काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशनमा सातजना महिला नेतृहरू सचिवालयमा आउने दौडमा छन् । ११ औँ महाधिवेशन आउन पाँच दिन बाँकी रहँदा आठजना महिला नेतृले सचिवालयमा दाबी गरेका हुन् ।
एमाले सचिवालयमा आउन इच्छा गर्नेमा अहिलेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सचिव पद्मा अर्याल पनि छ्न् । यस्तै केन्द्रीय सदस्य डा. बिन्दा पाण्डे, जुलीकुमारी महतो, रचना खड्का, ज्वालाकुमारी साह र रामकुमारी झाँक्री छन् ।
एमाले केन्द्रीय सचिवालयमा १९ जना पदाधिकारी रहने विधान परिमार्जन भएको छ । गत भदौमा आयोजित दोस्रो विधान अधिवेशनबाट पारित भएको विधानमा पदाधिकारीको सङ्ख्या १५ पुर्याए पनि यस पटकको महाधिवेशनको हलले पुनः एमाले सचिवालयको सङ्ख्या बढाउने संकेत उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन्।
ज्ञवालीका अनुसार अहिले यसका लागि अध्यक्ष ओली गृहकार्यमा छन् । यदि दशौँ महाधिवेशनमा जस्तै १९ जना पदाधिकारी कायम भएमा सचिवालयमा दुईजना महिला अनिवार्य आउन सक्छन्। गत भदौ २० देखि २२ गतेसम्म भएको दोस्रो विधान महाधिवेशनबाट पास भएको दस्तावेजअनुसार एमालेमा एकजना अध्यक्ष, तीनजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव तीनजना र सचिव ७ जना गरेर १५ जनाको पदाधिकारी हुने व्यवस्था छ।
पार्टी विधानमा पदाधिकारी एक महिला अनिवार्य गरिएको छ । तर अब विधान परिमार्जन भएमा दुई महिला अनिवार्यसहित १९ जना पदाधिकारी हुने सम्भावना छ।
कुन महिलाको केमा दाबी ?
१. अष्टलक्ष्मी शाक्य- २०४८ सालदेखि एमालेको सक्रिय राजनीतिमा लागेकी अष्टलक्ष्मी शाक्य चितवनको दशौँ महाधिवेशनमा उपाध्यक्ष भएकी थिइन् । एमालेको पाँचौँ महाधिवेशनपछि केन्द्रीय सदस्य निर्वाचित भएकी उनी २०७१ सालको नवौँ महाधिवेशनमा पहिलो पटक उपाध्यक्ष चुनिएकी थिइन् ।
७२ वर्षकी शाक्य एमालेको एघारौँ महाधिवेशनमा पनि केन्द्रीय उपाध्यक्ष हुने चर्चा चलेको छ । शाक्यको मनसाय बुझ्दा ७० वर्ष नाघेका बिदा हुँदा आफू पनि अभिभावकीय भूमिकामा रहने बताउँछिन् । ‘मैले त पटक–पटक भन्दै आएको छु, ७० वर्ष पुगेकाहरू बिदा हौँ, नयाँलाई अवसर दिऔँ’, शाक्यले खबरहबलाई भनिन्, ‘मैले भनिरहेको छु, अध्यक्ष ओलीसहित नेताहरू बिदा हुँदा म पनि जान्छु । यस्तो परिस्थिति आए म नै पहिला निर्णय गरौँला ।’

फेरि उपाध्यक्ष हुँदै हुनुहुन्छ रे नि ? भन्ने प्रश्नमा आफूले तयारी नगरेको तर परिस्थिति जस्तो हुन्छ अँगालेर अगाडि बढ्ने बताउँछिन्। शाक्य एघारौँ महाधिवेशनमा अध्यक्षका दाबेदार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट पुनः उपाध्यक्षमा दोहोरिने सम्भावना छ।
२. पद्मा अर्याल- अर्याल २०७० मा एमाले स्याङ्जा जिल्ला अध्यक्ष भएकी थिइन् । वामदेव गौतमले एमाले छोडेपछि अध्यक्ष ओलीको विश्वासिलो पात्र उनी यस पटक उपाध्यक्ष हुन चाहन्छिन्। ओली नेतृत्वको प्यानलबाट उपाध्यक्ष नपाए उपमहासचिव बन्ने तयारीमा छिन् ।
चितवन महाधिवेशनमा १८०० मतसहित सचिवमा निर्वाचित भएकी उनी २०५४ मा एमाले फुटेर माले बन्दा भने वामदेव गौतमको सहयात्री भएकी थिइन् । तर वामदेव एमालेबाट निस्केपछि पनि उनी एमालेमै छिन् । एमालेको दशौँ महाधिवेशन अगाडि केन्द्रीय सदस्य मात्रै रहेकी उनलाई अन्य एमाले नेतृहरूलाई भन्दा ओलीले बढी विश्वास गरेको देखिन्छ ।

२०७९ को निर्वाचनमा भने उनी कांग्रेसका उपसभापति धनराज गुरुङसँग स्याङ्जामा भएको निर्वाचनमा पराजित भइन् । ११ औँ महाधिवेशनमा उपाध्यक्ष अथवा उपमहासचिवमा अर्याल ओली समूहमा रहेर निर्वाचन नै जित्ने आँकलन गरेको देखिन्छ । उनले सचिवालयमा जान तयारी गरिरहेको खबरहबलाई जानकारी दिइन् ।
३. रचना खड्का- एमालेकी युवा नेतृ रचना खड्का दोलखा निवासी हुन् । एमालेको काठमाडौँमा भएको ९ औँ महाधिवेशनबाट २८ वर्षमा सबैभन्दा कान्छी युवा केन्द्रीय सदस्य भएकी खड्का दशौँमा पनि केन्द्रीय सदस्यमा दोहोरिएकी थिइन् ।
नेतृत्वविरुद्ध सधैँ आवाज उठाउने उनी यसपटकको एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट केन्द्रीय सचिवमा आउने तयारी गरिरहेकी छन् । नेताहरूका अनुसार उनलाई वरिष्ठ उपाध्यक्ष पोखरेल समूहबाट सचिवमा एक मात्रै महिला दाबेदारका रूपमा हेरेका छन् ।

खड्काले पनि आइतबार खबरहबसँग कुरा गर्दै आफूले एघारौँ महाधिवेशनमा सचिव पदमा उठ्ने घोषणा गरेकी छन्। उनी भन्छिन्, ‘म एघारौँ महाधिवेशनबाट एमालेमा नयाँ नेतृत्व आउनुपर्छ र पुस्तान्तरणको बहस अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छु ।’ खड्काले भनिन्, ‘म भर्खर ४० वर्ष पुग्दै छु, युवाको प्रतिनिधित्व गराउन पनि मैले सचिवमा दाबी गरेको छु ।’
४. बिन्दा पाण्डे- एमालेकी बौद्धिक नेतृ एवम् स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटीमाथि पटक पटक प्रश्न उठाउँदै आएकी छन् । उनी एमालेमा सामूहिकताभन्दा व्यक्तिवाद हाबी भएको भन्दै एघारौँ महाधिवेशनबाट एमालेको नेतृत्व परिवर्तन नभए पार्टीलाई घाटा लाग्ने बताइरहेकी छन् ।
विद्यार्थी आन्दोलनबाट उदाएकी पाण्डे २०३७ सालमा स्कुल पढ्दादेखि राजनीतिमा होमिएकी थिइन् । १४ वर्षको उमेरमा राजनीतिमा लागेकी पाण्डे शिक्षिका भइन् । २०४७ सालमा एमाले निकट अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भइन् । २०६२ सालमा एमाले केन्द्रीय महिला विभागले लैङ्गिक मुद्दासम्बन्धी आठवटा बुँदा बनाएर २०६२ सालको भदौमा ती बुँदा पार्टी केन्द्रीय कमिटीबाट पारित गरेको थियो ।

