सात वर्षपछि चीन जाँदै मोदी, एशियाका दुई शक्ति मिल्ने सम्भावना कति ? | Khabarhub Khabarhub

सात वर्षपछि चीन जाँदै मोदी, एशियाका दुई शक्ति मिल्ने सम्भावना कति ?



काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदैछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत भन्सार महशुल थोपरेपछि मोदीको पूर्वनिर्धारित चीन भ्रमणबारे समाचार सार्वजनिक भएको हो । भारतीय सञ्चार माध्यममा उल्लेख भएअनुसार मोदीले आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीन भ्रमण गर्न लागेका हुन् ।

चीनको तियानजिन शहरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन मोदी त्यसतर्फ जान लागेको समाचारमा जनाइएको छ । सात वर्षपछि मोदीले चीन भ्रमण गर्न लागेका हुन् । सन् २०२० मा गलवान क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच भएको झडपपछि पहिलो पटक चीन जान लागेका मोदीको यो भ्रमणलाई निकै चासोपूर्वक हेरिएको छ । उनको यो भ्रमणलाई एशियाका दुई शक्तिशाली मुलुकहरुबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

पछिल्ला केही वर्षयता अमेरिकासँगको सम्बन्धलाई बलियो बनाउँदै आएको भारलाई ट्रम्पको व्यापार नीतिले नयाँ रणनीति अपनाउन बाध्य पारेको छ । यस्तो अवस्थामा चीनसँगको सम्बन्ध सुधारले भारतलाई वैकल्पिक व्यापारिक साझेदार र क्षेत्रीय सन्तुलन कायम गर्न सहयोग गर्न सक्छ । तर, दुई देशबीच अझै पनि अविश्वास कायम छ भने सम्बन्ध सुधार्न अझै ठूला चुनौती बाँकी नै रहेको जनकारहरु बताउँछन् ।

यो भ्रमणलाई चीनसँगको द्विपक्षीय सम्बन्धका साथै विश्व भूराजनीतिमा भारतको रणनीतिक भूमिका र अमेरिकाले बढाइरहेको दबाबसँग जोडेर हेरिएको छ । २० औँ शताब्दीको मध्यतिर झण्डै एक साथ दुवै मुलुकमा नयाँ व्यवस्था बहाल भएको थियो । सन् १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गरेको थियो भने सन् १९४९ मा चीनमा साम्यवादी क्रान्ति सम्पन्न भएको थियो । त्यसयता दुबै मुलुकबीचको सम्बन्धमा बारम्बार उतारचढाव आइरहेको छ ।

सन् १९६२ को युद्धदेखि लिएर हालैका वर्षहरुमा लद्दाख, अरुणाचल प्रदेश र भुटानको डोक्लम क्षेत्रमा देखिएको तनावका कारण दुई मुलुकबीच अझै पनि अविश्वास कायम नै रहेको जानकारहरु बताउँछन् । खासगरी, सन् २०२० मा गलवान क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच भएको हिंसात्मक झडपले भारत र चीनबीचको सम्बन्धलाई दशकौँयताको सबैभन्दा न्यून विन्दुमा ल्याइदिएको थियो । उक्त घटनामा २० जना भारतीय सुरक्षाकर्मी मारिएका थिए । आफ्नो पक्षतर्फ भएको हताहतीबारे चीनले भने केही खुलाएको छैन ।

यस घटनापछि भारत र चीनबीच कूटनीतिक र व्यापारिक सम्बन्धमा धक्का लाग्यो । भारतले कतिपय चिनियाँ सामान र मोबाइल एपमाथि प्रतिबन्ध लगायो भने चिनियाँ लगानीमा पनि कडाइ गर्‍यो । त्यसयता भारत र चीन दुबै मुलुकले सीमा क्षेत्रमा सैन्य उपस्थितीलाई पनि बढाएका छन् । यद्यपि पछिल्लो समय भने भारत र चीन दुबै मुलुकले सम्बन्ध सुधारको पहल अघि बढाएका छन् ।

गत वर्षको अक्टोबरमा रूसको कजान शहरमा आयोजित ब्रिक्स शिखर सम्मेलनमा प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटले सम्बन्ध सुधारको बाटो खोलेको थियो । यो भेटमा दुवै नेताले सीमा क्षेत्रमा तनाव कम गर्न र सम्बन्धलाई सामान्य बनाउन सहमत भएका थिए । उक्त भेटमा दुई नेताबीच विवादित सीमा क्षेत्रबाट दुबै मुलुकका सुरक्षाकर्मीलाई पछि हट्न लगाउने प्रक्रिया थाल्नेबारे सहमति भएको थियो ।

यद्यपि वास्तविक नियन्त्रण रेखा (एलएसी) भनिने सीमा क्षेत्रका विषयमा अझै पनि दुई देशबीच पूर्ण विश्वासको वातावरण बन्न नसकेको जनाइएको छ । हाल भारत र चीनले कैलाश–मानसरोवर यात्रा पुनः सुरु गरेका छन् । त्यसैगरी, यसै वर्षको जनवरी महिनामा दुई देशबीच प्रत्यक्ष हवाई उडान सुचारु गर्ने सहमति जनाएका छन् । यसबाट दुई देश व्यापार, पर्यटन, र जनस्तरको सम्पर्कलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, र विदेशमन्त्री एस. जयशङ्करले पनि चीनको भ्रमण गरेर कूटनीतिक संवादलाई अघि बढाएका थिए । मोदीको चीन भ्रमणअघि चिनियाँ विदेशमन्त्री भारत आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतीय समाचार द प्रिन्टका अनुसार वाङले आगामी अगस्ट १८ का दिन भारत भ्रमण गर्ने सम्भावना रहेको छ । वाङको भारत भ्रमणसँगै मोदीको चीन भ्रमणका एजेन्डाले अन्तिम रुप पाउने अपेक्षा गरिएको छ ।

चीन भ्रमणमा रहँदा प्रधानमन्त्री मोदीले एससीओको शिखर सम्मेलनमा सहभागिता जनाउनुको साथै चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेटघाट गर्ने सम्भावना छ । यसले एशियामा ‘रिक’ भनिने रुस–भारत–चीन सहकार्यलाई पनि गति दिने अपेक्षा गरिएको छ । केही समयअघि रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले ‘रिक’ सहकार्यलाई अघि बढाउन आफ्नो मुलुक इच्छुक रहेको बताएका थिए ।

हाल सुरक्षा सल्लाहकार डोभाल रुस भ्रमणमा छन् । उनले त्यहाँ राष्ट्रपति पुटिनसँग पनि भेटवार्ता गरेका छन् । मोदीको चीन भ्रमणअघि डोभालको रुस भ्रमणलाई पनि निकै चासोपूर्वक हेरिएको छ । डोभालको यस भ्रमणलाई ‘रिक’ को पुनरोत्थानको प्रयाससँग पनि जोडिएको छ । रुसमा रहेका डोभालले पुटिन यसै वर्ष भारत आउने पनि पुष्टि गरेका छन् । डोभालका अनुसार पुटिनको भारत भ्रमणको मिति करिब करिब तय भइसकेको छ ।

अमेरिकासँग चुलिँदो व्यापारिक तनावलाई सन्तुलन गर्न मोदीको चीन भ्रमण महत्वपूर्ण मानिएको छ । राष्ट्रपति ट्रम्पले भारतमा ५० प्रतिशत भन्सार महशुल थोपरेका छन् । चीनसँग अमेरिकाले जारी राखेको व्यापारिक वार्तामा पनि उल्लेख्य प्रगति देखिएको छैन । त्यसैगरी, ट्रम्पले रुसी तेल खरिद गर्ने मुलुकमाथि अतिरिक्त भन्सार शुल्क बढाउने उद्घोष गरेका छन् । चीन र भारत रुसी तेलका सबैभन्दा ठूला खरिदकर्ता मुलुक हुन् । ट्रम्पको व्यापारिक दबाबले पनि दुई मुलुकलाई सम्बन्ध सुधारको प्रयास गर्ने प्रेरणा मिलेको जानकारहरु बताउँछन् ।

चीन र भारतबीच राजनीतिक र कूटनीतिक स्तरमा जेजस्तो समस्या विवाद भएपनि दुबै मुलुकबीच ठूलो परिमाणमा व्यापार हुने गरेको छ । भारतका लागि चीन सबैभन्दा महत्वपूर्ण व्यापारिक साझेदारमध्ये एक हो । भारतको उद्योग वाणिज्य मन्त्रालयको तथ्याङ्कलाई आधार मानेर बेइजिङस्थित भारतीय राजदूतावासले उल्लेख गरे अनुसार आर्थिक वर्ष सन् २०२४–२५ मा दुई देशबीच १ खर्ब २७ अर्ब ७१ करोड अमेरिकी डलर बराबरको व्यापार भएको थियो ।

यद्यपि चीनसँग भारतले लामो समयदेखि व्यापार घाटा खेप्दै आएको छ । सोही तथ्याङ्कलाई आधार मान्दा सो अवधिमा भारतले चीनतर्फ केबल १४ अर्ब २५ करोड डलर बराबरको वस्तु निर्यात गरेको थियो भने चीनबाट भारतले १ खर्ब १३ अर्ब ४६ करोड डलर बराबरको वस्तु आयात गरेको थियो । यसअनुसार भारतले चीनसँगको व्यापारमा ९९ अर्ब २१ करोड डलर बराबरको घाटा व्यहोर्दै आएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च हो ।

मोदीको यो भ्रमणले अमेरिकासँगको व्यापारमा तनाव बढिरहेका बेला चीनसँग व्यापारिक सम्बन्धलाई थप बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । त्यसैगरी, भारतीय कम्पनीहरूले चिनियाँ बजारमा सहज पहुँच पाउनका लागि पनि यो भ्रमण महत्वपूर्ण हुने सम्भावना छ । त्यसैगरी, दुई मुलुकबीच सम्बन्ध सुधार हुँदै जाँदा भारतले पनि चिनियाँ लगानीकर्तालाई आफ्नो मुलुकमा सहज पहुँच दिनसक्छ ।

चीनले पनि भारतसँग सम्बन्ध सुधार गर्न तत्परता देखाएको छ । केही समयअघि चिनियाँ विदेश मन्त्रालयले दुई मुलुकबीचको सम्बन्ध २ हजार वर्ष पुरानो रहेको जनाएको थियो । विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले दुई देशको सम्बन्धलाई ‘ड्रागन र हात्तीको नृत्य’ को संज्ञा दिएकी थिइन् । अमेरिकासँगको व्यापारिक सम्झौताले पूर्णता नपाएको अवस्थामा भारतीय बजारमा थप पहुँच पाउँनु चिनियाँ लगानीकर्ता एवम् व्यापारीका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

तर, दुई देशबीच सम्बन्ध बढाउन केही चुनौतीहरु पनि यथावत नै छन् । पहिलो कुरा त चीनले भारतले परम्परागत रुपमा दुश्मन मान्ने पाकिस्तानलाई लामो समयदेखि आर्थिक तथा सैन्य सहयोग गर्दै आएको छ । गत मे महिनाको शुरुमा भएको द्वन्द्वका बेला पनि पाकिस्तानले भारतविरुद्ध चीनमा निर्मित सैन्य उपकरण प्रयोग गरेको थियो । पाकिस्तानलाई चीनले गर्दै आएको सहयोगलाई लिएर भारतमा व्यापक असन्तुष्टि पाइन्छ ।

पाकिस्तानमात्र नभइ भारतका छिमेकी मुलुकमा चीनले बढाइरहेको प्रभाव पनि भारतलाई मन परेको छैन । चीनले पाकिस्तानसँगै नेपाल, बंगलादेश, मालदिभ्स, श्रीलंकाजस्ता देशमा आफ्नो प्रभाव बढाइरहेको भारतको बुझाइ छ । दक्षिण एशियालाई आफ्नो परम्परागत प्रभाव क्षेत्र ठान्ने भारतका लागि चीनको प्रभाव विस्तार रुचेको छैन । यसले पनि सम्बन्ध सुधारमा चुनौती पैदा गरिरहेको जानकारहरु बताउँछन् ।

त्यसैगरी, दुई देशबीच सीमा समाधानको विषय अझै पेचिलो छ । पूर्वी लद्दाखको विवादित सीमा क्षेत्रमा दुबै मुलुकले ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेका छन् । त्यसैगरी, सीमा क्षेत्रमा चीनले तीव्र गतिमा निर्माण गरिरहेको विकासका पूर्वाधारलाई लिएर पनि भारत सशंकित रहँदै आएको छ । चीनले सीमा क्षेत्रमा सैन्य उपस्थितीलाई थप सुदृढ बनाउनका लागि सडक, विमानस्थल, रेलमार्ग, गाउँबस्तीजस्ता पूर्वाधार बनाइरहेको भारत ठान्छ । यो पनि दुई देशबीच सम्बन्ध सुधार गर्न चुनौती बनेर उभिएको छ ।

कतिपय विषयमा चीन पनि भारतसँग सन्तुष्ट छैन । पछिल्लो समय भारत अमेरिकी ध्रुवतर्फ नजिकिएको चीनको बुझाइ छ । अमेरिका नेतृत्वको चारपक्षीय सुरक्षा संवाद (क्वाड) मा भारतको उपस्थितिलाई चीनले रुचाएको छैन । त्यसैगरी, भारतले जापान, फिलिपिन्सजस्ता मुलुकसँग पनि रक्षा सहकार्य गरिरहेको छ । अमेरिका र भारतसँगै अस्ट्रेलिया र जापान पनि सम्मिलित क्वाडलाई चीनले आफूलाई घेर्ने रणनीतिको रुपमा हेर्ने गरेको छ ।

यी चुनौतीका बावजुद दुई देशबीच सहकार्यका धेरै सम्भावनाहरु छन् । उदाहरणका लागि जलवायु परिवर्तन, नवीन प्रविधि, नवीकरणीय ऊर्जा, प्रतिआतङ्कवादजस्ता क्षेत्रमा दुई देशले सहकार्यका नयाँ सम्भावना खोज्न सक्छन् । भारत र चीन दुबै देश एशियाली महादेशमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका छन् ।

तर, तीव्र गतिमा विश्व राजनीतिमा विकसित घटनाक्रमले यी दुबैलाई नजिकिने प्रेरण दिइरहेको छ । एशियामा क्षेत्रीय स्थायित्व, विकास र समृद्धि हासिल गर्न एवम् एशियाली शताब्दीको सपनालाई साकार पार्न पनि यी दुई देशका लागि सहकार्य गर्नुको विकल्प छैन ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ९ : १५ बजे

महामन्त्री बुर्लाकोटीद्वार लेखजंगको छोडपत्रको ब्यहोरा केन्द्रीय कमिटीलाई जानकारी 

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीबाट रुपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग

जनता समाजवादी नेपालको कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं– शिक्षक महासंघले जनता समाजवादी नेपालको पार्टी कार्यालय बालकुमारीमा आज

सुदूरपश्चिमका नेताहरूलाई प्रचण्डले भने– आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्नुस् 

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एससीओका लागि विकास बैंकमा विस्तारित भूमिका बढाउने चिनियाँ राष्ट्रपति सीको चाहना

तियान्जिन- चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार तियानजिनमा आयोजित साङ्घाई सहयोग

पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

किमाथाङ्का–  लगातारको वर्षाले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका