विपिन ‘जीवितै रहेको प्रमाण’ दुई वर्षपछि सार्वजनिक, भिडियोमा भनेका छन्- म विद्यार्थी हुँ, सिक्न इजरायल आएको थिएँ « Khabarhub

विपिन ‘जीवितै रहेको प्रमाण’ दुई वर्षपछि सार्वजनिक, भिडियोमा भनेका छन्- म विद्यार्थी हुँ, सिक्न इजरायल आएको थिएँ

बहिनी पुष्पाको अपिल : हामी अझै आशावादी छौँ, बन्धक सम्झौता चाँडै होस्


२३ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायली सेनाले (आईडीएफ) हमासको नियन्त्रणमा रहेका  नेपाली बन्धक बिपिन जोशीको एउटा भिडियो बुधबार राति सार्वजनिक गरेको छ।

तर यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ । यो भिडियो बिपिनको परिवारको अनुरोधमा सार्वजनिक गरिएको हो।

सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका बिपिनको यो भिडियो दुई वर्षपछि सार्वजनिक गरिएको हो।

भिडियो इजरायली गुप्तचर अधिकारीहरूले गाजामा जारी रक्तपातपूर्ण युद्धका क्रममा प्राप्त गरेका थिए।

यो भिडियो सार्वजनिक गर्नुअघि सेन्सर गरिएको छ। परिवारबाट हाल मात्रै अनुमति पाएपछि इजरायली सेनाले भिडियो सार्वजनिक गरेको हो। यो बिपिनको बन्धक बनेको समयदेखि पाइएको जीवनको थोरै प्रमाणमध्ये एक हो। उनको हालको अवस्था भने अझै स्पष्ट छैन।

भिडियोमा बिपिनले आफूलाई यसरी परिचय गराएका छन्, ‘इस्मी (मेरो नाम) बिपिन जोशी हो। म नेपालबाट आएको हुँ। मेरो उमेर २३ वर्ष छ। म २५ दिनअघि इजरायल आएको हुँ। म ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ। म विद्यार्थी हुँ।

उता बिपिनकी बहिनी पुष्पा जोशीले द जेरुसेलम पोस्टसँग कुरा गर्दै यो भिडियो सार्वजनिक गर्नुको उद्देश्य सम्भावित बन्धक सम्झौतामा प्रगति गराउने प्रयास रहेको बताएकी छन् ।

पुष्पाको भावनात्मक अपिल

पुष्पा उनकी आमासहित हाल अमेरिकामा छिन् । आफ्ना दाजुको रिहाइका लागि उनी अन्तर्राष्ट्रिय पहल गरिरहेकी छन्।

उनले वाशिङ्टन डीसी र न्युयोर्कमा बसाइ बढाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग भेट्ने प्रयास गरिरहेकी छन्। उनले भनिन्, ‘हामी यहाँ आशा बोकेर आएका छौं। हामी राष्ट्रपति ट्रम्पसँग भेटेर बिपिनको सुरक्षित मुक्तिका लागि आग्रह गर्न चाहन्छौं।’

वार्ताको प्रक्रियाबारे कुरा गर्दै उनले लामो प्रतीक्षाले परिवारमाथि परेको पीडा व्यक्त गरेकी छन्।

‘करिब दुई वर्ष भइसकेको छ। अब हामी अझै कुर्न सक्दैनौं, हामीसँग कुर्न सक्ने शक्ति बाँकी छैन,’ उनले भनिन्।

पुष्पाले कूटनीतिज्ञहरूलाई प्रत्यक्ष आग्रह गर्दै भनिन्, ‘कृपया पछाडि नहट्नुस्। हामी बन्धक र उनका परिवारले भोगिरहेको पीडा बुझ्नुस्। र सुरक्षित मुक्तिका लागि ठोस कदम चाल्नुस्।’

बिपिनको साहस र परिवारको अपिल

पश्चिम नेपालको कञ्चनपुरका बासिन्दा विपिन जोशी किब्बुट्ज अलुमिममा कृषि शिक्षण कार्यक्रमका लागि पुगेका थिए।

वाल स्ट्रिट जर्नल का अनुसार विपिनले हमासको आक्रमणको बेला आफ्नो आश्रयस्थलमा रहेका साथीहरूको ज्यान बचाएका थिए।

उनले झ्यालबिनाको कोठामा फ्याँकिएका दुई ग्रिनेडमध्ये पहिलोलाई समातेर बाहिर फ्याँकेका थिए, जसले केहीको ज्यान जोगियो। तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथी गम्भीर घाइते भएका थिए।

जोशी परिवारले भनेको छ, ‘गाजाबाट भेटिएको यो जीवनको प्रमाण हाम्रो विश्वासलाई अझ प्रबल बनाउने एउटा आधार हो। हामी यो भिडियो साझा गर्दैछौं, किनभने हामी अझै पनि विश्वास गर्छौं कि उनी जीवित छन्।’

परिवारले भिडियो सार्वजनिक गर्न सजिलो नभएको बताएका छन् । ‘यो भिडियो सार्वजनिक गर्नु हामीका लागि सजिलो निर्णय होइन। तर अहिलेको यो संवेदनशील र ऐतिहासिक समयमा बन्धकहरूको भविष्य निर्धारण हुनेछ’, उनीहरूले भनेका छन् ।

‘हामी सबै कूटनीतिक र अन्तर्राष्ट्रिय पक्षहरूलाई अनुरोध गर्छौं—कृपया हार नमान्नुस्। त्यो दिन ल्याउनुस्, जब उनीहरू सबै घर फर्कन सकून्’, परिवारको तर्फबाट भनिएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  २ : ५१ बजे

कोला पिउँदा पेटका सूक्ष्म जीव र रोग प्रतिरोधात्मक क्षमतामा गम्भीर असर पुर्याउने

काठमाडौं– हालै सार्वजनिक भएको एक वैज्ञानिक अनुसन्धानले चिनीयुक्त र चिनी

पाँच दिनसम्म इरानी पूर्वाधारमा हमला नगर्ने ट्रम्पको घोषणा

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनाव कम गर्नका लागि

मध्यपूर्वमा सैन्य तनावको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा

चितवन– मध्यपूर्वमा बढ्दो सैन्य तनावको प्रत्यक्ष प्रभाव यहाँको पर्यटन क्षेत्रमा

अमेरिका-इजरायललाई रसियाको चेतावनी : आणविक केन्द्रनजिक गरिएको आक्रमण ‘अत्यन्त खतरनाक’

काठमाडौं- रसियन राष्ट्रपतिको कार्यालय क्रेमलिनले इरानको बुशेहर आणविक प्लान्टनजिक भएको

इरानी आक्रमण : इजरायलको बेन ग्युरियन एयरपोर्ट खाली गरेर यात्रुलाई आश्रयस्थलमा लगियो

तेलअभिभ- इजरायलले देशकै चर्चित बेन ग्युरियन विमानस्थल खाली गराएको छ।