भारत–पाकिस्तानबीच हानाहान जारी, विहीबार के के भयो ? | Khabarhub Khabarhub

भारत–पाकिस्तानबीच हानाहान जारी, विहीबार के के भयो ?

इजरायल र चीनबाट आयातित हतियारको प्रयोग


२५ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत र पाकिस्तानबीच बिहीबार पनि हवाइ आक्रमण प्रत्याक्रमण जारी रह्यो । बिहीबार पाकिस्तान र भारतले चालकरहित हवाइ उपकरण (ड्रोन) को प्रयोग गरी एक अर्कामाथि आक्रमण गरे ।

पाकिस्तानले ड्रोन र क्षेप्यास्त्र प्रहार गरी आफ्ना १५ शहरलाई निशाना बनाएको भारतको आरोप छ । पाकिस्तानले प्रहार गरेका ड्रोन र क्षेप्यास्त्र निस्तेज पारेको भारतीय रक्षा मन्त्रालयको भनाइ छ ।

रक्षा मन्त्रालयका अनुसार पाकिस्तानले भारतका अनन्तिपुरा, श्रीनगर, जम्मु, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुदियाना, आमदपुर, भटिन्डा, चण्डिगढ, नाल, फालोदी, उत्तरलाइ र भुज शहरलाई लक्षित गरी आक्रमणको प्रयास गरेको थियो ।

भारतको हवाइ रक्षा प्रणाली तथा ड्रोन प्रतिरोधी ग्रिडको सहायताले आक्रमण निस्तेज पारिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानमा रहेका हवाई रक्षा रडार प्रणालीलाई लक्षित गरी प्रत्याक्रमण गरेको मन्त्रालयले जनाएको छ । जवाफी आक्रमणका क्रममा लाहोरमा रहेको हवाई रक्षा रडार प्रणाली ध्वस्त पारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उता पाकिस्तानले भने भारतले इजरायलमा निर्मित ड्रोनले आफ्नो मुलुकमा आक्रमण गरेको दाबी गरेको छ । पाकिस्तानी सेनाको अन्तरसेवा जनसम्पर्क कार्यालय (आईएसपीआर) ले भारतले पाकिस्तानी भूमिमा आक्रमण गर्नका लागि इजरायलमा निर्मित हारोप नामक चालहरहित हवाई उपकरण (ड्रोन) प्रयोग गरेको जनाएको छ ।

आईएसपीआरका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतबाट प्रहार भएका यस्ता २५ वटा हारोप ड्रोन खसालेको जानकारी दिएका छन् । उनले ती ड्रोनहरु कराँची र लाहोरसहित विभिन्न स्थानमा निस्तेज पारिएको पनि दाबी गरे ।

भारतले आफ्नो भूमिमा आक्रमण गर्न इजरायलमा निर्मित हारोप ड्रोनको प्रयोग गरेको विषयलाई ‘गम्भीर, धेरै गम्भीर उत्तेजना’ को संज्ञा दिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । हारोप ड्रोन इजरायली कम्पनी इजरायल एरोस्पेस इन्डष्ट्रीको एमबीटी मिसाइल डिभिजनले निर्माण गर्दै आएको छ ।

भारत र पाकिस्तानबीच जारी द्वन्द्वको असर खेलमा पनि परेको छ । द्वन्द्वले पाकिस्तान सुपर लिग पीएसएलको खेल प्रभावित भएको हो । बिहीबार आयोजना हुने तय भएको कराँची किङ्ग्स र पेशावर जालमीबीचको खेल भारतीय आक्रमणका कारण स्थगित भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डका अधिकारी, टिमका मालिक र खेलाडीको बैठकले खेल स्थगित गर्ने निर्णय गरेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारको अनलाइन संस्करणले जनाएको छ । सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै खेल स्थगित गरिएको ट्रिब्युनले उल्लेख गरेको छ ।

खेलाडीको सुरक्षा र बन्दोबस्तीको जटिलतालाई ध्यानमा राख्दै पीएसएलका आगामी १० खेल कराँचीमा सार्ने तयारी भइरहेको स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । रावलपिण्डी क्रिकेट रंगशालामा भारतीय ड्रोन दुर्घटना भएपछि पीएसएलमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

