर टेलिभिजनमा चर्चित् पत्रकार भूषण दाहालले विशेष अन्तर्वार्ता नै लिए। दी काठमान्डु पोस्टका प्रतीक प्रधानले आफ्नै बाइलाइनमा यो चर्चित समाचार छापेका थिए।
कान्तिपुरको सम्पादक युवराज घिमिरे र प्रधान दुबै चुकेको यो प्रकरणमा दुबैले प्राप्त जानकारी रुजु नगर्दा कान्तिपुर नमज्जाले आलोचित बनेको थियो। यही काण्डपछि घिमिरेले कान्तिपुर छाडे भने रसेन्द्र काण्डपछि प्रधान पनि विस्तारै नैतिक हिसाबले किनारा लाग्दै गए। तर उपेन्द्र महतोसँगको व्यापारिक तनाव बढिरहेको समयमा उदाएका रसेन्द्रका विषयमा त्यसपछि कान्तिपुरले विस्तृत सामग्री कहिल्यै लेखेन।
अहिलेको पुस्तालाई यो काण्ड के हो भन्ने बारे खासै थाहा नहुन सक्छ। किनकी अहिले २०६० सालपछिको पुस्ता पत्रकारिता क्षेत्रमा क्रियाशील छ। होटलमा बसेको खर्चसमेत तिर्न नसक्ने हैसियत भएका रस्सेन्द्र भट्टराई नामका व्यक्तिलाई कान्तिपुरले खर्बपतिको रुपमा प्रस्तुत गरेको थियो। तर यो समाचार तथा पात्र गलत भएको पुष्टि भएर पनि कान्तिपुरले गहिरो रुपमा गल्ती स्वीकार्ने काम गरेन।
बरु त्यसको ८ वर्षपछि २०६८ साल वैशाख ७ गते कान्तिपुर दैनिकले अग्र पृष्ठमा ‘धन्य अनुजा: जसले भेट्टिएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्’ शीर्षकमा गज्जबको समाचार छाप्यो। धरान बस्ने अनुजा बानियाँ रातारात चर्चामा आइन्। किनकी बाटोमा फेला पारेको ९१ लाख रुपैयाँ र हीराको हार सम्बन्धित धनीलाई फिर्ता गर्नु चानचुने कुरा थिएन। यो समाचार र अनुजाको प्रशंसाले बजार तातेपछि राष्ट्रपति डा.रामवरण यादवले अनुजालाई फोन गरेर बधाई तथा धन्यवाद नै दिएपछि फेरि अर्को समाचार बन्यो। तर अनुजाको हर्कत तीन दिन पनि टिकेन।
अनुजाको हर्कत छताछुल्ल भएपछि आलोचना थेग्न नसकेर वैशाख १२ गते कान्तिपुरले अर्को समाचार छाप्यो, ‘‘धरान बस्ने अनुजा बानियाँ सम्बन्धी समाचार झूटा भएकाले क्षमाप्रार्थी छौं।’’ रिपोर्टिङ कसले ग-यो ? रिपोर्टरको समाचारलाई सम्पादकले कसरी पुष्टि गरे ? पाठकलाई दिएको भ्रमको मूल्य कसरी चुकाए ? अथवा कुन स्वार्थ पूरा गर्ने उद्देश्यले यो समाचार आएको थियो भन्ने विषयमा त्यसपछि कान्तिपुरले कहिल्यै विस्तृत समाचार दिन आवश्यक ठानेन।
लगत्तै कान्तिपुरले अर्की महान महिला मीनासिंह खड्कालाई रातारात भाइरल गरायो। हार्बर्डसहित दुईवटा विश्वविद्यालयबाट विद्यावारिधि गरेको, अमेरिकाकी प्रथम महिला मिसेल ओबामाले फोन गर्ने गरेको भन्दै संचारमाध्यममा छाएकी खड्का कान्तिपुर टेलिभिजनम दिलभूषण पाठकसँग टफ टक मा ४७ मिनेटसम्म छाइन्। नेपाल साप्ताहिक हुँदै नागरिक दैनिकले राम्रै स्थान दिएर उनको प्रोफाइल छापे पनि यो अर्को झूटको पुलिन्दा थियो।
यस्तै २०७३ सालको कात्र्तिकमा सगरमाथा टेलिभिजनको टक शो एसटीभी च्याटमा अतिथि बनेका कल्पित पराजुली अर्का नक्कली पिएचडी थिए। उनलाई पत्रकार जीवराम भण्डारीले त्रिभुवन विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयबाट रिसोर्स डिप्लोमेसीमा विद्यावारिधि गरेका विश्लेषक भनेर परिचय गराएका थिए तर उनको परिचय नै झुट सावित भयो।
अहिले नेपाली पत्रकारिता क्षेत्रमा यस्ता दर्जनौं उदाहरण भेट्टाइन्छ जसले सिङ्गो पत्रकारिताको चीरहरण गरेको छ, धज्जी उडाएको छ। १६ जेठ २०६० को हिमाल खवर पत्रिका हेर्नोस्। उक्त पत्रिकाले एक आन्दोलनकारीको व्यथा शीर्षकको गज्जबको समाचार छापेको छ। जसमा लेखिएको छ– जनआन्दोलनका क्रममा गोली लागेर लामो समय अचेत बनेका सल्यानका तारा खड्का जो मरिचमान सिंहको छोराका रुपमा हुर्केका थिए। उनले २०४७ सालमा आफ्नै उपचारको लागि काठमाडौंको घर बेचे, एक भारतीयलाई ३० हजार रुपैयाँमा आफ्नै छोरो बेचिदिए। तर खड्काले दिएको बयानका भरमा छापिएको उक्त समाचारको सत्यता आजसम्म कसैले पुष्टि गर्न सकेको छैन। तर तारा अहिले पनि देशका विभिन्न भागमा त्यही समाचारको कटिङ् देखाएर गुजारा चलाइरहेका छन्।
खड्काको ‘मैले छोरो बेचेको हुँ’ भन्ने बयानकै आधारमा नयाँपत्रिका दैनिक, कान्तिपुर दैनिक तथा उज्यालो अनलाइन लगायतले यो वियोगान्त कथा छापिसकेका छन्। यति गम्भीर विषयलाई समेत तथ्यको दोहोरो परीक्षण वा व्यावसायिक जिम्मेवारीभन्दा ठूलो बहकिने, नियोजित रूपमै स्थान दिने अथवा भावुकताले तथ्यलाई प्रभावित गर्ने काम निरन्तर भइरहेको छ। राष्ट्रिय पत्रकारिता दिवस मनाइरहँदा बहकिएको पत्रकारिताबाट अहिलेको पुस्ता बाहिर निस्कन जरुरी भइसकेको छ।
पुराना पत्रकार मोहन मैनाली भन्छन्– भावुक बन्ने, तथ्य नजाँच्ने, पर्याप्त अनुसन्धान नगर्ने, सेकेण्ड अपिनियन नदिने, दोहोरो स्रोत प्रयोग नगर्ने जस्ता कमजोरीले कैयौं सञ्चार माध्यमका समाचार सामग्री झूटा ठहरिएका छन्। यसका लागि २०७३ साल मंसिरमा प्रसारित कान्तिपुर टेलिभिजनको सुमनसँग कार्यक्रम अर्को गजबको उदाहरण हो। सुमन खरेल जस्ता धेरै वर्ष पत्रकारिता कर्ममा बिताएका व्यक्ति नै कञ्चन शर्मा रेग्मीको आँशुमा बहकिए र तथ्य नजाँच्दा पत्रकारिताकै बद्नाम गराए। सुमन खरेलले विवाद चर्किएपछि मात्र कञ्चन शर्मा रेग्मीको परिवारका सदस्यहरू खोजे र मानिस हो, मानिसबाट जीवनमा गल्तीहरू हुन्छन् नै भन्दै फेसबुकमा लेखे तर कार्यक्रमबाट गलत् सूचना संप्रेषण भएकोमा सामान्य माफीसम्म मागेनन्।
सुमनले सम्बन्धित परिवारजनसँग माफी माग्दै लेखेका थिए, “हामी आधुनिक युगको एउटा सभ्य समाजमा बस्छौं। सभ्यता प्रदर्शन गर्दै कृपया परिवारका सदस्यलाई कहीँ कतैबाट पनि गाली, अपशब्द र अपमान नगरिदिनुहुन दुईहात जोडी विनम्र अनुरोध गर्न चाहन्छौं। सुमनसँगमा प्रसारण भएको कञ्चनको अन्तर्वाताका कारण परिवारका सदस्यमा पर्न गएको क्षतिका लागि माफी चाहन्छौं।” जककी पीडित भनिएकी कञ्चनका पूर्वपति मोहन रेग्मीले अरू सञ्चारमाध्यममा गएर सुमन खरेललले फैल्याएको भ्रमको मूल्य चुकाउनु प-यो। तारा खड्का र कञ्चन शर्मा रेग्मी अहिलेको पत्रकारिता कुन स्तरबाट गुज्रिरहेको छ भन्ने गतिलो उदाहरण हुन्।
पुराना पत्रकार पी. खरेल एउटा समाचार अथवा शब्द गलत् हुँदा महत्त्वका साथ भूलसुधार गर्ने र माफी माग्ने गोरखापत्रकालीन परम्परा अहिले नेपाली सञ्चार क्षेत्रले पछ्याउन नसकेको बताउँछन्। रेडियो, टेलिभिजनमा त छाडौं, प्रिन्ट संस्करणमा नै गल्ती हुँदा पनि नसच्याउने र सच्याइएको भए त्यो उल्लेख नगर्ने चलन छ।
‘सञ्चारमाध्यमहरूले गल्ती हुँदा भूलसुधार गर्न गाह्रो मान्नु हुँदैन। गल्ती हुन्छ तर त्यसलाई दोहो-याउन भएन’ खरेलको सल्लाह छ– ‘सामाजिक सञ्जालमा आएका समाचार र निजी ब्लगमा प्रकाशित सामग्रीका भरमा समाचार लेखेर धारणा बनाउने रोग सिंगो आमसञ्चारजगतमा फैलिएको छ। यसले पत्रकारिता विधामा आस्था घटेको छ। एउटा सञ्चारमाध्यममा गलत सामग्री प्रकाशन हुँदा त्यसको खोजअनुसन्धान र सम्पादनको क्रममा क्रस भेरिफिकेसन नगरी सोझै कपी पेष्ट गर्ने प्रतिस्पर्धामा धेरै चिप्लिएका छन्। कम्तिमा पत्रकारिताको आधारभूत कुरा बिर्सनुभएन।’
भावनामा बढी विश्वास गर्ने, सिर्जनशील नहुने, तथ्य संकलनमा नलाग्ने, अनुसन्धान, सम्पादन र प्रस्तुतिसँगै अहिले अधिकांशमा भाषिक शुद्धताको अभाव देखिन थालेको खरेलको बुझाई छ।
लज्जित पत्रकारिता…
भनिन्छ एक जोडी आँखाले देखेको र लेखेको समाचार एक अर्को एक जोडी आँखाले हेर्नैपर्छ। तर अनलाइन, पत्रपत्रिका तथा टेलिभिजनको गल्ती श्रृंखला हेर्दा सिंगो पत्रकारिता जगत नै लज्जित भइरहेको छ। गल्ती गर्नेलाई क्षमा माग्न गाह्रो लाग्छ तर उनीहरु नै सम्भावित गल्तीप्रति कत्ति पनि सचेत देखिँदैनन्। यो भावनात्मक रुपमा समाचारका पात्रसँग जोडिने संवाददाता भन्दा धेरै बढी वस्तुपरक बन्नुपर्ने सम्पादक चिप्लिँदाको नतिजा हो।
समाचारका केही रोचक शीर्षक तथा भाषा…
लगातारको वर्षाले त्रिभुवन विश्वविद्यालयमा उडान रोकियो…? मृतकको मौखिक वयानका आधारमा प्रहरीले अनुसन्धानका लागि…? मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको मुत्यु ? बनेपामा राष्ट्रपति र प्रधानमन्त्रीको भुत्ला जलाइयो ? कांग्रेस सभापति देउवा, एमालेका नेता नेपाललाई भेट्न शितलनिवास पुगे ? प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगिन् राष्ट्रपति ? देशका विभिन्न भागमा आज बिहानैदेखि बर्षा सिवाकोटी भएको छ ? चिरञ्जीवी नेपाल प्रधानमन्त्री पौडेलको आर्थिक सल्लाहकार नियुक्त ? विमानस्थलबाट ३ किलो नागरिक पक्राउ ? भानु जयन्तीमा राष्ट्रपति घिमिरेलाई रथारोहण ? १८ वर्षपछि बुबा आमाको कमाई खाने हैन, आफैं कमाएर खानुपर्छ : उपप्रधनमन्त्री नन्दबहादुर पुन ? बलराम केसी, सर्वोच्च अदालत्का पूर्वप्रधानन्यायाधीश ? कांग्रेसका नेता चक्र बास्तोलाको निधन नै नभई एमाले नेता योगेश भट्टराईले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि लेखेपछि बनेको समाचार।
प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको निर्भिक खुलासा शीर्षकमा लेखिएको सम्पादकीय। खुट्टाको पाखुरा ४८ इन्चको छ ? भिम रावललाई भिम पोखरेल ? पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी केन्द्रका अध्यक्ष यादव ? केपी ओलीलाई माधव नेपाल ? एसएसपी विश्वराज पोखरेललाई डिआईजी पोखरेल ? गन्यापधुराबाट क्षेत्रीय प्रतिनिधि बनिस्यो आरजु म्याडम ? सर्वेन्द्र खनाललाई सर्वेन्द्रनाथ शुक्ल ? बलात्कार सम्बन्धी समाचारमा शेरवहादुर देउवाको तस्बिर ? टेलिभिजन कार्यक्रममा सहभागी सबै अतिथिको नाम सबैलाई राधेश्याम अधिकारी ? सुन प्रतितोला ३११ रुपियाँ ? जगन्नाथ खतिवडाको तस्बिरमा रञ्जुकुमारी झाको नाम ? इण्डोनेशियामा बाढी पहिरोमा सयौंको निधन हुँदा नेपालका राष्ट्रपतिले पठाएको शोक सन्देशमा हार्दिक बधाई शब्द परेपछिको समाचार ? मृतक व्यक्तिको उपस्थितिमा कार्यक्रम सम्पन्न ? फुटबल प्रतियोगितामा एक एक विकेट लिने खेलाडीको चर्चा ? कृष्ण सिटौलालाई स्तब्ध पार्दै उद्धव पौडेल राष्ट्रिय सभामा चुनिएको भ्रामक समाचार ? यस्ता सयौं दृष्टान्त छन् , जसले सिङ्गो पत्रकारिताको मर्म र भावनामा निर्मम प्रहार गरिरहेको छ। पत्रकारिता माथिको विश्वास टुटाइरहेको छ।
प्रतिक्रिया