वैशाखमा महाधिवेशन गर्न नेता तयार, मुकुललाई फर्काउने कुरै भएन | Khabarhub Khabarhub

रास्वपा बैठक

वैशाखमा महाधिवेशन गर्न नेता तयार, मुकुललाई फर्काउने कुरै भएन

माघ २ गतेदेखि वडासम्म ६० दिने अभियान



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन समयमै गर्न केन्द्रीय कमिटीका नेताहरू उत्साहित देखिएका छन् । पार्टीको यही पुस २० र २१ गते स्वयम्भूमा बसेको बैठकले समयमै महाधिवेशन गर्ने निष्कर्ष निकालेको प्रवक्ता मनिष झाले बताए ।

रास्वपाले गत असोज १ र २ गते पहिलो राष्ट्रिय भेला गरेको थियो । त्यहीबेला पहिलो महाधिवेशन वैशाख तेस्रो साता गर्ने निर्णय भएको हो ।

महाधिवेशनमा जान सबै आतुर

हालै बसेको दुई दिने बैठकमा ५५ जना केन्द्रीय कमिटीका नेताहरू उपस्थित थिए । बैठकमा सबै नेताहरूले समयमै महाधिवेशन गरेर पार्टीलाई नयाँ आकार दिनुपर्ने बताएका थिए ।

‘पहिलो महाधिवेशन सार्नु नहुने सबैको सुझाव आएको छ । महाधिवेशनपछि पार्टी फैलिने र केन्द्रीय नेताहरूको पनि जिम्मेवारी बढ्ने कारण समयमै महाधिवेशन गर्न साथीहरू इछुक हुनुहुन्छ’, झाले भने, ‘महाधिवेशनका लागि वडा, पालिका र जिल्ला भेला गर्न एकजुट हुनुहुन्छ ।’

सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहे पनि रास्वपाले ६२ जिल्ला भेला र सम्मेलन गरिसकेको छ । हिमाली जिल्लाको भेला जाडो सकिएपछि गर्ने तयारी छ ।

उपत्यका लगायत सहरी क्षेत्रमा पालिका र वडा भेला भइरहेका छन् । रास्वपाले हालसम्म एक लाखजनालाई पार्टी सदस्यता दिइसकेको झाले बताए । यस्तै अरु १ लाख हाराहारीले अनलाइन सदस्यता भरेका छन् । तर उनीहरूको भेरिफाई गर्न बाँकी रहेको प्रवक्ता झाले बताए ।

यो पनि पढ्नुहोस् :

माफी नै मागे पनि मुकुलका लागि तत्काल ठाउँ छैन रास्वपामा

०७९को निर्वाचनमा रास्वपाले देशभरबाट ११ लाख ३० हजार मत ल्याएको थियो । उननिर्वाचनमासहित प्रत्यक्षका ८ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट ल्याएको थियो । तर, पार्टी सभापति लामिछाने सहकारी प्रकरणमा मुछिँदा रास्वपाको जनमत खस्कँदै गएको आँकलन भइरहेको छ । तर रास्वपा नेताहरू भने यो कुरा मान्न तयार छैनन् ।

रास्वपाले सभापति जेल नै जाने अवस्था आए पनि महाधिवेशन गर्ने योजना बनाएको एकजना सचिवालय सदस्य बताउँछन् । उनले खबरहबलाई भने, ‘सभापति जहाँ भए पनि महाधिवेशनमा जाने सहमति केन्द्रीय कमिटी बैठकमा जुटेको छ । सभापतिलाई जेलै हाल्ने अवस्था आए पनि वैशाखमै महाधिवेशन हुन्छ ।’

कुनै नाटकीय परिवर्तन नभए वैशाखमा महाधिवेशन हुने पक्का जस्तै छ । जसका लागि रास्वपाले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाएको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बताए ।

‘सबै केन्द्रीय नेता महाधिवेशनमा जान तयार हुनुहुन्छ । जनतामा ऊर्जा र उत्साह ल्याउन पनि पार्टीले महाधिवेशन रोक्दैन, वैशाखमै हामी महाधिवेशनमा जान्छौँ’, उनले भने ।

फाइल तस्बिर


६० दिने अभियान

समयमै महाधिवेशनमा जान रास्वपाले आगामी माघ २ गतेबाट संगठन विस्तार अभियान चलाउने भएको छ । यस अभियानअन्तर्गत सबै पालिका र जिल्लामा अधिवेशनको रोडम्याप तय गरिने छ । ६० दिने अभियमनमा केन्द्र, प्रदेश र जिल्लाका नेताहरू वडा र पालिका पुगेर जनताका कुरा सुन्ने छन् ।

त्यसक्रममा पार्टी सदस्यता पनि वितरण गर्ने तयारी छ । ‘माघ २ गतेबाट हरेक जिल्ला, पालिका र सकेसम्म सबै घर–घरमा डुल्ने योजना छ । यसले महाधिवेशनलाई सहयोग गर्छ । पार्टीको संगठन फैल्याउन पनि आधार पनि तयार गर्छ,’ प्रवक्ता झाले भने, ‘वडा र पालिकामा सानो संगठन बनाउन थालेका छौँ । हामी संगठन बनाउँदा सरकारी कर्मचारी र शिक्षकलाई राख्दैनौँ ।’

केन्द्रीय कमिटीमा अधिकांश नेताले वडास्तरसम्मै संगठन चाहिएको रिपोर्टिङ गरेकाले अबको ६० दिनमा त्यसतर्फ लाग्ने उनले बताए । यसअगाडि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा लगायतले यस्ता अभियान चलाएका थिए । एमालेले माघदेखि तीन महिना ‘जरासम्मको अभियान’ चलाउँदैछ ।

मुकुलबारे सबै मौन

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाले सभापति लामिछाने संकटमा रहेको अवस्थामा केही नेताले पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउनुपर्ने बताएका थिए ।

कोशी प्रदेश कमिटी सभापति राजेश तिम्सिना र मधेस प्रदेश सभापति तपेश्वर यादवले मुकुललाई जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका थिए ।

तर, कार्यवाहक सभापति अर्यालले कोशी सभापतिको मात्रै पत्र आइपुगेको बताए । ‘कोशी प्रदेश सभापतिले मात्रै पत्र पठाउनुभएको रहेछ । तर, बैठकमा यो विषयमा कुरा उठेन’ रास्वपा नेता पराजुलीले भने, ‘बैठकमा पूर्वमहामन्त्रीबारे छलफल भएन । त्यो हाम्रो एजेन्डामा थिएन ।’

ढकाललाई पार्टीमा फर्काउन नेताहरू औपचारिक रुपमा बोलेका छैनन् । सभापति लामिछाने र रास्वपाबारे ढकालका अभिव्यक्तिले क्षति भएको भन्दै उनीसँग धेरै नेता असन्तुष्ट छन् ।



रविको सन्देश : रास्वपा एकजुट होस्

बैठकमा नेताहरूले सभापति लामिछानेले हिरासतबाट पठाएको सन्देश नेताहरूले सुनाएका थिए । कार्यवाहक सभापति अर्याल, उपसभापति स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रवक्ता मनिष झा, सांसद शिशिर खनाल र सोविता गौतमसहितले सभापतिले आफू जहाँ भए पनि पार्टी फैलिएर जानुपर्ने सन्देश पठाएको सुनाए ।

रास्वपा फुट्न लागेको, नेताहरूमा बेमेल देखिएको चर्चा भएपछि सभापतिले एकजुट नभए नयाँ दलप्रति जनताको विश्वास उठ्ने भनेका थिए । रविले सबैलाई मिलेर जान सन्देश दिएको नेताहरूले बताएका छन् । थियो । यसबारे कार्यवाहक सभापति अर्याल र उपसभापति वाग्लेले रास्वपाका कुनै गुट–उपगुट नभएको बताए ।

‘साथीहरू रास्वपाका गुट–उपगुटको हल्ला आएको बताउँछन् । यसको पछि नलाग्नुस् । एकठाउँ उभिएर हामीविरुद्ध सरकारले गर्न लागेको कु–कर्मबारे बोल्नुपर्छ । यो कुरा जनतालाई बुझाउनु पर्छ’, कार्यवाहक सभापति अर्यालले बैठकमा भनेका थिए, ‘बाहिरका हल्लामा नलाग्नुस् । सभापतिले गुट छैन भन्नुभएको छ । हामीबीच त्यस्तो छैन ।’

अर्यालले यसो भनेपछि वाग्लेले पनि विचार फरक–फरक हुनु स्वाभाविक भए पनि गुट–उपगुटको नाममा प्रचार गर्नु गलत भएको तर्क गरे ।

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने गत कात्तिक २ गते पक्राउ परेका रविको मुद्दाको आदेश आउने तर्खरमा छ । सम्पत्ति शुद्धीकरण, संगठित अपराध लगायतका अभियोगमा उनीबारे आज–भोलि नै न्यायाधीश नीतिज राईको इजलासबाट आदेश आउने सम्भावना छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ४ : ११ बजे

विप्लवको प्रश्न- गाडी चढ्ने दलाल थेग्न नसकेका नेपालीले घोडा चढ्ने सामन्त आए के गर्लान्

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष नेत्र विक्रम चन्द ‘विप्लव’ले

इस्तानबुलका मेयरका वकिल पनि पक्राउ

इस्तानबुल-  इस्तानबुलका जेलमा रहेका मेयर एकरेम इमामोग्लुले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना

सर्वसाधारणका घरबाट सामान निकालेर जलाउँदै राजावादी

काठमाडौं– काठमाडौंको तीनकुनेमा भेला भएका राजावादीहरूले सर्वसाधारणका घरबाट सामान निकालेर

समाजवादी मोर्चा नेपालको जनसभा सुरु

काठमाडौं– समाजवादी मोर्चा नेपालको जनसभा सुरु भएको छ । काठमाडौंको

राजावादीले ढुंगा बर्साएको तीनकुनेको एक घरमा आगजनी

काठमाडौं– काठमाडौंको तीनकुनेस्थित एक घरमा आगजनी गरिएको छ । राजावादीहरूको