राजा फर्काउने जगमानको अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी | Khabarhub Khabarhub

राजा फर्काउने जगमानको अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. जगमान गुरुङ नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौं स्मार्ट दरबार, शङ्खपार्कमा गरेको प्रतिबद्धता सभामा नेपाली कांग्रेस छाडेका कर्ण मल्ल र नेकपा एमाले छाडेकी गंगा चौधरी पनि मिसिएका छन् ।

यसअघि भएका राजावादी आन्दोलनमा नदेखिएका यी दुई पात्रलाई राजावादीहरूले मञ्चमै स्थान दिएका छन् ।

गुरूङ नेतृत्वको आन्दोलन समितिले आयोजना गरेको उक्त कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि देखिए । मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको सभामा सहभागी नभएका थापा जगमान नेतृत्वको बैठकमा भने देखिए । उता राप्रपाका वरिष्ठ नेता पनि मल्ल र चौधरीसँगै मञ्चमा देखिए ।

त्यहाँ गुरुङ कार्यवाहक संयोजक रहेको ‘संयुक्त जनआन्दोलन’ सभाले राजा र हिन्दु राज्य फर्काउने आन्दोलनलाई अघि बढाउने प्रतिबद्धता सभा आयोजना गरेको हो ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा नवराज सुवेदी र दुर्गा प्रसाईं नेतृत्वको राजावादीको आन्दोलन हिंसात्मक हुँदा २ जनाले ज्यान गुमाएका थिए ।

सयौँ घाइतेको उक्त घटनापछि तत्कालीन संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ । उता चैत १४ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेर जनकमान्डर बनेका प्रसाईं चैत १५ मा उपद्रो मच्चाएयता बेपत्ता छन् । उनी भागेर भारत पसेको अनुमान छ । त्यसपछि गुरूङलाई संयोजक तोकिएको हो ।

सुवेदीलाई संयोजक तोकिएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू नबसी अन्य नेतालाई पठाएका थिए । लिङ्देनले यो बैठकमा सहभागिता जनाएका छैनन् । राप्रपा नेपालका अध्यक्ष थापा र एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियानका प्रमुख केशरबहादुर विष्टले पनि समितिमा नबस्ने बताएका थिए। तर थापा र विष्ट पनि त्यो बैठकमा सहभागी छन् ।

मल्ल र चौधरी नयाँ राजावादी

कुनै बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका प्रिय पात्र कर्ण मल्ल पनि अब राजावादी कित्तामा देखिएका छन् ।

डडेलधुरा जिल्ला सभापतिसमेत भएका मल्ल देउवासँगकै द्वन्द्वका कारण कांग्रेसबाट निकालिएका थिए । कांग्रेसबाटै प्रदेश सभा सदस्यसमेत भएका मल्लले पछि नेपाली कांग्रेस बिपीमा यात्रा थालेका थिए ।

तर उक्त पार्टीका अधिकांश पदाधिकारीलाई कांग्रेसले आफूमा विलय गराएपछि एक्लिएका उनी अब राजावादी बनेका हुन् । मल्लले केही दिनअघि आफूलाई राजावादी लाइनमा खुलाएका थिए ।

उता कुनै बेला एमालेकी समानुपातिक सांसद हुँदा प्रतिनिधिसभामा सबैभन्दा चर्को स्वरले कराउने दाङकी गंगा चौधरी पनि अब राजावादी कित्तामा पुगेकी छन् ।

उनलाई पनि जगमान नेतृत्वको समितिले मञ्चमै स्थान दिएको हो ।  निवर्तमान सांसद तथा एमाले केन्द्रीय सदस्य गंगा चौधरीले आफ्नो पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएकी छन् । एमालेले २०७९ को चुनावमा टिकट नदिएपछि विरक्तिएकी उनले स्वतन्त्रतर्फ उम्मेदवारी दिएकी थिइन् । एमाले उम्मेदवार शान्ता चौधरीविरुद्ध उठेकी उनले चुनाव जितिनन् । त्यहाँ एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भए ।

एमाले नेतृत्वले विदेशी दबावमा परेर आफूलाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट नदिएको आरोप लगाएकी उनी पनि अब राजा ल्याउने अभियानमा जोडिएकी हुन् ।

त्यसो त आन्दोलन समिति संयोजक जगमान आफैं पनि कुनै बेला एमाले थिए । उनले एमाले, कांग्रेस र माओवादी तीनै दलबाट जमानामा फाइदा लिएका थिए ।

२०६१ जेठ २१ गते कांग्रेस सभापति शेरबहादुर देउवा तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदा जगमान तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य बन्न सफल भएका थिए । त्यसपछि उनै जगमानले केपी ओली २०७४ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेपछि उनकै गुनगान गाएकाथिए ।

‘केपी ओली सर्वज्ञानी नेता हुनुहुन्छ। उहाँको ज्ञानलाई चुनौती दिन सक्ने विद्वान, वैज्ञानिक, समाजशास्त्री र चिकित्साशास्त्री जन्मेकै छैनन’, कुनै बेला यसो भन्ने जगमान अहिले ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउन जुटेका छन्।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १ : ३९ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट