झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन « Khabarhub

झापामा तीन लाख ५४ हजार मेट्रिकटन धान उत्पादन


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बनियानी–  जिल्लामा यो वर्ष तीन लाख ५० हजार मेट्रिकटनभन्दा बढी बर्खे धान उत्पादन भएको छ । जिल्लामा ७२ हजार ७४२ दशमलव ६५ हेक्टरमा खेती हुँदा तीन लाख ५४ हजार ३१५ दशमलव ९२ मेट्रिकटन बर्खे धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

केन्द्रका प्रमुख सागर विष्टले गत वर्षको तुलनामा यो वर्ष धानखेतीको क्षेत्रफलसँगै उत्पादन घटेको बताउँदै उत्पादकत्व भने केही बढेको जानकारी दिए ।

उनका अनुसार गत वर्ष ७५ हजार ४५९ दशमलव १८ हेक्टर क्षत्रफलमा तीन लाख ८२ हजार ८११ दशमलव ९७ मेट्रिकटन धान उत्पादन भएको थियो । धानको उत्पादकत्व पाँच दशमलव शून्य ७३ रहेको थियो ।

बेमौसमी तथा अनियमित वर्षाका कारण धानखेतीको क्षेत्रफल गत वर्षको तुलनामा यो वर्ष दुई हजार ७१६ दशमलव ५३ हेक्टर घटेको प्रमुख विष्टले बताउँदै उत्पादकत्व बढेर पाँच दशमलव १९५ पुगेको जानकारी दिए ।
 
गत असोज र कात्तिकमा भएको बेमौसमी वर्षाका कारण जिल्लामा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा क्षति पुगेको कार्यालयले जनाएको छ । उक्त क्षतिबाट अनुमानित रु ७८ करोड ११ लाख ५६ हजार बराबरको क्षति भएको छ ।

किसानले समर्थन मूल्य पाएनन्

बेमौसमी वर्षाका कारण खेतीमा ठूलो क्षति व्यहोरेका किसान यतिबेला मूल्य नपाएर समस्यामा परेका छन् । सरकारले गत साउनमा बर्खे धानको न्यूनतम समर्थन मूल्य बढाएको थियो । 

मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । 

केही वर्षअघिसम्म किसानले धान भित्र्याउन सुरू गर्दा पनि सरकारले न्यूनतम समर्थन मूल्य नतोक्दा किसान ठगिने समस्या रहेकामा पछिल्ला केही वर्षदेखि सरकारले मूल्य तोक्न थालेको छ ।

सरकारले समयमा धानको समर्थन मूल्य तोके पनि किसानले मूल्य नपाउने समस्या भने जस्ताकोतस्तै रहेको किसानको गुनासो छ । 

झापामा हाल किसानले मध्यम धान प्रतिक्विन्टल रु तीन हजार र मोटा धान रु दुई हजार ७५० मा बिक्री गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले भने, ‘किसानले सरकारले तोकेको मूल्य पाउन सकेका छैनन्, किसानको गुनासो आइरहेको छ ।’

भद्रपुरका किसान महरसिंह राजवंशीले अहिले प्रतिमन (४० केजी) धान रु एक हजार २०० मा किनबेच भइरहेको जानकारी दिए । ‘धानको भाउ छैन’, उनले भने, ‘१२ सयमा कसरी बेच्नु ?’

‘धानको मूल्य बढ्छ’

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले हाल किसानले धानको समर्थन मूल्य नपाएको स्वीकारे । 

‘अहिले प्रतिक्विन्टल रु तीन हजार १०० मा मध्यम धान बिक्री भइरहेको छ’, उनले भने, ‘अब मूल्य समायोजन गरी बढ्ने छ ।’ सुरुसुरुमा धानमा चिस्यान बढी हुने भएकाले मूल्य कम भएको हुनसक्ने बताउँदै उनले धानको गुणस्तर राम्रो भएकाले मूल्य बढ्ने विश्वास व्यक्त गरे ।

धान खरिदका लागि तीन सहकारी सूचीकृत

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ झापाले धान खरिदका लागि सहकारी संस्थालाई सूचीकृत हुन आह्वान गरेपछि तीन सहकारी सूचीकृत भएका छन् । जिल्लामा कृषि सहकारी, कृषि समूह धेरै भए पनि तीन वटा मात्र सहकारी सूचीकृत भएका हुन् ।

सरकारले तोकेको मूल्यमा किसानको धान सहकारीले खरिद गरेर किसानको खातामा रकम जम्मा गरेमा व्यवस्थापन खर्चबापत प्रतिक्विन्टल रु ११२ अनुदान दिने व्यवस्था रहेको एकाइका प्रमुख सुवेदीले जानकारी दिए ।

अधिकांश रञ्जित र सर्ना धानखेती

हाल बजारमा चामलमा ‘जिरा मसिनो’ ब्रान्ड जस्तै भए पनि किसानले नेपालमा यस्तो धानखेती कम मात्र गर्ने प्रमुख सुवेदीले बताए । 

नेपालमा उत्पादित बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ लगायत धान ‘जिरा मसिनो’ ब्रान्डमै जाने उनको भनाइ छ । 

झापा, मोरङ, सुनसरीलगायत पूर्वी क्षेत्रका अधिकांश किसानले रञ्जित र सर्ना धानखेती गर्ने गरेका उनले जानकारी दिए ।

‘किसानलाई ब्राण्ड चलेको धानको खेती गर्न प्रोत्साहन गर्ने कोसिस गरिरहेका छौँ, सुवेदीले भने, ‘तर, किसान रञ्जित र सर्ना धानप्रति बढी आकर्षित छन् ।’ उत्पादनका हिसाबले रञ्जित र सर्ना धानभन्दा बहुगुणी–२, तरहरा–१, सानो मन्सुली सव–१ धान बढी फल्ने उनको भनाइ छ । रासस
 

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : ५९ बजे

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली– धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित