जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर « Khabarhub

जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– उमेरले आठ दशक लागेका म्याग्दीको धवलागिरी गाउँपालिका– ३ मुनाका लिलबहादुर पुनको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । असी वर्षीय लिलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ती गोठ लिएर लेक बेसी गरेरै बितेको थियो ।

‘बुवा आमाले भने अनुसार मेरो जन्म पनि गोठमै भएको थियो, जीवन पनि गोठमै बित्यो,’ उनले भने, ‘बाबु बाजेका पालादेखि गर्दै आएको भेडाबाख्रा पाल्ने पेशालाई मैलेसम्म धानेको छु ।’ गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका लिलबहादुरले हिउँद त्यहीँ बिताए ।

दुई सयभन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लिलबहादुरले मात्रै घुम्ति गोठमा बाख्रा पालेका छन् । आठ दश वर्षअघिसम्म ४०–५०  बाख्रा नहुने घर थिएन । चार–पाँच घर मिलेर एक जना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो ।

पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसके । स्थानीय खरी जातका एक सय बाख्रालाई दुई वर्षअघि ६ लाखमा बेचेका लीलबहादुर हाल भएका बाख्रा बेच्नका लागि पनि ग्राहक खोजे पनि पाएका छन् ।

‘गाउँका सबै बाख्रा गोठ मासिए, मैले पनि एक सय ५० मा झारेको छु,’ लिलबहादुरले भने, ‘छोरानातीले यो पेशा अँगालेनन् । विदेशतिर लागे । बाख्रा बेच्न ग्राहक खोजेको छु । पाएको छैन् ।’ भेडाबाख्रा पालेर लीलबहादुरका दम्पत्तीले १० जना छोराछोरी हुर्काएको र घरब्यवहार चलाएको बताए ।

उनले कान्छा छोरा रासबहादुर पुनलाई अष्ट्रेलिया पठाएका छन् । तीन जना घरमै छन् । घरमा भएकामध्ये साहिँला छोरा पक्षघातका बिरामी छन् । ६ जना छोरीको बिहेबारी भइसकेको छ ।

जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ती गराउने चलन रहेपनि भेडा गोठामै रमाएका लीलबहादुरलाई लाहुरे बन्न चाहेनन् ।

उनले वार्षिक १५–२० वटा खसीबोका र १०–१५ वटा माउ बाख्रा बेच्छन् । चारदेखि पाँच वर्ष पालेको बोका र खसीलाई ३० हजारसम्ममा बिक्री गर्छन् । खसी मासु र बोका बली चढाउन बिक्री हुन्छ । माउ बाख्रा भने घरमा पाल्नेहरुले किन्छन् ।

हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भएपनि जेठदेखि असोजसम्म हिमाल फेदीका बुकीको घुम्ती गोठको बसाइ कष्टप्रद हुने उनले बताए । हप्तौंसम्म झरी पर्दा, भेडाबाख्रा हराउँदा, जङ्गली जनावरले दुःख दिँदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उनको अनुभव छ । लेक जाँदा बर्खा यामलाई पुग्ने खाद्यान्न पनि लैजानुपर्छ ।

रेडियोमा गित, समाचार सुुनेर मनोरञ्जन लिने उनलाई पछिल्लो समय मोवाइल फोनको सुविधा भएपछि साँझ, बिहान घरपरिवार, आफन्तसँग हालखबर सोध्न र गफिन सजिलो भएको छ ।

गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृष्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उनले चितुवा र ब्याँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति गर्ने क्रम बढेको बताए । बाख्रालाई जङ्गली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुकुर पनि पालेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ८ : २८ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित