‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्‍नुपर्छ’ | Khabarhub Khabarhub

के भन्छन् कोशीका एमाले नेता ?

‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्‍नुपर्छ’

जेन-जी पुस्ताको आक्रोशबारे यसो भन्छन्


२२ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

ललितपुर- प्रमुख सत्तारूढ नेकपा एमालेले यतिबेला लतिपुरको गोदावरीमा दोस्रो महाधिवेशन गरिरहेको छ । भन्नलाई विधान महाधिवेशनमा विचार, सिद्धान्त र नीतिको बहस हुन्छ ।

तर गोदावरीको सनराइज हलमा नीतिसँगै नेतृत्वकोसमेत जोडतोडले बहस भइरहेको छ । गत साउन ५-६ को नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोकेसँगै अध्यक्ष केपी शर्मा ओली यसबेला अधिकार बढाउन केन्द्रित छन् ।

उनले यही विधान महाधिवेशनमार्फत् महासचिवमा रहेको अधिकारसमेत आफूमा खिचेका छन् । उता ७० वर्षे र कार्यकारी पदबाट दुई कार्यकालको व्यवस्था पनि उनले हटाइसकेका छन् ।

सकेसम्म यही वर्ष एघारौँ महाधिवेशन गरेर अध्यक्षमा सर्वसम्मत हुने योजनामा रहेका ओलीले आफ्नो चुनौतीका रुपमा रहेकी भण्डारीलाई पाखा लगाएको अवस्थामा गोदावरीमा नेता-कार्यकर्ता जम्मा भएका छन् ।

यो महाधिवेशनमा शनिबार दिनभर समूहगत छलफल भए । १० वटा समूहमा भएको छलफलमा पूर्वराष्ट्रपति भण्डारीको पक्षमा पर्याप्त आवाज उठेको छ । सातै भौगोलिक प्रदेशदेखि गैरभौगोलिक कमिटीमा पनि भण्डारीलाई रोक्न नहुने आवाज उठ्यो ।

तर ओलीले लिएको नीतिविरुद्ध फरक मत राखेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई हलमा बोल्नै निषेध गरियो । उता तीन पृष्ठको फरक मत राखेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आवाज पनि सुनिएन ।

आइतबार खबरहबकर्मी सनराइज हल क्षेत्रमा पुग्दा आधाजसो महाधिवेशन प्रतिनिधिहरू बाहिरै सडकमा भेटिए । कार्यकर्तादेखि नेतासम्म सडकमा राखिएका साना व्यापारिक स्टलमा कोही सामान किनिरहेका थिए भने कोही काँक्रो चपाइरहेका त कोही चियाको चुस्की लगाइरहेका थिए ।

तिनैमध्ये केही एमाले नेता र महाधिवेशन प्रतिनिधिहरूसँग खबरहबले कुराकानी गरेको छ :

बुद्धिकुमार राजभण्डारी, कोशीका सांसद एवम् महाधिवेशन प्रतिनिधि

हाम्रो विचारमा पार्टीको नीति र सिद्धान्तमा गहन छलफल भएको छ। बहुदलीय जनवादको अवधारणालाई छाड्नु हुँदैन भन्ने पक्षमा नेतृत्व र कार्यकर्ता पंक्ति एकजुट छ। कार्यकर्ताहरू पनि जबज छाड्ने पक्षमा छैनन् । जसले एमालेले जबज छाड्न लाग्यो भनेर बाहिर हल्ला चलाए, तिनको नियत एमाले सिद्याउने हो ।

हामीले समूहमा पनि व्यापक छलफल गरेका छौँ । नेकपा एमाले जबज छाड्ने सिद्धान्तमा अहिले छैन। जहाँसम्म नीतिको महाधिवेशनमा नेतृत्वको पनि बहस भयो भन्ने कुरा छ, बाहिर मात्रै त्यस्तो कुरा भएको, भित्र त्यस्तो केही कुरा भएन । बाहिर चर्चा भए जस्तो एमालेको नेतृत्वमा कसैलाई छेक्ने पक्षमा आवाज उठेको छैन । बाहिर चाहिँ व्यापक हल्ला सुनिएको छ ।

महाधिवेशनस्थल बाहिर व्यापक मात्रामा पर्चा बाँडेको सुनियो । पर्चा स्वेच्छाले कसैको समर्थनमा बाँड्न पाइन्छ । आफ्नो मत पनि राख्न पाइन्छ । एमाले पनि बहुदलीय प्रतिस्पर्धामा गएको हुनाले निर्वाचनबाटै श्रेष्ठता हाँसिल गर्नुपर्छ भन्ने हो । प्रतिस्पर्धाबिना पार्टी पनि लोकतान्त्रिक हुँदैन भनेको हो । पूर्वराष्ट्रपति विद्या भण्डारीले म एमालेको नेता हुन पाउँछु भन्नु अपराध होइन । मैले सोलुखुम्बुमा पनि मन्त्रीदेखि सांसद हुँदा यही कुरा बुझाउने गरेको छु । पार्टीमा लागेका सबैले केही न केही इच्छा बोकेर हिँडेका हुन्छन् । हामीले राजनीति गर्नुको मुख्य उद्देश्य नै वडासदस्यदेखि राष्ट्रपतिसम्म हुन नै हो ।

तर पूर्वराष्ट्रपतिका हकमा देखाइएको रहर उचित होइन । एकछिनका लागि म बुद्धिकुमार राष्ट्रपति भइसकेपछि फेरि किन वडा सदस्य हुन झर्नू ? यसलाई जनताले स्वीकार्दैनन् । सम्मानित पदको मान्छे सम्मानित भएरै बस्नुपर्छ । उहाँले, ‘मैले त एमालेलाई संरक्षण गर्ने हो । म त पछिल्लो पुस्तालाई नेतृत्व दिएर नयाँ पुस्तालाई स्थापित गर्न लाग्छु’, भन्नुपर्ने हो ।

यो महाधिवेशनबाट एमाले झन् चलायमान हुनेछ । हिजोभन्दा कमिटीको संख्या घटेको छ । बोल्ने स्वतन्त्रतामा पनि केही छुट मिलेको छ। अभिव्यक्ति स्वतन्त्रतामा पनि पार्टीले ख्याल गर्ने भएको छ। अब हामी यो महाधिवेशनपछि मिसन ०८४ लाई सफल बनाउने गरी लाग्छौँ । एमालेलाई निर्णायक शक्ति बनाउने कोसिस हाम्रो हुनेछ ।

विशाल भट्टराई, केन्द्रीय सदस्य

पुराना नेताहरू सकिए र बिग्रिए भन्ने डर अहिले देखिन्छ । नयाँ नेता आएको राम्रो हो । पुराना बिग्रिए भन्दै गर्दा नयाँ पनि खै त सप्रिएका ? केपी शर्मा ओली बिग्रिए भन्ने कुरा हो भने केपी ओलीले देशको के बिगारे ? के नक्सा प्रकाशित गर्नु गल्ती हो ? नाकाबन्दीको डटेर सामना गर्नु गल्ती हो ? देशलाई धेरै ठूलो गुण लगाउनु भएको छ ओलीले । एउटा पार्टीको नेताले हाम्राविरुद्ध आक्रमण गर्दा प्रतिवाद गर भन्नु नराम्रो हो ?

जेन्जी पुस्ताको अरिंगालको गोलोलाई चलाएको आरोप छ । यस्ता कुरा पहिले पनि हामीले सामना गरेका हौँ । बालेन जस्ता केही अराकज मान्छेले प्रधानमन्त्रीको फेसबुक अनफलो अभियान चलाएका थिए । तर पनि हामी डटेर प्रतिवादमा छौँ। एमालेलाई पुरानै लयमा फर्काउन हामी मिसन ०८४ मा जाँदैछौँ । एमालेले केपी ओलीको नेतृत्वमा एक्लै बहुमत ल्याउने गरी लाग्छौँ । अहिलेलाई एमालेमा अरूको चर्चा नगरौँ, केपी ओलीको विकल्प छैन ।

उमाकान्त गौतम, कोशी प्रदेशका सांसद

हाम्रो पार्टीको विधानमा संशोधन गर्ने वस्तुहरू गहन ढंगले संशोधन गरिएको छ । जसले विधान संशोधनको प्रस्ताव पेश गर्नु भएको थियो । उहाँले यी सुझावलाई कार्यान्वयनमा लैजान्छौँ भन्नु भएको छ। विधानमा असजिला भएका विषय वस्तुहरूलाई सहज बनाउनेगरी जानुपर्छ भन्ने भएको छ। ७० वर्षे उमेर हद र दुई कार्यकाल हटाइएको छ। एउटा व्यक्तिका लागि यसो गर्नु उचित थियो र भन्ने प्रश्न पनि छ । तर एमालेका हकमा अहिले यो आवश्यक भएको छ। बाहिरी हल्ला जे जे भए पनि एमालेमा सर्वसम्मत ढंगले कुरा अघि बढेको छ। उमेर हद चाहिँ पहिले नै हटेको हो ।

हाम्रो मान्यता के हो भने उमेर हदका कारण अहिलेको नेतृत्वलाई छेक्नु हुँदैन । यसरी छेक्दा समग्र एमालेमै समस्या आउँछ। जहाँसम्म पूर्वराष्ट्रपतिको सदस्यता स्वीकार्नुपर्थ्यो भन्ने कुरा छ । सम्मानित पदमा पुगेर सर्वोच्च नागरिक भइसकेपछि, त्यति माथि पुगिसकेपछि तल झरेर प्रतिस्पर्धा गर्दा पदीय मर्यादा कायम हुँदैन ।
उहाँले पदीय मर्यादालाई कायम गरेर बस्नुपर्छ । अन्यत्र पनि अभ्यास र लिगेसीका हिसाबले हेर्दा मर्यादामा बसेको देखिन्छ ।

