काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल जित्दै इतिहास रचेको जनकपुर बोल्ट्सका लागि दोस्रो संस्करण भने बिल्कुलै उल्टो साबित भएको छ । साविक विजेताको ट्यागसहित मैदानमा उत्रिएको जनकपुर यस पटक लिग चरणमै अड्किँदै अंक तालिकाको पुछारमा सीमित रहन पुग्यो ।
कोर टिम जोगाउँदै केही नयाँ विदेशी स्टार खेलाडी थपेको जनकपुरलाई यस संस्करणमा पनि उपाधिको बलियो दाबेदार मानिएको थियो ।
अमेरिकन विकेटकिपर–ब्याटर लाहिरु मिलान्थाबाहेक सबै विदेशी खेलाडी नयाँ ल्याइए । दक्षिण अफ्रिकाका अनुभवी खेलाडी वायन पार्नेलको आगमनले टिम अझ सन्तुलित बनेको आभास दिएको थियो । तर खेलाडीहरुको सूची बलियो देखिएको जनकपुर मैदानमा भने त्यो प्रभाव देखाउन असफल भयो ।
निराशाजनक प्रदर्शन, प्लेअफ सपना चकनाचुर
जनकपुरले सात खेलमध्ये एक खेल मात्र जित्दै दुई अंकमै सिजन सकायो । साविक विजेता टोली एकैपटक शिखरबाट तल झर्दै तालिकाको पुछारमा सीमित भयो । टिम कम्बिनेसन, कप्तान र खेलाडी परिवर्तन भए पनि नतिजा भने उस्तै रह्यो।
सिजनको शुरुवातदेखि लगातार चार खेलमा हार बेहोरेपछि समर्थकमा निराशा छाएको थियो । जनकपुरले पहिलो खेलमा काठमाडौं गोर्खाज, दोस्रोमा विराटनगर किङ्ग्स, तेस्रोमा पोखरा एभेन्जर्स र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय व्यहोर्यो ।
पाँचौं खेलमा चितवन राइनोजलाई हराउँदै जनकपुरले आशाको झिल्को देखाएको थियो । तर त्यो जित निरन्तरतामा बदलिन सकेन । आइतबार कर्णाली याक्सविरुद्धको अन्तिम खेलमा जित नजिक पुगेर तीन रनले पराजित हुँदै जनकपुरको यात्रा निराशाजनक रूपमा टुंगियो ।
अन्तिम खेल : जित नजिक पुगेर हार
टस जितेर पहिले बलिङ रोजेको जनकपुरले कर्णालीलाई २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै सीमित गर्यो । पिच स्पिनमैत्री देखिएपछि जनकपुरले पेस बलर नै प्रयोग गरेन ।
जवाफमा जनकपुरको सुरुआत कमजोर रह्यो । सात ओभरभित्रै चार विकेट गुमाउँदा टोली दबाबमा आयो । १० ओभरमा ४२–४ को अवस्थामा संगीथ कूरे र सञ्जय कृष्णमुर्तीले ७५ रनको साझेदारी गर्दै खेल फर्काए । सञ्जयले अर्धशतक बनाउँदै अन्तिमसम्म संघर्ष गरे पनि अन्तिम ओभरमा १४ रन आवश्यक हुँदा पहिलो बलमै आउट भए । अन्ततः जनकपुर तीन रनले पराजित भयो ।
कप्तानी र कम्बिनेसनमा अन्योल
यो संस्करणमा जनकपुरको सबैभन्दा ठूलो समस्या कप्तानी र टिम कम्बिनेसनमा देखियो । सुरुआती तीन खेलमा हार बेहोरेपछि कप्तान अनिल साहलाई हटाउँदै वायन पार्नेललाई कप्तानी दिइयो । एनपीएलमा पहिलोपटक विदेशी कप्तान नियुक्त गर्ने जनकपुरको यो निर्णय पनि सफल भएन ।
अनिल साह पाँचौं खेलमा ब्याटरको रूपमा फर्किएर अर्धशतक बनाए । त्यो खेल जनकपुरले जित्यो । कप्तानी दबाब हटेपछि ब्याटिङ सहज भएको उनको प्रतिक्रिया थियो । तर त्यसपछिका खेलमा फेरि उनको ब्याट चल्न सकेन ।
पार्नेल टोलीबाट बाहिरिएपछि यान निकोल लफ्टी इटन कप्तान बने, तर परिणाम फेरि उस्तै रह्यो । सहायक प्रशिक्षक मनोज कटुवालका अनुसार दबाब व्यवस्थापन गर्नका लागि कप्तानीमा परिवर्तन गरिएको थियो । तर बारम्बार कप्तान र टिम संयोजन परिवर्तन हुँदा टोली लयमा आउन सकेन ।
सबैभन्दा धेरै आठ विदेशी खेलाडी अनुबन्ध गरेको जनकपुरले इमरान ताहिरबाहेक नेपाल आएका सबैलाई खेलायो । गत संस्करणका सर्वाधिक रनकर्ता लाहिरु मिलान्था तेस्रो खेलपछि बेन्चमै सीमित भए । राष्ट्रिय टोलीका अनुभवी स्पिनर ललित राजवंशी पनि लगातार तीन खेल बेन्चमै बसे ।
विदेशी र घरेलु खेलाडीको अत्यधिक रोटेशनले टिममा स्थिरता आएन । केही खेलाडी आए–गए, कसैले निरन्तर भूमिका पाउन सकेनन् ।
ब्याटिङ असफलता नै मुख्य कारण
जनकपुरको सबैभन्दा कमजोर पक्ष यस सिजन ब्याटिङ रह्यो । जनकपुरको टप अर्डर चल्न सकेन । आसिफ शेखले पहिलो खेलमा अर्धशतक बनाए पनि सात खेलमा जम्मा १०५ रन मात्र जोड्न सके । अनिल साहले एक खेलमा ६१ रन बनाए पनि बाँकी खेलमा खासै योगदान गर्न सकेनन् ।
ब्याटिङमा मुख्य जिम्मेवारी विदेशी खेलाडीले मात्रै धाने । सञ्जय कृष्णमुर्तीले सात खेलमा दुई अर्धशतकसहित १६७ रन बनाए । माज सदाकतले पाँच खेलमा ११३ रन जोडे भने यान निकोल लफ्टी इटनले सात खेलमा १०८ रन बनाए ।
जनकपुरले जितेको खेलबाहेक कुनै पनि खेलमा १४५ रन पार गर्न सकेन । दुई खेलमा १३० रनभन्दा कम स्कोर बन्यो, जसले दबाब झनै बढाएको थियो ।
साविक विजेता जनकपुर बोल्ट्सका लागि एनपीएल दोस्रो संस्करण बिर्सनलायक रह्यो । धेरै परिवर्तन, कम स्थिरता, कमजोर टप अर्डर ब्याटिङ र असन्तुलित निर्णयले टोलीलाई उपाधिबाट सीधै पुछारसम्म पुर्यायो । च्याम्पियन टोलीका लागि यो असफलता केवल हार मात्र होइन, आगामी सिजनका लागि गहिरो आत्ममूल्याङ्कनको सन्देश पनि हो ।













प्रतिक्रिया