काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र नभई सुशासनका लागि तीव्र गतिमा काम गर्ने सरकार भएको बताएकी छन् ।
भ्रष्टाचारविरुद्धको २२औँ अन्तरराष्ट्रिय दिवसका अवसरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले सुशासनको माग राखेर भएको जेन-जी आन्दोलनको जगमा बनेको सरकार भएकाले आफूहरूले नियमित कार्यसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको बताएकी हुन् ।
‘जेन-जीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्न सक्छ तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्’, प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले यस दिशामा चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्ष रुपमा धम्क्याए पनि आफूहरू नडराउने बताइन् ।
सम्बन्धित निकायका पदाधिकारी र राष्ट्रसेवकहरूलाई पनि कति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न पनि प्रधानमन्त्रीले आग्रह गरिन् ।












प्रतिक्रिया