राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन | Khabarhub Khabarhub

राजा फर्काउने आन्दोलनमा पनि उत्रिएका थिए नक्कली नागरिकताधारी तेन्जिन



काठमाडौं- भदौ २४ गतेको आन्दोलनमा पेस्तोल देखाएको कसुरमा पक्राउ परेका तेन्जिन दावा लामा दुर्गा प्रसाईं र नवराज सुवेदीले तीनकुनेमा आयोजना गरेको राजावादी आन्दोलनमा समेत सक्रिय रहेको तथ्य खुलेको छ । तिब्बतियन ओरिजिनल ब्लड (टीओबी) नामक संदिग्ध समूहमा आबद्ध भएको दाबी गरिएका लामामाथि हाल प्रहरीले विभिन्न कसुरमा अनुसन्धान गरिरहेको छ ।

तेन्जिनले आफूहरू टीओबी नामक बाइकर्स समूहमा आबद्ध रहेको र समूहमा अन्दाजी ५० जना जति संलग्न रहेको पनि बताएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार टीओबी समूहका सदस्यहरूलाई प्रदर्शनमा सहभागी हुनका लागि स–सानो रकम पनि दिने गरिन्थ्यो ।

उनीहरू आफ्नो साथमा रहेको बुलेट बाइकमा आन्दोलनमा सहभागी हुने गरेको पाइएको छ । गत चैतमा तिनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको राजावादी आन्दोलनमा समेत यस समूह संलग्न देखिएको प्रहरीले जनाएको छ ।

हाल तेन्जिनमाथि नागरिकता विवादमा पनि अनुसन्धान भइरहेको छ । लामाको नागरिकता प्रमाणपत्र काठमाडौं जिल्ला प्रशासन कार्यालयको सिस्टममा भेटिएको छ । तर, ढड्डामा निवेदनका कागजातहरू भने भेटिएको छैन ।

नागरिकता बनाउन वडा कार्यालयको सिफारिस र आमाबुबाको नागरिकता आवश्यक पर्छ । तर, उक्त सिफारिस भेटिएको छैन । प्रहरीका अनुसार तेन्जिनले आफू काठमाडौं महानगरपालिका–६ मा जन्मिएको बताएका छन् । वडाध्यक्ष भुवन लामाले चाहिँ उनको नागरिकताको सिफारिस नभेटिएको जानकारी दिएका छन् । त्यसैगरी, वडामा जन्मदर्ताको विवरण पनि नभेटिएको उनको भनाइ छ ।

यसअघि सार्वजनिक समाचारमा नागरिकता प्रमाणपत्रमा बाबु उल्लेख गरेका कृष्णबहादुर लामाले तेन्जिनलाई चिन्न नसकेको जनाइएको थियो । अनुसन्धानका क्रममा प्रहरीले आफ्नो बाबु दाबी गरिएका कृष्णबहादुरलाई तेन्जिन सामुन्ने उपस्थित गराएका थिए । तर, न त कृष्णबहादुरले तेन्जिनलाई चिन्न सके न त तेन्जिनले नै कृष्णबहादुरलाई चिने । यसपछि तेन्जिनमाथिको अनुसन्धान थप पेचिलो बनेको छ ।

तेन्जिनको नागरिकता २०७९ असार २४ गते जारी भएको देखिन्छ । त्यस, नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत मुरारीप्रसाद निरौलाले हस्ताक्षर गरेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार हाल तेन्जिनमाथि तीन वटा मुद्दा चलाइएको छ । खबरहबसँग कुरा गर्दै उनले किर्ते र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जानकारी दिए ।

साथै, उनको डेराबाट गाँजा फेला परेपछि उनीमाथि लागूऔषधसम्बन्धी मुद्दा पनि चलाइएको छ । उनीबाट बरामद भएको रेडियो सेटको लाइसेन्स पनि नरहेको पाइएको छ ।

त्यसैगरी, नागरिकताको विषयमा पनि थप अनुसन्धान भइरहेको एसपी भट्टराईको भनाइ छ । ‘उनले नागरिकता लिएको वडामा नागरिकता लिनको लागि गरिने प्रक्रिया पालना गरेको अहिलेसम्म भेटिएको छैन । अस्ति जेन–जी आन्दोलनमा वडा कार्यालयमा आगलागी भएका कारणले प्रमाण नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।’ उनले भने, ‘अर्को प्रक्रिया पूरा गरेको हो वा होइन भनेर यकिन साथ भन्ने कुनै प्रमाण छैन । आन्दोलनमा विध्वंश भएका सरकारी कार्यालयमा प्रमाण जुटाउन त्यति सजिलो छैन । त्यसको लागि समय लाग्छ । त्यसको थप अनुसन्धानमै छौँ ।’

तेन्जिनको कोठा खानतलासी गर्दा प्रहरीले गाँजा, नक्कली पेस्तोल र वाकिटकी (रेडियो सेट) बरामद गरेको थियो । उक्त सञ्चार सेटका लागि उनले कुनै लाइसेन्स नलिएको प्रहरीको दाबी छ । सोही नक्कली पेस्तोल देखाएर उनले भिडिओ बनाएको बताइएको छ ।

जेन–जी आन्दोलन भड्काउन टिओबी समूहको संलग्नता रहेको प्रहरीको शंका छ । तेन्जिनले बिजुली बजारमा पेस्तोल लिएर भिडियो बनाएको आधारलाई लिएर पक्राउ गरेको हो ।

त्यसैगरी, प्रहरी अनुसन्धानका क्रममा टीओबी समूह दुर्गा प्रसाईंको तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा समेत सक्रिय रहेको तथ्य खुलेको छ । प्रहरी अधिकारीका अनुसार समूहका सदस्यहरूलाई स–साना खर्चका लागि रकम दिइन्थ्यो, र उनीहरू बुलेट बाइकमा आन्दोलनमा सहभागी हुने गरेको पाइएको छ ।

प्रहरीले समूहका गतिविधि तिब्बतीयन एजेन्डासँग सम्बन्धित नरहे पनि त्यसबाट प्रभावित रहेको निष्कर्ष निकालेको छ ।

तेन्जिन बौद्धमा डेरा गरी बस्छन् । प्रहरीले उनको साथबाट वाकिटकीको चार्जर पनि फेला पारेको छ । उनको भदौ २३ गते भएको आन्दोलन भड्काउनमा भूमिका रहेको वा नरहेको थप अनुसन्धान भइरहेको छ ।

उनले आफ्ना बुबाको ७ वर्षअघि नै मृत्यु भएको र आमा भारतमा रहेको बयान प्रहरीसँग दिएका छन् । त्यस्तै आफ्नी दिदी पनि रहेको उनले बताएका छन् । उनले आफ्नो कपडामा रहेको टिओबीबारे पनि प्रहरीसँग बताएका छन् ।

टिओबी समूहको नाम उल्लेख भएको डायरी पनि बरामद भएको प्रहरीले जनाएको छ । कपडामा डिजाइन पनि आफैँ बनाएको उल्लेख गरेका छन् । तेन्जीन पेसाले ट्याटू आर्टिस्ट र गायकसमेत हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ५ : ०१ बजे

‘धुलो टक्टक्याएर लाइसेन्स छपाइ सुरु गर्‍यौँ’

बनेपा– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुरक्षण मुद्रण केन्द्र

अनलाइन ठगीबाट जोगिन कास्की प्रहरीको आग्रह

गण्डकी- अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले

शनिबार बिहान काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने (सूचिसहित)

काठमाडौं– शनिबार बिहान काठमाडौंका धेरै ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध हुने

अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह

गण्डकी– अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले

संकटकाे बेला कांग्रेस आत्मघाती बाटो छाडेर एकजुट हुनुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी, लोकतन्त्र र