इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा | Khabarhub Khabarhub

इरानसँग प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको घोषणा


२६ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार संयुक्त राज्य अमेरिकाले इरानसँग उसको आणविक कार्यक्रमलाई लिएर प्रत्यक्ष, उच्चस्तरीय वार्ता सुरु गर्न गइरहेको बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा यो आश्चर्यजनक घोषणा गरेका हुन् ।

सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले तेहरानसँग सम्झौतामा पुग्ने आशावादी रहेको तर वार्ता असफल भएमा इरान ‘ठूलो खतरामा’ पर्ने चेतावनी दिए ।

तेहरानले ओमानमा शनिबारका लागि छलफल तय भएको पुष्टि गरेको छ तर ती ‘अप्रत्यक्ष’ वार्ताहरू थिए भनी जोड दिएको छ ।

इरानी समाचार एजेन्सी तस्निमका अनुसार विदेशमन्त्री अब्बास अराघची र मध्यपूर्वका लागि शीर्ष अमेरिकी दूत स्टिभ विटकफले वार्तामा भाग लिनेछन् ।

“यो जति एउटा परीक्षा हो त्यति नै एउटा अवसर पनि हो”, अराघचीले एक्समा लेखेका छन्, “बल अमेरिकाको कोर्टमा छ ।”

यसैबीच नेतन्याहुले संयुक्त राज्य अमेरिका र इजरायलले युद्धग्रस्त गाजाबाट बन्धकहरू मुक्त गर्ने अर्को सम्झौतामा काम गरिरहेको बताएका छन् । गाजामा इजरायल र इरानको सहयोगी हमाससँगको शान्ति सम्झौता भङ्ग भएको छ ।

“हामी इरानीहरूसँग व्यवहार गर्दैछौँ, हामीले शनिबार एउटा ठूलो बैठक गरेका छौँ र हामी उनीहरूसँग प्रत्यक्ष व्यवहार गर्दैछौँ”, अमेरिकी भन्सार महसुलबाट इजरायललाई बचाउने प्रयासमा केन्द्रित हुने भनिएको बैठकपछि ट्रम्पले पत्रकारहरूलाई भने ।

ट्रम्पले वार्ता कहाँ हुने बताएनन् तर यसमा प्रतिनिधिहरू समावेश नहुने र ‘लगभग उच्चतम स्तर’ मा हुने कुरामा जोड दिए ।

इरानले देशको आणविक कार्यक्रमलाई रोक्नका लागि नयाँ सम्झौतामा प्रत्यक्ष वार्तालाई अस्वीकार गरेपछि ट्रम्पको आश्चर्यजनक घोषणा आएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१८ मा आफ्नो पहिलो राष्ट्रपति कार्यकालमा अघिल्लो सम्झौताबाट हात झिकेका थिए । अब पनि कुनै नयाँ सम्झौता हुन नसकेमा सम्भवतः अमेरिकी सहयोगमा इजरायलले इरानी सुविधाहरूमा आक्रमण गर्न सक्ने व्यापक अनुमान छ ।

तर ट्रम्पले तेहरानलाई कडा चेतावनी दिएका छन् ।

“यदि इरानसँगको वार्ता सफल भएन भने मलाई लाग्छ कि इरान ठूलो खतरामा पर्नेछ र म यो भन्न घृणा गर्छु, ठूलो खतरा, किनकि उनीहरूसँग आणविक हतियार हुन सक्दैन”, उनले भने ।

यसैबीच अधिकारीहरूले रुस, चीन र इरान मङ्गलबार मस्कोमा इरानी आणविक मुद्दामा परामर्श गर्न तयार रहेको बताएका छन् ।

विश्वलाई हल्लाउने अमेरिकी करबाट मुक्तिका लागि व्यक्तिगत रूपमा अनुरोध गर्ने नेतन्याहु पहिलो विदेशी नेता बनेपछि ट्रम्पको यस्तो खुलासा भएको हो ।

इजरायली प्रधानमन्त्रीले दुई देशबीचको व्यापार घाटा हटाउने र व्यापारका ‘अवरोधहरू’ पनि कम गर्ने प्रतिज्ञा गरे ।

उनको देशले बैठकअघि अमेरिकी आयातमा आफ्नो अन्तिम बाँकी भन्सार शुल्क हटाउन कदम चालेको थियो ।

नेतन्याहु र ट्रम्पले गाजाको बारेमा पनि छलफल गरे । गाजामा अमेरिकी–मध्यस्थता गरिएको इजरायल र हमासबीचको अल्पकालीन युद्धविराम भङ्ग भएको छ ।

नेतन्याहुले सन् २०२३ अक्टोबरमा इजरायलमा भएको अभूतपूर्व आक्रमणका क्रममा हमासले लिएका थप बन्धकहरूलाई मुक्त गर्ने उद्देश्यले नयाँ वार्ता भइरहेको बताए ।

“हामी अहिले अर्को सम्झौतामा काम गरिरहेका छौँ जुन सफल होस् भन्ने आशा छ र हामी सबै बन्धकलाई बाहिर निकाल्न प्रतिबद्ध छौँ”, उनले भने ।

ट्रम्पले पनि गाजा पट्टीलाई ‘नियन्त्रण’ गर्ने आफ्नो योजनामा जोड दिए । यसलाई उनले ‘एक उत्कृष्ट भूखण्ड’ भनेर वर्णन गरे । उनले यो योजना पहिलो पटक फेब्रुअरीमा नेतन्याहुले भेट्दा घोषणा गरेका थिए ।

यसअघि ट्रम्पले वेस्ट विङ बाहिर नेतन्याहुलाई स्वागत गरेका थिए र दुई नेताहरू ओभल अफिसमा बैठकका लागि भित्र जानुअघि आफ्नो मुठी हल्लाए ।

उनीहरूको योजनाबद्ध प्रेस सम्मेलन छोटो सूचनामा बिना कुनै व्याख्या रद्द गरियो जुन एक असामान्य कदम हो । तर उनहरूले ओभल अफिसमा पूल रिपोर्टरहरूको सानो समूहसँग लामो समयसम्म कुरा गरे ।

गत हप्ता राष्ट्रपतिले आफ्नो ‘मुक्ति दिवस’ को घोषणामा इजरायलमाथि १७ प्रतिशत कर लगाएको केही दिनपछि ट्रम्प सत्तामा फर्किएपछि इजरायली प्रधानमन्त्रीको वासिङ्टनको यो दोस्रो भ्रमण हो ।

वासिङ्टनको इजरायलसँग उल्लेखनीय व्यापार घाटा रहेको भन्दै ट्रम्पले अमेरिकी सैन्य सहायताको सबैभन्दा ठूलो लाभार्थी इजरायललाई आफ्नो विश्वव्यापी भन्सार प्रहारबाट छुट दिन अस्वीकार गरे ।

नेतन्याहुले आइतबार आफ्नो आगमनपछि तुरुन्तै वाणिज्यमन्त्री हावर्ड लुटनिक र व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग भेट गरे ।

इजरायली प्रधानमन्त्रीले सोमबार ट्रम्पका दूत विटकफसँग पनि भेट गरे ।

प्रकाशित मिति : २६ चैत्र २०८१, मंगलबार  ७ : २९ बजे

काठमाडौंको नगरसभामा प्रमुख प्रशासकीय अधिकृतको छटपटी (तस्बिरहरू)

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट असार

तीन वर्षपछि क्यानले आदिललाई बोलायो प्रशिक्षणमा

काठमाडौं- टी-ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोट प्रतियोगिताका

यस्तो छ १९ दिन ढिला गरी काठमाडौं महानगरले ल्याएको बजेट (पूर्णपाठ)

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट

निजामती विधेयकको त्रुटि छानबिन गर्न गठित समितिको संयोजक पदलाई सभापतिमा परिणत

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको