इतिहास हराएको एउटा अग्राख योद्धा  | Khabarhub Khabarhub

इतिहास हराएको एउटा अग्राख योद्धा 



मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय कवि नन्दु ‘परिश्रमी’को नामबाट टाढैबाट  चिनेँ,  एक कविको रूपमा । सशरीर भेटिएपछि त हामी दाजुभाइ भइहाल्यौँ ।

हामीबीच कहिलेकाहीँ ज्ञान र दर्शनका कुरा, सञ्चोविसन्चोदेखि सुखदुःखका कुरा हुन्छ । समकालीन राजनीति र साहित्यका बारेमा त, कुराकानी हुने नै भयो ।

यसै मेसोमा उहाँसँग धनकुटाबाट कुनै समय इलाम पढ्न गएका पहलमान बस्नेत र हेमचन्द्र भण्डारीको बारेमा पनि कुराकानी भयो ।

मैले सोधेँ– ‘उहाँहरूले त इलाम रहँदा विद्यार्थी आन्दोलनमा जोडतोडले काम गर्नुभएको रहेछ नि ?’

‘हो त, उहाँहरूमध्ये जुलुसको नेतृत्वमा अघिसरा चाहिँ पहलमान हुनुहुन्थ्यो, होस्टल नपाउन्जेल हाम्रै घरमा बस्नुभयो’, नन्दु दाइबाट मेरो जिज्ञासा शान्त भयो । उनका अनुसार पहलमान बस्नेत, नामजस्तै काम गर्ने मानिस, असाध्यै आँटिला थिए ।

धनकुटा नगरको बामपन्थी आन्दोलनबारे यतिखेर केही सम्झिरहेछु । तर खोटाङका बौद्धिक मित्रहरू डा. धनप्रसाद सुवेदी र भगवती शर्माले ‘उदय बस्नेतलाई पनि नबिर्सनु होला नि’ भन्ने खबरदारी गरिरहेका छन् । म स्पष्ट छु, भीरगाउँका उदय बस्नेतले खोटाङको बाम आन्दोलनलाई ठूलो मलजल प्रदान गरे । यता धनकुटामा उनका भाइ पहलमान बस्नेत र चन्द्र बस्नेतसहित सिङ्गो परिवार यो आन्दोलनमा समाहित भएको मैले सानै उमेरदेखि प्रत्यक्ष देख्ने अवसर पाएँ । यो खप्तरी बस्नेत परिवारको बाम आन्दोलनमा संलग्नताको सिलसिला भीरगाउँ र  सिङ्गो धनकुटा जिल्ला हुँदै खोटाङ र सोलुसम्म फैलियो ।

बस्नेत दाजुभाइको गिरफ्तारी
२०३३ सालको वर्षात यामको एक बिहान धनकुटा नगरका विभिन्न ठाउँमा एक पर्चा फेला पर्‍याे । पर्चाको शिर भागमा छापिएको बोल्ड अक्षर नै बडो  जोसिलो थियो, ‘तिरो नतिरौँ, शोषण नसहौँ ।’

यस्तो पर्चा बजारभरि देखा परेपछि तत्कालीन प्रशासन चनाखो हुने नै भयो । त्यसलाई भीरगाउँका तत्कालीन प्रधानपञ्चले ठूलो अवसरको रूपमा प्रयोग गरे । उनी थिए– कुनै समय राइटर पद खाएका चक्रबहादुर कार्की । त्यो पर्चा काण्ड लगत्तै भीरगाउँका एकाघरका तीन बस्नेत दाजुभाइको हातमा हतकडी लाग्यो । उदय बस्नेत, पहलमान बस्नेत र चन्द्र बस्नेतको हातमा लागेको थियो, त्यो हतकडी । उनै चक्रबहादुर राइटरले पोलेछन्, तत्कालीन प्रशासनमा । यी निर्दोष दाजुभाइ तिनै निराधार पोलका कारण तीन महिना प्रहरी हिरासतमा बसे ।

यी तिनै भाइ त्यो समय शिक्षण पेशामा आवद्ध थिए । तीनैमा क्रमैसँग बामपन्थ सवार हुँदै थियो । अन्याय नसहने किसिमका थिए । तत्कालिन व्यवस्था टिकाउन अन्याय र अत्याचारमा विश्वास गर्ने ती तत्कालीन प्रधानपञ्चलाई यी दाजुभाइको गतिविधि वा विचार मन पर्ने कुरै भएन । त्यस घटनाअघि नै एक सुधारवादी कार्यक्रममा सहभागी भई आफ्नो सामान्य धारणा राख्दा उदय बस्नेत पक्राउ परिसकेका थिए ।

कुरा के परेछ भने धनकुटाको जोरपाटी भन्ने ठाउँमा एक भेला बोलाइयो, वरिपरिका प्रधानपञ्चहरूको पहलमा । यस्तो भेलाको पहलकदमी गर्ने तत्कालीन तेलियाका प्रधानपञ्च ओझाहाङ लिम्बू र ताङ्खुवाका हरिनारायण दाहाल थिए । त्यहाँ एक बौद्धिक व्यक्तित्वको हैसियतबाट उदय बस्नेतलाई पनि निम्तो पुगेछ । उनले आफ्नो सामान्य भनाइको क्रममा भनेछन्, ‘जुन ठाउँमा एउटा पाटी छैन, त्यही ठाउँको नाम जोरपाटी ?’

यही अभिव्यक्तिका कारण उदयले प्रहरीखोरको बास भोगिसकेका थिए । उनको बारेमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिभक्त रञ्जितकार कहाँ पोलझोस पुग्यो, ‘यहाँ त पार्टी खोल्ने पो कुरा हुँदैछ त !’

जोरपाटी भन्ने ठाउँमा पाटीपौवा बनाउने सम्बन्धमा भेला थियो, त्यही भेलामा उदयको यस्तो धारणा आएको थियो । पोलाहाले ‘पाटी’लाई ‘पार्टी’ भनिदिए । उनको गिरफ्तारी भयो ।

मोटरबाटो बनिनसकेको त्यो समयमा जोरपाटी बटुवाहरूको बाक्लो आवातजावत हुने ठाउँ भएकोले त्यहाँ कसरी पाटीपौवा निर्माण गर्ने भन्ने विषयमा छलफल थियो । त्यो घटनामा उदय गिरफ्तारीमा परे, यता दुई प्रधानपञ्च ओझाहाङ र हरिनारायणले प्रमुख जिल्ला अधिकारीबाट ठूलो खप्की खाए । तीमध्ये तेलियाका तत्कालीन प्रधानपञ्च ओझाहाङ लिम्बूका छोरा हिम्मतसिंह खजुम जीवनभर बामपन्थी भए । उनी महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सभापति हुँदा धनकुटामा २०३८ सालमा तत्कालीन मालेमा काम गर्ने चित्र निरौला उपसभापति थिए ।

यसरी बस्नेत परिवारले दुःख पाइरहेको बेला त्यो परिवारबाट केवल उदय मात्र होइन, भाइहरू पहलमान र चन्द्र बस्नेतलाई पनि हतकडी लगाएर ल्याए, भीरगाउँबाट धनकुटा सदरमुकाममा । शिक्षणजस्तो सामान्य पेशा गरेर परिवार पालिरहेका तीनै जनालाई हतकडी लगाएर ल्याइँदा बस्नेत परिवारले भोगेको आर्थिक र मनोवैज्ञानिक पीडा कस्तो थियो होला ?

पर्चा यसरी छरियो
फेरि एकपटक माथि उल्लेख गरिएको पर्चाकाण्डका बारेमा चर्चा गरौँ । खासमा यो पर्चाकाण्डमा यी बस्नेत दाजुभाइको सहभागिता थिएन । त्यो समय उनीहरू भीरगाउँमा थिए । तर यो पर्चा छर्ने त धनकुटा नगर साविकको वडा नम्बर ३ स्थित आत्माराका पोखरेलहरू थिए । तत्कालीन बाम आन्दोलनको एक घटक ‘रातो झण्डा समूह’ले यो पर्चा छापेको थियो । यो पर्चा धनकुटा नगरको बजार क्षेत्रमा छर्न दुई पोखरेल खटिए ।

त्यो समय रमेश पोखरेल विरामी अवस्थाका कारण धनकुटा अस्पतालमा भर्ना भएका थिए । बिरामी कुरुवाको जिम्मा दाजुभाइ खलकका जीवप्रसाद पोखरेल र राजकुमार पोखरेलमा आइपर्‍याे । दुवैले साँझको ७ बजेतिर विरामी रमेश पोखरेलबाट भोजन गराए । विरामीको अवस्था सामान्य थियो ।

जीवप्रसाद र राजकुमारमा आफ्ना परिवारका सदस्य रमेशको अस्वस्थ अवस्थाभन्दा देशको ठूलो चिन्ता थियो । त्यसपछि यी दुई पोखरेलले बाटो तताए । उनीहरू विभिन्न बाटो छल्दै हालको धनकुटा क्याम्पसको प्राध्यापक निवास रहेको ठाउँमा पुगे, जहाँ त्यो समय धनकुटा क्याम्पस सञ्चालित थियो । त्यहाँबाट पर्चा लिएर सार्वजनिक महत्वको ठाउँमा छर्दै उनीहरू धनकुटा अस्पतालमा आइपुगे र फेरि बिरामी रमेश पोखरेलको कुरुवा बने ।

त्यो समय धनकुटामा रातो झण्डा समूहको प्रभाव व्यापक थियो । आनन्दसन्तोषी राई, गोपाल गुरागाईँ, भक्त बोलना राई लगायत त्यो समूहका नेता थिए । जीवप्रसाद पोखरेल र राजकुमार पोखरेलहरू जोशिला कार्यकर्ता । पछि जीवप्रसाद धनकुटा नगरपालिकाको उपमेयरसम्म हुनुभयो भने राजकुमार त्रिभुवन विश्वविद्यालय इतिहास विभागको प्राध्यापक । उनले कम्युनिस्ट आन्दोलनकै विषयमा विद्यावारिधि गरे ।

यो पर्चाकाण्डलाई भीरगाउँका तत्कालीन चक्रबहादुर कार्कीले ठूलो अवसरका रूपमा लिए । उनले बस्नेत दाजुभाइलाई पर्चाकाण्डका नाइकेका रूपमा पोल लगाए, प्रशासनमा । ती दाजुभाइको हातमा हतकडी लागिहाल्यो ।

समय क्रममा यी तीन दाजुभाइमा बामपन्थ सवार हुन थालिहाल्यो, यसै भएन उसै भएन । क्रमशः पार्टीको सम्पर्कमा पुगे यी दाजुभाइ । छिन्ताङ काण्डको समयमा त उदयलाई नख्खु जेल पुर्‍याए । त्यहाँबाट निस्कनासाथ उदयको भूमिगत राजनीति सुरु भयो । यता नख्खु जेलमै भेटिएका नेता भोजपुर कुलुङका घनेन्द्र बस्नेतकी बहिनी शकुन्तला र उदयका भाइ चन्द्रको पनि लगनगाँठो गाँसियो । उनीहरूले अनेक हण्डर खाँदै परिवार बचाउँदै धनकुटाको बाम आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको एउटा साक्षी म आफैँ पनि हुँ ।

मेधावी जहिल्यै दोस्रो
कुनै समय धनकुटा बहुमुखी क्याम्पसमा राम्रा अंग्रेजी प्राध्यापकको नाम लिनुपर्दा दुईजनाको नाम लिइन्थ्यो, एक जना गोविन्दराज भट्टराई र अर्का नीलबहादुर बस्नेत । पछि लक्ष्मीबहादुर महर्जन पनि थपिएका थिए । उनीहरूमध्ये बस्नेत सर विदेशबाट डिग्री गरेर आएको भनी चर्चित थिए ।

उनी बेलायतको इडनवर्गस्थित स्कटिश सेन्ट फर एजुकेशन ओभरसिज मोरे हाउस कलेज अफ एजुकेशनबाट स्नातकोत्तर तहको उपाधि लिएर आएका थिए । उनले लामो समय  धनकुटा बहुमुखी क्याम्पसमा रहेर ज्ञानको ज्योति बाँडे । तर उनी भीरगाउँमा पढुञ्जेल मेधावी भइकन पनि कक्षामा दोस्रो भइरहनु पर्ने ।

कारण उनै थिए, चक्रबहादुर कार्की । उनका एक छोरा जहिल्यै पनि प्रथम भइरहनुपर्ने । चन्द्र सूर्य भइन्जेल राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य हुन सक्दैन भन्ने अदूरदृष्टि भएका यी प्रधानपञ्चलाई आफ्ना एक छोरा पनि विद्यालयमा प्रथम भएको देखिरहने रहर रहेछ । यदि उनका ती छोरालाई प्रथम बनाइएन भने त्यो कर्मका संलग्न शिक्षक कुटिने, लखेटिने वा निष्कासनमा पर्ने अवस्था हुने गर्दथ्याे । त्यसैले नीलबहादुर बस्नेतजस्तो मेधावी जबरजस्ती दोस्रो स्थानमा खुसी हुनुपर्दथ्याे ।

यस्तो अत्याचार भोगेर आउने बस्नेत सरले जहिल्यै पनि बाम रुझान राखिरहेको भेटेँ । यस्तो अत्याचारको कारण बामआन्दोलनका अग्राख बनेर त धनकुटामा उदय, पहलमान र चन्द्रहरू निस्के ।

यी तीन भाइमध्ये उदयले पञ्चायतकालभरि सोलु र खोटाङजस्तो दुर्गम पहाडी जिल्लामा गएर पार्टीको सङ्गठन गरे । बहुदल आएको केही वर्षपछि उनी धनकुटा आए । केही समयको सक्रियतापछि उनी एकाएक निस्क्रिय देखिए । सम्भवतः केही पार्टीभित्र केही कुरा मिलेन कि !

पछि उनले माओवादी रोजे र भूमिगत भए । ढल्कँदो उमेरमा बन्दुक समाए । तर दिवङ्गत आमाको कोरा बसिरहेकै बेला उनलाई गिरफ्तार गरियो । सैनिक क्याम्पभित्र निक्कै यातना दिइएको पनि सुन्नमा आएको थियो । 

अनेकौँ उतारचढाव र सङ्घर्ष गर्दै आफ्नो उर्वर समय देश र जनताको मुक्तिका लागि समर्पित गर्ने नेता उदय बस्नेतको अघिल्लो महिना ८४ वर्षको उमेरमा निधन भयो । उनको योगदान र समर्पणलाई एमाले र माओवादी दुवैले उचित मूल्याङ्कन गरेको भने खासै देख्न पाइएन ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ८ : ३९ बजे

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको

देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

झापा– झापाको शान्ति टोल विकास संस्थाले  देउसीभैलीमा सङ्कलन भएको एक

बाढीपहिरोको क्षतिबाट ३ अर्ब ७८ बराबरको बीमा दावी

 काठमाडौं– गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण

दुग्ध उत्पादनमा आकर्षित गर्न ‘नश्ल सुधार कार्यक्रम’

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्नका लागि

म्याग्दीको कोसेली टिमुरका परिकार

म्याग्दी– मुस्ताङ र म्याग्दी घुम्न आएका झापाको अर्जुनधाराका राकेश स्याङताङले