‘दुई सयको बचत, दस हजारको सहारा’ « Khabarhub

‘दुई सयको बचत, दस हजारको सहारा’


२५ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इलाम– विदेशी भूमिमा पसिना बगाएका र फर्किएर गाउँमै रोजगारी सृजना गरेका सूर्योदय नगरपालिका–१३ र १४ का बासिन्दाले सञ्चालन गरेको ‘आप्रवासी बहुउद्देश्यीय सहकारी संस्था’ प्रभावकारी बन्दै गएको छ । त्रिहत्तर घरपरिवार आबद्ध सहकारीमा अहिले मासिक दुई सय अनिवार्य र पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको छ ।

‘अप्ठ्यारो पर्दा चर्को ब्याजमा ऋण खानुपरेको छैन । सहकारी सुरु भएपछि हामीलाई सहारा मिलेको छ’, संस्थाकी कोषाध्यक्ष रीना राईले भनिन् । सहकारीले १२ प्रतिशत ब्याजदरमा अधिकतम १० हजार ऋण उपलब्ध गराउँछ । एक सदस्यले तीन महिनाका लागि ऋण लिन पाउने व्यवस्था छ । तीन महिनाका लागि १० हजार ऋण लिएमा जम्मा तीन सय ६० रुपैयाँ ब्याज तिर्नुपर्छ ।

सहकारीकी सहसचिव माया राईका अनुसार यो ऋणले बालबच्चाको पढाइदेखि तरकारीखेती, बीउबिजन खरिदजस्ता काममा सदस्यलाई सहुलियत दिएको छ ।

२०७९ सालमा स्थापना भएको सो सहकारीमा हाल ७३ परिवार आबद्ध छन् । विदेश गएका वा फर्किएका सदस्यमात्र सामेल हुन पाउने यो सहकारीले आर्थिक समृद्धिको यात्रामा महत्त्वपूर्ण पाइला चालेको छ । सुरुमा ४० जना सेयर सदस्यबाट सुरु गरिएको सहकारीमा अहिले मासिक दुई सय अनिवार्य र पाँच सय ऐच्छिक बचत सङ्कलन हुँदै आएको हो ।

वित्तीय साक्षरतामा पनि संस्था सशक्त बन्दै गएको छ । २०७६ सालमा सूर्योदय नगरपालिकाले सामी कार्यक्रमअन्तर्गत २५ जनालाई २४ हप्ते वित्तीय साक्षरता तालिम दिएको थियो । सहकारीका कोषाध्यक्ष राईका अनुसार तालिमले सदस्यहरूमा वित्तीय अनुशासन र सचेतना बढेको छ । तालिमपछि ३० जनाले उद्यमशीलता तालिम पनि लिए, जसअन्तर्गत अचार र बाँस (तामा)को अचार बनाउने सीप प्राप्त गरेका थिए । तालिमपछि स्थानीय महिलाहरूले मिक्स अचार, अकबरे पेस्ट, आँप र फर्सीको अचार उत्पादन गरी बिक्री गर्न थालेका छन् ।

सचिव हेमकुमारी भट्टराईका अनुसार सामीले दिएको सात हजार रुपैयाँ सहयोगबाट सुरु गरिएको अचार व्यवसायले हालसम्म ३५ हजार रुपैयाँ आम्दानी दिएको छ । मेला र महोत्सवमा मागअनुसार तयारी गरेर बिक्री गरिने गरिएको छ । संस्थालाई गत वर्ष सूर्योदय नगरपालिकाले एक लाख रुपैयाँ बराबरको टेबल, कुर्सी, दराज र ¥याक सहयोगस्वरूप प्रदान गरेको थियो ।

सहकारीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार स्थानीय डम्बरसिंह राईले घरभाडामा सहुलियत दिएका छन् । अध्यक्ष अधिकारीले सहकारीका लागि आफ्नै भवन निर्माणको तयारी भइरहेको जानकारी दिए । भवन निर्माणका लागि श्रमदान, व्यक्तिगत तथा संस्थागत सहयोगमार्फत एकतले भवन वडा नम्बर १३ मा निर्माण गरिने छ ।

सहकारीका अगुवा सदस्य माया राईका श्रीमान् बिदुप्रकाश राई नौ वर्षदेखि मलेसियामा कार्यरत छन् भने कोषाध्यक्ष रीना राईका श्रीमान् नन्दलाल साउदीमा २९ महिना र मलेसियामा आठ वर्ष बसेपछि हाल गाउँमै कृषि, पशुपालन र चियाबारीमा संलग्न छन् ।

विदेशिएका परिवारको आफ्नै पहल र सहयोगमा सञ्चालित यस सहकारीले गाउँमा रोजगारी र आत्मनिर्भरता अभिवृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको छ । (रासस)

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १० : २५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर