‘पुरुष लड्यो भने महिलाले उठाउन सक्नुपर्छ’ | Khabarhub Khabarhub

महिला चालकको संघर्षको कथा

‘पुरुष लड्यो भने महिलाले उठाउन सक्नुपर्छ’

हातमा सीप छ, रत्नपार्कमा ट्रिप छ : हरमिता श्रेष्ठ



काठमाडौं– ‘हातमा सीप छ, रत्नपार्कमा टिप छ ।’ सवारी चालकहरुबीच यो निकै लोकप्रिय नारा रहेको मीठो हाँसोसहित हरमिता श्रेष्ठले बताइन् । १६ वर्षदेखि संयुक्त राष्ट्र संघको गाडी हाँक्दै आएकी उनलाई एक हाकिमले राम्रोसँग गाडी नचलाएको आरोपमा जागिरबाट निकालिदिए । तर, हातमा ठूलो बसको लाइसेन्स थियो । हातमा सीप भएपछि उनलाई डर भएन ।

युएनको जागिर गएपछि श्रेष्ठले विगत ७ वर्षदेखि साझा यातायातको भीमकाय बस हाँकिरहेकी छिन् । साझाकी उनी एक मात्र महिला चालक हुन् ।

उज्यालो अनुहार, बोल्दा हाँसिरहने सकारात्मक विचारकी हरमिताको नजिक पर्दा जो कोहीलाई हौसला र प्रोत्साहन मिल्छ । अरुले गरे भन्दा फरक काम गर्नुपर्छ भन्ने सोचाइले उनलाई चालक बनाएको छ ।

हरमिता कसरी यो क्षेत्रमा आइन् ? महिलाका लागि यो क्षेत्र कति सहज र सुरक्षित ? लगायतका विषयमा खबरहबले जान्ने प्रयास गरेको छ । उनकै शब्दमा सुनौं :

युएनको जागिर

युएनको गाडी चलाउँदा पूर्वदेखि पश्चिमसम्म पुग्न पाएँ । पत्रिकामा आएको विज्ञापन हेरेर ड्राइभर पदका लागि जागिर खान गएकी थिएँ । युएनको महिला बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था थियो ।

एउटा कार्यक्रममा काठमाडौंबाट पूर्व जाँदा गाडीको अगाडि मोटरसाइकल आएर लड्यो । मेरो गाडीको स्पिड, साइड सबै ठिक थियो तर पनि स्पिडमा आएको मोटरसाइकल हाम्रै अगाडि लड्यो । त्यो देखेपछि हाकिम नराम्रोसँग डराएछन् । त्यसमा मेरो गल्ती थिएन । तर, हाकिमले लापरवाही गरेको भन्दै गाडी चलाउन दिएनन् ।

एक वर्षसम्म रिसेप्सनमा काम लगाए । हरेक वर्ष नयाँ सम्झौता गर्नुपथ्र्यो । तर, त्यस वर्ष सम्झौता नवीकरण नगदिएपछि युएनको जागिर गयो ।

महिला र पुरुष दुवैले पैसा कमाउनुपर्छ । एकजना लडेको दिन अर्को उठाउन सक्ने हुनुपर्छ । परिवारमा कमाइराख्ने पुरुष लड्यो भने के गर्ने ? त्यो दिन महिलाले उठाउन सक्ने हुनुपर्छ

काम गर्दा खुट्टा तान्नेहरु जहाँ पनि हुने । विदेशको होस् वा स्वदेशको कार्यालय, जसले चाप्लुसी घस्न जान्यो, उही मात्र टिक्ने । साँचो मान्छे जहाँ पनि एक्लो हुने । जागिरको समय थपिदिनका लागि मैले अनुरोध पनि गरेँ । म आफू पनि महिला हुँ, जागिरबाट ननिकाल्नु भनेँ । तर, मानेनन् ।

युएनको नेपालस्थित कार्यालयको म पहिलो महिला चालक थिएँ । अहिले त अरु महिला चालकहरु पनि देखिरहेकी छु, खुसी लाग्छ । महिला चालक बढेको देख्दा खुसी लाग्छ ।

साझा बससँगको यात्रा

युएनमा जागिर खानुभन्दा पहिले दुई वर्ष राष्ट्रिय महिला आयोगको गाडी चलाएकी थिएँ । युनएनमा १६ वर्ष गाडी चलाएँ ।

एनमा काम गर्दै गर्दा मिनीबस र बसको समेत लाइसेन्स लिएकी थिएँ । त्यहाँको जागिर गएपछि यता साझा यातायातसँग जोडिएँ । साझामा काम गर्न थालेको ७ वर्ष भयो ।

साझाले छोरो मान्छे र छोरी मान्छे भनेर भेदभाव नगरी जागिर दिने रहेछ भन्ने सुनेँ । त्यो वास्तविक नै रहेछ । ठूलो गाडीको लाइसेन्स अनिवार्य हुनुपर्ने थियो । बाँकी ट्रायल र अन्तर्वाता पास गरेपछि जागिर पक्का भयो ।

ट्राफिक प्रहरीको पेलाइ

महिला भनेर अरुले हेला गरेका छैनन्, जति ट्राफिक प्रहरीले गरेका छन् । अझ अहिले अनलाइन प्रणाली छ, लाइसेन्स देखाउनू भन्छन् । देखायो, फोटो खिच्छन् । पछि त पैसा तिर्नु भन्छन् । के गल्ती हो पनि थाहा छैन । किन जरिवाना हो पनि थाहा हुन्न ।

मजदुरलाई मारेर प्रहरीहरु कमाउने धन्दामा लाग्नु निन्दनीय छ । यो श्रमिकमाथि सरकारको अन्याय हो, यसको उचित नियमन हुन आवश्यक छ ।

पहिले ट्राफिकले चिट काट्थ्यो भने संस्थाले तिर्ने गथ्र्यो । अहिले चालकले नै आफ्नो खल्तीबाट चिटको पैसा तिर्नुपर्छ । दिनभरि कमाएको पैसा अफिसलाई नै दिने हो । तर चिट काट्यो भने आफ्नै पैसा हाल्नुपर्छ । यात्रु कम भएर पैसा थोरै दिदाँ पनि काम गरेनन् भन्छन् । यात्रु चढाउन गाडी रोक्यो, ट्राफिक प्रहरी जहाँको त्यहीँ चिट काट्न तयार भएर बस्ने स्थिति छ । थोरै पैसा आयो भने सन्सपेन हान्दिन्छन् । मान्छे बोलाएर बस चढाएन भन्छन् ।

एकदिन यात्रुले पनि साझा बस रोकेन भनेर कार्यालयमा गुनासो गर्दिएछन् । हामी अप्ठेरोमा फलेको फर्सी जस्तो भयांै । चालकलाई हेप्ने गर्छन् । त्यो भन्दा बाहेकको हिंसा म आफू पनि सहन्नँ, हुन पनि दिन्नँ ।

बसमा केही पुरुषले महिलालाई जिस्काएको देख्छु । त्यस्तो अवस्थामा पनि मैले खबरदारी गर्ने गरेको छु । हिंसा सकेसम्म ठाउँको ठाउँ नै प्रतिवाद गर्न सक्नुपर्छ । कर तिरेर हिँड्ने नागरिकलाई ट्राफिकले अनावश्यक दुःख दिनुहुँदैन ।

परिवार

हाम्रो पुरानो घर धरान हो । म त्यहीँ जन्मिएर हुर्किएँ । ६ जना दाजुभाइ र ५ जना दिदीबहिनीमध्ये म साँइली छोरी हुँ । बुवाआमा किसानी हुनुहुन्थ्यो । तर पनि दाइदिदीले झैं दुःख गर्नुपरेन । अहिले बुवाआमा बुढाबुढी हुनुभयो । अझै धेरै बाँचे हुन्थ्यो भनेर कामना गरिरहन्छु । म उमेरले ४० कटेँ । तर पनि बुवाआमाको माया र छहारीबाट वञ्चित हुनु नपरोस् लाग्छ ।

एसएलसी पास गरेपछि बाँकी अध्ययन अगाडि बढेन । अनौपचारिक रुपमा विभिन्न तालिम र सेमिनारमा भाग लिएकी छु । किताबी अध्ययन कम भए पनि जीवन भोगाइले धेरै कुरा सिकायो । पढाइतिर भन्दा मलाई गाडी चलाउन तिरै मन गयो ।

हाल कीर्तिपुर घरमा छोरी र म मात्रै छौ । एक छोरा पढ्नको लागि विदेश गएको छ ।

फरक काम गर्ने इच्छाले ड्राइभर बनेँ

अरुले लगाइरहेकै जस्तो लुगा लगाउन मन नलाग्ने । कसैले लगाइरहेकै जस्तो गहना लगाउन मन नलाग्ने । काम पनि अरुले गरिरहेकै गर्न मन नलाग्ने । अरुले भन्दा फरक गर्छु जस्तो लाग्ने । मेरो समयमा केटीले गाडी चलाउँदैनथे । धरान घरमा मारुती गाडी थियो । त्यही देखेर गाडी चलाउने इच्छा लाग्यो ।

रहरले गाडी चलाएकी थिएँ तर करिअर यही बन्यो । ०५८ सालमा पहिलो गाडीको लाइसेन्स लिएँ । हातमा सीप भएपछि केही कुराको डर हुँदैन । युएनको जागिर गयो तर मलाई के डर ? साझामा आएँ, भोलि साझा छोडे अन्त काम पाइहालिन्छ । गाडी नभई नहुने चज हो, यहाँ कामको अभाव हुँदैन ।

युएन र साझाको तलब धेरै फरक छ तर म खुसी छु । सधैँ राम्रो तलबमा जागिर खानुपर्छ भन्ने छैन । थोरै तलबमा कसरी चल्ने भन्ने पनि मानिसले सिक्नुपर्छ । काम फरक–फरक ठाउँमा गर्नुपर्ने रहेछ । जीवनमा थोरै र धेरैमा जस्तोसुकै स्थितिमा पनि चल्न सक्ने हुनुपर्छ । उमेरको छेकबार छैन । आफूले सकुञ्जेल काम गर्न पाइन्छ ।

साझामा काम गर्न सजिलो छ । हरेक वर्ष सम्झौता गर्न पर्दैन । आफूले सकुञ्जेल गर्छु भन्न पाइन्छ । यहाँ ठूलै दुर्घटना नहुञ्जेल निस्केर जाउ भन्दैनन् । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म गाडी चलाउनुपर्छ । हरेक दिन रुट फरक हुन्छ र गाडी पनि फरक–फरक चलाउनुपर्छ । बिहान कार्यालय आएपछि मात्रै थाहा हुन्छ आज कुन रुट र कुन बस चलाउने भनेर ।

दिनभरिमा करिब चार ट्रीप हुन्छ । हाम्रो धेरै लामो रुट हुन्छ । धेरै खट्नुपर्ने काम हो ।

सबैले प्रेरणा मान्छन्

मलाई हेरेर गाडी लाइनमा लाग्ने धेरै महिला छन् । कोही लाइसेन्स लिने तयारीमा छन् । मैले काम छोँडे भने उनीहरु निराश हुन्छन् । म चालक मात्रै होइन, कति महिलाका लागि प्रेरणा पनि हुँ । जो प्रेरणा दिने मान्छे हुन्छ, उसले स–सानो कुरामा चित्त दुःखाएर, काम छोडेर बस्न नमिल्ने रहेछ ।

यति धेरै काम गर्दा पनि उचित मूल्याङकन नहुँदा काम छोडिदिऊँ जस्तो पनि लाग्छ । तर, मैले काम छोडेँ भने मलाई देखेर यो क्षेत्रमा आउछु भन्ने दिदीबहिनी लथालिङ्ग हुन्छन् । यो क्षेत्रमा जति बाहिर डुल्न परे पनि हिंसामा परेको छैन । मानसिक रुपमा बलियो केटीलाई कसैले केही गर्न सक्दैन । दुर्घटना भनेको फरक कुरा हो तर छुच्चो स्वभावकी केटीलाई खासै कसैले हेप्न सक्दैन । म सानैदेखि हक्की स्वभावकी थिएँ ।

यात्रुहरु मलाई देखेर खुसी हुन्छन् । कसैले नमस्कार पनि भन्छन् । बुढाबुढी कतिले आर्शिवाद पनि दिनुहुन्छ । मलाई देखेर धेरै यात्रुहरु बसमा चढ्छन् । अरु गाडीको तुलनामा धेरै यात्रु मेरो गाडीमा चढ्छन् । यात्रुहरु मसँग कहिल्यै रिसाउनुभएको छैन ।

एक्लै बाँच्नुपर्ने स्थितिका लागि महिला तयार हुनुपर्छ । पुरुषको साथ हुनु पनि राम्रो हो । तर कहिले कुनै परिस्थितिले घरव्यवहार सम्हाल्नुपर्ने भएमा तयार रहनुपर्छ । आफ्नो कमाइ हुँदा जीवन सहज पनि हुन्छ । जीवन चलाउन पैसा चाहिन्छ ।

महिला र पुरुष दुवैले पैसा कमाउनुपर्छ । एकजना लडेको दिन अर्को उठाउन सक्ने हुनुपर्छ । परिवारमा कमाइराख्ने पुरुष लड्यो भने के गर्ने ? त्यो दिन महिलाले उठाउन सक्ने हुनुपर्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ५ : ०५ बजे

भारतले तेस्रो पटक जित्याे च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं – भारतले तेस्रो पटक च्याम्पियन्स ट्रफीकोको उपाधि जितेको छ

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण

काठमाडौं – काठमाडौं उपत्यकामा प्रदुषण बढेको छ । मौसम पूर्वानुमान

महिलाको हत्यामा संलग्न पाँचजना पक्राउ

काठमाडौं – काठमाडौंको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा संलग्न एक नाबालकसहित

सडकमा फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौं महानगरद्वारा एक लाख जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ

अब कुनै पनि बहानामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सार्ने छुट छैन : मन्त्री चाैधरी

कर्णाली – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले अब कुनै पनि