गृह मन्त्रालयको गोष्ठीमा भाग लिन काठमाडौं आएका थिए रसुवाका सीडीओ र डीएसपी | Khabarhub Khabarhub

मौसम पूर्वानुमान महाशाखाको चेतावनीबीच

गृह मन्त्रालयको गोष्ठीमा भाग लिन काठमाडौं आएका थिए रसुवाका सीडीओ र डीएसपी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत जेठ १८ मा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको अध्यक्षतामा सदरमुकाम धुन्चेमा ‘जिल्ला विपद् व्यवस्थापन समिति’को बैठक बस्यो ।

उक्त बैठकले सम्भावित पूर्वतयारी गर्नुपर्ने भन्दै सुरक्षानिकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि र दलका नेताहरूसहितको उपस्थितिमा केही निर्णय पनि गर्‍यो ।

यो बैठक त्यही दिन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनका आधारमा बसेको थियो । जसमा रसुवा र नुवाकोटसहितमा असार १८ देखि असार २० गतेसम्म भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको थियो ।

उक्त चेतावनीपछि रसुवाको छिमेकी जिल्ला प्रशासन कार्यालय नुवाकोटले आवश्यक सतर्कताका लागि सूचना नै जारी गर्‍यो । तर रसुवा प्रशासनले सतर्कताका लागि कुनै सूचना जारी गरेको थिएन । बरू नुवाकोट प्रशासनले निकालेको सूचना रसुवा प्रशासनले आफ्नो फेसबुकमा शेयर गर्‍यो ।

‘जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भारी वर्षापछिको बाढीलाई ख्याल गर्दै आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन भनी अनुरोध भएकोले भारी वर्षाको कारण भू-क्षय, बाढी, पहिरो जाने तथा खोला नालाहरुको बहाव बढ्न गई दैनिक जनजीवनमा समेत प्रभाव पर्न सक्ने हुँदा जोखिमयुक्त स्थान, खोला, खोल्सा खहरे नजिक रहनु हुनेले आवश्यक उच्च सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिन्छ’, नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले गत बुधबार जारी गरेको सूचनामा भनिएको थियो ।

त्यही सूचनालाई रसुवा प्रशासनले फेसबुकमा शेयर गरेको थियो भने गत बुधबार नै विपद्को जोमिखबारे बैठक पनि राखेको थियो ।

त्यसअघि असार ४ मा पनि चीनले तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भन्दै भोटेकोशी नदी क्षेत्रमा सुरक्षित रहन रसुवाको छिमेकी सिन्धुपाल्चोक प्रशासनलाई सतर्क गराएको थियो ।

गत असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो ।

चिनियाँ प्रहरीले जानकारी गराएपछि प्रशासन कार्यालयले त्यस क्षेत्रमा बस्ने स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको थियो। प्रशासनले सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो । यद्यपि सिन्धुपाल्चोकतर्फको भोटेकोशीले त्यसबेला धेरै क्षति गरेन ।

तर जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिँदा दिँदै पूर्वसतर्कता नअपनाउँदा रसुवातिरको भोटेकोसीले ठूलो क्षति गरेको छ। अहिलेसम्म १८ जना मानिस बेपत्ता छन् । जसमा १२ नेपाली र ६ चिनियाँ छन् । भोटेकोशीबाट बग्दै गएका दुईजनाको शव धादिङस्थित त्रिशूली नदीमा भेटिएको छ ।

नेपाल–चीनको सिमानाको ल्हेन्दे र केरूङ खोला हुँदै आएको बाढी फैलिँदै भोटेकोशीले विशाल रुप लिँदा फसेका दर्जनौँको उद्धार गरिएको छ । बाढीमा फसेका नौ जनाको सशस्त्र प्रहरी र नेपाली सेनाले सकुशल उद्धार गरेका छन् । तीनजना प्रहरी अझै बेपत्ता छन् ।

सम्पर्कविहीन ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल भेटिएका छ् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुववप्रसाद अधिकारीले १८ जना बेपत्ता रहेको बताएका छन् ।

पूर्वसतर्कता अपनाउन भनिए पनि रसुवाका प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरीक्षक दुवैलाई गृहमन्त्रालयले दुई दिनअघि नै सुरक्षा बैठक भन्दै काठमाडौं बोलाएको खुलेको छ ।

चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याइरहँदा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र जिल्ला प्रहरी प्रमुख एवम् डीएसपी हेम शाही काठमाडौंमा रहेको खुलेको छ ।

उनीहरूलाई हेलिकप्टरमा रसुवा पठाइएको छ । तर मौसम बिग्रिएकाले उनीहरूलाई बोकेको नेपाली सेनाको हेलिकप्टर नुवाकोटको त्रिशूलीमा पुगेर अवतरण गरेको छ। जिल्लाको कमान्ड सम्हालेका दुवैजना अझैसम्म जिल्ला सदरमुकाम पुग्न सकेका छैनन्।

उनीहरू दुवैजनालाई गृह मन्त्रालयले आयोजना गरेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि काठमाडौं बोलाइएको खुलेको छ । दुवै सुरक्षा प्रमुख काठमाडौंमा हुँदा रसुवामा आइलागेको आपत्का बेला सरकारको नेतृत्व नै गायब भएको छ । अहिले त्यहाँ उद्धार र राहतको कमान्ड सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले सम्हालेका छन् ।

जिल्लामा ठूलो संकट निम्तिएपछि मंगलबार नै सहायक प्रजिअ अधिकारीले सूचना निकालेर घटनाको विवरण सार्वजनिक गरेका छन् ।

‘मंगलबार बिहान ३ बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति भई यस नाकाबाट हुने नेपाल-चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेंसी-रसुवागढी सडकखण्ड अवरोध भएको र नदी तटीय क्षेत्रका संरचनामा क्षति पुगेको अवस्था छ’, उनले भनेका छन्, ‘उक्त विपद्‌को प्रतिकार्यका लागि स्थानीय प्रशासन एवम् जनसमुदाय तदारुकता साथ क्रियाशील छ। विपद्‌को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्नु हुने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजना र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाई यातायातका साधन सञ्चालन गर्दा वा यात्रा गर्दासमेत आवश्यक सूचना लिई मात्र गर्नु हुन अनुरोध छ।’

ल्हेन्दे खोलाको बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा दर्जनौँ गाडी बगेका छन् । सशस्त्र प्रहरी बलका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा ठूलो क्षति गरेको छ। त्यहाँ लोड गरिएको अवस्थामा दर्जन कन्टेनर डब्बा बाढीले बगाएको छ ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा ठूलो क्षति गरेको छ । भोटेकोशीको बहाब अझै उच्च रहेकाले सतर्क रहन सहायक प्रजिअ अधिकारीले भनेका छन् । उता चीनबाट आउने ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएको छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १२ : ४१ बजे

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सातवटा पुल बगाउँदा डेढ करोड बढीको क्षति

मुस्ताङ– उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक विवरण संकलन

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय