पानीका मुहान संरक्षण गर्न रिचार्ज पोखरी « Khabarhub

पानीका मुहान संरक्षण गर्न रिचार्ज पोखरी


२४ बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

चौतारा– पानीका मुहान सुक्दै गएपछि जिल्लाको चौतारा साँगा चोकगढी नगरपालिकाले रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिएको छ । पानीको मुहान संरक्षण गर्ने उद्देश्यले नगरभित्रका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई तीव्रता दिइएको हो ।

नगर उपप्रमुख सीता थापाका अनुसार हरेक वर्ष नगरपालिकाले नीति तथा कार्यक्रममार्फत रिचार्ज पोखरी निर्माणका लागि सम्बोधन गरी बजेटसमेत विनियोजन गर्दै आएको छ । नगरपालिकाभित्र पाँच सयभन्दा बढी रिचार्ज पोखरी निर्माण सम्पन्न भइसकेका उनले जानकारी दिए । 

निर्माण सम्पन्न भएकामध्ये करिब ९० प्रतिशत रिचार्ज पोखरी वडा नं ११ मा रहेका भन्दै अन्य स्थानमा पनि काम थालिएको उनले बताए। 

‘पानीको मुहान रहेको शीरमा पोखरी खनिएको छ । त्यो पोखरीमा बर्खामा आकाशबाट झरेको पानी जम्मा हुने गर्दछ । भिरालो जमिनमा खसेको पानी बगेर पोखरीमा जम्मा गरिएको हो । पोखरीमा बाह्रैमास पानी भएपछि आसपासका क्षेत्र रसाउने, जमिन सुख्खा नहुने भएकाले मूल पलाउने विश्वास गरिएको छ’, नगर उपप्रमुख थापाले भने। 

पोखरी निर्माण गरिएका स्थानमा सम्भावित खतरा हुनबाट जोगाउन घेराबारसमेत लगाइने गरिएको छ । काँडेतारको बार लगाएर घेराबार हालिएको बताउँदै उनले जङ्गली जनावर तथा बालबालिकाको सुरक्षालाई लक्षित गरी बार लगाइएको उल्लेख गरे ।

शीरमा बर्खाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुने गर्दछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि मूल सुक्न थालेका छन् । निर्मित रिचार्ज पोखरीका कारण पानीको मुहानहरू संरक्षण हुनका साथै लुकेका मूलबाट पानी पलाउने विश्वास स्थानीयले गरेका छन् ।

अहिले सार्वजनिक स्थान, सामुदायिक वन र प्रमुख सडक आसपास क्षेत्रमा रिचार्ज पोखरी बनाइएको छ । पछिल्लोपटक वडा नं ११ ले चौतारा–बन्देऊ खण्डसँग जोडिएका सामुदायिक वन र खाली जमिनमा रिचार्ज पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको नगर कार्यालयले जनाएको छ ।

सडकसँगै रिचार्ज पोखरी निर्माण गर्दा एकातिर पानी पुनर्भरण भएर जमिन रसाउने र अर्कोतर्फ सडक, नालाको भल पोखरीमा भरण हुँदा जमिन कटानी न्यूनीकरणमा सघाउ पुग्ने गरी सडक नजिक रिचार्ज पोखरी निर्माण गरिएको वडाध्यक्ष रोशनराज गिरीले बताए। उनका अनुसार यो सडक छेउमा पर्ने नालीलाई लक्षित गरेर पोखरी निर्माण गरिएको हो ।

भलसँगै बगेर आएको पातपतंकर संकलन गर्दै कम्पोस्ट मल बनाउनका लागि पनि वडा लागिपरेको गिरीले उल्लेख गरे । वडा नं ११ ले रिचार्ज पोखरी मात्र हैन किसानलाई सहजताका लागि रोपाइँ पोखरी पनि निर्माण गर्दै आएको छ ।
 

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ३ : ५४ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा