काठमाडौं – सवारी साधानको ट्राफिक जाम भइरहेन बानेश्वर-माइतीघरको सडकमा सोमबार गाडी थिएनन् । एकाध एम्बुलेन्स साइरन बजाउँदै हुइँकिरहेका देखिन्थे ।
गाडी नभए पनि सडक खाली थिएन । सडक पनि सडक थिएन, रणभूमि बनेको थियो ।
आक्रोशित जेनजी पुस्ताका युवा आन्दोलनरत थिए । यसरी युवा कुनै प्रदर्शनमा भाग लिएको सम्भवत यो पहिलो घटना हो । रोचक कुरा यो आन्दोलनमा ‘छोरी’हरुको सहभागिता पनि उच्च थियो । सायद यति धेरै महिलाहरु सहभागी भएको यो नै पहिलो आन्दोलन हो ।
इमर्जेन्सी वार्डमा पुग्दा पनि नेतृत्वप्रतिको फ्रस्टेड र आक्रोश

प्रदर्शनस्थल बानेश्वरमा भएकाले घाइतेलाई नजिकैको निजामती अस्पतालमा लगिएको थियो ।
इमर्जेन्सी वार्ड घाइते प्रदर्शनकारी भरिएको थियो । प्यासेजमा राखेर चिकित्सकले घाइतेको उपचार गरिरहेका थिए ।
अस्पतालको क्षमताले नभ्याएपछि घाइतेलाई अन्य अस्पतालमा रेफर गर्नेक्रममा एक युवाको फ्रस्टेसन र आक्रोश देखियो।
उनी घाइते थिए । पाखुरामा गोली लागेको थियो । निजामती अस्पतालले अर्को अस्पतालमा रेफर गरेपछि उनलाई स्टेचरमा सुताएर बाहिर निकालिएको थियो ।
उनी ज्यानमा गोली बोकेको घाइते थिए । स्वास्थ्य अवस्था सामान्य थिएन ।
उनले आफ्नो साथबाट नारा लेखिएको प्लेकार्ड छोडेका थिएनन् ।
रेफर गर्न इमर्जेन्सी वार्डबाट बाहिर निकाल्दै गर्दा स्टेचरमा सुतेका उनले प्लेकार्ड उठाए ।
प्लेकार्डमा लेखिएको थियो, ‘वक अप नेपाल । स्पट करप्सन । स्टार्ट एक्सन ।’
उनको आक्रोशको सीमा थिएन । उनी प्रधानमन्त्री केपी शर्मा ओलीप्रति यति रुष्ट देखिएकी, सुुतेर नारा लगाउन थाले ।
उनको नारा थियो, ‘केपी चोर देश छोड् ।’
प्रहरीको गोलीले उनको आक्रोश र फ्रस्टेसन रोक्न सकेन । ज्यान बाँच्छ वा मर्छ भन्ने ठेगान नहुँदा उनले आफ्नो आक्रोश थाम्न सकेनन् ।
संसद भवनको पर्खाल छेडे

प्रदर्शनका लागि संवेदनशील मानिने क्षेत्र हो– संसद् भवन । त्यहाँ सुरक्षा कडा हुन्छ ।
संसद् भवन प्रवेश गर्ने प्रदर्शनकारीलाई प्रहरीले गोली चलाउने सम्भावना उच्च हुन्छ ।
तर, यसको ‘डर’ले जेनजी प्रदर्शनकारीमा देखिएन ।
यतिसम्म पनि उनीहरुले संसद् भवनभित्र प्रवेश गर्न पर्खाल नै छेडे ।
उनीहरुको हातमा कुटो कोदालोसम्म देखियो । यो उनीहरुले कहाँबाट ल्याए भन्ने प्रश्न भने उठ्न सक्छ ।
केही भने प्रदर्शनस्थलमा भेटिएका रडलाई हतियार बनाएका थिए ।
छेउमै सयौंको संख्यामा भएका सुरक्षाकर्मी यो मामला भने हेरेको हेर्यै भए । अझ भनौं– देखेको नदेखै भए । यसरी सम्वेदनशील क्षेत्रमा पनि जेनजी छिर्न डराएनन् ।
न थप फोर्सप्रति डराए

जेनजी आन्दोलनकारी सुरक्षामर्कीको जति सक्दो प्रतिकारमै उत्रिए ।
यतिसम्म कि उनीहरु ‘अवस्था असमान्य’ भएपछि राज्यले संसद्को दक्षिण गेटमा थप फोर्स बोलायो ।
थप फोर्सका रुपमा सशस्त्र प्रहरीका आएको थियो । केही प्रदर्शनकारी संसद भवन प्रवेश गरेपछिको अवस्था हो ।
उनीहरु थप फोर्सको पनि प्रतिक्रारमै उत्रिए । मुख्य गेटमा सशस्त्रको टोली बसेको थियो । नजिकैको रेलिङमा चढेर उनीहरु संसद भवन प्रवेश गर्न प्रयासरत थिए ।
सशस्त्रको ‘वाटर क्यानन’ संसद भवनको दक्षिण गेट अगाडि आउँदै थियो । एक प्रदर्शनकारी ‘वाटर क्यानन’माथि नै चढे । त्यहीमाथिबाट नेपालको झण्डा फहराए ।
अर्को प्रदर्शनकारी ‘वाटर क्यानन’को अगाडिको पांग्रामा अघि सुते । उनी सुतेका कारण ‘वाटर क्यानन’ अगाडि बढ्नै सकेनन् ।
सशस्त्र हुन् वा जनपद प्रहरी उनीहरुलाई वास्था थिएन । उनीहरुको ध्यान मात्रै प्रदर्शनमा थियो । प्रतिकारमा थियो ।

मोटरसाइकल र्याली
जेनजीले बानेश्वर माइतीघर सडकखण्डमा मोटरसाइकल र्याली पनि गरेका थिए ।
उनीहरुले प्रयोग गरेका मोटरसाइकल मध्यम वर्गले चढ्ने खालका थिएनन् । बुलेट र क्रसफायर जस्ता महँगा थिए ।
यसले ‘यो आन्दोलन मध्यम र निम्न वर्गको फ्रस्टेन मात्रै हो’ भन्नेले जवाफ पाएका छन् ।
सँगै सन्देश पनि गएको छ, ‘सबै वर्गका जेनजी देशमै आफ्नो भविष्य कोर्न चाहन्छन् ।’
कर्फ्यूको अवज्ञा
प्रदर्शनको चरम अवस्था हो– कर्फ्यू । जनपद र सशस्त्रले अवस्था सामान्य गर्न सकेन र प्रदर्शन नियन्त्रण बाहिर गयो भने कर्फ्यू लगाउने अभ्यास छ ।
कर्फ्यू लागेपछि सडकमा सेना परिचालन गरिन्छ । आन्दोलन पनि यो हदसम्म द्रुत गतिका साथ पुग्यो ।
सेना परिचालन भएपछि प्रदर्शनकारीको ज्यानको जोखिम उच्च हुन्छ ।
साढे १२ बजेदेखि कर्फ्यू जारी भएको हो । साँझसम्म नै उनीहरुको प्रदर्शन जारी रहयो।। उनीहरुको राज्य र राज्य सञ्चालकप्रतिको आक्रोश यो हदसम्म देखियो । उनीहरु जानेर वा नजानी ज्यान जोखिममा राख्न समेत तयार भए ।
उनीहरुले कर्फ्यूको अवज्ञा गरे ।
स्कुल ड्रेसमा प्रदर्शनकारी

जेनजीको आन्दोल भनेरै होला बानेश्वरका पाका अनुहार देखिएन । उनीहरु आएकै भए पनि जेनजीको भीडमा हराए सायद !
कलेजका विद्यार्थी यो आन्दोलनमा सहभागी हुने नै भए । तर, स्कुलका विद्यार्थी पनि सहभागी भएका थिए ।
ती विद्यार्थीले लाइट ब्ल्य सर्ट र डार्क ब्ल्यू पेन्ट लगाएका थिए । उनीहरुको कद हेर्दा उमेर मुस्किलले १२–१३ वर्ष पुगे जस्तो देखिन्थ्यो ।
तर, उनीहरु स्वतस्फूर्त नारा लगाउँदै थिए, ‘केपी चोर देश छोड् । भ्रष्टाचार अन्त्य गर् ।’
बालकको टाउकोमा गोली

आजको आन्दोलनमा जेनजी पुस्ताको सहभागीता उल्लेखनीय हो । यो पुस्ता राजनीतिमा वास्ता गर्दैन भन्ने भनाइ आजको दृश्यले गलत सावित गरिदियो ।
यो नै आजको आन्दोलनको सुखद पक्ष हो ।
तर, अप्रिय घटना पनि भयो । युवा पुस्तका १९ जनाले ज्यान गुमाइसकेका छन् ।
रगतले लत्तपत्तिएका साथीलाई अस्पतालको इमर्जेन्सीमा पुर्याउँदा उनीहरुको आक्रोशको पारो थप रन्किएको देखिन्थ्यो ।
अस्पतालमा जेन-जी घाइते छट्पटाहट र उनीहरुको घाइते नाङ्गो ज्यानले कारुणिक दृश्य निर्माण गरेको थियो ।
त्योभन्दा कारुणिक दृश्य अर्को देखियो । स्कुल ड्रेसमा रहेका एक बालकको टाउकोमा प्रहरीको गोली लाग्यो ।
उनी टाउकोबाट ह्वालह्वाल्ती रगत बगेको थियो । प्रदर्शनकारीले रगत रोक्न खोज्दा पनि धारो जसरी चुहिरहेको थियो । उनले बोकेको किताबको झोला घटनास्थलमै रगतले रुझेको थियो ।
किशोरअवस्था प्रवेश गरेका तीन अवोध बालकको के गल्ती थियो ? उनले देशमै आफ्ना उज्जवल भविष्य माग गर्नु गल्ती हो ? भ्रष्टाचारबाट उन्मुक्त देश माग्नु उनको गल्ती थियो ? यो राज्यले आफ्नै भविष्यलाई गोली हानेको हो ।
यो एक बालकमाथिको गोली होइन । राज्यकको अमानवीय व्यवहार हो । केपी ओलीको सरकारले संयमता गुमाएको हो ।
अश्लील शब्द चयनको नारा
जेनजी प्रदर्शनकारीले नारामा अपाच्य भनिएका शब्द पनि प्रयोग गरेका थिए । उनीहरु राज्य नेतृत्वलाई अश्लील शब्दको गाली नै गरेका थिए ।
गालीमा पनि एकरुपमा नै थियो । केही उत्तेजितले मात्रै नेतालाई गाली गरेका होइनन् । सहभागी महिला हुन् कि पुरुष अधिकांशले नेतालाई अश्लील शब्दको गाली गर्न भ्याए ।
‘किन अश्लील गाली ?’ भन्ने प्रश्नमा एक प्रदर्शनकारीको जवाफ थियो, ‘राम्रो मुखले भन्दा यी कुकुरले मानेको भए आज हामी निस्कनै पर्ने थिएन । गालीको अन्तिम हदमा पुग्ने छौं । जसरी यिनीहरु भ्रष्टाचारको अन्तिम हदमा छन् ।’
आजको आन्दोलन सक्किँदा जेनजीको अश्लील शब्द राज्यको कदमको अगाडि कमजोर नै सावित भएको छ ।
जेनजीले नराम्रो बेले । राज्यले नराम्रो गर्यो । उनीहरुले बोले तर प्रतिकारमा राज्यले उनीहरुलाई मार्न खाज्यो, केहीलाई मार्यो।
कमजोर सुरक्षा व्यवस्था

जेनजी प्रदर्शनकारी विभिन्न स्थानबाट आएर माइतीघरमा भेला भएका थिए । एक समूह माइतीघरमा हुँदा अर्को समूह बानेश्वरमा पुगिसकेको थियो ।
पछिल्लो सूमह अघिपछि सुरक्षाकर्मी थिएनन् । उनीहरु आक्रोशित नारा लगाउँदै बानेश्वर पुगे ।
दोस्रो समूह बानेश्वर पुग्दा पहिलो समूह र प्रहरीको झगडा भइसकेको थियो ।
पहिलो समूहले प्रहरीको ब्यारीकेड तोडिसकेको थियो । पहिलो समूहका प्रदर्शनकारी संसद् भवन प्रवेश गरिसकेको थियो ।
जेनजी प्रदर्शनकारी प्रहरीको एक घेरा मात्रै पार गरेर संसद् भवन प्रवेश गरेका हुन् ।
यो सुरक्षामा राज्यको लापर्वाही होइन ?
राज्य सुरक्षाको मामला पनि कमजोर देखिएको तथ्यलाई नर्कान सकिँदैन ।
‘जेनजी युवा हुन् । उनीहरु उत्तेजित बन्न सक्छन् ।’ भन्न विषयमा गम्भीर भएको पाइएन ।
नियन्त्रण र संमयमताको विषयमा राज्य कमजोर देखिएको तथ्य बानेश्वर केही क्षणमा रणभूमि बनेर प्रष्ट पार्यो ।
प्रतिक्रिया