किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन « Khabarhub

किसानको पिडा- भेडा मरेर के भो मन मरेको छैन


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

चेहेरे चौर-  चेहेरे पाटनमा बाक्लो हिउँ नपरेको वर्षौँ भयो । जुम्ला बजारबाट करिब चार किलोमिटर माथि मनमोहक डाँडामा हिउँद र वर्षात् दुवै समयमा स्थानीयवासीले गाई, गोरु, बाख्रा, बोका, खसी, भैँसी, भेडा, च्याङ्ग्रा लगायतका चौपाया यहाँ चरनका लागि ल्याउँदछन् ।  

चन्दननाथ नगरपालिका–३ स्थित यस पाटन (चौर क्षेत्र) मा चन्दननाथ–२ खोलीकोट, भण्डारीवाडा , चन्दननाथ–३ शान्तिनगर, सिंखडावाडा, बस्थवाडासहित कनकसुन्दरी गाउँपालिकाका चौपायाको चरन क्षेत्र हो । चौरमाथिको उपल्लो जङ्गल जहाँ बाघ, भालुसहित कालिज र डाँफेको बासस्थान क्षेत्र पनि हो । 

पाटनमा बाक्लो हिउँ पर्न छाडेपछि चन्दननाथ–३ भेडापालक किसान जङ्गबहादुर खत्री चिन्तित  छन् नै । पछिल्ला दिनमा उनी खुसी देखिन्छन् ।

उनी भन्छन्, ‘पाटनमा बाक्लो हिउँ नपर्दा चरन क्षेत्रमा घाँसपातसहित अन्य झारपात र जडीबुटीका बिरुवा कम उम्रिन थाले । चौपायासहित जङ्गली जनावरलाई पाटनमा चरेर अघाउनै मुश्किल भयो ।’

उनका अनुसार बाक्लो हिउँ परेको वर्ष पाटन क्षेत्रमा घासपात, झारपात धेरै उम्रिन्थे । जलवायु परिवर्तनका असर यहाँ पनि देखिएको छ । 

यस स्थानमा साँझ बिहान सिरेटो (हावा) चलेर अत्यधिक चिसो हुन्छ । स्थानीयवासीले सूर्याेदयपछिको पारिलो घाममा मात्र पाटनमा चौपायलाई चरनका लागि ल्याउँदछन् । 

जुम्ला बजारको दृश्यावलोकनका लागि यो पाटन आकर्षक क्षेत्र मानिन्छ । दृश्यावलोकन गर्नेको यहाँ भीड लाग्ने गर्दछ ।  पाटनको पश्चिमी केही भू भागमा सीमसार छ ।

पछिल्लो समय यही सीमसार जमिनलाई प्राकृतिक रुपमै संरक्षण गरेर दुई वटा पुनर्रभरण (रिचार्ज) पोखरी बनाइएको छ । यसबाट  चौपायाका लागि पानी उपयोग गर्न सजिलो भएको छ । 

सीमसार क्षेत्रलाई उपयोग गरेर पोखरी बनाइएपछि स्थानीयवासीलाई चौपायालाई पानी खुवाउन परेको समस्या केही हदसम्म अन्त्य  भएको छ । 

चिरे–घिमे रिचार्ज पोखरी निर्माण समितिका अध्यक्षसमेत रहेका ५१ वर्षीय किसान खत्रीले खुसी हुँदै भने, ‘रिचार्ज पोखरीमा जम्मा भएका पानीखान पाटन र जंगलमा चरनका लागि ल्याइएका चौपायासहित जङ्गली जनावरहरु आउन थालेका छन् ।’  

उनका अनुसार एक घण्टा टाढादेखि पोखरीमा पानी पिउन बस्तुभाउसहित जनावर आउँदछन् । अहिले अत्यधिक चिसोका कारण पोखरीको केही भाग बरफ भएको छ ।  

स्वीस रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाद्वारा चन्दननाथ नगरपालिकामा सञ्चालित ‘सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन परियोजना’ले रिचार्ज पोखरी निर्माण गर्न सहयोग गरेको हो । 

परियोजनाका जिल्ला संयोजक ईश्वरा सुवेदीले भनिन्, ‘पाटन र जंगलमा आएका चौपायासहित जङ्गली जनावरलाई पानीको चरम सङ्कट छ भन्ने कुरा समुदायबाट जानकारी आयो । यसलाई केही हदसम्म अन्त्य गर्न समुदायका मागअनुसार नै रिचार्ज पोखरी निर्माणमा सहयोग गरेका हौँ ।’ उनका अनुसार यसबाट समुदायलाई कसरी जलवायु परिवर्तन अनुकूलन हुने भन्ने कुरा  पनि सिकाएको छ ।   

किसान खत्रीले पाले २०० भेडामध्ये गत असार २३ गतेको अकल्पनीय चट्याङबाट ५२ वटा अकालमै मर्‍यो । उनले आँसु झार्दै भने, ‘भेडा त मरेर केही छैन । पाल्न सकिन्छ । हेरचाहका लागि राखिएका भाइ चट्याङ लागेर गम्भीर घाइते भयो । जुम्लामा उपचार हुन नसकेपछि काठमाडौँको टिचिङ अस्पतालमा लगियो । त्यहाँ उपचारबाट अझै फर्किएको छैन । सम्पत्ति सकिन लागिसक्यो कसैले सहयोग नगर्दा दिक्क लाग्छ । सहयोग गर्छु भन्दछन् कसैले गर्दैनन् ।’

उत्कृष्ट भेडापालक किसानका रुपमा उहाँले धेरै मानसम्मान पनि प्राप्त गरिसक्नु भएको छ । भेडा मरे पनि किसान खत्रीका मुहारमा निरासा पटक्कै झल्किदैन । दसैँमा बिक्री गरेर बाँकी रहेका माउ भेडा चराउन पाटन क्षेत्रतिर लाग्दै गरेका अवस्थामा उनले भने, ‘चेहेरेमा प्राकृतिक रुपमा रिचार्ज पोखरी बनाइयो । यसबाट चौपायालाई पानी र नुन खुवाउन सजिलो भएको छ । यसका लागि नेपाल रेडक्रसलाई धन्यवाद ।  शक्ति र श्वास रहेसम्म भेडा पाल्न छाड्दिन । जे गर्छु यही माटोमा गर्छु । भेडापालन व्यवसायमा पैसा पनि छ जोखिम पनि छ । पाँच छ लाख कमाउन विदेश जानुपर्दैन ।’ मासु र ऊनका लागि भेडाको उपयोग गरिन्छ ।  

चन्दननाथ नगरपालिका उपप्रमुख रामदेवी खड्काले जहाँ विपद् त्यहाँ रेडक्रस भन्ने भावनाअनुसार चेहेरे पाटन क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेको र यसबाट समुदाय लाभाविन्वत भएको बताइन् । उनले भनिन्, ‘यसबाट बस्तुभाउले निधक्क पानी खान पाएका छन् ।’ 

चन्दननाथ –३का वडाध्यक्ष राजन खत्रीले समुदायलाई जलवायु उत्थानशील बनाउन समुदायलाई सक्रिय बनाइएको र यसै अन्तर्ग चेहेरेको पाटन क्षेत्रमा प्राकृति पोखरी निर्माण गरिएको जानकारी दिए ।  

नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले जलवायु परिवर्तनका संकट टार्न समुदायलाई जलवायु उत्थानशील बनाउन   नेपाल रेडक्रसले ध्यान दिइरहेको बताइन्  । रासस

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : ३६ बजे

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट

काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको

काठमाडौंमा ‘महोत्सव तथा बिजनेस एक्स्पो’ सुरु (तस्बिरहरू) 

काठमाडौं– काठमाडौं उद्योग वाणिज्य संघको आयोजना अनुसार बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै