मुन्धुम ट्रेललाई खेल पर्यटनसँग जोड्ने मगेन्द्रको अठोट « Khabarhub

मुन्धुम ट्रेललाई खेल पर्यटनसँग जोड्ने मगेन्द्रको अठोट

विदेश त्यागौँला,नेपाली नागरिकता त्याग्दिनँ



काठमाडौं– मगेन्द्र राई भोजपुरमा जन्मिए, पढे, बढे । ओस्याइलो भूगोल, कृषि उपजमा अब्बल ठाउँ । मानो रोप्दा मुरी कतै नजाने माटो । चैतन्य, प्रज्ञा र सिर्जनाको कुरै गर्न परेन, घरलौरीजस्तै सरकारी जागिरे उत्पादन हुन्थे । पठनपाठनमा लगानी अंशमा लाग्ने अधिकार जस्तै थियो ।

राईको छोरो, गल्लावाल छाति नाप्न गाउँघर कुदिरहन्थे । कसको सन्तान कति उमेरको भयो ? उनीहरुलाई हेक्का रहन्थ्यो । लाहुरे हुन उक्साउने उत्ति नै थिए । छुट्टीमा घर आउने लाहुरेले ल्याउने साइको फाइभ घडी र पानासोनिक ‘टेपलिकोट’ को क्रेजले भन्थ्यो– ‘छाति नाप्न गइहाल ।’ साथीभाइको संगतले भन्थ्यो– ‘अहँ, होइन तँ त प्राज्ञिक व्यक्तित्व बन्नुपर्छ’ हुनपनि क्षेत्रीबाहुनको घानीभित्र थिए ।

‘राजनीति गर्ने बाउको पुलपुलिएको एक्लो छोरो । के खाउँ के लाउँको अवस्था थिएन । निम्न माध्यमिक तहको पढाई गाउँमा सकेपछि एकडेढ घण्टाको दूरीमा प्याउली गाउँमा गुणस्तरीय पढाई हुने शारदा माध्यमिक विद्यालय नामको स्कूल थियो ।’ उनले सुनाए, ‘तर अझ टाठो बन्न जिल्ला सदरमुकामको नामी विद्योदय माध्यमिक विद्यालय हानिएँ । डेरा गरेरै भए पनि त्यहाँ पढ्ने चाह भयो ।’ मगेन्द्रले थपे– ‘त्यो स्कुलमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पढ्नु भएको हो । मन्त्री, प्रशासक, न्यायाधीश, प्राध्यापक त कति कति । दुईवर्ष त्यहाँ पढेँ । तर, एसएलसी भने प्याउलीकै स्कुलबाट पास गरेँ ।’

उच्चशिक्षा अध्ययनका लागि मगेन्द्र रहरको भारी बोकेर धरानतिर हानिए । उनैको स्याहार र संरक्षणका लागि भनेर बाआमा पनि उतै कुम्लो कुटुरो बोकेर झरे । अब उनको थातथलो धरान सर्‍यो । मिठो खाने र राम्रो लाउने मनोविज्ञानले तराईले पहाडमाथि राम्रै शोषण गरेको छ । मगेन्द्रलाई अहिले पछि फर्केर हेर्दा लाग्छ– भोजपुर नछाडेको भए उनी कतै सरकारी सेवामा हुने थिए । तर समयलाई त्यो मञ्जुर भएन ।

उनका दौंतरी अहिले धेरै सरकारी सेवामा छन् । कोही उद्योगी व्यवसायी त कोही विदेशमा उन्नति गरिरहेका छन् । सँगै कुम जोडेर बस्ने साथी ईश्वर कार्की हालै एआईजी भएर उपत्यका प्रहरीको कमाण्ड सम्हालेका छन् । उत्तर खत्री सचिव हुने लाइनमा छन् । रेवती खनाल पर्यटन बोर्डमा डाइरेक्टर छन् । भक्त श्रेष्ठ चल्तापुर्जाका उद्यमी छन् । यी नाम लिइरहँदा उनी आफूलाई कहाँ पाउँछन् त ?

‘साथीहरुको जस्तो नेमप्लेट नभए पनि मैले विदेशी भूमिमा इज्जतको रोटी खाएको भन्ने लाग्छ । खेलको क्षेत्रबाट पाउने कीर्तिमान पनि त यही माटोको कमाइ त हो । त्यसमाथि त मैले न मेरो नागरिकता त्यागेको छु, न पासपोर्ट नै । घर आइरहन्छु । साथीभाइसँग भेटिरहन्छु । भोजपुरका ढुंगामाटोको फोटो खिचिरहेको छु । घाँसदाउराका कथा लेखिरहेको छु । यो प्रमाणित गर्ने विषय नभए पनि आफ्नो जमिनको स्पर्श नछोड्ने व्रतमा इमान्दार छु ।’

मुन्धुम पदमार्गले ख्याती पाएको खबरले मगेन्द्रलाई अति हर्षित बनाएको छ । त्यसैले उनीभित्र जन्मभूमिलाई गुन लाउने एउटा योजना फुरेको छ । मुन्धुमसँग सांस्कृतिक चिनारी छ नै, अब खेल पर्यटनसँग किन नजोड्ने ? उनले यसवर्षको नेपाल बसाइमा विषय रोपेका छन् । ‘जग्गा पाएँ भने म देशविदेशमा सहयोग जुटाएर अत्याधुनिक टेनिस कोर्ट बनाएर त्यहाँ अन्तर्राष्ट्रिय स्तरको खेल खेलाउने मन छ । मेरो विज्ञताको आफ्नै माटोमा उपयोग गर्ने इच्छा छ । त्यहाँको लागि त्यो नौलो प्रयोग पनि हो । सबैको सहयोग भएको खण्डमा यो कामले रचनात्मक परिणाम दिनेमा ढुक्क छु ।’

मगेन्द्रलाई आफूभित्रको ‘यायावर’ शैली आफैँलाई मनपर्छ । अरुले हिँडेको भन्दा आफूले बनाएको बाटो भरपर्दो लाग्छ । अरु गोरेटो, घोरेटो बाटो हिँड्दा उनी अक्कर रोज्छन् । रुखका काप काप चाहार्नुमा मज्जा मान्छन् । साना छँदा कटुस, पानीअमला, चुत्रो, मिठेबरदेखि बयर, सतिबयर, घँगरुका गेडासम्मलाई खाजा बनाएको विगत भुलेका छैनन् । अहिले पनि त्यतै उनको मन बतासिन्छ । मनले ‘गर’ भनेको काम गर्न नसक्दा मगेन्द्रलाई ऐंठन हुन्छ । त्यसैले जान मन लागेको भूगोल ऋण गरेरै भए पनि टेक्छन् ।

भीमकाय क्यामेरा, ड्रोन, आइप्याडदेखि खेलसामग्री सँगै लिएर हिँड्छन् । आफूलाई रुचि लाग्ने विषयमा घुँडा धसेर लागिहाल्छन् । ‘आफ्नो मनको राजा आफैँ हुनुपर्छ’ भन्ने मगेन्द्रको जीवन दर्शन हो । ‘जीवनमा एउटा न एउटा रहस्यको खोजीमा हिँडियो भने मात्र आफूलाई ऊर्जावान बनाउन सकिन्छ ।’ विश्व घुम्दा पाएको ज्ञान यही हो । अब आफूले पाएको ज्ञान समाजलाई बाँड्ने रहर छ । त्यही ‘होमवर्क’मा लागेको बताउने मगेन्द्रको अर्जुनदृष्टि आफ्नो जन्मभूमिमा टेनिस कोर्ट बनाएर खेलाडी उत्पादन गर्नु रहेको छ ।

मगेन्द्र विदेश बसेको तीन दशक बित्यो । तर, उनले अहिलेसम्म नेपाली नागरिकता त्यागेका छैनन् । हङकङ, बेलायत र अमेरिका जस्ता देशमा पुगेर पनि उनलाई नागरिकता त्याग्न मन लागेन । देशप्रतिको अपार प्रेमको भावले नागरिकता त्याग्न सकेनन् ।

विकसित र शक्तिशाली राष्ट्रको पीआर लिँदा सुविधा हुने भएपनि उक्त सुविधाको लागि नेपाली नागरिकता त्याग्न नसकेको खबरहबसँगको कुराकानीमा उनले बताए । ‘पीआर लिएपनि काम नगरी सुख छैन । दुखै गरेर जीवन चलाउनु नै छ भने, आफू जन्मेको देशको पहिचान किन त्याग्ने ? जस्ता भावले पीआर लिइनँ’ राईले भने ।

तेक्वान्दो र टेनिस खेलाडी राई खेलकै क्रममा विभिन्न देश पुगेका छन् । खेलले अन्य देश तथा साथीहरुसँग जोडिने र फरक भूगोल, संस्कृति बुझ्न पाएका छन् । मंगोलियन फेसका उनी विश्वप्रख्यात खेलाडी तथा कलाकार ज्याकी च्यानसँग मिल्दाजुल्दो पनि देखिन्छन् । हङकङमा लामो समय बिताएका उनी पछिल्लो समय भने छोराहरुको पढाइकै कारण बेलायतमा छन् ।

आफ्नो जीवन खेलमै समर्पित गरेका उनले विदेशमै बसेर नेपाल र नेपालीको सुखदुखमा मल्हम लगाउने प्रयास गरेका छन् । देशमा विभिन्न विपदको समयमा उनले राहत पठाउने, विद्यालय स्थापनादेखि खेलुकदको क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
जहाँ पुगेपनि ‘नेपाली हुँ’ भन्ने परिचयले गौरव गर्ने मगेन्द्र खेलकुद, समाजसेवासँगै पत्रकारिता, फोटोग्राफीमा पनि उत्तिकै दख्खल राख्छन् । उनको काम, वैदेशिक यात्रा, खेल जीवन, समाजसेवा लगायत विभिन्न आयामका बारेमा खबरहबले गरेको कुराकानी-

स्कुले जीवनमै खेलको रस

पञ्चायतकालको समय थियो । देशव्यापी रुपमा तेक्वान्दो सिकाउने अभियान थियो । भोजपुरको चम्पे निम्न माध्यमिक विद्यालयमा पनि एक ब्ल्याकबेल्ट गुरु आउनुभयो । उहाँले खेलको प्रदर्शन गर्नुभयो । किकहरु देख्दा उत्साह जाग्यो । यस्तै किक हान्न पाए हुन्थ्यो भन्ने लाग्यो । को–को खेल्ने भनेर सोध्नुभयो । मैले आफ्नो नाम टिपाएँ ।

स्कुलमा केही समय मात्रै सिक्न पाइयो । त्यसपछि विद्यालय परिवर्तन भयो । भोजपुर पढ्न जाँदा पञ्चायती व्यवस्थाका मन्त्री कर्णबहादुर राईको छोरा मोहन राई र रमेश राई ब्लाकबेल्ट हुनुहुन्थ्यो । उहाँहरुले ट्रेन गर्नुभयो । पछि काठमाडौंमा हुँदा खेल छुट्यो ।

तर, मनमा भने खेल रहिरह्यो । हङकङ पुगेपछि पुनः खेलमा जोडिएँ । नेपालीहरुको क्लब सञ्चालनमा थियो । हरि तामाङ गुरुसँग सिकेँ । उहाँ अन्तर्राष्ट्रिय खेलाडी पनि हुनुहुन्छ, नेपालको तर्फबाट खेल्नुहुन्छ । उहाँबाटै ब्लाकबेल्ट लिए । गुरुले नै अमेरिकामा हुन लागेको प्रतियोगितामा भाग लिन लगाउनुभयो ।

आईडीले जोडेको हङकङको साइनो

पूर्वतिरका मङ्गोलियनमा प्रायः भर्तीमा जाने लहर हुन्छ । तर, भर्तीमै नभएपनि रोजगारको सिलसिलामा हङकङ पुगे । २४ वर्षको उमेरमा विदेश जाँदा केही समय बसेर पैसा कमाएर फर्किन्छु भन्ने थियो । सन् १९९८ मा गएको थिएँ । तर, विदेश भनेको दलदलमा फस्नु जस्तो रहेछ । श्रीमती हङकङको आइडी भएका कारणले जान सजिलो भयो । खास भन्नु पर्दा बिहे गरेर गएँ । अहिले २५ वर्ष भयो विदेशमा बस्न थालेको । नेपालबाट हङकङ नजिक भएकोले बसाई सुखद रह्यो । २०२० मा बेलायत पुगेँ ।

खेलाडी भएर अमेरिका टेक्दा

अमेरिका सपनाको देश हो । सबैलाई एकपटक पुग्न पाए हुन्थ्यो भन्ने हुन्छ । खेल पनि खेल्छु र अमेरिका देखेर पनि आउँछु भनेर गएँ । ‘पशुपतिनाथको यात्रा सिद्राको व्यापार’ जस्तो । खेल जिते राम्रै भयो, नत्र घुमेर आउन पाइयो भनेर गएको थिएँ, तर खेल पनि जित्न सफल भइयो ।

खेल्छु भन्नेसँग सबैभन्दा बढी ‘प्यासन’ हुनुपर्छ । हार्डवर्क र अनुशासन पहिलो सर्त हो । खेलाडी शारीरिक रुपमा बलियो हुनैपर्छ । साथै, मानसिक रुपले झनै आफूलाई बलियो राख्नुपर्छ । हेर्दा शरीरले खेलेपनि दिमाग लगाउनुपर्छ– कसरी हान्ने भनेर ।

विपक्षीलाई सम्मान गर्ने टेनिसको क्रेज

तेक्वान्डोमा फिजिकल हुन्छ । टेनिसमा दिमागको धेरै चलखेल हुन्छ । यो भद्र खेलमध्येको हो । विपक्षीलाई पनि असाध्यै सम्मान गर्नुपर्छ । टेनिस विश्वमा दुई अर्ब मानिसले हेर्ने खेल हो । यस खेलले धेरै कुरा सिकायो । टेनिसको संस्था खोलेर १४ वर्ष नेतृत्व गरेँ ।

बेलायत गएपछि ३ वर्ष उक्त संस्थामा रहे । तर, उता बसेर हङकङमा रहेको संस्थाको नेतृत्व लिइराख्न उपयुक्त नलागेपछि हस्तान्तरण गरेँ । त्यसमार्फत हामीले प्रशस्त सामाजिक काम गर्यौँ ।

नेपालमै हुँदा टेनिसमा रुचि थियो । नेपाल टेलिभिजनमा प्रसारण हुन्थ्यो । टिभी हेर्दा खेल्न पाए हुन्थ्यो भन्ने लाग्ने । तर उक्त खेलमा सबैको पहुँच थिएन । शाह र राणा परिवारले मात्रै खेल्थे । अहिले ‘टेनिस अफ अल’ को धारणा आइसक्यो ।

टेनिस हङकङमै गएर खेल्न सुरु गरेको हो । त्यहाँ पनि टेनिस खेल्ने निकै कम थिए । खेल्ने साथीहरु खोजेर टिम बनाएका थियौँ । त्यसरी टेनिसमा लागियो र संस्थाको स्थापना भयो । फिटनेस, फण्ड एण्ड फ्रेण्डशिपको धारणामा संस्था स्थापना भयो ।

तेक्वान्दोको खेलाडी भएपनि कहिले पनि कसैलाई कुटपिट गरेको छैन । खेलले लड्न सिकाउने होइन । अनुशासन सिकाउने हो । सुरक्षा गर्न सिकाउने हो । त्यसमाथि व्यक्तिगत रुपमा सरल स्वभावको छु । कसैलाई एक मुक्का हान्नु त परको कुरा झगडासमेत गरेको अनुभव छैन । मलाई पनि कसैले हानेको छैन । रिङभित्र खेलको नियम भनेको फरक कुरा हो ।

ज्याकी च्यानको छायाँले पछ्यायो…

पहिले ज्याकीको नाम सुनेकै थिइनँ । उहाँ दिग्गज खेलाडी तथा कलाकार हुनुहुँदोरहेछ । विश्वले चिनेको व्यक्तित्व अनि ओस्कारबाट सम्मानित । उहाँ पनि हङकङको मान्छे, म हङकङ । मानिसहरुले तिमी ज्याकी च्यान जस्तो देखिन्छौ भन्थे । चिनियाँहरुले पनि त्यसै भन्थे ।

पछिल्लो घटना लण्डन टावरमा पारिवारिक भ्रमणमा रहँदा विदेशीहरुले ‘तिमी ज्याकी च्यान हो ?’ भनेर सोधे । मैले पनि हो भनिदिएँ । ग्रुपैले मसँग फोटो खिचेर गए । तर उहाँ जस्तो महान् व्यक्तित्व जस्तो देखिनु संयोग हो । मलाई भयङकर खुसी भने लाग्दैन । उहाँसँग मेरो तुलना गर्नै मिल्दैन ।

खेल सँगसँगै समाजसेवा, फोटाग्राफी र पत्रकारितामासमेत रुचि रहेकोले सबै क्षेत्रमा समय मिलेसम्म काम गरिरहेको छु । जे देख्यो सिक्न मन लाग्ने बानी छ । त्यसकारण कुनै पेशामा दक्षता भने छैन ।

विदेशमा बस्नेलाई देशको माया धेरै हुन्छ । २०७२ को भूकम्प जाँदा नेपालीले पाएको दुखमा मलम लगाउने कोसिसबाट राहत वितरण गर्यौ । रामेछापमा स्कुल भवन निमार्ण गर्यौ । बाढीपीडित बच्चाहरुका लागि इटहरीमा पनि स्कुल बनेको छ । नगरपालिकासँग सहकार्य गरेर बनाएको हो । पोखरामा टेनिसकोर्ट बनाउन पनि सहकार्य गरेका छौं ।

हङकङ छोडेर बेलायत जानुको कारण दुई सन्तानको पठनपाठन हो । बेलायत शिक्षाको हब हो । छोराले उतै पढ्ने इच्छा राख्यो । बच्चाहरुको इच्छा पुरा गर्नु अभिभावकको दायित्व हो । बेलायतमा टेनिस सिकाउँछु । यस खेलको लागि हङकङको तुलनामा बेलायतमा सुविधा छ । यस खेलले धेरै देशका साथी बनाउन सकियो ।

नागरिकता त्याग्न सकिनँ

विदेशको पीआर लिने व्यक्तिगत इच्छाको कुरा हो । जुन देशमा बस्यो त्यो देशको नागरिकता लिँदा सुविधा हुने भन्ने लागेन । राष्ट्रप्रतिको उच्च भावले नेपालको पासपोर्ट साट्न सकिन । नागरिकता पासपोर्ट भनेको भावना हो ।

पीआरले अन्य देशमा घुम्न जान सजिलो हुन्छ भन्ने हो । खेलाडीलाई देश विदेश जान त्यति समस्या हुँदैन । भिसा हानेरै घुम्छु भन्ने भयो ।

अब रिटायर्ड जीवन सुरु भयो तर केही नगरी बस्न मन लाग्दैन । अब केही देशहरु घुम्छु र यात्रा संस्मरण लेख्ने योजनामा छु । साहित्यमा रुचि छ । कविताहरु लेखिरहन्छु । आफूलाई सफल व्यक्ति हुँ भन्ने नभएपनि असफल व्यक्ति पनि होइन । चाहेको धेरै कुराहरु पुरा गरेँ । सुनाउन लायक सफलता पनि होइन फेरि ।

धेरै सम्पत्ति भएर पनि मानिस खुसी हुन सकेको छैन । कतिले आत्महत्याको बाटो रोजेका छन् । तर त्यो अवस्थामा पुग्ने गरी केही भएन । हासिल गरेको कुरामा खुसी हुन सक्नुपर्ने रहेछ । अरुसँग आश्रित हुन नपरेको जीवन सफल नै हो ।

आमाबुवाको एकमात्र सन्तान हुँ । किसानकै छोरो हुँ । बुवालाई राजनीति प्रति रुचि थियो । गाविस अध्यक्ष हुनुहन्थ्यो । श्रीमती र दुई छोराहरु छन् । अर्थशास्त्रमा स्नाकाकोत्तरसम्म अध्ययन गरेँ । समग्रमा जीवन ‘वाह’ भन्ने नभए पनि ‘छ्या’ भन्ने किसिमको छैन । सन्तोष यत्तिमै छ ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १ : ५४ बजे

अर्थमन्त्रीले भनेः तोकिएकै समयमा नै निर्वाचन हुन्छ

नेपालगन्ज – अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा- गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ। आइतबार दिउँसो आगलागी

जनार्दन शर्माको नेतृत्वमा प्रलोपाले बनायो निर्वाचन परिचालन र संवाद समिति

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले जर्नादन शर्माको संयोजकत्वमा निर्वाचन

‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन

काठमाडौं – गत असोज ३१ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र

संसद् पुनर्स्थापनालाई लिएर कांग्रेसमा भाँडभैलो, दलको निवेदन सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको होइन

काठमाडौँ– नेपाली कांग्रेस पनि संसद् पुन: स्थापनाको पक्षमा उभिँदै सर्वाेच्च