के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन | Khabarhub Khabarhub

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन



काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले शनिबार ढिँडो पकाएर खाएको भिडियो भाइरल भएपछि विवादमा परेका छन् । मन्त्रीको शपथ खाएपछि मन्त्रालयमै डेरा जमाएर बसेका शिक्षामन्त्रीले मास्टर सेफले जसरी ढिँडो पकाउने विधि सिकाएका छन् ।

उनले भनेका छन्, ‘ल अब ढिँडो मस्काउन पर्दैछ । यो ढिँडो पकाउने दाबिलो (पन्यू) भन्छौँ हामी । यो त्यति ठिक छैन, यसो काम चलाउ यहाँ भइरहेको छ । ढिँडो पाक्छ अब, ढिँडो पाकिसक्न लाग्यो । हेर्नुस् यी । ढिँडो पकाउने चिज होइन (दाबिलो देखाउँदै) यो अलि लामो चाहिन्थ्यो । त्यही पनि काम चलाउ भइरहेको छ । हेर्नुस् हजुर ढिँडो पकाएको हेर्नुस् ।’

स्टन्टले देश चल्दैन भन्नेले झनै ठूलो स्टन्ट देखाउने तरखरमा शिक्षामन्त्री देखिन्छन् । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पहिलेपनि हास्यास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गर्थे । तर, यतिबेलाको समय फरक हो । उनी सरकारमा छन् । जवाफ दिने ठाँउमा छन् ।

शिक्षा मन्त्रीको ढिँडो बनाएको भिडियोमा शिक्षक विश्वरसिंह मेवाहाङ लेख्छन्, ‘जब शिक्षामन्त्रीले ढिँडो बनाएर खाको समाचारले मिडियामा प्राथमिकता पाउँछ भने नेपाल शिक्षित हुन अझै ५० वर्ष लाग्ने देखियो । उहाँ शिक्षामन्त्री भएपश्चात् शिक्षा सुधारको काम के के गर्नु भो भन्ने बहस हाम्रो मिडियामा कति भयो ?’

‘शिक्षामा गर्न सकिने काम के के हुन् भन्नेबारे मिडियाकर्मीहरुलाई कति थाहा छ ? नेपाली शिक्षाको वर्तमान अवस्था कहाँ छ भनेर शिक्षामन्त्रीलाई कुन मिडियाकर्मीले प्रश्न सोध्यो ?’ उनले लेखेका छन्, ‘शिक्षामन्त्रीले कट्टु लगाएको, चप्पल लगाएको, भात पकाएको, ट्वाइलेट गएकोजस्ता अनावश्यक कुराहरुको पछि पछि लाग्ने मिडियाहरु नेपाली शिक्षाको लागि आतंककारी नै हुन् । यी आतंककारीहरुबाट शिक्षामन्त्री बाँच्न सक्नुभएन भने उहाँले अहिलेसम्म कमाएको इमान जमान समाप्त हुनेछ ।’

विश्वर सिंह नेपालको शिक्षा नीतिको बारेमा विभिन्न भिडियो बनाएर सञ्जालमा पोस्ट गरिरहन्छन् । शिक्षा प्रणाली सुधारमा उनी आफ्नो तर्फबाट बोल्दै आएका छन् । उनले शिक्षामन्त्रीलाई असफल नहुनको लागि मार्गनिर्देशन गरेका छन् । मिडियालाई आफ्नो धर्म निभाउन अनुरोध गरेका छन् ।

तर, शिक्षामन्त्रीले हिजोकै शैलीमा जवाफ फर्काएका छन् । उनले भनेका छन्, ‘ए, आफैँ ढिँडो पकाएर नखाने,चप्पल नलगाउने र कट्टु नलगाउने तिम्रा बा र बाका दोस्तहरुका शिक्षामन्त्रीहरुले विगत ३६ वर्षमा के के नै गरे त झोलु भाई ? प्रष्टसँग भन्नुपर्दा शिक्षालाई राजनीतिकरण गरे जस्ले गर्दा शिक्षा क्षेत्र अपाङ्ग भयो ।’

शिक्षामन्त्रीको दृश्यलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता रियल एनालाइसिस तेज लेख्छन्, ‘विश्वमा अरु देशका मन्त्री स्पेसमा भएका नयाँ–नयाँ अन्वेषण खोज अनुसन्धान गरेका भिडियो हाल्छन् । हाम्रो तिरका मुलाहरु कोहि ढिडो पकाएका कोहि मसानघाटमा वाइफाइ चलाएका कोहि विमान्स्थलमा लाइन कुरेका भिडियो हाल्छन् । अनि यसलाई हामीले उपलब्धि सम्झेर दिन कटाउन परेको छ । यस्तो लेख्यो भने फेरि विरोधीको बिल्ला भिर्न पर्छ ।’

त्यसैगरी तेजनाथ अधिकारी लेख्छन्, ‘थुक्क हाम्रो अभाग, देशमा विकराल समस्या कति छन् कति, शिक्षा क्षेत्रका समस्या भनी साध्य छैन । एउटा आशलाग्दो शिक्षामन्त्री पायौँ भनेर सुरुमा त गर्व नै गरियो तर सिन्को नभाच्ने मन्त्री पाइएछ । केबल स्टण्डका लागि आफ्नो बेड देखाउने, ढिँडो मस्काको देखाउने, यस्ताबाट के आश पो गर्नु र !’

मन्त्रीको शपथ लिएपछि महावीरले सरकारी कामबाहेक अन्य अवस्थामा सवारी र सुरक्षा नलिने घोषणा गरेका थिए । दशैं मनाउन घर गएका उनी बिहान मन्त्रालयबाट निस्केर जहाजबाट पोखरा हुँदै पोखराको नदीपुरस्थित घर पुगेका थिए । त्यसैगरी पोखराको सडक गल्लीमा चप्पल र हाफ पाइन्टमा हिँडेको देख्न सकिन्छ । साथै, उनले सार्वजनिक बसमा उभिएर यात्रा गरेका थिए ।

उनको तौरतरिकालाई लिएर सकरात्मक तथा नकरात्मक टिकाटिप्पणी हुँदै आएको छ । शिक्षाविद् डा. विद्यानाथ कोइरालाको भने शिक्षामन्त्रीको विषयलाई लिएर फरक विचार छ । शिक्षामन्त्रीको व्यक्तिगत क्रियाकलाप मिडियाले सम्प्रेषण गर्नु अलोकतान्त्रिक अभ्यास भएको उनले बताए ।

खबरहबसँग कुरा गर्दै उनले भने, ‘उहाँले ढिँडो खानुभयो, चप्पल लाउनुभयो र कट्टु लाउनुभयो,जस्ता कुरा पत्रकारले सोध्ने होइन । त्यो व्यक्तिगत कुरा हो । मिडियाले वास्तै नगर्नुपर्ने विषय हो ।’

‘उहाँको दक्षता शिक्षामा होइन, प्रविधिमा हो । त्यसकारण प्रविधिमा उहाँको क्षमतालाई कसरी प्रयोग गर्ने ? अहिलेको केटाकेटीलाई मोबाइलमा दिनहुँ नयाँ–नयाँ ज्ञान हेर्न सकिने कसरी बनाउने ?’ कोइराला थप्छन्, ‘शिक्षकहरुलाई प्रविधिमैत्री कसरी बनाउने ? नयाँ पुस्तालाई पुराना पुस्तासँग कसरी जोड्ने ? जस्ता कुरामा ध्यान दिएर काम गर्ने हो भने उहाँको राम्रो योगदान रहन्छ ।’

त्यसैगरी, शिक्षाविद् कोइरालाले शिक्षामन्त्री महावीरको इमान्दारीमाथि कुनै शंका नभएको बताउँछन् । उनी भन्छन्, ‘एक्लै पैसा जम्मा पारेर आफ्नै किताब बेचेर देश निर्माण गर्छु भन्ने मान्छे हुन् । नचाहिने हिलो छ्याप्ने र ट्रोल हुने काममा मिडियाले प्रयोग गरेको छ ।’

‘अर्को इमान्दार पाटो भनेको उहाँले मैले शिक्षा बुझेको छैन भनेर विज्ञहरुसँग सोधिराख्नुहुन्छ । विज्ञहरुकै सरसल्लाहमा शिक्षा नीति व्यवस्थित गर्न सक्ने कुरा हो । दशवटा विचारमा दुईवटा विचार उत्कृष्ट भएमात्रै पनि देशलाई न्याय हुन्छ, उनले भने ।
को हुन् महावीर ?

महावीर वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिएका हुन् । छोरा पढाउनकै लागि उनका बुवा चितवन बसाइँ सरे । चितवनबाट उनको १२ कक्षासम्म अध्ययन गरे । आर्थिक अवस्था कमजोर भएका कारण उनले स्नातक तहको अध्ययनलाई निरन्तरता दिन सकेनन् । विभिन्न विद्यालयमा गरी उनले १३ वर्ष शिक्षण गरे ।

त्यसै सिलसिलामा महावीरले अमेरिका लगायत युरोपमा छात्रवृत्तिको लागि आवेदन दिइरहन्थे । ३३ वर्षको उमेरमा उनले अमेरिकामा आंशिक छात्रवृत्ति पाए । उनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका छन् । अमेरिकामै पढेर उनी उतै बसेनन् ।

नेपालमै केही गर्नुपर्छ भनेर फर्किए । ग्रामीण गरिबी हटाउने अभियानमा उनी जुटे । गाउँमा माछा पाल्ने, कृषि गर्ने, पर्यटकहरुको सेवामा जुट्ने लगायत सम्भव भएजति आर्थिक उपार्जनमा गाउँलेहरुलाई जोड्ने कोसिस गरे । त्यसकारण पनि उनी भूइँमान्छेको रुपमा चिनिए ।

वायरलेस प्रविधिद्धारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट विस्तार अभियान थाले । जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेको छ ।

उनले सन् २००७ मा रामोन म्याग्सेसे पुरस्कार पाएका थिए । साथै, नेपाल सरकारले उनलाई २०७९ सालमा एक करोड रुपैयाँ राशीको भवन कीर्ति रत्न पुरस्कारबाट सम्मान गरेको थियो । नवप्रवर्तनका अभियन्ता भनेर चिनिने अध्येता पुनले आफ्नो आत्मकथा ‘महावीर पुन’ पनि लेखेका छन् ।

नागरिक तहले किताब किनरै उनलाई सहयोग गर्दै आएका छन् । ‘साधारण जीवनशैली तर उच्च विचार’ नै महावीरको नागरिक तहमा स्थापित चिनारी हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ४४ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र