काठमाडौं– सत्ता राजनीतिमा अल्झिएको प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सांगठनिक गतिविधिहरू ठप्पजस्तै देखिएका छन् । संगठनका काम ठप्प हुँदा संघदेखि स्थानीय तहसम्मका कांग्रेस नेताहरु बेरोजगारजस्तै बनेका छन् ।
सत्तामा गइसकेपछि साउनयता कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएर केन्द्रीय स्तरका सांगठनिक कार्यक्रमहरू तय गर्न सकेको छैन ।
दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा सरकारमा सहभागी भएपछि करिब वर्ष दिनमा एकपटक मात्रै केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । विगत नौ महिनायता कांग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक बसेको छैन ।
आकस्मिक रुपमा केही निर्णय गर्नुपर्ने कांग्रेसले पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएर निर्णय गर्दै आएको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरेका निर्णयहरू विधानतः वैधानिक मानिने भए पनि पदाधिकारी बैठकलाई कांग्रेसको विधानले चिन्दैन ।
गत असार ३० गते एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा साझेदार दलको हैसियतमा नेपाली कांग्रेस सहभागी भएको छ ।

सरकारमा सहभागी भएपछि कांग्रेसले साउन २३ मा केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । भदौ १६ गतेसम्म चलेको उक्त बैठकबाट कांग्रेसले ०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न महासमिति बैठकमा पेस भएका प्रतिवेदनहरू परिमार्जनसहित सर्वसम्मत पारित गरेको थियो ।
केन्द्रीय कार्यसमिति बैठकले एमालेसँग गत असार १७ गते भएको सात बुँदे सहमति कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरेको थियो । बैठकले गरेको निर्णयअनुसार कांग्रेसले असोज १ देखि पुस १० सम्म सय दिने विशेष सांगठनिक अभियान सञ्चालन गरेको थियो ।
पार्टी र जनप्रतिनिधिसँगको समन्वय र सहजीकरण संयन्त्रलाई नियमित र व्यवस्थित गर्नेलगायतका सांगठनिक कार्यमा केन्द्रित हुन उक्त अभियान चलाइएको थियो ।
यसबीचमा कांग्रेसले बैठक बोलाएर बृहत् छलफलका माध्यमबाट केन्द्रीय स्तरको कुनै पनि विशेष कार्यक्रम तोक्न सकेको छैन । पार्टीले वैशाख २ गते सूचना जारी गरेर वैशाख १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको थियो । तर, वैशाख १० अर्को सूचना जारी गरेर कांग्रेसको निर्धारित केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।
सूचनामा भनिएको थियो, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ०८२ वैशाख १७ गते बस्ने भनिएको बैठक अर्काे सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’

कांग्रेसका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा सरकारले बजेट अधिवेशन आह्वान गरेका कारण वैशाख १७ गतेका लागि तय भएको पार्टी बैठक स्थगित गरिएको बताउँछन् ।
‘हामीले वैशाख १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक तोकेका थियौँ । तर, मन्त्रिपरिषद् बैठकले भोलिपल्ट नै संसद् अधिवेशन बोलाउने निर्णय गर्यो,’ उनले खबरहबसँग भने, ‘संसद् बैठकसँग हामीले पार्टीको बैठक जुधाउनु हुन्न, लामो समयपछि बैठक (पार्टीको) बस्दैछ, बैठकमा सबैले बोल्न पाउनुपर्छ भनेपछि अहिले सारौँ न भनेर हामीले सार्यौँ ।’
प्रचार विभाग प्रमुख विश्वकर्मा जेठको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक बस्ने सम्भावना रहेको बताउँछन् । ‘हामी अहिले सभामुखसँग परामर्श गरिराखेका छौँ । एक हप्तासम्म त संसद्को बैठक खाली राख्न मिल्दैन ।
तर, ४–५ दिनसम्म बीचमा ग्याप (खाली) रह्यो भने हामी त्यही बीचमा पार्टीको बैठक राख्छौँ,’ उनले भने, ‘प्रमुख सचेतक (श्याम घिमिरे) सभामुखसँग कुरा गरिराख्नुभएको छ । त्यो स्थिति आउने बित्तिकै हामी जेठको पहिलो हप्ता नै बैठक बस्ने सम्भावना छ ।’
यसैबीच खबरहबले कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्मालाई तीन वटा प्रश्न गरेको छ :

क्रियाशील सदस्यता नवीकरण वितरण अभियान कहाँ पुग्यो ?
हामीले सदस्यता नवीकरणका लागि तीन पटकसम्म लगातार ताकेता गर्यौँ । तर, स्थानीय तहबाट नै क्रियाशील सदस्यता नवीकरण प्रक्रिया ढिलो भयो ।
त्यसपछि ताकेता गर्दा–गर्दा अहिले जिल्लामा क्रियाशील सदस्यता नवीकरणको प्रारम्भिक चरण सकेर उहाँहरूले ‘इन्ट्री’ गरेर केन्द्रमा बुझाउने क्रम जारी छ ।
केन्द्रीय कार्यालयमा बुझाएको हिसाबले हेर्दा त १० प्रतिशतमात्रै आइपुगेको छ । तर, यो महिना (वैशाख) भित्रमा सबै केन्द्रमा आइसक्छ भन्ने हाम्रो विश्वास छ ।
अहिले नेपाली कांग्रेस के गरिरहेको छ ?
विगत झण्डै १० महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक बस्न सकेको छैन । यसबीचमा हामीले आन्तरिक विशेष अभियान पनि चलायौँ । तत्पश्चात सय दिने पार्टीको सांगठनिक अभियान पनि चलायौँ ।
अहिले विभागका गतिविधिहरू निरन्तर चलिराखेका छन् । कुनै विभागले केन्द्रमा, कुनैले प्रदेश, जिल्लास्तरमा कार्यक्रम गरिराखेका छन् । स्थानीय तहले क्रियाशील सदस्यता नवीकरणलाई नै ध्यान दिएको छ ।
विभागहरूले विषयगत कार्यक्रमहरू गर्दैछन् । त्यसो भएको हुनाले अहिले केन्द्रीय स्तरको कुनै पनि विशेष कार्यक्रम तोकेका छैनौँ ।
अब हुने भनेको केन्द्रीय कार्यसमितिको बैठक हो । हामीले वैशाख १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक तोकेका थियौँ । तर, मन्त्रिपरिषद् बैठकले भोलिपल्ट नै संसद् अभिवेशन बोलाउने निर्णय गर्यो ।
संसद् बैठकसँग हामीले पार्टीको बैठक जुधाउनु हुन्न, लामो समयपछि बैठक (पार्टीको) बस्दैछ, बैठकमा सबैले बोल्न पाउनुपर्छ भनेपछि अहिले सारौँ न भनेर हामीले सार्यौँ । हामी अहिले सभामुखसँग परामर्श गरिराखेका छौँ ।
एक हप्तासम्म त संसद्को बैठक खाली राख्न मिल्दैन । तर, ४–५ दिनसम्म बीचमा ग्याप (खाली) रह्यो भने हामी त्यही बीचमा पार्टीको बैठक राख्छौँ भनेर हाम्रा प्रमुख सचेतक (श्याम घिमिरे) ले सभामुखसँग कुरा गरिराख्नुभएको छ । त्यो स्थिति आउने बित्तिकै हामी जेठको पहिलो हप्ता नै बैठक बस्ने सम्भावना छ ।
सरकार बजेट निर्माणको काममा व्यस्त छ । सत्ता साझेदार कांग्रेसले बजेट निर्माणमा कस्तो भूमिका निर्वाह गरिराखेको छ ?
यसपटक हामीले नीति तथा कार्यक्रम पनि दुई दलका बीचमा, शीर्ष तहमा सरकारको कार्यदलको तहमा र संसदीय समितिको तहहरूमा छलफल गरेर नै नीति तथा कार्यक्रम तयार भएको छ ।
बजेट पनि सोही आधारमा अहिले आन्तरिक पनि र अरु दलहरूसँग, सत्ता गठबन्धन र सत्ता गठबन्धन बाहिर रहेका दलहरूसँग पनि छलफल चलिराखको छ । बजेट निर्माण हुँदाखेरि कांग्रेसले तयसमा असहमति जनाउनु पर्ने अवस्था आउँदैन ।
जसरी नीति तथा कार्यक्रम सहमतिमा आएको हुनाले समर्थन गर्ने भन्यौँ, सोही आधारमा बजेट पनि सहमतिमा आउँछ । र, बजेटको पक्षमा नेपाली कांग्रेसले समर्थन जनाउने वातावरण बन्छ भन्नेमा आशावादी छौँ ।
प्रतिक्रिया