बेलायतमा गुञ्जिए डायोस्पोरिक कवि खेरेस, कवितामा मातृभूमि प्रेम र आदिवासी सौन्दर्य | Khabarhub Khabarhub

बेलायतमा गुञ्जिए डायोस्पोरिक कवि खेरेस, कवितामा मातृभूमि प्रेम र आदिवासी सौन्दर्य



सुनसरी :

माटोमा जन्मेर
माटोको टीका लगाएपछि
माटो पनि मुटु हुँदोरहेछ
माटो पनि मस्तिष्क हुँदोरहेछ
पानी हुँदा
पानी पनि प्राण बन्दो रहेछ ।

***
युद्धमा
हरक्षण
गुन्जिरहने
एम्बुस र गोलीको झङ्कार
हरघडी आँखामा नाचिरहन्छ
युद्धमा नम्बरी ढलेको दृश्य
र हरपल आइरहन्छन् स्मृतिमा
प्रियसी–सम्झनाहरू ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयोजित अभिव्यक्ति शृङ्खलाको १६ औं संस्करणको मञ्चमा डायोस्पोरिक कवि तथा समालोचक देवेन्द्र खेरेसले मातृभूमि प्रेम, आदिवासी पीडा, अस्तित्वको खोज, नोस्टाल्जिक प्रेमदेखि समसामयिक विषयमा सिर्जित १५ बढी कविता प्रस्तुत गरे ।

कहिले हङकङ त कहिले बेलायत, बाँकी फुर्सदका समय नेपालमा झुल्किने अग्रज डायोस्पोरिक कवि तथा समालोचक खेरेसले सबै सिर्जना प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पित गरेको बताए ।

खेरेसका कवितामा प्रवासका यन्त्रवत् जीवनका भोगाइ छरपस्टिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पराको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कवितालाई बुझ्न सकिन्छ ।

मञ्चमा कविता प्रस्तुत गरिरहँदा खेरेसले नेपालको पुरातनपन्थी सोचसँग विमत्ति राख्दै आक्रोशको ज्वारभाटा उकेलेर क्रमभङ्गताको पक्षमा उभिन पुगे ।

त्यो–
जङ्गीअड्डा
प्रहरी प्रधान कार्यालय
लोकसेवा आयोग

न्यायालयले मलाई शत्रु देख्न थालेपछि
मैले देश छाडेँ ।

कवि खेरेसले कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोहलाई प्राथमिकता दिएका छन् । आफू जन्मेको भूगोल छाडेर डायोस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाउँदै आएका छन् ।

उनका कवितामा मिथक, बिम्ब, प्रतीक र भाषाको समेत सुन्दर संयोजन पाइन्छ । मञ्चमा खेरेसलाई युवा कविहरू निर्भीकजङ्ग रायमाझी र अञ्जु अञ्जलीले साथ दिए ।

स्रष्टा खेरेस ५० को दशकदेखि कविता लेख्न सुरू गर्दागर्दै हङकङको माहौलमा छिरेका थिए । उनका कृतिहरू ‘रूङ्रीको बयान र नदी किनारा (कवितासङ्ग्रह) र ‘कोलम्बस यात्रा (कवितासङ्ग्रह) प्रकाशित छन् ।

खेरेसको सिर्जना सुनिसकेपछि प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले एक अङ्ग्रेजी भनाइ उद्धृत गर्दै प्रतिक्रिया दिए, ‘तिमीसँग घडी छ तर हामीसँग समय छ ।’

‘यो उक्तिको मर्मलाई स्रष्टा खेरेसका कविताले बोकेको पाएँ ।’ घिमिरेले भने, ‘कविले विगतलाई बोकेर हिँडेका छन् । यसको अर्थ मानिस जहाँ पुगे पनि आफ्नो गाउँ, आफ्नो देश, आफ्नो माटो र भाषालाई छोड्न सकिँदैन । त्यो छोड्न नसक्नुको भाव खेरेसका कवितामा ओतप्रोत भएको पाएँ ।’

राजदूत घिमिरे आफैं पनि धराने कवि, निबन्धकार र अर्को जमात साहित्य आन्दोलनका अगुवा भएकाले खेरेसलाई मञ्चमा थप सहज भयो ।

प्रमुख अतिथि पनि धराने, कविता सुनाउने पनि धराने । कविता सुन्न आएका स्रोताको भीडमा एक धरानले कविता सुनाइरहँदा राजदूत घिमिरे टाउको हल्लाउँदै मुसुमुसु हाँसेर ‘कुटनीतिक’ प्रतिक्रिया दिइरहेका देखिन्थे ।

आयोजक संस्थाका अध्यक्ष टङ्क वनेमले कवि देवेन्द्र खेरेसको सिर्जनाले प्रवासी जीवन भोगाइका पाटाहरूलाई चित्रण गरेको बताए ।

खेरेसले कविता प्रस्तुत गर्नुअघि महासचिव चोक गुरूङले अभिव्यक्ति शृङ्खलाको संक्षिप्त परिचय दिँदै स्रस्टाको संक्षिप्त जीवनी सुनाए ।

बेलायतमा रहेका विभिन्न संघसंस्थाका पदाधिकारी, कला, साहित्य, सङ्गीतसम्बद्ध बौद्धिक व्यक्तित्व, पत्रकार र सर्वसाधाणको बाक्लो उपस्थित रह्यो । आसफोर्डस्थित साइमन चर्चहलमा सम्पन्न साहित्यिक माहौलमा स्रष्टा खेरेसले एकल प्रस्तुतिमा १५ ओटा नयाँ तथा पुराना सिर्जना सुनाए ।

‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ : तेस्रो आयामदेखि याक्थुङ मुन्धुमको उत्खनन्सम्म’ को लोकार्पण

अभिव्यक्ति शृङ्खलाका अवसरमा संस्थाद्वारा प्रकाशित वरिष्ठ कवि तथा मुन्धुम अन्वेषक बैरागी काइँला (तिलविक्रम नेम्बाङ) को सामाजिक तथा सिर्जनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ : तेस्रो आयामदेखि याक्थुङ मुन्धुमको उत्खनन्सम्म’ को बेलायत लोकार्पण गरिएको थियो ।

राजदूत चन्द्रकुमार घिमिरे र प्रतिष्ठानका अध्यक्ष टङ्क वनेमले कृतिको लोकापर्ण गरे । उक्त कृतिमा समावेश पाँच खण्डमा विभिन्न कवि, लेखक तथा प्राज्ञहरूको गहन लेखहरूसहित बैरागी काइँलाले ५० वर्ष समय लगाएर याक्थुङ मुन्धुम सम्बन्धी खोज अन्वेषण गरेका मुन्धुमी कृतिका बारे व्याख्या गरिएको छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खलाको आयोजना गर्दै आएको छ ।

सन् २००७ सालदेखि हालसम्ममा गायक तथा सङ्गीतकार चोक गुरूङ, कवि तथा निबन्धकार दयाकृष्ण राई, कवि तथा कथाकार टङ्क वनेम, सङ्गीतकार किशोर गुरूङ, कवि तथा गजलकार अञ्जु अञ्जली, गायक नोर्देन तेन्जिङ भुटिया, कवि तथा नाट्यकर्मी शशी थापा सुव्बा, कवि तथा कथाकार रक्ष राई, कवि तथा गीतकार निर्मला परिवेश राई, कवि डा. रूपक श्रेष्ठ, साहित्यकार गणेश राई, साहित्यकार जानु काम्बाङ, कवि कोमल मल्ल, गायक धनकिरण गुरूङ र गायक तथा साहित्यकार नरेश नातिलाई अभिव्यक्ति शृङ्खलामा स्थान दिइसकिएको छ ।

प्रकाशित मिति : २६ जेठ २०८२, सोमबार  १ : २६ बजे

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित

काठमाडौं– राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको

साढे ८ अर्ब बढीको कारोबारसहित २३ अंकले बढ्यो नेप्से

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेको छ । सोमबार

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलले अवरोध गरेका छन् ।

राष्ट्रियसभाबाट भन्सार विधेयक स्वीकृत

काठमाडौं– राष्ट्रियसभाबाट भन्सार विधेयक, २०८० स्वीकृत भएको छ । राष्ट्रियसभाको

प्रतिनिधिसभा बैठक आधा घन्टाका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।