३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री « Khabarhub

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

अमेरिका पठाइएका २४ राजदूतमध्ये चारलाई मात्रै सम्बन्धित क्षेत्रको ज्ञान 


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त भएका परराष्ट्रमन्त्रीहरूको अवस्थाले देखाएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सरोकार समुदाय नेपालले शनिबार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजना गरेको ‘जेन–जी आन्दोलनपछिको नेपालको राजनीतिक पद्धति र परराष्ट्र नीति’ विषयक गोष्ठीमा डा. हरिप्रकाश चन्दले नेपालको कूटनीतिक नेतृत्वबारे यस्तो अवस्था उजागर गरेका हुन् ।

उनले उक्त कार्यक्रममा प्रस्तुत गरेको अवधारणा पत्रले विगत ३५ वर्षयता नेपालको परराष्ट्र नेतृत्वमा विषय विज्ञताको अभाव रहेको तथ्य सार्वजनिक गरेको छ ।

चन्दले सार्वजनिक गरेको अवधारणा पत्रमा सन् १९९० पछि देशले ३० जना परराष्ट्रमन्त्री पाइसकेको उल्लेख छ । तर परराष्ट्र मामिला सम्हालेका अधिकांश विषय विज्ञ नरहेको खुलेको छ । परराष्ट्रमन्त्री बनका ३० जनामध्ये तीन जना राजनीतिशास्त्र पृष्ठभूमिका रहेको खुलेको छ । परराष्ट्रमन्त्रीका रूपमा एक जना मात्रै अन्तर्राष्ट्रिय मामिलाका विषय विज्ञ रहेका पनि उनले उल्लेख गरेका छन् ।

बाँकी २६ जना असम्बन्धित क्षेत्रका व्यक्तिहरूले परराष्ट्र मन्त्रालय सञ्चालन गरेका छन् । यो अवस्थाले राज्यले सम्बन्धित क्षेत्रका विज्ञहरूलाई प्रवर्द्धन गर्न नसकेको स्पष्ट देखाएको चन्द बताउँछन् ।

उता अमेरिकाका लागि नेपाली कूटनीतिज्ञको पनि अवस्था पनि उस्तै छ । सन् १९४८ देखि हालसम्म अमेरिकामा पठाइएका २५ जना नेपाली कूटनीतिज्ञमध्ये ४ जनामात्रै सम्बन्धित शैक्षिक पृष्ठभूमिबाट आएका चन्दको अवधारणा पत्रमा उल्लेख छ । बाँकी २१ जना असम्बन्धित क्षेत्रका व्यक्तिहरूलाई सरकारले राजदूत बनाएर पठाएको पाइएको छ ।

डा. चन्द भन्छन्, ‘सम्बन्धित क्षेत्रका मानिसहरूले कूटनीति कसरी प्रभावकारी रूपमा सञ्चालन गर्न सक्छन् भन्ने प्रश्नलाई सरकार र दलहरूले कहिल्यै गम्भीर रूपमा लिएका छैनन् ।’

डा. चन्दल] नेपालमा राजनीतिशास्त्रको अध्ययन ६४ वर्ष पुरानो भए पनि त्यस क्षेत्रका व्यक्तिलाई अवसर नदिइएको बताएका छन् ।

‘अन्तर्राष्ट्रिय सम्बन्ध विषयको अध्ययन सुरु भएको एक दशक बितिसक्दा पनि राज्यले त्यसको उपयोग गर्न सकेन’, उनी भन्छन्, ‘यदि यस्तै अभ्यास दोहोरियो भने नेपालको परराष्ट्र नीति झन् कमजोर र प्रभावहीन बन्ने खतरा छ ।’

उनले कूटनीतिज्ञको नियुक्ति गर्दा विश्वव्यापी अभ्यास र प्रवृत्ति अध्ययन गरी विषयविज्ञलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

सुधारका लागि के गर्ने ?

डा. चन्दले परराष्ट्र नेतृत्व र कूटनीतिक नियुक्तिमा सुधारका निम्न बुँदागत सुझावहरू दिएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिशास्त्र, राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय कानुन वा अर्थशास्त्रमा विद्यावारिधि गरेका प्राध्यापक वा विज्ञहरूलाई प्राथमिकता दिनुपर्छ ।

परराष्ट्र सेवामा कम्तिमा १५ वर्षको अनुभव भएका अधिकारीहरूलाई अवसर दिनुपर्छ ।

राजनीतिक नियुक्ति गर्दा दलका विदेश विभागमा कम्तिमा १५ वर्ष क्रियाशील रहि योगदान दिएका वा सम्बन्धित क्षेत्रमा विद्यावारिधि गरेका व्यक्तिहरूलाई मात्र चयन गर्नुपर्छ । कूटनीतिक मिसनहरूमा कार्यानुभव भएका वा एक कार्यकाल प्रमुखको रूपमा काम गरेका व्यक्तिहरूलाई समावेश गर्नुपर्छ ।

थिंक ट्यांकहरूमा कम्तिमा १० वर्ष कार्यानुभव भएका अनुसन्धानकर्ताहरूलाई प्राथमिकता दिनुपर्छ । नेपाली सेनाका मिशन प्रमुख रहि कार्य गरेका व्यक्तिहरूलाई समेत योग्य ठहर गर्न सकिने व्यवस्था गर्नुपर्छ ।

१५ वर्षदेखि परराष्ट्र क्षेत्रमा निरन्तर अध्ययन–अनुसन्धान गर्दै आएका लेखक वा विज्ञहरूलाई अवसर दिनुपर्छ । असाधारण प्रतिभा र अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त विज्ञहरूलाई राष्ट्रिय हितका लागि प्रयोग गर्नुपर्छ ।

राजदूत नियुक्तिमा उमेर सीमा सांसद वा मन्त्री सरह राख्ने तर विषयगत दक्षतालाई प्राथमिकता दिने गर्नुपर्छ । डा. चन्दले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बचाउन अब कूटनीतिज्ञहरूको नियुक्ति गम्भीर रूपमा पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन् ।

 ‘यदि हामीले विज्ञतालाई प्राथमिकता दिएनौँ भने नेपालको परराष्ट्र नीति झन् कमजोर बन्दै जानेछ’, उनले भनेका छन् ।’ 

अबको प्राथमिकता सक्षम, विषयविज्ञ र अनुभवी कूटनीतिज्ञहरूको संस्थागत एकता र सामूहिक आवाज निर्माण गर्नेतर्फ हुनुपर्ने उनले जोड दिएका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  २ : ३२ बजे

ध्वनि प्रदूषण गराउने मोटरसाइकल नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै ध्वनि

कांग्रेसबाट स्वर्णिमले खोसेको तनहुँ-१ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनमा हुने निर्वाचन नजिकिँदै गर्दा झापा- ५, सर्लाही-

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड : पहिरो रोकथाम योजना सुरु

म्याग्दी– चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको म्याग्दी

नवलपुर-२ : कांग्रेसबाट विरासत फिर्ता ल्याउने एमालेको दाउ, रास्वपाले पनि दिँदैछ टक्कर

काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा

बेथानचोक गजराम पर्वतबाट देखिएको सूर्योदयको दृश्य (तस्बिरहरू)

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका– ३ र ५ को सिमानामा अवस्थित