काठमाडौं – संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक भएको छ । सामाजिक विषयवस्तुमा आधारित कथा संग्रह आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजिक भएको हो ।
सो अवसरमा कथा संग्रहको समिक्षा गर्दै प्राध्यापक तथा समालोचक डाक्टर गीता त्रिपाठीले दिपक समिरका कथा ‘इतिहाँस’ र वर्तमान’लाई जोड्ने पूल बनेको बताइन् । कथा संग्रहमा रहेको ‘नवराज विकको भ्यालेन्टाइन डे’ शिर्षकको कथाले रुकुम हत्या काण्डमा मारिएका नवराज विकलाई समेटेको भन्दै उनले कथा संग्रह नेपालको सामाजिक परिवेश र समाजको पीँधमा पारिएको वर्गप्रति लक्षित रहेको बताइन् ।
उनले भनिन्, ‘रुकुममा नवराज बिकको जातीयतामा आधारित पीडाको रगत बगेको छ । समाजको निकै वर्वर अवस्थामा नवराज मारिए तर त्यो पीडालाई कथामा उतारेर लेखकले नवराजलाई न्याय गरेका छन् ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/depak-samir-bool-768x512.jpg)
समिरका अधिकांश कथा श्वेर कल्पनामा आधारित भएता पनि कथामा मौलिकता सहितको नारीबादी चेतना प्रखर रुपमा प्रयोग गरिएको उनले बताईन् । समाजको पीँधमा पारिरएका समदायलाई कुनै न कुनै बिम्ब प्रयोग गरेर कथाको मुख्य पात्र बनाई तिनका बारेमा कल्पनामा बगेर कथा लेख्नु कथाकार समिरको आफ्नै मौलिकता रहेको समालोचक त्रिपाठीको भनाई छ ।
कथा संग्रहका बारेमा चर्चा गर्दै सार्वजनिक सेवा प्रसारण (रेडियो नेपाल/नेपाल टेलिभिजन)का कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्टले समाजको बिम्ब कथामा उतारिएको बताए ।दिपक समिरका कथाले भौगोलिक छलाङ्ग मारेको भन्दै उनले कथा संग्रहमा कबिता, निबन्ध र गीतको समेत संयोजन गरिएकाले कथा निकै उत्कृष्ट रहेको बताए ।
दिपक समिर बहु–आयामिक ब्यक्तित्वका धनि भएको भन्दै अध्यक्ष बिष्टले समिरका कथाले समाजलाई सचेत बनाउन मदत गर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै सार्वजनिक सेवा प्रसारण (रेडियो नेपाल–नेपाल टेलिभिजन)का कार्यसमिति सदस्य फूलमान बल तामाङ्गले दिपक समिरका कथामा भूत, वर्तमान र भविष्यको संयोजन गरिएको बताए । अति यथार्थवादी कल्पनाशिलताको प्रयोग गरिएका कारण कथामा नयाँ आयाम थपिएको भन्दै उनले आजको बिसंगत समाजलाई पर्दाफास गर्न कथा संग्रह सफल भएको दाबी गरे ।
उनले भने, ‘मुना मदनको डिभोर्स पार्टी शिर्षकको कथाले समाजको बिसंगत पक्षलाई उजागर गरेको छ । यस कथाले समाजमा पैदा भएको उच्छृङ्खलतामाथि प्रश्न गरेको छ, जुन आजको प्रश्न पनि हो ।’
![](https://www.khabarhub.com/wp-content/uploads/2025/02/dipak-samir-02.3-768x512.jpg)
कार्यक्रममा नेपाल टेलिभिजन राष्ट्रिय प्रशारणका प्रमुख टंक उप्रेतीले समाजमा नदेखिएका बिषयलाई सुक्ष्म तरिकाले अध्ययन गरि कथा लेखेको भन्दै कथाकार समिरको सिर्जनशिलता, नविनता र प्रभावकारिताको प्रशंसा गरे ।
आफ्नो जन्म दिनको अवसरमा कथा संग्रह सार्वजनिक गरेको भन्दै संचारकर्मी तथा कथाकार समिरले आफ्नो संचारथलो रेडियो र टेलभिजन नै कथा संग्रहको पृष्ठभुमि भएको बताए । बिगतमा आफुले गरेको संघर्ष र मेहनतले आफुलाई कथाकारको उचाइँमा समेत पुर्याएको भन्दै आफ्ना दिवंगत आमा बुवालाई सम्झेर उनी भावुक बनेका थिए ।
कार्यक्रममा बिभिन्न विधाका साहित्यकार, समालोचक, संचारकर्मी तथा प्रतिष्ठित व्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो । इन्डिगो इन्कद्वारा प्रकाशित कथा संग्रहमा कथा संग्रहमा बिभिन्न शिर्षकका १४ वटा कथाहरु समावेश गरिएको छ ।
प्रतिक्रिया