ताप्लेजुङ (फुङलिङ)- पाथिभरा (सेमुक्तु मुक्तुफोमाङ/मुकुमलुङ) मा केवलकार सञ्चालन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किँदा फुङलिङका चन्द्र मादेन र प्रदीप मादेनले आफ्नै काकाद्वारा समर्थित भिडको कुटाइ खानु पर्यो ।
चन्द्र र प्रदीपका काका हुन्– फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन । व्यवसायी चन्द्र ढकालको कम्पनी पाथिभरा केवलकार प्रालिका पक्षमा उभिएका छन् मेयर मादेन । तर, उनका भतिजहरु चाहिँ याक्थुङ मुन्धुमीस्थलमा केवलकार बनाउनु हुँदैन भन्दै आन्दोलित भएका छन् ।
मादेन परिवारमा मात्र होइन, ताप्लेजुङका पुराना राजनीतिक नेता एवं संविधानसभा सदस्य डम्बरध्वोज तुम्बाहाम्फेको परिवारमा पनि त्यस्तै छ । डम्बरध्वोज केवलकारको पक्षमा बोलिरहँदा उनकै सहोदर दाजु डम्बर बहादुर तुम्बाहाम्फे भने विपक्षमा उभिएका छन् ।
डम्बरध्वोज एमालेका पुराना नेता र हालका जिल्ला अध्यक्ष पनि हुन् । पूर्वब्रिटिश गोर्खा सैनिक डम्बर बहादुर चाहिँ किरात याक्थुङ चुम्लुङमा आवद्ध छन् ।
केवलकारको मुद्दाले पारिवारिक, सामाजिक र सांस्कृतिक विभाजन यति धेरै ल्याएको छ कि एउटै परिवार र वंशमै पानी बाराबार र काटाकाटको अवस्था सिर्जना भएको देखिन्छ ।

मादेन, तुम्बाहाम्फे परिवारमा जस्तै फुङ्लिङ—१० फुरुम्बोका नरहाङ फुरुम्बो केवलकारको विपक्षमा उभिइरहँदा तल्लो डिलमा उभिएर उनकै छोरा डिल्ली फुरुम्बो भने खुकुरी नचाउँदै बाबुको समुहलाई खेदाउन तम्सिए ।
तर, निर्माणको ठेक्का नै सम्हालेका केदेमको घरभित्रै समस्या छ । उनी आफ्ना २६ बर्षीय छोरा डिल्लीलाई केवलकारको पक्षमा नलाग भनेर सम्झाउँदा नमानेको बताउँछन् । उनी भन्छन्, ‘म केवलकारको विपक्षमा बोलिरहँदा छोरा चाँहि केवलकारको पक्षमा बोल्दा रोजगारी पाइन्छ भनेर जवाफ फर्काउँछ ।’
चन्द्र ढकालको समुहले केवलकारको पक्षमा उभिन र बोल्न लगाउनका लागि पैसा दिएर फकाउने र मोटरसाइकल किनिदिने गरेको आरोप नरहाङले लगाए ।

फक्ताङलुङ ३ लिङ्खिमका सुरेश लिङखिमले ‘नो केलकार’ भन्दै नारा लगाइरहँदा उनकै सहोदर भाइ स्प्रिङ लिङ्खिम भने चन्द्र ढकाल जिन्दावाद भन्दै पाथिभरामा केवलकार हुनैपर्ने अडानमा छन् ।
पाथिभरामा केवलकारको योजना बुनिनासाथ नरहाङ फुरुम्बो लगायतका समुहले याक्थुङ मुन्धुमी स्थललाई अपवित्र बनाउन केवलकार सञ्चालन गर्नु हुँदैन भन्दै आएका छन् । ५२ वर्षीय फुरुम्बोले खबरहबसँग भने, ‘पाथिभरा मुक्कुम्लुङ भनेको लिम्बूको धार्मिक तीर्थस्थल हो । त्यहाँ केवलकार लैजानु हुँदैन । केवलकार लगियो भने त्यो स्थान पर्यटकीय स्थल त बन्ला, चन्द्र ढकालले पैसा पनि कमाउलान्, अरु दुई–चार जनाले कमिसन पनि पाउलान् तर डेटिङ स्पटमात्र बन्ने छ । प्रदुषित हुने छ र यसबाट याक्थुङ मुन्धुमीस्थल, लिम्बुको पहिचान नष्ट हुन्छ ।’
ताप्लेजुङका मेरिङ्देन घर भएका कोशी प्रदेशका उद्योग तथा कृषि मन्त्री खगेनसिंह हाङगाम खुलेर बोल्न सकेका छैनन् तर उनका बडाबाबु (तुम्बा) प्रताप प्रकाश हाङ्गाम भने पाथिभरामा केवलकार सञ्चालन भएमा ताप्लेजुङ स्वीजरल्याण्ड जस्तै विकास र समृद्धिले भरिपूर्ण हुनेमा विस्वस्त छन् । उनीहरुका चेलीका छोरा इन्द्र केदेम केवलकार पूर्वाधार निर्माणका ठेकदार नै हुन् । उनी त झनै केवलकारको पक्षमा उभिने नै भइगए ।
अघिल्लो ०७४ को स्थानीय चुनावमा एमालेबाट जितेका मेयर छत्रपति प्याकुरेलले विवादित हुने संकेत देखेपछि चन्द्र ढकालको केवलकार योजनाको फाइललाई नवीकरण नगरी राखेका थिए । तर, कमल थापा नेतृत्वको राप्रपाबाट कांग्रेसमा प्रवेश गरेर ०७९ को स्थानीय तहको चुनावमा मेयर टिकट पाएर अमिर मादेनले चुनाव जिते । जितेको दुई साता नबित्दै अमिरले पूर्वमेयर प्याकुरेलले रोकेर राखेको फाइल सदर गर्दै नवीकरण गरिदिएपछि विवादले उत्कर्षको रुप लियो ।

मेयर मादेन केवलकारको पक्षमा अडिग भएर उभिएका छन् । तर, उनकै भतिजाहरु चन्द्र मादेन र प्रदीप मादेनले भने काकाको निर्णयको विपक्षमा उभिएर सच्चिन चेतावनी दिँदै आएका छन् । ५१ बर्षीय चन्द्र भन्छन्, ‘पाथिभरामा केवलकार बनाउनु ठूलो कुरो होइन तर त्यो पाथिभरा मुक्कुम्लुङ/सेमुक्तु मुक्तुफोमाङ भनेको ऐतिहासिक याक्थुङ मुन्धुमी स्थलमात्र नभएर प्राकृतिक पर्यावरणीय जैविक विविधताले भरिएको क्षेत्र पनि हो । लिम्बू समुदायले मुन्धुमी आस्था र विश्वासको नजरले हेर्छन् भने गैरलिम्बूले पनि पाथिभरा देवीका नाममा आस्था राख्दै पूजा अर्चना गर्छन् । त्यस्तो पवित्रस्थलमा विकास र समृद्धि भन्दै डाँडामाथि नै केवलकार पुर्याउनु हुँदैन ।’
केवलकार खारेजीको आन्दोलनमा सहभागीहरुलाई झडप हुँदा तितर–वितर बनाउन, अश्रुग्यास प्रहार गर्न कतिपय अवस्थामा ताप्लेजुङ नै स्थायी घर भएका जनपद र सशस्त्र प्रहरीहरु फ्रन्टलाइनमा उभिन बाध्य छन् । उनीहरुका अगाडि आफ्नै नातागोता पर्ने, दाजुभाइ, दिदी बहिनी आन्दोलित भएर आउँदा जनपद र सशस्त्रका जवानहरु के गर्ने र कसो गर्ने भनेर दोधारमा पर्ने गरेको सशस्त्र प्रहरी बलका एक अधिकृतले खबरहबलाई बताए ।
उनले भने, ‘केवलकार खारेजीको आन्दोलनमा उत्रिनेहरु प्रायः सबै चिनेजानेकै हुन्छन् । संयम अपनाउन हामी स्थानीयलाई गाह्रो हुन्छ । कहिले काहीँ विदामा घर पुग्दा आफन्तबाट उल्टै गाली खानुपरेको छ ।’

मुख्य बजार फुङलिङमा व्यापार व्यवसाय गरेर बस्ने समुदाय केवलकारको पक्ष र विपक्षमा खुलेर बोल्नै चाहँदैनन् । फागुन १० गते सदरमुकाम फुङलिङको वीरेन्द्र चोकमा राँकेजुलुसको घटनामा भएको धरपकड र घर तोडफोड काण्डपछि स्थानीयबासीहरु अझै त्रसित र आतंकित बनेका छन् ।
उनले पाथिभरामा केवलकार पुर्याउँदैमा मात्र विकास र समृद्धि नहुने बताए । बरु याक्थुङ मुन्धुमी पहिचान, लिम्बू समुदायको उत्पत्ति र सभ्यता निर्माणको साक्षीका रुपमा रहेको मुक्कुम्लुङको अस्तित्व र पहिचान नै नष्ट हुने दाबी गरे । उनले थपे, ‘सत्ता पक्ष र चन्द्र ढकालको समुहले याक्थुङ लिम्बूको इतिहास मेट्ने षडयन्त्र गरिरहेका छन् तर हामी कुनै पनि हालतमा उनीहरुको इच्छा पूरा हुन दिँदैनौं ।’
सर्वोच्च अदालतमा केवलकारको मुद्दा विचाराधीन रहेकाले फैसला हुन बाँकी छ । तर, यता ताप्लेजुङमा भने चन्द्र ढकाल पक्षले सत्ताको आडमा सुरक्षाकर्मी खटाएर पूर्वाधार तयार गरिरहेका छन् । केवलकार सञ्चालनको विपक्षमा उभिएका संगठनहरु फुङलिङ नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालय अगाडि दुईसाता भन्दा बढी समयदेखि रिले अनसन बसिरहेका छन् । रिले अनसन बसेको बुधबार २१ दिन पुगिसकेको छ ।

केवलकारको विपक्षमा यतिवेला श्री लिङ्खिम संयोजकत्वको मुक्कुम्लुङ संयुक्त संघर्ष समिति, खगेन्द्र फेम्बुको संयोजकत्वमा मुक्कुम्लुङ केवलकार खारेजी संयुुक्त संघर्ष समिति, प्रेम येक्तेन केन्द्रीय अध्यक्ष रहेको किरात याक्थुङ चुम्लुङ, डकेन्द्र सिंह थेगिम अध्यक्ष रहेको किरात धर्म तथा साहित्य उत्थान संघ र नन्द कन्दङवा संयोजक रहेको लिम्बू थरगत सहजीकरण संघ आन्दोलनरत छन् ।
यी पाँच संस्थालाई मुक्कुम्लुङ ताङ्सेप चुम्भोले समन्वय गर्दै फुङ्लिङका खगेन्द्र फेम्बुले नेतृत्व गरिरहेका छन् । फेम्बु कन्चनजङ्घा संरक्षण समितिका अध्यक्ष पनि हुन् ।
किन विभाजित भए परिवारकै सदस्य ?
नयाँ नाम पाएको पाथिभरा, याक्थुङ मुन्धुमले सम्बोधन गरेको सेमुक्तु मुक्तु फोमाङ/सेमुक्ति कोक, सत्येहाङ पन्थी (किरात धर्मावलम्बी)ले दिएको नाम मुक्कुम्लुङ ताप्लेजुङको फुङ्लिङ नगरपालिका, पाथिभरा याङ्वरक, सिरिजङ्गा र फक्ताङ्लुङ पालिकाको वीचमा पर्छ । तीमध्ये सबैभन्दा बढी क्षेत्र फुङ्लिङ— १० फुरुम्बोमा पर्छ ।
वि.सं १८३१ अघि पृथ्वीनारायण शाहले पूर्वका लिम्बू शासकहरुसँग नुनपानीको सन्धि सम्झौता गरेर भैयाद बनाउनुअघि अरुणपूर्व याक्थुङ लिम्बू समुदाय बाहेक अन्य जातिको उपस्थिति शून्य रहेको इतिहास कतैबाट लुक्न सकेको छैन । शाह वंशसँग सन्धि सम्झौता भएपछि गैरयाक्थुङ लिम्बू समुदाय पनि बसाइँ सरेर पूर्वतिर आए । र, उनीहरुले पनि याक्थुङ मुन्धुमी स्थल र युमालाई मान्दै पुज्दै मानमनितो गर्दै आए । अझै पनि गर्दै छन् ।

पछिल्लो समयमा राजनीतिक, सामाजिक, सांस्कृतिक र जातीय बहसले प्राथमिकता पाएसँगै पहिचानको मुद्दा पनि उठ्यो । अहिले पाथिभरा/मुक्कुम्लुङ भनिएको स्थान याक्थुङ मुन्धुममा वर्णन र व्याख्या भएको सेमुक्तु मुक्तु फोमाङ, याक्थुङ लिम्बूले गर्भदेखि मृत्युसम्म परम्परागत शैलीमा अनिवार्यरुपमा मानमनितो गरेको युमाले प्राचीनकालमा धागो कातेर, तान बुनेर बसेको पवित्र स्थान भएकाले त्यस स्थानलाई जस्ताको त्यस्तै प्राकृतिक रुपमा राख्नु पर्छ भन्ने माग चर्कँदो छ ।
पाथिभरामा केवलकार सञ्चालनका लागि कानूनी प्रकृया सुरु गरेका बेला धेरैलाई थाहा भएन, पछि चन्द्र ढकालको आग्रहमा पाथिभरामा केवलकार सञ्चालनका लागि संविधानसभाका सदस्य डम्बरध्वोज तुम्बाहाम्फे र मेयर अमिर मादेनले ०८१ कात्तिक २५ गते नाम्तोक (बलु डाँडा) मा शिलान्यास गरेपछि विवादले उग्ररुप लिएको हो ।

हुन त ०५४ सालमा पाथिभरा क्षेत्र विकास समिति गठन भएको थियो । त्यसको अध्यक्ष केशव प्रसाद दाहाल थिए । समितिले नाम्जाङ्गे (काफ्लेपाटी) सम्म सडक पुर्याउने र एक मेगावाटको विद्युत आवश्यकता अनुसार विस्तार गर्ने योजना बनायो ।
यसबीचमा ताप्लेजुङको ओलाङचुङगोलाका छ्वाङ शेर्पा, सोनाम तेन्जिङ शेर्पा र फुर्वा वालुङले पाथिभरा डाँडामा सर्वे गर्दै १३ करोड रुपैयाँ लागतमा सबै काम सक्ने उद्देश्यले २०५४ सालमा कञ्चनजंघा केवलकार प्रालि दर्ता गरे । तर, यो कम्पनी नवीकरण नगरेकाले खारेज भयो ।
तथापि पाथिभरामा केवलकार सञ्चालन गर्ने अरु समुह पनि भित्रभित्रै सकृय रहेका थिए । सोही क्रममा नाम्जाङ (काफ्लेपाटी/सानो फेदी) मा ९२ रोपनी जग्गाको स्वामित्व लिएर बसेका विराटनगरका तत्कालीन उपमेयर ध्रुव नारायण श्रेष्ठले ०७२ मा पाथीभरा देवी केवलकार दर्शन प्रा लि दर्ता गरे । तर, उनीभन्दा अघि नै सुभास सांघाईले त्रिवेणी केवलकार कम्पनी दर्ता गरेकाले श्रेष्ठ सांघाई ग्रुपमा विलय भए ।
सांघाई ग्रुपले आङछिरिङ शेर्पाको यती कम्पनीलाई आफ्नो स्वामित्व दियो । यती कम्पनीका अध्यक्ष शेर्पाको समुहमा पुष्प बडुवाल र ईश्वरी पौडेल सामेल भएर उक्त योजना अगाडि बढाउन खोजेका थिए । तर, शेर्पाको हेलिकोप्टर दर्घटनामा मृत्यु भएपछि र पुष्प बडुवालको पनि अमेरिकामा रहेका बेला मृत्यु भएपछि चन्द्र ढकालको कम्पनी आइएमई ग्रुपले यो परियोजना खरिद गर्यो । र, अध्यक्ष चन्द्र ढकालले आइएमई ग्रुप अन्तर्गत ‘पाथिभरा देवी दर्शन केवलकार प्रालि’ दर्ता गरे ।

यसै क्रममा ०७७ सालमा स्थानीय बासिन्दालाई जानकारी नै नदिई केवलकार निर्माण गर्न यती समुहले नापजाँच गरायो । पाथिभरा क्षेत्रविकास समितिको नयाँ गठन आदेश आएपछि मात्र केवलकारको विषयमा स्थानीय बासिन्दाले सामान्य जानकारी पाए । ०७८ मा कञ्चनजंघा संरक्षण क्षेत्र व्यबस्थापन परिषद र पाथिभरा क्षेत्र विकास वीचको सीमा विवाद सार्वजनिक भएपछि मात्र सर्वसाधारण स्थानीय बासिन्दाले गाँठी कुरो बुझ्न थाले ।
यसै क्रममा ०७५ चैत १८ मा प्रकाशित राजपत्र अनुसार पाथिभरा क्षेत्राधिकार बढाएर पाथिभरा क्षेत्र विकास समिति गठन (पहिलो संसोधन) आदेश ०७५ जारी भयो । जसमा पूर्वमा सिरिजंगाको हर्कटे, फुङलिङ नगरपालिका ११ को फावाखोला सिम्बु, पश्चिममा फक्ताङलुङ ३ लिङखिम, वडा नम्बर ४ तापेथोकसहित पाथिभरा मन्दिरबाट ३ किलोमिटर भित्रको सम्पूर्ण क्षेत्र र उत्तरमा फक्ताङलुङ गाउँपालिका ४ र सिरिजंगा गाउँपालिकाको वडा ३ र वडा ६ को सीमाक्षेत्रभित्रका ठाउँ तोकियो ।
त्यसैगरी दक्षिणमा फुङलिङ नगरपालिका १० को फुरुम्बो गढीडाडा, वडा ९ को देउराली, वडा ६ को सुकेटार सानो पाथिभरा उत्तरको सम्पूर्ण क्षेत्र र पाथिभरा याङवरक गाउँपालिका ३ को दुधिले पश्चिम फुङलिङ नगरपालिकाको सिमाको सम्पूर्ण क्षेत्र पाथिभरा क्षेत्र विकास समिति अन्तर्गत परेका छन् ।

केवलकार निर्माता कम्पनीका चन्द्र ढकालले सत्ताको आडमा आफ्नै योजना अनुसार काम सुरु गर्न थालेको आन्दोलनकारीको गुनासो छ । पाथिभरामा केवलकार सञ्चालन हुनुलाई विकास र समृद्धिको भाष्य निर्माण गरियो । अर्को दृष्टिकोणबाट हेर्दा पाथिभरामा केवलकार सञ्चालन हुनु विकास र समृद्धि नभएर याक्थुङ मुन्धुमी स्थलको विनास हो भन्ने बझाइका साथ आन्दोलन चर्कियो । ताप्लेजुङका स्थानीय बासिन्दाहरु दुई खेमामा विभाजित भए ।
एउटा पक्ष चन्द्र ढकालको पक्षमा उभियो । यसरी उभिनेमा एमाले र कांग्रेसका नेता, कार्यकर्तासमेत देखिए । केवलकारको विपक्षमा पहिचानवादी, लिम्बूवानवादी र याक्थुङ मुन्धुमी पक्षधर उभिए । पक्ष विपक्षमा वहस, वादविवाद र आन्दोलन हुँदा एकाघरका परिवारका सदस्यहरु समेत विभाजित भए ।
यसबारेमा फुङ्लिङका एक सचेत अगुवाले आफ्नो नाम सार्वजनिक नगर्न अनुरोध गर्दै भन्छन्, ‘यहाँ पैसा बोल्यो । पर्यावरण र याक्थुङ मुन्धुमी हिसावमा केही सचेतहरुले केवलकार हुनुहुँदैन भनिरहेका छन् । तर सांस्कृतिक रुपमा असचेत र राजनीतिक स्वार्थ प्रेरितले केवलकारको पक्षमा वकालत गरिरहेका छन् । यस्तो गम्भीर विषयमा उनीहरु संवेदनशील हुन नसक्नु दुर्भाग्य भएको छ ।’

फुङलिङस्थित पाथिभरा बहुमुखी क्याम्पसमा समाजशास्त्रका सहप्राध्यापक वेदनिधि पौडेल पाथिभरा मुक्कुम्लुङमा केवलकार मुद्दाले समाज र परिवार नै विभाजित अवस्थामा पुग्नुलाई राजनीतिको भूमिका रहेको बताउँछन् । उनले खबरहबसँग भने, ‘परम्परागत रुपमा लिम्बूहरुले मानिल्याएको, पुजिल्याएको आस्थाको स्थानमा केवलकार लैजाने विषयमा एकाघरका सदस्यवीच नै विचार नमिल्नु भनेको राजनीतिक आस्था पनि हो र सांस्कृतिक विचलन पनि हो ।’
पौडेलले भनेजस्तै पाथिभरा केवलकार मुद्दामा सांस्कृतिक रुपमा सचेत नभएका कतिपय स्थानीय समुदाय केवलकारको पक्षमा देखिनु अस्वाभाविक होइन । तर केवलकार ताप्लेजुङको लागि विकास र समृद्धि हो भन्ने भाष्य बनाइनु गलत भएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्षसमेत रहेका खगेन्द्र फेम्बुको विश्लेषण छ ।

मुक्कुम्लुङ केवलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजकसमेत रहेका फेम्बुले भने, ‘धार्मिक सांस्कृतिक सम्पदालाई राज्यले नै संरक्षण गर्नुपर्नेमा आधुनिकता र विकासको नाममा केवलकार संचालन गर्ने अनुमति दिएर एउटा कम्पनी र त्यसका मालिकलाई कमाइखाने भाँडो बनाउने प्रयास गरेको छ । हामी त्यस विरुद्ध आन्दोलित भएका हौं ।’ उनले केवलकार योजना खारेज नभएसम्म आन्दोलन जारी रहने बताए ।
पूजामा जाने परम्परागत मान्यता
नाम्जाङ्गे (काफ्लेपाटी) सानोफेदीदेखि पाथिभरा/सेमुक्तु मुक्तु फोमाङसम्मको दुरी करिव ५ किलोमिटर छ । यसबीचमा नाम्जाङ्गेदेखि माथि करिव एक किलोमिटरको दुरीमा नाम्तोक (बलु डाडा) आउँछ । नाम्तोकदेखि माथि थोक्फेला थेगु (गुराँसे) भन्ने स्थान आउँछ । थोेक्फेला थेगुदेखि हाक्पारे (कान्छी थान) भन्ने स्थान छ । हाक्पारेबाट पाथिभराको दुरी करिव ३.६ किमि छ ।
परम्परागत रुपमा पाथिभराको तीर्थयात्रा गर्नेहरुले हाक्पारेमा पूजा नगरी अगाडि बढ्न नहुने मान्यता छ । याक्थुङ मुन्धुमी परम्परामा युमाले तान बुनेको र अरुलाई सिकाएकाले साम्बा, फेदाङमा (पुरोहित) को सहयोगमा तीर्थयात्रीले यही स्थानबाट काँचो धागो टाङ्दै सेमुक्तु मुक्तु फोमाङ (पाथिभरा) सम्म पुग्ने चलन र मान्यता छ ।

याक्थुङ मुन्धुम अनुसार साम्सामा, नाहाङ्मा र सुम्सेवा तङ्सिङ (तीनराते तङ्सिङ अनुष्ठान) गर्दा यिनै स्थानहरुको वर्णन आउने गरेको छ । मुन्धुमले व्याख्या बर्णन गरेको इम्बिरि याङ्धाङ्वा (याक्थुङ—तमोर सभ्यता) यिनै स्थानका आसपास मात्र नभएर फक्ताङलुङ (कुम्भकर्ण) कै सेरोफेरोमा पर्छ ।
याक्थुङ लिम्बू समुदायले आफूहरुको आदिम पुर्खाको उत्पति र विस्तार पनि यहीँ भएको विश्वास र मान्यता राख्दै आएका छन् । सोही विश्वासका कारण पाथिभरा अर्थात सेमुक्तु मुक्तफोमाङ, अर्थात मुक्कुम्लुङलाई ऐतिहासिक सम्पदाका रुपमा लिने गरेकाले जस्ताको त्यस्तै रहन दिनुपर्छ भन्ने माग छ ।

नाम्जाङजागेदेखि हाक्पारेसम्मको दुरीमा साना ठूला गरी करिव ४५ होटल रेस्टुरा सञ्चालनमा छन् । हिँडेर जान नसक्ने तीर्थयात्रीलाई बोक्ने श्रमिकहरु करिव ८ सयजना रहेका छन् । तर, केवलकार योजना नाम्जाङ्गे नजिकैको डढेलीदेखि सिधै सेमुक्तु मुक्तुफोमाङमा पुर्याउँदा ४५ होटल रेस्टुराँका सञ्चालक र ८ सय श्रमिक हेरेका हेरेकै हुन्छन् ।
त्यतिमात्र नभएर परम्परागत रुपमा हाक्पारे (कान्छी थान) बाट प्रारम्भिक पूजा र काँचो धागो टाङदै उकालो जाने मुन्धुमी परम्परा पनि छुट्न पुग्ने गरी केवलकार योजना ल्याइएकोमा स्थानीयको आपत्ति रहेको देखिन्छ ।



प्रतिक्रिया