पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति « Khabarhub

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको भौतिक प्रगति हालसम्म ६० प्रतिशत पुगेको छ । 

आगामी चैतभित्र काम सक्ने लक्ष्यसहित कामलाई तीव्रता दिइएको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । सुरुको चरणमा निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेपछि आयोजनाको प्रगति न्यून देखिएको थियो । 

आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीले निर्माण कम्पनीले पछिल्लो पटक थपिएको ठेक्का म्यादभित्र काम सक्ने प्रतिबद्धता जनाएको बताए  ।

विसं २०७८ माघमा दुई वर्षे ठेक्कामा गएको उक्त आयोजनाको काम भने विसं २०८० वैशाखदेखि सुरु भएको थियो । त्यसयता ठेक्काको म्याद दुई पटक थप भइसकेको इन्जिनियर सुवेदीले बताए । भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले पोखरा र भरतपुरमा तार बिछ्याउन दुई अर्ब ५० करोड ३३ लाख रुपैयाँमा ठेक्का लिएको थियो । 

पोखरामा तार भूमिगत र वितरण प्रणाली सुदृढीकरणमा एक अर्ब ३० करोड रुपैयाँ खर्च हुने जनाइएको छ । हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकको सेती पुलसम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरणसमेत भइसकेको इन्जिनियर सुवेदीले बताए । अहिले सिर्जनाचोकदेखि सभागृह र जिरो किलोमिटर क्षेत्र र लेकसाइडको जरेबर क्षेत्रमा तार बिछ्याउने काम भइरहेको उनको भनाइ छ । 

आयोजनाअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशमार्गदेखि कुँडहरचोक, अमरसिंहचोक, पृथ्वीचोक हुँदै जिरो किमीसम्मको मुख्य राजमार्ग, सिर्जनाचोक, राष्ट्र बैंकचोक, लेकसाइड, सभागृहचोक, न्यूरोड, चिप्लेढुङ्गालगायत क्षेत्रमा तार भूमिगत गरिने भएको हो । 

मुख्यदेखि सहायक सडकसम्मै तार बिछ्याइने आयोजना कार्यालयले जनाएको छ । विद्युत् लाइनसँगै टेलिफोन, केबल र इन्टरनेटका तारका लागि अप्टिकल फाइबर पनि बिच्छाइनेछ ।

‘लेकसाइडको गल्ली नं १५, १६ र १७ लगायत क्षेत्रमा तार बिछ्याउने काम भइसकेको छ, लेकसाइडको भित्री क्षेत्रमा पनि काम सुरु भएको छ’, इन्जिनियर सुवेदीले भने, ‘न्यूरोड र चिप्लेढुङ्गा क्षेत्रमा काम सुरु हुन बाँकी छ ।’ 

यसअघि विभिन्न कारण देखाउँदै काममा ढिलासुस्ती गरेको निर्माण कम्पनीले तिहारपछि कामलाई गति दिएको उनको भनाइ छ । आयोजनाको इञ्जिनियरिङ डिजाइन र उपकरण खरिदमा समय लागेकाले काम ढिलो सुरु भए पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरबाहीका कारण आयोजनाको गति सुस्त हुँदै आएको थियो । 

पोखरालाई विद्युतीय तारमुक्त बनाउन प्राधिकरणले वितरण प्रणाली सुदृढीकरण आयोजना सञ्चालन गरेको हो । आयोजनामा मानवीय जनशक्तिभन्दा बढी यन्त्र, उपकरणमार्फत काम हुने गरेको इन्जिनियर सुवेदीले बताए  । पर्यटकीय सहर पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आउजाउ हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउन लागिएको हो । 

जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्‍याउने काम पनि प्राधिकरण नै गरिरहेको छ । प्राधिकरणले सडकमा न्यून क्षति हुने गरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ ।

‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको इन्जिनियर सुवेदीले बताए । तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्‍याइने प्राधिकरणले जनाएको छ । 

विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।

भूमिगत तार बढी क्षमतायुक्त र भरपर्दो हुने हुँदा ग्राहकको बढ्दो माग र बिजुलीको चाप थेग्न भूमिगत प्रणाली उपयुक्त हुने प्राधिकरणको भनाइ छ । प्राधिकरणले काठमाडौँ, पोखरा, भरतपुरजस्ता ठूला सहरमा तार भूमिगत गर्ने योजना सञ्चालन गरिरहेको छ । रासस

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  १२ : ४३ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र