त्यसको अग्र पङ्क्तिमा काम गरेकी उनी लैङ्गिक मुद्दामा खरो छिन् । सन् २०१७ मा पीएचडी सकेकी उनी योग्यता क्षमता हुँदाहुँदै पनि एमालेमा पछाडि पारिएकी नेतृ हुन् । एमालेको एघारौँ महाधिवेशनमा आफू सचिवमा नभएर अन्य पदमा उम्मेदवार रहने बताउँदै आएकी छन् ।
आइतबार खबरहबसँग कुरा गर्दै सचिवबाहेक अन्य पदका लागि आफूले उम्मेदवारी दिने घोषणा गरिन् । उनले त्यसबारे छलफल भइरहेको बताइन् । नेताहरूको मनशाय बुझ्दा साँच्चिकै अष्टलक्ष्मी राजनीतिबाट बिदा हुने औपचारिक घोषणा गरेमा पाण्डेलाई पोखरेल प्यानलबाट उपाध्यक्षको उम्मेदवार बनाउने छन् ।
यदि अष्टलक्ष्मी शाक्य बिदा नभएमा पाण्डे उपमहासचिवको उम्मेदवार हुनेछिन् । पार्टीमा महिला सहभागिता बढाउन देशभर संगठन विस्तारमा हिँडेकी उनलाई राम्रो साथ मिल्ने देखिन्छ ।
५. जुलीकुमारी महतो- अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी जुलीकुमारी महतोको विवाह राजनीतिकर्मी रघुवीर महासेठसँग भएको छ । महासेठ एमाले केन्द्रीय सचिवालयमा छन् । यदि उनी सचिवालयबाट निस्किएको अवस्थामा श्रीमती महतोलाई मौका हुन सक्छ । महतो र महासेठले एघारौँ महाधिवेशनमा कुन टिमलाई सहयोग गर्छन् खुलेको छैन ।
तर नेताहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई समर्थन गर्ने बताइरहेका छन् । तर पदको बार्गेनिङ गरेर आफू सेटल हुने अवस्थामा उनी अन्तिममा ओली समूहमै खुल्ने पनि चर्चा छ । २०७४ मा एमालेको केन्द्रीय कमिटी सदस्य बनेकी महतो पार्टीको तत्कालीन जनकपुर अञ्चल कमिटी सदस्यसमेत भइन् ।

२०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार अनिलकुमार झालाई पराजित गरेर तेस्रो पटक धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजय भइन्। यस पटक श्रीमान् नभए श्रीमती एमाले सचिवालयमा पुग्ने तयारीमा छिन् ।
६. ज्वाला कुमारी साह- माओवादी पार्टी छाडेर २०७७ सालमा एमाले पार्टी रोजेकी साह ४१ वर्षको उमेरमा तीन पटक मन्त्री भइसकेकी छिन् । नेकपा विभाजनपछि एमालेमै बसेकी उनलाई अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छ । माता-पिता एमाले भएका कारण उनी त्यसमै फर्किएको बताइन्छ ।

यस पटक उनी अध्यक्ष ओली समूहबाट मधेस प्रदेशबाट सचिवको दाबेदारमा छिन् । सुरुमा एमाले नेता ईश्वर पोखरेलसँग चिनजान भए पनि उनलाई एमालेको राजनीतिमा फर्काउने काम ओलीले गरेका कारण उनी त्यहाँबाटै सचिव हुने सोचमा छिन् । पूर्वमाओवादी सेटल गर्दा उनलाई सचिवमा ल्याउने धेरैले आँकलन गरेका छन् ।
७. रामकुमारी झाँक्री- झाँक्रीले आफू सचिवको दाबेदार रहेको बाहिर खोलेकी छैनन् । तर उनी सचिवमा आकांक्षा राखेकी नेतृमध्ये एक हुन् । एमालेकी खरो र बौद्धिक नेतृ उनी २०७७ सालमा नेकपा एमाले विभाजन भएपछि माधव नेपाल समूहमा लागेकी थिइन् । नेकपा एकीकृत समाजवादीमा लागेर सहरी विकासमन्त्री भएकी उनी पार्टीको सचिवसमेत थिइन् ।
तर नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट उनी पार्टीको उपाध्यक्षमा नेतृ जयन्ती राईसँग पराजित भएकी थिइन् । माधव नेपालले मन्त्री पदबाट बिदा गरेपछि असन्तुष्ट उनी पछिल्लो समय झलनाथ खनालसँग पनि असन्तुष्ट भइन् । त्यही भएर माधव नेपाल र झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछि एमालेमा फर्किएकी छन् ।

कुनै बेला ओलीको चर्को आलोचना गर्ने उनी अहिले उनैसँग नजिक भएकी छन् । तर, भर्खरै एमालेमा प्रवेश गरेका कारण ओलीले उनलाई विश्वास गर्नेमा शंका पनि छ। तर उनले महेश बस्नतेले झैँ ओलीलाई साथ दिन सक्छिन्। रामकुमारीले नेताहरूसँग सचिवमा उठ्ने बताइरहेकी छन् ।
धेरै नेताहरूले पूर्व शिक्षामन्त्री विद्या भट्टराई पनि पदाधिकारीमा आउने आँकलन गरेका छन् । तर भट्टराई यतिबेला पीएचडीको तयारीमा छिन् । उनी सचिवालयमा नआउने सम्भावना रहेको नेताहरू बताउँछन् ।













प्रतिक्रिया