काठमाडौं– पछिल्लो समय राजावादी पार्टीहरू पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा सक्रिय भएपछि गणतन्त्रवादीहरूको मनमा चिसो पसेको छ ।
गत फागुन ७ गते गते प्रजातन्त्र दिवसमा भिडिओ सन्देश दिएर पूर्वराजा शाहले दलहरूलाई संशकित हुने अवस्था बनाइदिए । अघिल्ला वर्षमा पूर्वराजाले लिखित वक्तव्य निकाल्ने गरेका थिए । तर, यो वर्ष भिडियो सामाग्री नै बनाएर अहिलेका व्यवस्था र यसलाई हाँक्ने दलहरूमाथि गम्भीर प्रश्न उठाइदिए ।
भिडियो सामाग्रीमा उनले राष्ट्रिय समस्या समाधानका लागि आफूले त्याग गरेको दाबी गरेका थिए । उनले अब नेपालको उन्नतिका निम्ति के त्याग गर्नुपर्ने त्यसका लागि तयार भएको बताए । ‘हामीले राष्ट्रिय समस्या समाधानका लागि त्याग गरेका थियौँ’, उनले सन्देशमा भनेका थिए, ‘नेपालको उन्नतिका लागि अरू के त्याग गर्नुपर्ने हो ? हामी तयार छौँ ।’
त्यसअघि नै माघ २७ गतेदेखि उनी गण्डकीका विभिन्न जिल्लाका भ्रमणमा थिए । गण्डकी पुगेर पूर्वराजाले शुभचिन्तक, समर्थक र केही नागरिक अगुवालाई भेटे । दलहरूप्रतिको वितृष्ण बुझेपछि उनले फागुन ७ मा नाडी छाम्ने गरी भिडियो सन्देश सार्वजनिक गरे ।
फागुन ७ को भिडियो सन्देशले दलहरूलाई तरंगित बनाएका उनी आइतबार पोखराबाट काठमाडौं फर्किए । फागुन ७ को सन्देशपछि राजावादी दलहरू उत्साहित थिए । त्यही उत्साहलाई उनीहरूले आइतबार स्वागतका नाममा यो व्यवस्थाविरुद्ध शक्ति प्रदर्शनका रुपमा उपयोग गरे । पूर्वराजा शाहलाई स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र दुर्गा प्रसाईंको अभियानसहितका सदस्य जुटेका थिए ।
गौशाला र तीनकुने क्षेत्रमा भेला भएका राजावादीले विमानस्थलबाट दलहरूको आँखा बिझ्ने गरी निर्मल निवाससम्म जुलुस गरे । त्यसबेला हौसिएका पूर्वराजा शाह गाडीबाट उभिएर निरन्तर हात हल्लाउँदै नमस्कार गर्न मग्न भए । उनको पछपछि माओवादी हुँदै एमाले बनेर पनि नयाँ राजावादीमा दरिएका विवादित पात्र प्रसाईँको गाडी थियो । उनी पनि पूर्वराजाकै शैलीमा आफूलाई प्रस्तुत गर्न व्यस्त भए ।
शाहलाई विमानस्थलमा स्वागत गर्न पुगेकाहरूले राजतन्त्रको पक्षमा हुटिङ र नाराबाजी गरिरहे । त्यहीँ भिडले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘चोर’को संज्ञा दिँदै आपत्तिजनक नारा पनि लगाइरहेको थियो । यता गणतन्त्रको विकल्प गणतन्त्र भएकाले पूर्वराजा र राजावादीलाई नहौसिन चेतावनी सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेका नेताले दिइरहेका थिए ।
देशको आन्तरिक सुरक्षाको जिम्मेवारी सम्हालेका गृहमन्त्री रमेश लेखकले आइतबार बिहानै गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताए । उनले राजतन्त्र फर्किने भ्रमबाट शाहले हौसिन आवश्यक नरहेको बताए । उनले मन्त्रालयअन्तर्गतका सबै निकायलाई काठमाडौंको सुरक्षा कडा बनाउन निर्देशन दिए । उनको त्यही निर्देशनअनुसार विमानस्थल क्षेत्रदेखि महाराजगञ्जको निर्मल निवासम्म सुरक्षाकर्मी बाक्लो मात्रामा तैनाथ थिए ।
२०६५ सालमा गणतन्त्र आएपछि २३८ वर्ष लामो राजतन्त्र अब मृत भइसकेको निष्कर्ष दलहरूको थियो । तर नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको दुईतिहाइको शक्तिशाली सरकार भएकै बेला छिमेकी देशले समेत थाहा पाउने गरी राजतन्त्रको नारा सडकमा लागेको छ । सडकमा राजतन्त्रको पक्षमा चर्का नारा लगाए पनि सदनमा उनीहरूको आवाजले गणतन्त्रलाई हल्लाउन सक्ने अवस्था छैन ।
अहिले संघीय संसद्मा राप्रपाका १४ जना सांसदहरू छन् । खास राजावादी संसद्मा यति नै हुन् । राप्रपा नेपालले त एमालेले सघाउँदा पनि संसद् यात्रा तय गर्न सकेन । पछिल्लो समय राजावादी पनि मिल्न सकेका छैनन् । एकता महाधिवेशनबाटै राप्रपा फुट्यो । लिङ्देनले जितेको रिसमा कमल थापाले नयाँ दल खोले । उता नयाँ राजावादी प्रसाईं पनि अलग्गै अभियानमा छन् । तर आइतबार भने राजाका नाममा उनीहरू एकै ठाउँ जुटेर सडकमा देखिए ।
संविधान सभाले २३८ वर्षदेखिको राजतन्त्रलाई बिदा गर्दै वि.सं. २०६५ साल ज्येष्ठ १५ गते विधिवत रुपमा गणतन्त्र ल्याएको थियो । त्यसपछि ०७२ असोज ३ गते जारी भएको नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो ।

दलहरूमा चिसो पस्यो…
अहिले दुई ठूला दल कांग्रेस, एमाले मिलेर सत्तामा छन् । उनीहरूलाई अरू पाँच साना दलको पनि साथ छ । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालसहित जुट्दा झन्डै दुईतिहाइ पुगेको छ । तर गत असार ३० गते बनेको शक्तिशाली सरकारले परिणाम दिन सकेको छैन । जनताले चाहेअनुसारको नतिजा पनि देखिएको छैन । जनतालाई डेलिभरी दिन चुकेको विश्लेषण विभिन्न विश्लेषक र प्रतिपक्षी दलले पनि गरिरहेका छन् ।
हुन पनि शक्तिशाली सरकारले कुशासन, अनियमिता र भ्रष्टाचार जस्ता नेपालका गम्भीर शासकीय समस्या चिर्न सकेको छैन । त्यहीँबाट जन्मिएको सर्वसाधारण्को असन्तुष्तिलाई पूर्वपञ्चाहरूले सडकसम्म लैजान सफल भएका छन् । नेताहरू पूर्वराजालाई नागरिकका रुपमा सम्हालिएर बस्न पनि भनिरहेका छन् ।
तर नेताहरूको यो चेतावनीले उनको कानमा बतास नलागेको कुराको पुष्टि आइतबारको भिडले देखाएको छ । गृहमन्त्री लेखकले शाहलाई नहौसिन भन्नुअघि कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले झापा पुगेर माईखोलामा धेरै पानी बगिसकेकाले राजतन्त्र फर्किने विश्वास नगर्न भने । ‘राजा फर्किन्छ त भन्ने मलाई लाग्दैन, ‘नेता कोइरालाले भने, ‘माई खोलामा धेरै पानी बगिसक्यो, यो १२–१५ वर्षमा । अब मलाई राजा फर्कने कुरामा विश्वास छैन ।’
उता प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाए । ‘तराई–मधेस जागरण अभियान’का क्रममा रौतहट पुगेका उनले शनिबार शाहलाई सचेत गराउँदै यस्तो सुझाव दिए । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको पनि बताए ।
तर दल र तिनका नेताको चेतावनीलाई राजावादीले सुनेको नसुन्यै गरेर शाहको स्वागतका नाममा काठमाडौंमा शक्ति प्रदर्शन गर्न भ्याए । राजावादी जुटेको सूचना पाएपछि माओवादी हुलाकी राजमार्ग जागरण अभियान रोकेर काठमाडौं फर्कियो । समसामयिक राजनीतिक परिस्थितका कारण नेताहरू काठमाडौं फर्किएको पार्टी सचिव देवेन्द्र पौडेल बताउँछन् । तर राजावादीले राजधानीमा मोर्चा कसेपछि माओवादी पंक्ति पनि तनावमा थियो । राजावादीको प्रदर्शनपछि माओवादीका पदाधिकारी सोमबार बिहान जुट्दैन ।
‘बैठकमा अनावश्यक रूपमा सडकमा सलबलाएका शक्तिको विषयमा कुरा हुन्छ । गणतन्त्रमाथि हमला गर्न कसैलाई छुट छैन’, माओवादी सचिव देवेन्द्र पौडेलले खबरहबलाई भने, ‘सरकारले पनि डेलिभरी दिन नसकेर यो अवस्था आएको हो । हामी सरकार र सडकबाट सबैलाई खबरदारी गर्छौं ।’
राजतन्त्रले गणतन्त्रको सुन्दर फूल चुँड्न राजतन्त्रले नसक्ने बताउँदै उनी सरकारले डेलिभरीमा फोकस नगर्दा राजावादीले ‘टेस्ट’ गर्न खोजेको दाबी गर्छन् ।
राजावादी सक्रिय भएपछि गणतन्त्रवादी दललाई चिसो पसेको छ । सरकार प्रभावकारी नभएको, भ्रष्टाचार बढेको, नेताहरू व्यक्तिगत लाभमा लागेकाले राजावादी शक्तिहरू सलबलाएको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
यसबारे सत्ताधारी दलहरू कांग्रेस–एमालेले औपचारिक छलफल गरेका छैनन् । अनौपचारिक रूपमा पूर्वराजाको गतिविधिमा हेरिरहेको एक नेता बताउँछन् । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले गत शुक्रबार अन्यत्र भए पूर्वराजा र उनका परिवार जेलमा हुने कडा अभिव्यक्ति दिएका थिए ।

के भन्छन् नेताहरू ?
कांग्रेस र एमालेका नेताहरूले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्नेमा एकमत छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंखर पोखरेल लगायतका शीर्ष नेताहरू बेसिजनको गफ गरेर हिँड्ने फूसर्द काम नभएकालाई मात्रै भएको बताउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजालाई सपना नदेख्न भनिसकेका छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पूर्वराजा र राजावादीको नाम लिएर अराजक गतिविधि गर्ने छुट नदिइने बताउँछन् । जनताले रुचाएको सुन्दर गणतन्त्रलाई कसैले दूषित बनाउन नहुने उनको तर्क छ । ‘बेकारको कुरामा तर्क गरिरहनु आवश्यक छैन । जनताले गणतन्त्रलाई रुचाएर काम गरिरहेका छन्’, खड्काले खबरहबलाई भने, ‘दलहरूले ‘करेक्सन’ गर्नुपर्ने कुरा जनताले भनिरहेका छन् । बिनातुकको कुरालाई लिएर गणतन्त्रमाथि हमला गर्नु ठिक भएन ।’
यता एमाले सचिव योगेश भट्टराई पनि शक्तिमाथि सबैले आक्रमण गर्ने भएकाले स्वाभाविक मान्नुपर्ने बताउँछन् । ‘जो बलियो छ त्यसलाई आक्रमण हुन्छ । अहिले कांग्रेस र एमालेले सरकार चलाइरहेका छन् । इतिहासकै सबैभन्दा बलियो सरकार छ । हान्ने भनेकै सबैभन्दा बलियोलाई हो’, भट्टराईले खबरहबलाई भने, ‘हान्न पाउने स्वतन्त्रता संविधान र गणतन्त्रले दिएको छ । त्यसकै उपयोग गरेका हुन् । व्यवस्था भत्किए आलोचना गर्ने बाटो नै सकिन्छ । यति राम्रो व्यवस्था सकिने कुरा भएन ।’
उनले देशलाई जहिले पनि अशान्त बनाइरहने र अस्थिरता चाहने शक्तिले निहुँ खोजेको बताए । ‘संविधान बनेपछि व्यवस्थाको खोजी गर्ने काम सकिएको छ । लोकतान्त्रिक गणतन्त्र भनेकै व्यवस्था हो । व्यवस्थामा चित्त नबुझे जनमतबाट आउनुपर्छ’, उनले भने, ‘जनमतबाट आएका पार्टीलाई जनमतबाटै फाल्नुपर्छ । ज्ञानेन्द्र शाहलाई मुलुको परिस्थित नबिगार भनेर सम्झाएको हो । दलहरू आत्तिएका होइनन् ।’
उनी दलहरू सच्चिनु आवश्यक रहेको स्वीकार गर्छन् । दलहरू नसँच्चिए चुनावबाट हराइदिन सक्ने भन्दै आफ्ना गतिविधि सुधार गर्ने बताउँछन् । ‘राजनीतिक दलहरू राम्रो नभए अन्य दलहरू आउँछन् । तर राजतन्त्र एकादेशको कथा भयो’, भट्टराईको दाबी छ, ‘चुप लागेर बस्नु राम्रो हुन्छ । राजा फर्काउने भन्दै हिँड्नु गलत हो, पूर्वराजाले यो बुझ्न आग्रह गर्छु ।’
नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन पार्टीले अहम् भूमिका खेलेको बताउँछिन् । कांग्रेसले गणतन्त्रात्मक व्यवस्थामा जाँदैछौँ भनेर गरेको निर्णयमा अडिग रहेको उनी बताउँछिन् । उनी गणतन्त्रात्मक संघीय तोकतान्त्रिक व्यवस्थामा जनताको शासन हुने बताउँछिन् ।
‘यस्तो त भइरहन्छ । प्रतिक्रियावादी शक्ति सलबलाउँछन् । पार्टीको बैठक डाक्नु जरुरी छैन । सिरियस हुने कुरा पनि देख्दिन,’ उनले खबरहबलाई भनिन, ‘दलहरूप्रति नकारात्मक धारण पैदा गराउने सामाजिक सञ्जाल हो । नकरात्कम सोच बनाउन थालिएको छ । प्रतिक्रियावादीले जसरी सामाजिक सञ्जाललाई प्रयोग गरे, यो त्यसको नतिजा हो । दलहरूबाट भएका प्रगतिका कुरा जनतालाई बुझउन नसक्नु गल्ती हो । यसमा कमजोरी भयो ।’

‘तत्काल केही हुँदैन, दलको कार्यशैली सुधारौँ’
राजनीतिक विश्लेषक सुरेन्द्र लाभ सत्ता पल्टाउन राजावादीहरूले क्रान्ति गर्ने सम्भावना नभएको बताउँछन् । ‘यसलाई समष्टिगत रूपमा हेर्नुपर्छ । राणाकालमा राजतन्त्रवादीले आन्दोलन गर्थे । पञ्चयतामा बहुदलवादीले गर्थे । त्यसबेला पञ्चायत र राजा डराउँथे । अहिले गणतन्त्र आएको छ । राजावादीले चहलपहल गरेका हुन्,’ लाभले खबरहबलाई भने, ‘कानुनी बाटोमा प्रवेश गर्न सक्छ सक्दैन । राजा पुनःस्थापना हुन्छ हुँदैन, यो भन्न सकिने विषय होइन । राजा कानुन र संविधानमै छैन । यसका लागि ठूलो आन्दोलन र शक्ति चाहिन्छ । क्रान्ति गर्ने अवस्थामा राजावादी छैनन् ।’
उनी जुलुस निकाल्ने र सडकमा यताउता गर्न खोज्नेले गणतन्त्र मास्न भूमिका नखेल्ने बताउँछन् । राजावादीका कारण दलहरूको मनमा चिसो पसेको कुरा उनी स्वीकार्छन् । अब दलहरू सँच्चिन आवश्यक रहेको उनले सुझाए । ‘दलहरूले गल्ती गरेका छन् । उनीहरूलाई नै थाहा छ, सही दिशामा जान सकेनौँ भन्ने कमजोरी स्वीकार्नुपर्छ’, लाभले भने, ‘दलहरू पनि जनताका काममाभन्दा सत्ता पल्टाउने जोड घटाउमा लागे । राजावादीको सक्रियताले अब दलहरूमा चिसो पसेको छ । राजावादीले चेतावनी दिए । दालहरूले पुनःमूल्याकन गरेर कार्यशैली सुधार्नुपर्छ ।’
उनी राजावादीको आन्दोलनलाई दलहरूले अवसरका रूपमा लिएर कार्यशैली सुधार्नुपर्ने बताउँछन् । दलहरूले आत्मा आलोचना नगरे देशमा बिस्तारै उथलपुथल आउन सक्ने सम्भावना रहेको उनी बताउँछन् । ‘तुरुन्तै केही हुँदैन । तर दलहरूको गति यस्तै रहने र जनताका काम बिर्सेर सत्ताको जोडघटाउमा लागिरहे बिस्तारै उथलपुथल हुन सक्छ’, उनले अनुमान सुनाए ।

‘कोर्स करेक्सनको बेला भयो’
यता गणतन्त्रलाई जनताले स्वीकारेको अवस्थामा राजतन्त्रका लागि तम्सिएका राप्रपा प्रवक्ता मोहन श्रेष्ठलाई प्रश्न गर्दा उनी गणतन्त्र आएको १६ वर्ष बितिसक्दा पनि आमजनताले निराशा ब्यहोरेका कारण व्यवस्था उल्टाउने अवस्थामा पुगेको दाबी गर्छन् । उनी यो व्यवस्थासँग जनता पनि निराश भएको प्रमाणित भइसकेको बताउँछन् ।
‘देशको राष्ट्रियता राष्ट्रिय अखण्डता र राष्ट्रिय पहिचानमाथि खतराका चिह्न देखिएका छन् । यो अवस्थाले देश दिनदिनै खतरामा जाने निश्चित छ । बेलैमा कोर्स करेक्सन नगर्ने हो भने देश झन् ओरालो लाग्छ,’ श्रेष्ठले खबरहबलाई भने, ‘संसारमा निर्विकल्प केही छैन । सबै कुरा परिवर्तनशील छन् । हाम्रो संविधानमै पुनर्लेखन गर्न सक्ने ठाउँ छ । संविधान र संवैधानिक प्रक्रिया बदल्न सक्ने भएकाले जनताले व्यवस्था परिवर्तन गर्न सक्छन् ।’

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला पनि दलहरूका कारण व्यवस्था परिवर्तनको अभियानमा लागेको बताउँछन् । उनी देशमा हजाराँै राजाले शासन गरेर जनतालाई ठग्नुभन्दा एउटा राजाको शासन ठिक हुने दाबी गर्छन् । उनले भने, ‘जनताको माग र प्रतिबद्धताअनुसार हामीले पुरानो व्यवस्था फर्काउनुपर्ने भयो । अब राजनीतिले फरक मोड लिनुपर्छ ।’
जनमतबाट राजतन्त्र फर्काउने अवस्था अहिले छैन । गत मंसिर १६ मा भएको उपनिर्वाचनमा राजा फर्काउँछु भन्ने दलले कतै जितेनन् । राप्रपाले ४२ ठाउँमा भएको उपनिर्वाचनमा एक ठाउँ पनि जित्न सकेनन्। धेरै ठाउँमा जमानत नै जफत भयो ।
प्रतिक्रिया