ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ?  « Khabarhub

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 



शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरक्रिया गरेको थियो । सार्वजनिक कार्यक्रममा पुगेपछि मुख्य विषयबाट बहकिने उनको स्वभाव यस कार्यक्रममा पनि उस्तै देखियो । ओली करिब तीन घण्टा निरन्तर बोलिरहे । सुरुवातमा उनले देशमा पार्टीको इतिहास राणाकाल जस्तो जहानियाँ शासनको समयबाटै कायम गरिएको स्मरण गरे । जसमा प्रजातान्त्रिक र वामपन्थीको उत्तिकै भूमिका रहेको बताए । 

समय क्रमको घटना सम्झिँदै जाँदा जब उनी भदौ २३/२४ गते भएको जेन–जी आन्दोलनमा पुगे, उनको आवाज आक्रोशसहित थप बुलन्द सुनियो । २४ गते आफूले लोकतन्त्र र संविधानको पूर्णपालना तथा कार्यान्वयन गर्न राष्ट्रपति रामचन्द्र पौड्याललाई सिफारिस दिए पनि व्यवहारमा त्यसको उल्टो भएको बताए । संविधानका पालकले नै संविधान र जनादेश विपरीत प्रतिनिधि सभा भङ्ग गर्दै जेन–जी सरकार स्थापित गरेको एमालेलाई सह्य नभएको दोहोर्‍याए । 

‘संसद् राखेर पूर्व प्रधानन्यायाधीस प्रधानमन्त्री बन्न नपाउने गरी संविधान संशोधन गरेर सरकारमा जान सकिन्थ्यो होला, संविधानले बाटो दिँदादिँदै त्यसलाई मिचेर आवश्यकताको सिद्धान्त भन्न पाइन्छ ? लोकतन्त्र, संविधान र अदालतका नजिर नमानेर बनेको हाइहुइको सरकारलाई हामी मान्दैनौँ, चुनाव गराउने भनेर आएको सरकारले विद्युत् काट्ने, कम्पनी बन्द गर्ने, राजदूत फिर्ता बोलाउने किन गरेको छ ? हामीले प्रदेश, पालिका, प्रशासन मान्छौ ती पनि राज्य भित्रका अंग हुन् तर अहिलेको सरकार जस्तो, जसरी र जसको बन्यो त्यो भने हामी मान्दैनौँ,’ उनले दोहोर्‍याए । 

बोल्ने क्रममा अध्यक्ष ओलीले पटक–पटक सरकार र जेन–जी आन्दोलनबारे आगो ओकलिरहे । देश र समाजप्रति कुनै उद्देश्य नै नभएका व्यक्ति सरकारमा पुगेर सुशासन कायम गर्लान् ? उनले प्रश्न गरे । 

‘देश बनाउँछु भनेर संकल्प गरेको मान्छे भ्रष्टाचारमा चुप्लुप्क डुबेको हामीले देखेका छौँ । वडाध्यक्ष समेत हुन्छु भन्ने नसोचेको मान्छे मन्त्री भएको छ, जनताले नछानेको, जनताको बीचबाट नआएको यस्तो फेद न टुप्पोको आकाशबेली जस्तो बतासे सरकारले आफूजस्तै ठानेर पासपोर्ट रोक्का गर्ने, फागुन २१ मा चुनाव गर्ने रे ! देशको मुख्य पार्टीलाई काठमाडौं नछाड्न भनेको छ रे, मलाई कुनै पत्र आएको छैन, निर्वाचनमा आफैँ–आफै मात्रै लड्छौँ कि पार्टी लड्छ ? 

सोही क्रममा उनले आफूलाई ग्रिसको एथेन्समा इसा पूर्व ४७० मा जन्मिएका दार्शनिक सुकरातसँग तुलना गर्न समेत भ्याए । सत्य र न्यायको पक्षमा तर्कसंगत विचार प्रवाह गर्ने दार्शनिकका रूपमा परिचित सुकरातसँग आफूलाई तुलना गर्दै उनले भने, ‘कुनै राजनीतिक तथा सामाजिक अठोट नै नभएका सुकरात त राज्यले लगाएको आरोप सत्य नरहेको प्रमाणित गर्न विषको प्याला पिउन तयार भए भागेनन्, आजको केपी ओली भाग्छ ? मर्न परे यहीँ देशमा मर्छ, के सोच्या यिनीहरूले ? 

को हुन् सुकरात ?

पश्चिमी दर्शनका जनक मानिने सुकरातको जन्म ईसा पूर्व ४७० मा युनानको राजधानी एथेन्समा भएको थियो । उनका बुबा सोफ्रोनिस्कस मूर्तिकार र आमा फेनारेते दाइमी (धाइआमा) थिइन् । सानो उमेरदेखि नै सुकरात असामान्य जिज्ञासु र विचारशील थिए । बुवासँगै उनले मूर्तिकला सिके पनि बिस्तारै आफ्नो जीवनलाई ज्ञान, सत्य र नैतिकताको खोजतर्फ मोडे ।

युवा उमेरमा उनले एथेन्स सेनामा सेवा गरे र युद्धमा असाधारण साहस प्रदर्शन गरे । तर युद्धपछि उनी दार्शनिक अध्ययन र शिक्षणमा समर्पित भए । उनले एथेन्सका सडक र बजारमा सामाजिक परिप्रेक्षबारे तर्कसंगत संवाद गर्दै आम नागरिकबीच सचेतना फैल्याउँथे । तर उनले कुनै पुस्तक लेखेनन्, न विद्यालय नै खोले ।

उनी सडक र बजारमा मानिसहरूसँग संवाद गर्दै तर्क र प्रश्न–उत्तरमार्फत सत्यको खोज गर्थे । उनको त्यो शैलीले मानिसहरूलाई सोच्न र आत्मबोध गर्न प्रेरित गर्थ्यो । यही शैलीलाई पछि ‘सोकरेटिक विधि’ नाम दिइएको बुझिन्छ । 

सुकरातका विचार अनुसार “ज्ञान नै सद्गुण हो” — जसले साँचो ज्ञान प्राप्त गर्छ, उसले गलत काम गर्न सक्दैन । उनले मानिसलाई धन–सम्पत्तिको होइन, सदाचार र आत्मज्ञानको खोज गर्न सल्लाह दिँदै भनेका थिए, “धनले सद्गुण ल्याउँदैन, सद्गुणले धन र सबै कुरा ल्याउँछ ।”

उनी आफ्ना शिष्यहरूसँग निरन्तर संवाद गर्थे, जसमा प्लेटो, जिनोफोन, एन्टिस्थेनेस र एरिस्टिपस जस्ता प्रसिद्ध दार्शनिकहरू थिए ।

सुकरातका विचारहरू सबैलाई रुचेनन् । उनका तर्क र प्रश्नहरूले तत्कालीन सत्ता र धर्मगुरुहरूलाई चुनौती दिएको भान भयो । उनीमाथि युवाहरूलाई पथ भ्रष्ट बनाएको, देशद्रोही भएको र देवताप्रतिको अनादर गरेको आरोपमा मुद्दा चलाइयो । आफूलाई लागेको मुद्दामा उनी स्वयम्ले कुनै गल्ती नगरेको भन्दै आफैँ वकालत गरे– “म सत्य बोल्ने मानिस हुँ, र सत्यका लागि म मर्न पनि तयार छु ।”

अन्तमा उनीमाथि लागेको आरोपमा अदालतले मतदानमार्फत फैसला गर्ने निर्णय गर्‍यो । उनी विरुद्ध २ सय २१ मत खस्यो । २ सय ८० जनाले मतदान गरेकोमा बहुमतले उनलाई दोषी ठहर गर्‍यो ।

अदालतले उनलाई विष पिएर मृत्युवरण गर्न आदेश दियो । मृत्युको दिन उनका शिष्य र मित्रहरूले भाग्न सुझाव दिँदै भाग्ने व्यवस्था मिलाएको बताउँदा पनि सुकरातले ‘म मृत्युदेखि डराउँदिन, अन्यायबाट भाग्नु उचित होइन ।’ भन्दै मृत्यु रोजेको पुस्तकमा उल्लेख छ ।  

सत्य र न्यायप्रतिको अटल विश्वासका साथ उनले ई.पू. ३९९ मा आफ्ना शिष्यको सामुन्ने विष पिएर मृत्यु स्वीकार गरे । 

उनको मृत्यु पश्चात् पश्चतापमा रहेका एथेन्सका नागरिकले आफूहरूको गल्ती स्वीकार गर्दै पछि उनका विचार अनुसरण गरेको प्लोटोको ग्रन्थमा उल्लेख गरिएको छ । 

उनको व्यक्तिगत जीवन भने खासै सुखदायी रहेन । उनकी पत्नी एन्थिपे स्वभावले कर्कश थिइन् । तर पनि उनीहरूको तीन सन्तान भए । एक पटक उनको शिष्यले विवाहबारे प्रश्न गर्दा उनले भनेका थिए, ‘विवाह गर, यदि असल पत्नी पाइछ भने सुखी हुनेछौ, र खराब पाइछ भने म जस्तै दार्शनिक’ । 

सुकरातले कुनै पुस्तक लेखेनन्, किनभने उनले हरेक व्यक्तिमा पृथक् ज्ञान हुने हुँदा संवादबाट नै ज्ञानको सीमा फराकिलो बनाउन सकिनेमा विश्वास राख्थे । 

उनका विचार शिष्यद्वारा मौखिक रूपमा प्रचारित भए । उनको मृत्युपछि उनका शिष्य मध्येका एक प्लेटोले आफ्नो गुरुका शिक्षालाई लेखेर पुस्तकमार्फत संसारभर फैल्याए । 

आज पनि सुकरातका सिद्धान्त र जीवनशैली विश्वभर स्वतन्त्र सोच, नैतिक दर्शन र सत्यको प्रतीकका रूपमा स्मरण गरिन्छ । उनले सिकाएका शिक्षाहरूले मानव सभ्यतालाई विवेक, आत्मसमीक्षा र सत्यको मार्गमा अघि बढाएको विश्वास गरिन्छ ।  

दार्शनिक इतिहासमा सुकरातलाई ‘फादर अफ् वेस्टर्न फिलोसोफर’ का  रूपमा सम्मान गरिन्छ । उनका शिष्य प्लेटो र जेनोफोनले लेखेका ग्रन्थबाट सुकरातका विचार आज पनि अध्ययन र अनुसरण गरिँदै आएको छ । 
 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : ३२ बजे

मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने

काठमाडौं–  निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने

एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु

काठमाडौं– एनसेलले सोमबरबाट नयाँ नम्बर रेन्ञ ९७१ बाट सुरु हुने मोबाइल

समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

रावा बैङ्कको ‘विजनेस मिट’ सम्पन्न

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा

‘नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ’ 

वीरगञ्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नारायणी अस्पतालको