यो पनि-

भारत–पाकिस्तान तनाव : भारतको पक्षमा उभियो नेपाल

यसअघि एक जना नेपाली सुदिप न्यौपानेसहित २६ जनाको ज्यान जानेगरी भारत प्रशासित जम्मु कश्मीरमा भएको आतंककारी आक्रमणको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिमा ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही गरेको थियो ।

उक्त कारबाहीका क्रममा एक सयभन्दा धेरै आतंककारी मारिएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताएका छन् । राजधानी नयाँ दिल्लीमा आयोजित सर्वदलीय बैठकमा मन्त्री सिंहले यस्तो जानकारी दिएका हुन् ।

उनले सैन्य कारबाही अझै जारी रहेको बताउँदै यसबारे थप विवरण दिन नसकिने स्पष्ट पारे । उनले तनावलाई अझ बढाउने भारतको उद्देश्य नरहेको पनि बताएका छन् । भारत सरकारका युनियनमन्त्री किरण रिजिजुले बैठकमा सहभागी सबै राजनीतिक दलले सरकारको समर्थन गरेको जानकारी दिएका छन् ।

पाकिस्तानले भने भारतीय आक्रमणका क्रममा पाँच वटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तानले फ्रान्समा निर्मित डासट रफायल तीन वटा र सोभियत संघमा निर्मित मिकोयान मिग २९ र सोभियत संघमै निर्मित सुखाइ सु ३० लडाकु विमान खसालेको दाबी गरेको छ । यसबारे भारतीय पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

उता फ्रान्सेली स्रोतले भने पाकिस्तानले कम्तीमा एउटा रफायल लडाकु विमान खसालेको दाबी गरेको छ । फ्रान्सेली गुप्तचर सेवाको उच्च स्रोतले अमेरिकी टेलिभिजन सीएनएनलाई पाकिस्तानले कम्तीमा एउटा रफायल लडाकु विमान खसालेको जानकारी दिएको हो । त्यसबाहेक पाकिस्तानले अरु पनि रफायल खसालेको हुनसक्ने विषयमा जानकारी लिने प्रयास भइरहेको उक्त स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

रफायल लडाकु विमान निर्माण गर्ने फ्रान्सेली कम्पनी डासट एभिएसन र फ्रान्सेली सेनाले पाकिस्तानी दाबीबारे कुनै प्रतिक्रिया दिएको छैन । पाकिस्तानी दाबीको स्वतन्त्र पुष्टि भएमा कुनै पनि युद्धका क्रममा दुश्मनले रफायल लडाकु विमान खसालेको यो पहिलो घटना हुनेछ । १० टन क्षमता रहेको रफायल लडाकु विमानलाई ‘मल्टी रोल’ फाइटर मानिन्छ ।

यसमा हवाइ युद्ध र आकाशबाट जमिनमा मार हान्न मिल्ने ३० मिलिमिटरको तोप जडान गरिएको हुन्छ । त्यसबाहेक यसमा आकाशबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र, लेजर गाइडेड बम र क्रुज क्षेप्यास्त्र पनि जडान गरिएको हुन्छ । यसअघि भारतले फ्रान्ससँग ३६ वटा रफायल खरिद गरेको छ ।

पाकिस्तानले भने भारतीय आक्रमणको जवाफ दिन चिनियाँ हतियारको प्रयोग गरेको जनाएको छ । भारतले गरेको हवाइ आक्रमणको जवाफमा चिनियाँ हतियारको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्रीले जनाएका हुन् ।

अपरेशन सिन्दुर नामक कारबाहीका क्रममा भारतले पाकिस्तानी भूमिमा ९ स्थानलाई लक्षित गरी हवाइ आक्रमण गरेको छ । भारतीय आक्रमणको जवाफ दिन पाकिस्तानले चीनमा निर्मित जे–१० सी लडाकु विमानको प्रयोग गरेको पाकिस्तानी विदेशमन्त्री इशक दारले संसदलाई जानकारी दिएका हुन् ।

उनका अनुसार यसबारे चीनलाई पाकिस्तानले पूर्वजानकारी दिएको थियो । भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको केही समयपछि स्थानीय समयअनुसार बुधबार सबेरै ४ बजे पाकिस्तानका लागि चिनियाँ राजदूत जियाङ जाइदोङले पाकिस्तानी विदेश विभाग कार्यालयको भ्रमण गरेको दारलाई उद्धृत गर्दै ब्लूमबर्गले उल्लेख गरेको छ ।

यसैबीच, भारतले पाकिस्तानका थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको समाचार छ । भारतले थप १२ स्थानमा आक्रमण गर्ने तयारी थालेको भारतीय टेलिभिजन आज तकले जनाएको छ । पाकिस्तानमा सञ्चालित आतंककारी शिविरलाई लक्षित गरी भारतले १२ स्थान पहिचान गरेको जनाइएको छ ।

पाकिस्तान अधिनस्थ कश्मीरसहित पाकिस्तानका अन्य भूभागमा समेत आक्रमणका लागि भारतले पूरा तयारी गरेको छ । भारतीय जासुसी निकाय रिसर्च एण्ड एनालाइसिस विङ रअले आक्रमणको निशाना पहिचान गरेको आज तकले उल्लेख गरेको छ ।

यसै सन्दर्भमा पाकिस्तानमा रहेको अमेरिकी महावाणिज्य दूतावासले कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको छ । पाकिस्तानको लाहोरस्थित अमेरिकी महावाणिज्य दूतावासले लाहोर र नजिकका उपनगरहरूको हवाई क्षेत्रमा ‘ड्रोन विस्फोट’ र भारतद्वारा ‘सम्भावित हवाई क्षेत्रमा घुसपैठ’ को मध्यनजर गर्दै आफ्ना कर्मचारीहरूलाई सुरक्षित स्थानतर्फ जान निर्देशन दिएको हो ।

वाणिज्य दूतावासको वेबसाइटमा जारी बयानमा भनिएको छ, ‘ पाकिस्तानी अधिकारी लाहोरको मुख्य हवाई अड्डा आसपासका क्षेत्र खाली गराउन सक्ने प्ररम्भीक सूचना वाणिज्य दूतावासलाई प्राप्त भएको छ ।’

महावाणिज्य दूतावासले अमेरिकी नागरिकलाई सुरक्षित स्थानमा जान, अमेरिकी सरकारको सहायतामा निर्भर रहेका नागरिकलाई पाकिस्तानबाट बाहिरिने योजना बनाउन, ट्राभल दस्तावेज तयार राख्न र परिचय पत्र सँगै राखेर अधिकारीहरूलाई सघाउन पनि भनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको तनाव रोक्नका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । बुधबार ओभल अफिसमा ट्रम्पले सो कुरा बताएका हुन् ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि दक्षिण एसियामा आएको यो संकटपूर्ण अवस्थाको समाधान गर्नका लागि दुवै पक्षसँग वार्ता भइरहेको जनाएका छन् । पाकिस्तानकी चर्चित महिला शिक्षा अभियन्ता मालाला युसुफजाईले पनि युद्ध दुवै देशका लागि हानिकारक भएकाले शान्तिको प्रयास गर्नु जरुरी भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार  ८ : १२ बजे

पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण

काठमाडौं – पाकिस्तानले भारतको जम्मू र पठानकोटमा ड्रोन आक्रमण गरेको

लेबनानको नबातियामा इजरायली हवाई आक्रमणः एक जनाको मृत्यु, आठ घाइते

बेइरुत – लेबनानको दक्षिणी शहर नबातियामा बिहीबार इजरायली हवाई आक्रमणमा

पाकिस्तानसँग युद्ध बढ्न थालेपछि रोकियो आईपीएलको खेल, दर्शक र खेलाडी रंगशालाबाट निकालियो

नयाँदिल्ली – भारत र पाकिस्तानबीच जारी सैन्य तनाव बढ्न थालेपछि

जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’, ठूलो विस्फोटकाे आशंका

काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘ब्ल्याकआउट’भएको छ । जम्मुमा

पाकिस्तानी सेनाको एफ १६ लडाकु विमान खसालेको भारतको दाबी

काठमाडौं – भारतले पाकिस्तानको एफ १६ लडाकु विमान खसालेको दाबी