उहाँले एमालेलाई निर्देशन गर्ने गरी बस्नुपर्छ । एमालेले यही धारणा बनाएर जान्छ । केही मत पूर्वराष्ट्रपतिलाई निषेध गर्नु हुँदैन भनेर आएको छ । यसलाई नेतृत्वले मन्थन गरेर मिलाउनुपर्छ। ०८४ मा एमालेलाई त त्यस्तो गाह्रो होला जस्तो लाग्दैन, एमालेले धक्का खाँदैन । एमालेको राजनीतिक पृष्ठभूमि हेर्दा त्यो पदीय हैसियत कायम गरेको राष्ट्रपतिले एमालेलाई अप्ठ्यारोमा पार्नुहोला भन्ने लाग्दैन ।

ऋषि पोखरेल, सांसद एवम् महाधिवेशन प्रतिनिधि

अहिले हामी एमालेजनको विचार र दृष्टिकोण एउटै हो । यो महाधिवेशनमा कुनै प्रतिनिधिबीच विचारमा फरक छैन । हामी यहाँबाट एकताको सन्देश लिएर जान्छौँ । बरू एमालेविरोधीहरूलाई गाह्रो भएको छ। एमालेविरोधीहरू मुलुक अस्थिर होस् भन्न चाहिरहेका छन् । महाधिवेशनस्थलमा आउँदा बाटोमा टाँगिएका ब्यान च्यात्ने तथानाम बोल्नेहरू दरिद्र हुन् ।

अहिले एमालेमाथि अनेक आरोप लागिरहेको छ । पछिल्लो पटक सामाजिक सञ्जाल बन्द गरेको आरोप छ। जेन्जी पुस्ताले धेरै नै बुझ्छ । सामाजिक सञ्जाल बन्द गरेको होइन । देशमा सबैले कानुन मान्नुपर्छ । नेपालमा सामान्य पान पसल चलाउन पनि दर्ता गर्नुपर्छ । उसले राजस्व तिर्नुपर्छ, यहाँको कानुन मानन्नुपर्छ ।

ठूला देशका व्यापारी र शक्तिशालीले यहाँको कानुन मान्नुपर्दैन ? एक वर्षसम्म उनीहरूलाई राज्यले अवसर दिएको हो । आउनुस् दर्ता गर्नुस्, कानुन मान्नुस् भनेको हो । अहिले सरकारले त केबल नेपालमा तिम्रो सम्पर्कस्थल खोल, नेपालको कानुन मान र यहाँको कानुनलाई पालना गर मात्रै भनेको हो । सरकारले खोज्दा तिम्रो प्रतिनिधि भेटियोस् भनेको हो ।

लालबाबु पण्डित, स्थायी कमिटी सदस्य

हामी अहिले केपी शर्मा ओलीको विकल्पको खोजीमा छैनौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आउन खोज्नु बिल्कुल गलत हो । उहाँले सम्मानित हैसियतमै बस्नु उचित हुन्छ । विधान महाधिवेशनको सन्देश पनि यही हो । अध्यक्षसहितले पेश गरेका प्रतिवेदनहरूमाथि देशैभरबाट छलफल भएको छ । पार्टीलाई एक ढिक्का बनाउने गरी छलफल भएको छ।

अहिले देशमा कुनै लकडाउन भएको छैन । दुई वर्षदेखि लगातार विदेशी सामाजिक सञ्जाललाई देशमा दर्ता हुन सरकारले भनिरहेको थियो । नेपाललाई मान्न तयार नभएको अवस्थामा दर्ता गर्न आउनु भनेको हो। अमेरिकाले एकैचोटी सयौँ विद्यार्थीलाई भिसा रद्द गर्न पाउने तर हामीले उनीहरूलाई चाहिँ मान्नुपर्ने ? हामीले दर्ता हुनु भनेको हो, बन्द गरिएको होइन । म युवाहरूलाई आह्वान गर्न चाहन्छु, तपाईंको देशको सम्मान गरिएन भने के हुन्छ। त्यसैले आफ्नो देशको सम्मानको विषयमा त्यहीअनुसार तपाईंहरूले कुरा गर्नु जरुरी हुन्छ

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ७ : ०७ बजे

प्रचण्डले भने : भ्रष्टाचारविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले

दुर्गेश थापा भन्छन् : जेनजी भविष्यको नेतृत्वकर्ता हो

काठमाडौं – चर्चित गायक दुर्गेश थापाले नयाँ पुस्ता ‘जेन–जी’ लाई

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नाहालामा टिपरको ठक्करबाट मोटरसाइकल

१९ वर्षीया गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

काठमाडौं – काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको खानीखोलाबाट एक गर्भवतीको उद्धार गरिएको

जेनजीको आन्दोलनमा समर्थन गर्दै रास्वपाले सरकारलाई भन्यो- दमन नगर्नू

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनरेसन जेड (जेनजी) को