राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माणपछि स्थानीय खुसी « Khabarhub

राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माणपछि स्थानीय खुसी


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण भएपछि स्थानीयवासिन्दा खुसी भएका छन् । वर्षा लागेपछि सधैँ बाढी र डुबानको त्रासमा रहने स्थानीय तटबन्ध निर्माण भएपछि त्रास हटेको बताउँछन् ।

‘वर्षा लाग्नु पहिले हामीलाई गाउँ डुबान हुने डरले सताउँथ्यो । तर यस पटक नदीमा आपतकालीन तटबन्ध निर्माण गरेपछि हामी ढुक्क भएका छौँ’, नरैनापुरका झिंगदेव बर्माले भने ।

उमेरले ६ दशक नाघेका झिंगदेवले राप्ती नदीमा आएको बाढीले कैयौँ बस्ती बगाएको देखेका छन् ।

विगत सम्झँदै उनले भने, ‘बाढीले कति पटक त हामीलाई उठीबास नै गराएको छ । मुखैमा आएको चाडबाडमा हामी घरबारविहीन भएका छौँ’, विगत सम्झँदै उनले भने, ‘बुढेसकालमै भएपनि नदीमा आपतकालीन तटबन्ध निर्माण गरेको देख्दा खुसी लागेको छ ।’

सोही गाउँका रामप्यारी यादवले पनि यस वर्ष आफूहरूलाई बाढीले क्षति नपुर्‍याउनेमा ढुक्क भएको बताइन् । ‘प्रत्येक वर्ष हामीलाई नदीकै चिन्ता हुन्थ्यो । कतिबेला नदीको बहाव ह्वात्तै बढ्छ र हामीलाई विचल्ली बनाउँछ भनेर । तर यो वर्ष आपतकालीन तटबन्ध निर्माण भएपछि खासै चिन्ता लागेको छैन’, उनले भनिन् ।

रामप्यारीका अनुसार बाढीले सबैभन्दा बढी महिला, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवतीलाई प्रभावित बनाउँथ्यो ।

राप्ती नदी आसपासका गाउँलाई बाढीबाट जोगाउन यस वर्ष आपतकालीन तटबन्ध निर्माण गरिएको छ । तटबन्धन निर्माणपछि बाँकेको उच्च जोखिममा रहेका राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका एक दर्जन गाउँबस्ती खतरामुक्त भएका छन् ।

आपतकालीन तटबन्धका कारण राप्ती नदीले धार परिवर्तन गरेकाले तत्काललाई जोखिम टरेको हो । यसले तटीय क्षेत्रका गाउँबस्तीमा राहत मिलेको छ । दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले पक्की तटबन्ध बगाएपछि बजेट अभाव देखाउँदै नयाँ तटबन्ध निर्माण हुन सकेको थिएन । जसले गर्दा वरिपरिका करिब एक दर्जन गाउँबस्ती डुबानको उच्च जोखिममा थिए ।

‘जनताको तटबन्ध कार्यक्रम’ लमही दाङले कटान रोक्न सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी नयाँ प्रविधिको माध्यमबाट ४०० मिटर लामो आपतकालीन तटबन्ध निर्माण गरेको हो ।

आयोजना प्रमुख डा. नारायण सुवेदीले दिनरात काम गरेर छोटो समयमै काम सकिएको बताए । दुई वर्षदेखि माग गर्दै आए पनि सुनुवाइ नभएको तर हाल जनताको तटबन्ध कार्यक्रमले दुई महिनामा अस्थायी तटबन्ध बनाइदिएपछि स्थानीयमा त्रास हटेको उनको भनाइ छ ।

उक्त गाउँपालिकाको खल्ला झगडिया गाउँमा खल्लाझगडियामा आपतकालीन तटबन्ध निर्माण सकिएपछि नदीको धार परिवर्तन भई कटान रोकिने स्थानीयहरुको विश्वास छ । राप्तीसोनारी–७ का स्थानीय दीपनारायण बर्माले यस वर्ष कटान रोकिने विश्वास व्यक्त गरे । राप्तीसोनारी वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले निकै राम्रो काम भएकाले राहत मिलेको बताए ।

खल्ला झगडिया गाउँमा अस्थायी तटबन्ध निर्माण पूरा भएकाले अब फत्तेपुर जरैयास्थित राप्ती नदीमा आपतकालीन तटबन्ध निर्माण सुरु गरिने जनताको तटबन्ध कार्यक्रमले जनाएको छ । खल्लाझगडियाको क्षेत्रमा ४०० मिटर लामो पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने गरी साई माँ दुर्गा भिन्सी जेभीले ६ करोड पाँच लाख रुपैयाँमा ठेक्का लिएर काम सुरु गरेको छ । (रासस)

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : १८ बजे

रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका

मेस्सीसँगको भिडन्त ‘अद्भूत’ हुनेछ: क्रिस्टियानो रोनाल्डो

ह्युस्टन – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा लियोनेल

उपाध्यक्ष पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण : एमाले

काठमाडौँ– नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी घोर प्रतिशोधपूर्ण,

लुका मोड्रिचको २०० औं खेलमा क्रोएसिया विजयी, पानामा विश्वकपबाट बाहिरियो

टोरन्टो – पानामालाई १–० को झिनो अन्तरले पराजित गर्दै पूर्व

खेल सकिएपछि रोनाल्डोले क्यामराअघि चिच्याएर भने “म फर्किएँ !”

काठमाडौँ – आलोचना र दबाबका बीच क्रिस्टियानो रोनाल्डोले सानदार पुनरागमन