धनगढी – दलहरुबीचको आपसी सहकार्य र समृद्धिको नारा दिएर बाजुराको बुढीगंगा नगरपालिकाले विकास बहस आयोजना गर्न लागेको छ । पालिकाको समृद्ध र विकासका लागि नयाँ अभ्यास स्वरूप विकास बहस गर्न लागेको हो । आगामी २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा नगरपालिकाको केन्द्रमा कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रामबहादुर बानियाँले जानकारी दिए ।
सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढिगंगाको विकास र समृद्धिको अघि बढाउन ‘समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी’ आयोजना गर्न लागिएको हो ।
जिल्लाको विकास निर्माणका लागि जिल्लाको सबै राजनीतिक दल र जनप्रतिनिधि एक ठाउँमा ल्याउने कार्यक्रमको योजना रहेको छ ।
‘बाजुरामा समस्या मात्रै छैन समस्या भन्दा धेरै सम्भावना छ । बाजुरामा विभेद र विवाद मात्रै छैन त्यो भन्दा धेरै एकता र अपनत्व छ । बाजुरामा संकट मात्रै छैन त्यो भन्दा धेरै अवसरहरू छन् ’ नगर प्रमुख बानियाँले भने ‘हामीले सम्भावना, एकता अपनत्व र अवसर देखाउन कार्यक्रम आयोजना गर्न लागेका हौँ । ’
स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सुरक्षित पूर्वाधारको सम्भावना तीन दिनको कार्यक्रमले प्रस्ट पार्ने उनले बताए । आगामी २० वर्षसम्मको स्वरूप तयारी गर्ने कार्यक्रम आयोजना गरिएको प्रमुख बानियाँको भनाइ छ ।
‘अबको २० वर्षमा बुढीगंगा नगरपालिका कस्तो बनाउने भन्ने मुख्य उद्देश्य र संकल्पसहित कार्यक्रम आयोजना गरिएको हो ’ उनले भने, ‘जिल्लामा यस्तो कार्यक्रम पहिलो र नयाँ हो । ’
बाजुराको विकासमा यहाँका राजनीतिक दलहरूको साझा सहमति र बुझाई लगायतका विषयमा बहस तथा संवाद कार्यक्रम हुने छ ।विकास कचहरी कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि, पत्रकार र विषयगत क्षेत्रका विज्ञद्वारा अवधारणा पत्र बनाएर सोही अवधारण पत्रका आधारमा संवाद छलफल र बहस गरिने छ ।
स्थानीय तहमा रहेको विकास सम्बन्धी समस्या, आवश्यकता र प्राथमिकतालाई पहिचान गरेर यथार्थमा आधारित समाधानहरू लगायत विषयमा छलफल बहस तथा संवाद गर्ने तयारी छ । सबै राजनीतिक दललाई विकास र समृद्धिको विषयमा एक ठाउँमा ल्याउन कार्यक्रमले ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
बहसमा प्रमुख राजनीतिकदलबाट संसद् र सरकारमा रहेका सहभागि नेता र बौद्धिक व्यक्तित्वको सहभागि रहने पालिका उपप्रमुख माया खड्काले जानकारी दिइन् । यो जिल्लाकै नयाँ अभ्यास हो । केहि फरक सन्देश र विकासमा दलीय सहकार्य गर्ने गरि गर्न लागिएको काम प्रति स्थानीयले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
कार्यक्रममा पूर्व प्रदेश प्रमुख देवराज जोशी, पूर्व मन्त्री कर्णबहादुर थापा, पूर्व प्रतिनिधि सभा सदस्य लालबहादुर थापा, प्रदेश सभा सदस्य पदम शाही सहित दलका नेता, जनप्रतिनिधी सबै सहभागि हुनेछन् । तयारी भब्य गरिएको छ।
प्रतिक्रिया