डा. रोजीको रोजाइ : नो शहर, नो विदेश | Khabarhub Khabarhub

डा. रोजीको रोजाइ : नो शहर, नो विदेश

कर्णालीको विकट हिमाली जिल्लामा कार्यरत चिकित्सकको भोगाइ


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 8 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेसको सर्लाहीमा जन्मिएर चिकित्सकीय पेशामा लागेकी डा. रोजी थपलिया कर्णाली प्रदेशको विकट हिमाली जिल्ला डोल्पाका जनताको सेवामा तल्लीन छिन् ।

देशमा काम गर्ने वातावरण र अवसर नपाएको भन्दै स्वास्थ्य क्षेत्रको ठुलो जनशक्ति विदेशिएको अवस्था छ । भएको जनशक्ति पनि सहरमुखी छ । तर, दुर्गम ठाउँमा बसेर पनि जनताको सेवा गर्न र देशलाई योगदान सकिन्छ भन्ने उदाहरण बनेकी छिन् डा. रोजी ।

भर्खरै अध्ययन सकेर चिकित्सकीय पेशामा प्रवेश गरेकी रोजीले लोकसेवाको सुरुवात नै हिमाली जिल्लाबाट गरिन् ।

सुरुमा सामान्य अवस्थाका बिरामीको सेवा गरेकी रोजीलाई सुरुवाती अवस्थामा आफूले हिमाली जिल्ला रोजेर गल्ती पो गरेँ कि भन्ने पनि नलागेको होइन । तर, अहिले आएर त्यहाँका बिरामीहरुको सेवा गर्दा उनीहरुमा आउने खुशी, आफूप्रतिको सम्मान र विश्वासले उनलाई आफ्नो निर्णय सही रहेछ भन्ने लागेको छ ।

भौगोलिक विकटता, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य उपकरणको अभाव, चेतनाको कमी र धामी झाँक्रीप्रतिको अन्धविश्वासका कारण आँखै अगाडि निमुखा जनताले ज्यान गुमाएको देख्दा रोजीलाई त्यतिकै दुःख पनि लाग्छ ।

चिकित्सकीय पेशासँगै साहित्यमा पनि कलम चलाउने डा. रोजी आफ्नो मनमा लागेका कुरा कविता र गजल मार्फत पोख्दा आनन्द लाग्ने बताउँछिन् ।

सरकारले विकटका जनतालाई नागरिकता बाहेक केही दिन नसकेको रोजीलाई भान हुन्छ । त्यहाँको विकासका लागि बाटोघाटो, आवश्यक मात्रामा स्वास्थ्य संस्था र चिकित्सक तथा औषधीहरुको व्यवस्था गर्नु सरकारको दायित्व भएको उनी बताउँछिन् ।

तराईमा जन्मेर हिमालमा जागिर

मधेस प्रदेशको सर्लाहीमा जन्मिएकी रोजीलाई सानैदेखि चिकित्सक बन्ने रहर थियो । उनका बुवा हेल्थ असिस्टेन्ट (अहेब) भएकाले रोजी बच्चैदेखि त्यही परिवेशमा हुर्किइन् ।

घरमा पढाइका लागि राम्रो वातावरण भएको र सानैदखि पढाइ पनि राम्रो भएकाले रोजीले चिकित्सा शिक्षा रोजिन् । उनी भन्छिन्, ‘सानैदेखि कक्षामा प्रथम हुन्थेँ । एसएलसीमा पनि जिल्ला प्रथम नै भएँ । त्यसपछि प्लस टु पढ्न काठमाडौं आएँ र निष्ट कलेजबाट प्लस टु गरेँ ।’

दुई वर्ष एमबीबीएसको तयारीपछि नेपाल सरकारको छात्रवृत्तिमा खुलातर्फ नाम निकालेर उनी नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भइन् ।

नेपालगञ्ज मेडिकल कलेजबाटै इन्टर्न सुरु गरेर चिकित्सकीय पेशाको सुरुवात गरेकी उनले छात्रवृत्ति करारको पहिलो वर्ष गण्डकी प्रदेशको नवलपरासीमा रहेको दुम्कौली प्राथमिक स्वास्थ्चौकीमा काम गरिन् । जुन, अहिले देवचुली नगर अस्पतालका नामले परिचित छ ।

देवचुलीबाट ललितपुरस्थित लुभु प्राथमिक स्वास्थ्य केन्द्र हुँदै भक्तपुर अस्पतालको आइसीयु विभागमा काम गरेको रोजीसँग अनुभव छ । भक्तपुर अस्पतालमा काम गर्दागर्दै लोकसेवा पास गरेर उनी डोल्पामा गएकी हुन् ।

पढाइमा अब्बल रोजीले पीजीका लागि तयारी गर्दै लोकसेवा पनि दिइन् र दुबैमा नाम निकाल्न सफल भइन् । तर, पिजी छाडेर लोकसेवा रोजिन् । त्यसमा पनि कर्णाली प्रदेश ।

डा. रोजीले खबरहबसँग भनिन्, मसँग उपचारको लामो अनुभव छैन । धेरै अनुभव नगरी विकटमा आएर मैले गल्ती गरेँ कि भन्ने लागिरहेको थियो । तर, अहिले काम गर्दै जाँदा अवसर र चुनौति दुबै मेरा सामु छन् ।’

उनी थप्छिन्, ‘कर्णालीमा सेवा दिने क्रममा धेरै चुनौतिहरुको सामना गरिरहँदा मेरा सामु धेरै अवसरहरु पनि छन् । जस्तै– यहाँका बिरामीका सानादेखि ठूलासम्म समस्या पत्ता लगाएर उपचार गर्दा उनीहरुको मुहारमा झल्किने खुशीले मलाई आनन्द दिन्छ, यो शहरमा सायदै आउँदैनथ्यो होला ।’

तर, बिरामीहरुलाई चाहिएको सेवा दिन नसक्दा दुःख लाग्ने गरेको बताउँदै उनी भन्छिन्, ‘दुर्गमका अस्पतालमा शल्यक्रिया सेवा छैन, अकाल मृत्यु आफ्नै आँखाअगाडि देखिरहँदा पनि बचाउन सक्ने अवस्था हुँदैन । त्यस्तोबेला दुःख लाग्छ ।’

चिकित्सक पेशामै रहँदा रोजीले विवाह पनि गरेकी छिन् । श्रीमानको परिवारमा पनि सबै लोकसेवामै लागेका सदस्यहरु छन् । यसले गर्दा पारिवारिक सपोर्ट एकदमै राम्रो रहेको उनी बताउँछिन् ।

‘श्रीमानसँगै परिवारका सबै सदस्यहरु मेरो निर्णयबाट खुशी छन्’ रोजीले खबरहबसँग भनिन्, ‘दुवैजना पिजीमा सँगै थियौं । श्रीमान अहिले धुलिखेलमा रेडियोलोजी अध्ययन गरिरहनुभएको छ ।’

दुर्गममा सेवा दिने प्रेरणाका स्रोत

चिकित्सक पेशामा लाग्नुमा पहिलो प्रेरणाका स्रोत रोजीका आफ्नै बुवा हुन् । कर्णालीसँग जोडिने प्रेरणा रोजीले नेपालगञ्ज मेडिकल कलेजमा इन्र्टन गर्ने बेलामा पाइन् ।

नेपालगञ्ज मेडिकल कलेजमा कर्णालीकै बिरामीहरु धेरै आउने र पढ्ने साथीहरु पनि कर्णालीका धेरै भएकाले आफू त्यतातिर जोडिएको उनी बताउँछिन् ।

रोजी भन्छिन्,‘तराईमा जन्मे हुर्केकी मैले सानैदेखि बुवाले हेरेका र मैले आफैं पनि सामान्य अवस्थाका बिरामीहरु मात्रै हेरेकी थिएँ । तर, जब म नेपालगञ्ज पढ्न आएँ र कर्णालीका बिरामीहरुको अवस्था देखेँ, उनीहरुको बोली, भाषा, रहन–सहन, चेतनाको स्तर र त्यहाँका बिरामीको अवस्था लगायतका कुराले मलाई उनीहरुतर्फ आकर्षित गर्‍यो ।’

उनले अगाडि भनिन्, ‘उनीहरुकै गाउँ ठाउँमा गएर सेवा दिन पाए हुन्थ्यो भन्ने मनमा लाग्यो र भविष्यमा उनीहरुकै सेवा गर्छु भनेर मनमा अठोट लिएँ । भाग्यले जुराएर यो सम्भव पनि भयो ।’

रोजी आफ्नो रोजाइप्रति खुशी छिन्, ‘लोकसेवामा नाम निस्किनेबित्तिकै मैले हिमाली जिल्ला रोजेँ । मेरो रोजाइमा अहिले म एकदमै खुशी छु । धामीझाँक्री गर्दा निको नभएका बिरामी अस्पतालमा ल्याउँछन् र निको हुँदा हामीलाई भगवान नै मान्छन् । उनीहरुको अनुहारमा खुशी झल्केको देख्दा आफ्नो पेशाप्रति एकदमै गर्व लाग्छ ।’

‘देउताले आदेश दिए’ मात्रै अस्पताल आउँछन्

‘पहिले एउटा पुरानो भवनमा अस्पताल सञ्चालनमा थियो । अहिले नयाँ भवन बनेसँगै सेवा त बिस्तार भएको छ तर धेरै थोकको अभाव छ’ रोजीले भनिन्, ‘सर्वप्रथम त यहाँका जनताको स्वास्थ्य अवस्था उकास्नका लागि चेतनाको स्तर निकै कम रहेको छ । बिरामीहरु देउता, धामी झाँक्रीलाई मान्छन् र अस्पताल नै आउँदैनन् । एम्बुलेन्स गुड्ने बाटो छैन । स्टेचरमा बोकेर बिरामीलाई अस्पताल पुर्‍याउनुपर्ने हुन्छ । घण्टौं काँधमा बोकेर अस्पताल पुग्नुपर्छ । उपचार खर्च काँध किनेरै सकिन्छ ।’

कर्णालीका कतिपय बिरामीले बाटोमै ज्यान गुमाउनुपरेको सुनाउँदै रोजी भन्छिन्, ‘अस्पताल आइपुग्दा पनि अन्तिम अवस्थामा पुगिसकेका हुन्छन् । देउताले अस्पताल जा भनेर आदेश दिएपछि मात्रै अस्पताल आउने यहाँको चलन रहेछ ।’

तर, विगतको तुलनामा कर्णालीमा जनचेतना केही बढेको रोजीको अनुभव छ । उनी भन्छिन्, ‘अझै पनि भनेजस्तो चेतनाको स्तर छैन । अर्कोतर्फ, अस्पतालमा आएर पनि धेरै बिरामीले विशेषज्ञको उपचार पाउँदैनन् । इमर्जेन्सी अप्रेशन गर्नुपर्ने समस्या, जस्तै– एपेण्डीसाइडेड भयो, आन्द्रा फुट्यो भने मृत्युबाहेक अर्को विकल्प छैन । हुनेले पो हेलिकोप्टरमा उडाउँछन् र उपचार गर्छन् । नसक्ने त्यसै मर्ने गरेका छन् ।’

कर्णालीका अस्पतालले दिने सेवाहरु ओपिडीमा चेकजाँच गर्ने, बिरामी भर्ना गर्ने, गर्भवती तथा सुत्केरी आमाहरुलाई हेर्ने अनि बिरामीको अवस्था हेरेर सम्बन्धित ठाउँमा रेफर गर्ने लगायत छन् । शल्यक्रिया बाहेकका सबै कामहरु रोजीले हेर्ने गरेकी छिन् । उनी भन्छिन्, ‘शल्यक्रिया गर्नुपर्ने खालका बिरामीहरु आए भने रेफर नै गर्नुपर्छ । गर्भवती तथा सुत्केरी बाहेक अन्य जटिल अवस्थाका बिरामीलाई पनि त्यसैगरी उपचार गर्न पाए धेरै बिरामीको ज्यान जोगाउन सकिन्थ्यो ।’

रोजीको अनुभवमा जिल्ला अस्पताल डोल्पामा प्रसुति गराउने क्रममा सामान्य सीएस बाहेक जटिलखालको शल्यक्रियाको व्यवस्था छैन । सामान्य अवस्थाका बिरामी अस्पतालहरु आउनै खोज्दैनन् । धामी झाँक्रीबाट हार खाएपछि मात्रै अस्पताल आउँछन् ।

कर्णालीमा जनताको चेतना स्तर उकास्ने कार्यक्रमहरु आवश्यक रहेको रोजीको भनाइ छ । । उनी भन्छिन्, ‘टेलिमेडिसिन सेवा हामीले नै दिने गरेका छौं, जुन सेवा विभिन्न विशेषज्ञहरु भएको अस्पतालबाट कनेक्ट गराएर गर्नुपर्ने हुन्छ । तर, त्यो सेवा पनि प्रभावकारी हुनसकेको छैन । किनकि यहाँ बिजुली र नेटको केही भर नै हुँदैन, जुनुसुकैबेला जान सक्छ । त्यहीबेला जटिल शल्यक्रिया गर्नुपर्नेखालको केश आयो भने एकदमै गाह्रो हुन्छ ।’

आमाको नागरिकता भन्दा पहिले बच्चाको जन्मदर्ता

डोल्पा लगायत विकट हिमाली जिल्लाहरुमा महिलाहरुको अवस्था एकदमै दयनीय रहेको डा. रोजीको अनुभव छ । उनी भन्छिन्,‘ चेतनाको स्तर शिक्षा कमजोर भएपछि यहाँका किशोरीहरु सानै उमेरमा बिहे गरेर १४–१५ वर्षमै गर्भवती तथा सुत्केरी भइसकेका हुन्छन् ।

१६ वर्ष नपुगेर नगरिकता नपाउने हुँदा आमाको नागरिकताबिनै बच्चाको जन्मदर्ता भइसकेको हुन्छ । भर्खरै जँुगा आउन थालेका किशोरहरु बुवा बनिसकेका हुन्छन् ।

गर्भावस्थामा जटिलता आउँदा राष्ट्रपति हवाइ उद्धारमार्फत उनीहरुलाई सम्बन्धित ठाउँमा पुर्‍याउने व्यवस्था सरकारले गरेको छ । तर, त्यसको कागजी प्रक्रिया पुर्याउन उनीहरुसँग नागरिकता हुँदैन ।

यस्ता अनेक कठिनाईको सामना डोल्पाका महिलाले गर्नुपरेको रोजी बताउँछिन् । घरमा सुत्केरी हुनेक्रम पहिलेको तुलनामा घटे पनि अस्पतालमा भन्दा बाटोमै सुत्केरी हुनेको संख्या घरमा सुत्केरी हुनेको संख्या धेरै देखिने गरेको उनको भनाइ छ ।

घरमै सुत्केरी भएर साल ननिस्कीँदा एकजना सुत्केरी तीन दिनपछि बल्ल अस्पताल आइपुगेको र उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत पठाएर उपचार गरिएको अनुभव डा. रोजीले सुनाइन् । उनले भनिन्, ‘यदि जिल्लामै राम्रो अस्पताल आएको भए त्यस्तो दुःख पाउनुपर्दैन थियो होला । यस्ता धेरै घटना छन् । बिरामी बोक्नका लागि मान्छेको काँध किन्नुपर्छ, त्यसमाथि मान्छे पनि पाइँदैन । देशमै युवाहरुको संख्या कम छ ।

बच्चालाई ६ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ भन्ने चेतना गाउँमा कम रहेको उनी बताउँछिन् । भर्खर जन्मेको बच्चालाई पानी, लिटोपिठो खुवाइदिने, अन्न खुवाइदिने, धुवाँमा राखेर सेक्ने, जस्ता प्रवृत्तिले धेरै बालबालिकाहरुको अकाल मृत्यु हुने वा कुपोषण जस्ता सामस्या देखिने गरेको रोजीको भनाइ छ ।

डोल्पामा सेवा दिँदा दुःख र खुशीको क्षण

चेतनाको अभाव र विभिन्न किसिमका अन्धविश्वासले जकडिएको समाजमा सेवा गर्ने क्रममा धेरै खुशी र दुःखद क्षणहरुको सामना गरेकी छन् रोजीले ।

त्यसमध्ये एकदमै खुशी भएको एउटा सुखद घटनाले उनलाई एकदमै खुशी दिने गर्छ ।

एउटा १० दिनको बच्चा एकदमै सिरियस अचेत अवस्थामा अभिभावकले अस्पतालमा लिएर आए र भने डा. साब मेरो बच्चा जिउँदै छ कि मरेको छ, हेर्दिनुस् न् ।

रोजीले बच्चा हेरिन् । चालचुल केही पनि थिएन । उनी सम्झिन्छन्, ‘निमोनियाले ग्रस्त भएर कोखा हानिरहेको थियो । अक्सिजन लगाएर अन्य उपचार गर्दा लामो समयपछि बच्चा रोयो । मरिसक्यो भनेर आशा मारिसकेको बच्चा रोएको सुन्दा आमाको खुशीको सीमा नै रहेन । उनीहरु भन्दा धेरै खुशी आफुलाई लाग्यो ।

उक्त बच्चालाई सात दिनसम्म अस्पतालमै राखेर कडा एण्टीवाइटिक दिएर आमाको दूध चुस्न थालेपछि निको बनाएर घर फर्काएको सुनाउँदै रोजीले भनिन्, ‘यो घटाना मेरो जीवनकै सबैभन्दा सुखद क्षण हो ।

यो घटना आफूले सामाजिक सञ्जाल ट्विटरमा शेयर गरेपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फोन गरेर धन्यवाद दिएको उनले सुनाइन् । त्यसबेला आफूले धन्यवाद भन्दा पनि शल्यक्रिया गर्ने चिकित्सकहरु पठाइदिनुभएको भए डोल्पाका जनताका लािग धेरै ठुलो सहयोग हुन्थ्यो भनेर रोजीले मन्त्री पौडेलसँग आग्रह गरिन् ।

सुखद घटनासँगै बिर्सिनै नसक्ने दुःखी बनाएको घटना पनि रोजीसँग छ ।

डोल्पा अस्पतालमा एकजना ९ वर्षको बालकलाई घाँटीको दुखाइबाट सुरु भएको रोग किड्नी हुँदै मुटुसम्म सर्‍यो र ती बालकले अकालमा ज्यान गुमाए । त्यो घटनाबाट विक्षिप्त भएर डा. रोजीले कर्णालीका नाममा एउटा गजल पनि लेखेकी थिइन् ।

अभिभावकमा चेतनाको कमीका कारण तिनले अकालमै ज्यान गुमाएको रोजीको दाबी छ । धामी झाँक्रीको विश्वासमा नपरी समयमै अस्पताल ल्याएको भए सायद ती बाँच्थे होलान् भन्दै रोजीले अगाडि भनिन्, ‘रुघाखोकीका कारण घाँटीमा इन्फेक्सन भएको बच्चालाई ४ दिनसम्म धामीकहाँ राखेर किड्नी हुँदै मुटुमा समेत इन्फेक्शन फैलिएर पानी भरिएपछि मात्रै अस्पताल ल्याएइयो । उनी भन्छिन्, ‘किन ल्याउनुभएको भनेर अभिभावकलाई सोधेँ बच्चा अन्तिम अवस्थामा भयो त्यही भएर ल्याएको भन्ने जवाफ दिए ।’

डा. रोजीले अगाडि भनिन्, ‘हामीले बचाउने प्रयास गर्‍यौं तर सम्भव नभएपछि रेफर गर्ने तयारी गर्दागर्दै अस्पतालमै मृत्यु भयो । यस्तो दुःखको घडीमा पनि मैले उनका अभिभावकलाई हपार्दै भनेँ, ‘तपाईहरुले आफ्नै लापरवाहीले गर्दा बच्चा गुमाउनुभयो । अबदेखि अन्य बच्चाहरुको केसमा यस्तो नगर्नुहोला । धामीझाँक्रीको भर नपरी समयमै अस्पताल ल्याउनुहोला ।’

दुर्गममा काम गर्दाका चुनौति र अवसर

डा. रोजी भन्छन्, ‘शल्यक्रिया लगायतका विशेषज्ञ चिकित्सकहरुको सुविधा नहुँदा अकस्मात हुने हृदयाघात, एपेन्डिीक्स, लगायतका स्वास्थ्य समस्यामा तत्काल उपचार पाउने अवस्था छैन । हामी आफैँलाई स्वास्थ्यकै जोखिम छ, यो एउटा मुख्य चुनौति हो ।’

उनी थप्छिन्, ‘चाहिएका बेला बत्ती हुँदैन । पानीको अभाव त्यस्तै छ । कहिलेकाहीँ त ५–६ दिनसम्म पानी हुँदैन । औषधी उपकरणहरुको त्यस्तै अभाव छ । तर, याहाँका जनताले अस्पतालसम्म पुग्नु र अस्पताल पुगेर उपचार गर्दा सामना गर्नुपर्ने चुनौतिका अगाडि आफ्नो चुनौति केही पनि होइन जस्तो लाग्छ ।’

भौगोलिक विकटताका कारण अस्पताल पुग्न डोल्पाका जनताले बास बस्दै हिँड्नुपर्छ । अस्पताल आएर पनि चाहिएको उपचार पाउँदैनन् । कहिलेकाहीँ त अस्पतालले निःशुल्क दिने औषधी पनि नपाउँदा रित्तै फर्किन वाध्य हुन्छन् । रोजी भन्छिन्, ‘यति ठूलो भूगोल भएको डोल्पा जिल्लामा एउटा मात्रै अस्पतालले बिरामी हेर्नुपर्ने अवस्था छ । बिरामीका अगाडि हामी चिकित्सकहरुले धेरै सुख सुविधा पाएका छौं जस्तो लाग्छ । उनीहरुको दुःखसँग आफूलाई तुलना गर्नै मन लाग्दैन ।’

शहरमा बसेर सेवा दिइरहेका चिकित्सकहरुको जस्तो सेवा सुविधा नपाए पनि यहाँका जनताले भन्दा त चिकित्सकले धेरै सुख पाएको रोजीले बताइन् । उनले भनिन्, ‘शल्यक्रियाका सामग्री लगायतका विशेषज्ञ चिकित्सकिय सेवाहरु उपलब्ध गराइदिए धेरै बिरामीले अकालमा ज्यान गुमाउनुपर्दैनथ्यो र हामीले पनि सिक्ने मौका पाउँथ्यौं ।’

डा. रोजी आगामी दिनमा अवसर पाए अझै विकट जिल्ला हुम्लामा गएर सेवा दिने चाहना रहेको बताउँदै विदेशिएका र शहरमुखी स्वास्थ्यकर्मीलाई आफ्नै देशमा अवसरहरु रहेकाले विदेशिनु नपर्ने सल्लाह दिन्छिन्

उनले दुर्गमका जनता इमान्दार रहेको बताउँदै भनिन्, ‘यहाँका जनता एकदमै निर्दोष र सोझा छन् । शहरको जस्तो अस्पतालमै आएर चिकित्सकमाथि दुर्व्यवहार गर्दैनन् । आप्mनो बिरामीको ज्यान बचाउने चिकित्सकलाई भगवान मान्छन् । मात्र उनीहरुमा स्वास्थ्य चेतनाको अभाव छ तर, त्यो पनि बिस्तारै बढिरहेको अवस्था छ ।

दुर्गममा काम गर्ने चिकित्सकको पारिश्रमिक पनि एकदमै राम्रो रहेको बताउँदै डा. रोजी भन्छिन्, ‘कर्णाली प्रदेश सरकारले हिमाली जिल्लाहरुलाई क, ख र ग भनेर वर्गीकरण गरेको छ । डोल्पा क वर्गमा पर्छ । यहाँ मासिक तलब बराबरकै भत्ता पनि छ।

डा. रोजी आगामी दिनमा अवसर पाए अझै विकट जिल्ला हुम्लामा गएर सेवा दिने चाहना रहेको बताउँदै विदेशिएका र शहरमुखी स्वास्थ्यकर्मीलाई आफ्नै देशमा अवसरहरु रहेकाले विदेशिनु नपर्ने सल्लाह दिन्छिन् ।

उनले भनिन्, ‘मलाई त योभन्दा पनि विकट हुम्ला जान मन थियो । हुम्ला नपाएर मात्रै डोल्पा आएकी हो । अवसर पाए हुम्लामै गएर सेवा दिने हो ।’

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ६ : ४५ बजे

राजतन्त्रमा मलाई फ्रिमा ४ वर्ष थुने : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ४ वर्ष अनावश्यक थुनामा

कुनै पनि जेठ १५ मा प्रतिगामी सपना पूरा हुन्न : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि जेठ १५ मा

‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’मा सञ्चारजगतको भूमिकाको सराहना

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देशको प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता

स्वार्थ समूहसँग चिनजान छैन : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुँजीवाद (स्वार्थ समूह) सँग

प्रदीप नेपालको बहुआयामिक व्यक्तित्वको चर्चा

काठमाडौं– पूर्वमन्त्री एवं साहित्यकार प्रदीप नेपालको प्रगतिशील विचार, साहित्यिक सृजनशीलता