एक वर्षमै थिलथिलियो बीपी राजमार्ग « Khabarhub

एक वर्षमै थिलथिलियो बीपी राजमार्ग


२१ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग हो बीपी राजमार्ग । गत वर्षको बाढी, पहिरोबाट क्षतविक्षत बनेको राजमार्ग अस्थायी ढङ्गबाट निर्माण गरी यातायात सञ्चालन हुँदै आएकामा यही असोज १८ र १९ गतेको बाढीपहिरोले पुनः थिलथिलो बनेको छ । राजमार्गको मध्यक्षेत्र अर्थात् काभ्रेपलाञ्चोकतर्फको सडकखण्ड भत्किएर क्षतविक्षत भएपछि हाल यस राजमार्गको सडक सम्पर्कविच्छेद भएको छ । 

वर्षायाममा केही भागमा क्षति पुर्‍याए पनि अघिल्लो साताको अविरल वर्षामा काभ्रेपलाञ्चोकको रोशी खोलामा आएको बाढीले राजमार्गका सडकखण्ड क्षतिग्रस्त बनाएको हो । यस वर्ष पनि असोजमै राजमार्गको विभिन्न सडकखण्डमा सडकको नामोनिसानै मेटिनेगरी, पैदलसमेत हिँड्न नसक्ने गरी बाढीपहिरोले तहसनहस बनाइदियो । 

गत साल असोजमा क्षत्विक्षत राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिए पनि स्थायी बनाउने प्रक्रियामै रहेकाबेला राजमार्ग पुनःथिलथिलो बनेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार बाढीले करिब चार किलोमिटर सडक बगाएको छ । 

पुनःअस्थायी डाइभर्सन बनाउन काम थालिएको कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेको बाढीले गत सालको बाढी पहिरोपछि बनाइएको डाइभर्सन पूर्ण रुपमा कटान गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए । राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग बनेको हो । 

विसं २०७२ असार १८ गते औपचारिक रुपमा यो राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोडेको छ । यस राजमार्गको निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट अन्त्य भएको थियो । 

गत वर्षको असोज १०, ११ र १२ गते परेको अबिरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै यही असोज १७ र १८ मा वर्षाले पुनःक्षति गराएको हो ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढी पहिरोले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएकाबेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो सडक बन्द हुने अवस्था निम्तिएको छ ।

गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले क्षति पुर्‍याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो । 

गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक तर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्ण रुपमा बगाएका थियो । गत सालको बर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो । 

यही असोज १७ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । इञ्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत यस सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पुर्‍याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ ।

 यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अधिकारीको भनाइ छ । अस्थायी रुपमा मर्मतगरी सकेसम्म छिट्टै यातायात सञ्चालन गर्ने तयारी भइरहेको पनि उनले बताए। हिजो सोमबारदेखि नै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ । 

कार्यालयका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि सिन्धुलीतर्फ बर्खेखोलासम्म करिब ६०० मिटर रोशी खोलाले बगाएको छ । ट्र्याक खुलेपछि काभ्रेपलाञ्चोकको माम्तीसम्म यातायात सञ्चालन हुनेछ । कार्यालयका अनुसार हाल ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ । 

कार्यालयले गत साल असोजको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।

क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार हाललाई अस्थायी सडक बनाएर सञ्चालनमा ल्याउने योजना अघि बढाइएको हो । 

यस राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको थियो । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको थियो । 

क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले काम गर्नेछ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३ दशमलव २ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताए। बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उनको भनाइ छ ।

यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ । कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ । 

यस राजमार्गमा जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा यही असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइएको थियो । त्यसअघि राजमार्गमा साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्म १२ घण्टा राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउँदै आइएको थियो । पुनःमनसुन सक्रिय रहने भएपछि असोज १६ गतेदेखि रातको समयमा १२ घण्डा रोक लगाइए पनि असोज १८ र १९ गतेको बाढीपहिरोले यस राजमार्गको सडक सम्पर्कबिच्छेद पारिदिएको छ ।
 
दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् । यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो । 

सरकारले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई एक अर्ब उपलब्ध गराएको थियो । 

त्यसो त जाइकाको प्राविधिक अध्ययनले बीपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बीपी राजमार्गमा टिपरले २५ टनसम्म गिटीबालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।
 
बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बीपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आए छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारीसाधन बीपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिपर, मिनीबस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।

रासस

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ५ : १३ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर