जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक | Khabarhub Khabarhub

टिप्पणी

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक



काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको ‘विद्रोह’का कारण त्यसबेलाको सरकार नै ढल्यो । यो आन्दोलनका क्रममा भएको विध्वंश र आगजनीले सम्पूर्ण राज्यसत्ता नै कमजोर बन्न पुग्यो ।

जेन–जी पुस्ताका युवाहरूले गरेको उक्त ‘विद्रोह’ अब २ महिना पुगेको छ । तर, बिडम्बना यति लामो समयसम्म देशले कुनै स्पष्ट राजनीतिक निकासको दिशा लिन सकेको छैन । मुलुक थप अनिश्चितको भुमरीमा फस्न पुगेको भन्ने आशंका पैदा भएको छ ।

जेन–जी ‘विद्रोह’ले दुईतिहाइको सरकार ढालेपछि राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ मा निर्वाचन गर्ने सर्तमा सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार बनाए ।

तर, राजनीति समझदारीमा देखिएको समस्या, सरकारको अपूर्णता र शान्ति सुरक्षाको चुनौतीका कारण चुनाव हुन्छ भन्नेमा धेरैले आशंका व्यक्त गरेका छन् ।

यसका साथै, सरकारले जेन–जी ‘विद्रोह’को नयाँ जनादेशका आधारमा नयाँ शन्देश दिनेगरी कामको सुरुवात गर्न पनि सकेको छैन । जसले आम मानिसमा थप निराशा पैदा हुनसक्नेमा पनि धेरैले चिन्ता गरेका छन् ।

‘विद्रोह’लाई संस्थागत गर्न सरकार नै अनुदार

सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत् जेन–जी ‘विद्रोह’ को क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । आन्दोलनमा घाइतेहरूको उपचारमा सहयोग गर्ने व्यवस्था पनि मिलाएको छ ।

तर, जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ मा गरेको ‘विद्रोह’लाई संस्थागत गर्ने विषयमा सरकार नै अनुदार भएको देखिन्छ । भदौ २३ र २४ को ‘आन्दोलन वा घट्ना’लाई ‘विद्रोह’ भन्ने वा ‘आन्दोलन’ भन्ने वा ‘षडयन्त्रमूलक आपराधिक गतिविधि’ भन्नेमा दलहरूबीच चर्को मत भिन्नता छ ।

तर, त्यही विद्रोहको आधारमा बनेको सरकारले इतिहासमा लिपिबद्ध गर्न सम्बन्धित पक्षसँग आवश्यक सम्झौता गराउने र त्यसलाई दस्ताबेजीकरण गर्नेतर्फ इच्छा नगरेको देखिन्छ ।

जसका लागि आवश्यक आवश्यक वातावरण तयार गर्ने दिशामा सरकारका गतिविध लक्षित भइरहेका छैनन् । जसले गर्दा सम्भवतः नेपालको इतिहासमा नै सबैभन्दा छोटो समयमा ठूलो क्षति भएर सत्ता विप्लव भएको ‘विद्रोह’ इतिहासमा लिपिबद्ध नहुने सम्भावना देखिएको छ ।

‘जेन–जी विद्रोह’लाई संस्थागत गर्ने विषयमा सरकारकै अनुदारका कारण केही राजनीतिक दल र विभिन्न पक्षहरूले ‘आपराधिक घटना’को रूपमा चित्रित गर्ने सम्भावना बढ्न गएको छ ।

निर्वाचन अनिश्चित

जेन–जी ‘विद्रोह’पश्चात सुशीला कार्की नेतृत्वको सरकारले पाएको मुख्य म्यान्डेट आगामी फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने हो । तर, फागुन २१ मा निर्वाचन हुन्छ भन्ने कुरामा मुख्य दलहरू ढुक्क छैनन् ।

नेकपा एमालेले केन्द्रीय समितिको बैठकबाट पारित गरेको दस्तावेजमा नै निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ । नेपाली कांग्रेसका केही नेताहरूले पनि अहिलेको परिस्थितिमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।

जेन–जी ‘विद्रोह’को क्रममा प्रहरीबाट लुटिएका हजारौँ थान गोली र सयौं थान हतियार अझै फिर्ता भएका छैनन् । साथै, ‘विद्रोह’को क्रममा भागेका हजारौँ कैदीलाई पनि दुई महिना लामो अवधिसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।

हराएका हतियार र भागेका कैदीको कारण आगामी चुनाव शान्तिपूर्ण हुन्छ भन्ने विषयमा सबैपक्ष ढुक्क हुने अवस्था नबनेको देखिन्छ । त्यही विषयलाई लिएर गृहमन्त्री ओमप्रकाश अर्यालले नै राजनीतिक दलले हराएका हतियार र भागेका कैदी प्रयोग नगर्ने स्वघोषणा गर्नुपर्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएका छन् । जसले सम्भावित जोखिमको आशंकालाई थप बढाउने काम गरेको छ ।

सुशासनको सुरुवातमा सरकार कमजोर

जेन–जी ‘विद्रोह’ पश्चात भदौको २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । संविधानअनुसार प्रधानमन्त्री कार्कीले २५ सदस्यीयसम्म मन्त्रीपरिषद् बनाउन सक्छिन् ।

उनले यो बीचमा २ पटकसम्म मन्त्रिपरिषद् विस्तार गरिन् । तर, अहिलेसम्म उनले जम्मा १० सदस्यीय मात्रै मन्त्रिपरिषद् बनेको छ । जसले गर्दा देश र जनतासँग जोडिएका आधारभूत र अत्यावशकीय काम गर्ने मन्त्रालय खाली हुन पुगेका छन् ।

सामाजिक सञ्जालविरुद्धको विषयलाई लिएर सुरु भएको भए तापनि सामाजिक सञ्जालमा जेन–जी पुस्ताको क्याम्पिङ भ्रष्टाचारविरुद्धमा र सुशासनको पक्षमा बढी देखिएको थियो ।

तर, त्यही जेन–जी ‘विद्रोह’को आधारमा बनेको सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीले भने सरकार निर्माण भएको दुई महिना पुग्न लाग्दासमेत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

सरकार बनेको ६० दिनभित्र सार्वजनिक गर्ने प्रचलन रहेको त्यो प्रचलनलाई वर्तमान सरकारले पनि ६० दिन नै पर्खिरहेको हो वा होइन त्यो हेर्न नै बाँकी छ ।

मन्त्रिपरिषद्का सदस्यले आफ्नो सम्पत्ति सार्वजनिक गर्ने अभ्यास ०४६ सालको आन्दोलनपछि बनेको सरकारले सुरुवात भएको हो । तर, विगतमा केपी ओली नेतृत्व लगायत केही सरकारले त्यो अभ्यासलाई उल्लंघन गर्ने काम पनि गरेका छन् ।

सुशीला कार्कीले ‘विद्रोह’ पछि सरकारको नेतृत्व गरेपछि अहिले उनले विगतमा दिएको एउटा अन्र्तवार्ताको अंश सामाजिक सञ्जालमा निकै भाइरल बनेको छ ।

जुन अन्तर्वार्तामा उनले प्रधानमन्त्रीले चाहेको अवस्थामा ५ दिनमा नै भ्रष्टाचार नियन्त्र गर्न सकिने बताएकी थिइन् ।

तर, कार्की नेतृत्वको सरकारले नेपाली राजनीतिमा सबैभन्दा जटिल रूपमा झाँगिएको भ्रष्टाचारको अनुसन्धान र न्यूनीकरण गर्ने विषयमा कुनै स्पष्ट कदमसमेत चाल्न सकेकी छैनन् । जसले उनको सुशासनप्रतिको प्रतिबद्धतामा प्रश्न गर्ने ठाउँ पैदा गरेको छ ।

त्यतिमात्रै नभएर उर्जा सहित ३ वटा मन्त्रालयको नेतृत्व सम्हालेका कुलमान घिसिङले मन्त्रिपरिषद्बाटै निर्णय गराएर नेपाल विद्युत् प्राधिकरणको नेतृत्व परिवर्तन गर्ने काम गरे ।

उनले विगतमा आफूसँग टकराएका कतिपय कर्मचारीको जिम्मेवारी नै हेरफेर गर्ने काम गरे । जुन विषयले सरकारको प्रतिषोधपूर्ण व्यवहार भएको भनेर सामाजिक सञ्जालसम्म आलोचना पनि भएको छ । तर, कार्कीले सो विषयमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।

जेन–जीमै विभाजन

परम्परागत राजनीतिक शक्तिमाथि औँला ठड्याउँदै राज्यसत्तामा उलटफेर गर्न सफल जेन–जी विद्राहमार्फत स्थापित भएका युवाहरू विभाजित बन्न पुगेका छन् ।

जेन–जी ‘विद्रोह’पूर्व सामाजिक सञ्जालमा भएको क्याम्पिङमा चर्चामा रहेका मिराज ढुंगानाले छुट्टै दल दर्ता गर्ने प्रक्रिया अगाडि बढाएका छन् । अर्की स्थापित जेन–जी नेतृत्व रक्षा बमले छुट्टै जेन–जी समूहको निर्माण गरेकी छन् । अन्य विभिन्न नामका जेन–जी संगठनहरू पनि धमाधम घोषणा गरिरहेका छन् ।

समग्र राजनीतिक दृष्टिकोणमा उनीहरूबीच मतैक्यको अभाव देखिएको छ । यसका साथै, उनीहरूमा समन्वयकारी भूमिका र सबैलाई स्वीकार्ने क्षमताको अभाव देखिँदा यतिबेला आधा दर्जन बढी जेन–जी संगठनहरू एकैपटक अस्तित्वमा आउने प्रयत्न गरेका छन् । जसले गर्दा जेन–जी ‘विद्रोह’लाई संस्थागत गर्ने विषयमा समस्या छ ।

जेन–जी विरुद्धमा एमाले

०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा मत हासिल गरेको नेकपा एमालेले जेन–जी ‘विद्रोह’लाई एउटा षडयन्त्रमूलक घट्नाका रूपमा चित्रित गर्न खोजेको छ ।

उसले पार्टीको औपचारिक बैठकमार्फत् नै प्रतिनिधिसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ ।

यसका साथै एमालेले संसद पुर्नस्थापनालाई आफ्नो मुख्य कार्यसूचीको रूपमा अगाडि सारेको छ । फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुन नसक्ने निष्कर्ष पनि निकालेको छ ।

अर्कातिर एमालेले जेन-जी विद्रोहले राजनीतिक दलमा माग गरेको नेतृत्वको पुस्तान्तरणलाई पनि अस्वीकार गरिदिएको छ । शुक्रबार एमालेको बुद्धिजीवी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीले मंसिरमा गर्ने महाधिवेशनमा पनि आफूले मात्रै विचार राख्ने र उक्त विचारमाथि पनि छलफल गर्न नपाइने बताए । जसले आगामी दिनमा एमाले वर्तमान स्वरूप र विचारमा नै निरन्तर अगाडि बढ्ने स्पष्ट पारेको छ ।

मुलुककै ठूलो पार्टी एमाले र सरकारबीच तनाव बढ्दा पनि त्यसले राष्ट्रिय राजनीतिलाई असान्त बनाउन पुगेको देखिन्छ ।

जेन–जीबारे कांग्रेस अझै विचारविहीन

जेन–जी ‘विद्रोह’मार्फत् सत्ताच्युत भएपछि कांग्रेस पार्टी आन्तरिक किचलोमा गहिरोगरी फस्दै गएको छ । पार्टीमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा लगायतको समूहले नेतृत्व हस्तान्तरणको चर्चा गर्दै नियमित वा विशेष महाधिवेशन माग गरेपछि नेतृत्व विभाजित बन्न पुगेका छन् ।

विशेषगरी शेरबहादुर निकट रहँदै आएका नेतृत्व समूह, गगन थापाको नेतृत्व समूह र डा. शेखर कोइरालानिकट नेतृत्व समूहबीच आगामी पार्टी कसरी नियन्त्रणमा लिने भन्ने होडबाजी चलेको देखिन्छ । जसका कारणले कांग्रेशले अहिलेसम्म जेन–जी ‘व्रिदोह’ र ‘विद्रोह’ले उठान गरेका मुद्दालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा स्पष्ट धारणा बनाएको छैन ।

विगतका विभिन्न आन्दोलन र ती आन्दोलनपछिको व्यवस्थापनमा महत्वपूर्ण एवम् निर्णायक भूमिका निर्वाह गरेको नेपाली कांग्रेस यतिबेला आन्तरिक समस्यामा फस्दा राजनीतिक समझदारीमा समस्या भएको देखिन्छ । आगामी दिनमा नेपाली कांग्रेसले कसरी र कस्तो निर्णय गर्छ भन्ने कुराले देशको आगामी राजनीतिक निकासमा सकारात्मक वा नकारात्मक प्रभाव पर्ने देखिन्छ ?

जेन–जी विद्रोह भन्ने माओवादीसहितका दल पनि चारतिर

जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको ‘विद्रोह’लाई तत्कालीन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विद्रोह’का रूपमा टिप्पणी गरेका थिए । यद्यपि, माओवादी अहिले नेकपा (एकीकृत समाजवाद) सहित विभिन्न आधा दर्जन बढी दलहरूसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी भइसकेको छ ।

अहिले एक भएका ती माओवादी र नेकपा एकीकृत समाजवादीले झण्डै एकै स्वरमा आगामी फागुन २१ गते निर्वाचन हुनुपर्ने धारणा पनि सार्वजनिक गरेका थिए ।

त्यस्तै, चौथो ठूलो दल रास्वपाले पनि जेन–जी आन्दोलनलाई विशेषगरी एमालेको तुलनामा सकारात्मक ढंगले संश्लेषण गरेको छ । उक्त पार्टीले आगामी फागुन २१ गते निर्वाचन हुनुपर्ने भन्दै चितवनमा बसेको केन्द्रीय समितिको बैठकबाट निर्णय नै गरेको छ ।

जेन–जी ‘विद्रोह’पछि राप्रपा गुटहरूमा विभाजित भइरहेको छ भने डा. सीके राउतको पार्टी पनि अनौपचारिक रूपमा विभाजित जस्तै बन्न पुगेको छ । त्यस्तै, रेशम चौधरीले आफ्नै नेतृत्वमा नयाँ पार्टी निर्माण गरेका छन् । पछिल्लो समयमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रभावकारी उपस्थिति देखाउन सकेको देखिँदैन ।

जसले गर्दा कांग्रेस–एमालेबाहेक दलले पनि राष्ट्रिय परिस्थितिको विषयमा समान धारणा र सहकार्य गर्न सकेको देखिँदैन । उनीहरूबीचमा एकअर्कालाई अस्वीकार गर्ने र आफ्नो मात्रै नेतृत्व कसरी स्थापित गर्न सकिन्छ भन्ने दाउमा चलिरहेको छ । जसले पनि राष्ट्रिय राजनीतिक परिस्थितिमा निर्माण भएको अनिश्चिततालाई थप टेवा दिएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ५ : ५१ बजे

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

युवा तथा खेलकुद मन्त्रालयमा गुनासो सुनुवाइ कक्ष स्थापना

काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले खेलकुद क्षेत्रसँग सम्बन्धित नागरिकका गुनासोहरू सुन्न

जेन-जी आन्दोलनका घाइतेलाई परिचयपत्र दिइने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई परिचयपत्र