कालिकोट– देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविच्छिन्न बगिरहेको छ । तर करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् ।
गाउँ आउन केही वर्ष अगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो । यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै ठोकिने भीर आइपुग्छ । भीरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली लाग्छ ।
तिलगुफा नगरपालिका– २ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्ष अगाडि अकालमा झण्डै ज्यान गुमाउनुपरेको थियो । चामलको बोरा बोकेर भीरमा उक्लिँदै गर्दा उनी चिप्लिएर भीरमै अड्किएका थिए । गाउँले मिलेर उनको उद्धार गरे ।
उनले त्यो दिनको त्रासदी सम्झिदै भने, ‘चामलको बोरा लिएर साँझमा घर आउँदै थिए । आधाआधि भीरमा पुगेपछि चिप्लिए छु । झण्डै तिलानदीमा पुगेको । धन्न भीरमै अड्किएछु । भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन् । टाउकामा चोट लागेछ । नेपालगञ्जमा गएर उपचार गर्दा सात लाख सकियो ।’
भीरको पुछारबाट माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ । यो भीरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे, पानी लिनजाँदा कति गाग्रा गाग्री गुल्टे देवारतोलीवासी सम्झन चाहँदैनन् । पछिल्लो समय गाउँलेले भीरको नाम नै ‘चन्द्रेभीर’ राखिदिएका छन् । तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा–१ ढाटाक्किवासी अहिले पनि यही भीर माथिका जङ्गलमा घाँस दाउरा लिन आउँछन् ।
भीर सकिने बित्तिकै केही समथरको जङ्गलमा सल्ला प्रजाति रहेको छ । जङ्गल सकिएपछि गाउँ आउन पुनः उकालो लाग्नुपर्छ । यही उकालोकै बीचमा सीमसार क्षेत्रमा पानीको सानो मुहान छ । पानी सङ्कलन गर्न ट्याङ्की बनाइएको छ । महिलालाई गाउँका पुछारमा रहेको ट्याङ्कीबाट पानी भर्न घण्टौँ लाग्दथ्यो । यत्तिकै सयम पानी लिएर घर आउँदा व्यतीत हुन्थ्यो । यहाँका स्थानीयवासी हिउँदका समयमा मूल सुक्दा तिला नदीमा नै जान्थे ।
देवारतोलीकी ६८ वर्षीया सानी विकले कष्टकर ती दिन सम्झिदै भनिन्, ‘पानी बोकेरै जवानी बित्यो । भीरबाट कति गाग्रा लडे भनिसक्नु छैन । थकान मार्ने र काखे बच्चालाई हेर्ने समय पानी खेप्दैमा सकिन्थ्यो । तिर्खा मेटाउने गरेर पानी पिउन सक्ने अवस्था थिएन । बस्तुभाउलाई त पानी खुवाउन तिलानदीमै लैजानुपर्दथ्यो । सागसब्जी लगाउन त परै जाओस् ।’
पछिल्ला केही दिनयता देवारतोली गाउँका महिलाको दैनिकी परिर्वतन भएको छ । हिजोजस्तो उनीहरु साँझ बिहान नत गाग्री बोकेर हिँड्छन् नत पानी भएन भनेर चिन्तित हुन्छन् । बालबालिका समयमै विद्यालय जान पाएका छन् । आँगनका डिलमुनिका बारिमा खेर गएको पानीबाट सागसब्जी लगाउन थालिएको छ ।
घरका आँगनआँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेका छन् । दलित समुदायको करिब ४५ घरमा करिब ३०० जनसङ्ख्या रहेको यो गाउँमा वर्षौपछि खुसीका दिन आएको हो । उनले भनिन्, ‘आँगनमा धाराबाट पानी झरेको दिन खुसीले रातभर निद्रा लागेन । धारा नै हेरिरहुँ जस्तो भइराखेको छ । बल्ल पानीको चिन्ता हट्यो । अब त सागसब्जी खान पाइने भयो । बस्तुभाउलाई खुवाउन समस्या नहोला । आलु लगाउन पाइएला ।’ उब्जिनीले वर्ष दिन खान नपुगेपछि यहाँका पुरुष कामको खोजीमा अन्यत्र जाने गर्दछन् ।
नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ ले यहाँका गाउँमा ‘एक घर एक धारा’ निर्माणमा सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा यहाँ सो कार्यक्रम सञ्जालित छ । देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिचन्द्र विक गाउँका अब खानेपानीको सङ्कट अन्त्य भएको बताउँछन् ।
समितिका सदस्यसमेत रहेका चन्द्रबहादुरले भने, ‘भीरबाट लडेर पनि बाँच्नु त आँगनमा धाराबाट पानी आएको देख्न पो रहेछ । यसका लागि नगरपालिका र रेडक्रसलाई धन्यवाद दिन्छु ।’ तिलागुफा नगरपालिकाका प्रमुख शङ्करप्रसाद उपाध्यायले देवारतोलीका सबै घरमा ‘एक घर एक धारा’ निर्माण गरेर खानेपानीको पहुँच पुर्याउने आफ्नो ध्येय रहेको र यो ध्येयले सफलता पाएको बताए ।
नेपाल रेडक्रस सोसाइटीका निर्देशक मोना अर्यालले विपन्न समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमलाई रेडक्रसले प्रवर्द्धन गरिराखेको जानकारी दिइन् ।
सोही कार्यक्रमले नगरपालिकासँगको सहकार्यमा तिलागुफा–३ बदमबाडा टोलका ४८ घरमा ‘एक घर, एक धारा’ निर्माण गरेर समुदायलाई हस्तान्तरण गरिसकेको छ । (रासस)













प्रतिक्रिया