उपाधिदेखि पुछारसम्म : कहाँ चुक्यो जनकपुर ? « Khabarhub

उपाधिदेखि पुछारसम्म : कहाँ चुक्यो जनकपुर ?



काठमाडौं– पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल जित्दै इतिहास रचेको जनकपुर बोल्ट्सका लागि दोस्रो संस्करण भने बिल्कुलै उल्टो साबित भएको छ । साविक विजेताको ट्यागसहित मैदानमा उत्रिएको जनकपुर यस पटक लिग चरणमै अड्किँदै अंक तालिकाको पुछारमा सीमित रहन पुग्यो ।

कोर टिम जोगाउँदै केही नयाँ विदेशी स्टार खेलाडी थपेको जनकपुरलाई यस संस्करणमा पनि उपाधिको बलियो दाबेदार मानिएको थियो ।

अमेरिकन विकेटकिपर–ब्याटर लाहिरु मिलान्थाबाहेक सबै विदेशी खेलाडी नयाँ ल्याइए । दक्षिण अफ्रिकाका अनुभवी खेलाडी वायन पार्नेलको आगमनले टिम अझ सन्तुलित बनेको आभास दिएको थियो । तर खेलाडीहरुको सूची बलियो देखिएको जनकपुर मैदानमा भने त्यो प्रभाव देखाउन असफल भयो ।

निराशाजनक प्रदर्शन, प्लेअफ सपना चकनाचुर

जनकपुरले सात खेलमध्ये एक खेल मात्र जित्दै दुई अंकमै सिजन सकायो । साविक विजेता टोली एकैपटक शिखरबाट तल झर्दै तालिकाको पुछारमा सीमित भयो । टिम कम्बिनेसन, कप्तान र खेलाडी परिवर्तन भए पनि नतिजा भने उस्तै रह्यो।

सिजनको शुरुवातदेखि लगातार चार खेलमा हार बेहोरेपछि समर्थकमा निराशा छाएको थियो । जनकपुरले पहिलो खेलमा काठमाडौं गोर्खाज, दोस्रोमा विराटनगर किङ्ग्स, तेस्रोमा पोखरा एभेन्जर्स र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजय व्यहोर्‍यो ।

पाँचौं खेलमा चितवन राइनोजलाई हराउँदै जनकपुरले आशाको झिल्को देखाएको थियो । तर त्यो जित निरन्तरतामा बदलिन सकेन । आइतबार कर्णाली याक्सविरुद्धको अन्तिम खेलमा जित नजिक पुगेर तीन रनले पराजित हुँदै जनकपुरको यात्रा निराशाजनक रूपमा टुंगियो ।

अन्तिम खेल : जित नजिक पुगेर हार

टस जितेर पहिले बलिङ रोजेको जनकपुरले कर्णालीलाई २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमै सीमित गर्‍यो । पिच स्पिनमैत्री देखिएपछि जनकपुरले पेस बलर नै प्रयोग गरेन ।

जवाफमा जनकपुरको सुरुआत कमजोर रह्यो । सात ओभरभित्रै चार विकेट गुमाउँदा टोली दबाबमा आयो । १० ओभरमा ४२–४ को अवस्थामा संगीथ कूरे र सञ्जय कृष्णमुर्तीले ७५ रनको साझेदारी गर्दै खेल फर्काए । सञ्जयले अर्धशतक बनाउँदै अन्तिमसम्म संघर्ष गरे पनि अन्तिम ओभरमा १४ रन आवश्यक हुँदा पहिलो बलमै आउट भए । अन्ततः जनकपुर तीन रनले पराजित भयो ।

कप्तानी र कम्बिनेसनमा अन्योल

यो संस्करणमा जनकपुरको सबैभन्दा ठूलो समस्या कप्तानी र टिम कम्बिनेसनमा देखियो । सुरुआती तीन खेलमा हार बेहोरेपछि कप्तान अनिल साहलाई हटाउँदै वायन पार्नेललाई कप्तानी दिइयो । एनपीएलमा पहिलोपटक विदेशी कप्तान नियुक्त गर्ने जनकपुरको यो निर्णय पनि सफल भएन ।

अनिल साह पाँचौं खेलमा ब्याटरको रूपमा फर्किएर अर्धशतक बनाए । त्यो खेल जनकपुरले जित्यो । कप्तानी दबाब हटेपछि ब्याटिङ सहज भएको उनको प्रतिक्रिया थियो । तर त्यसपछिका खेलमा फेरि उनको ब्याट चल्न सकेन ।

पार्नेल टोलीबाट बाहिरिएपछि यान निकोल लफ्टी इटन कप्तान बने, तर परिणाम फेरि उस्तै रह्यो । सहायक प्रशिक्षक मनोज कटुवालका अनुसार दबाब व्यवस्थापन गर्नका लागि कप्तानीमा परिवर्तन गरिएको थियो । तर बारम्बार कप्तान र टिम संयोजन परिवर्तन हुँदा टोली लयमा आउन सकेन ।

सबैभन्दा धेरै आठ विदेशी खेलाडी अनुबन्ध गरेको जनकपुरले इमरान ताहिरबाहेक नेपाल आएका सबैलाई खेलायो । गत संस्करणका सर्वाधिक रनकर्ता लाहिरु मिलान्था तेस्रो खेलपछि बेन्चमै सीमित भए । राष्ट्रिय टोलीका अनुभवी स्पिनर ललित राजवंशी पनि लगातार तीन खेल बेन्चमै बसे ।

विदेशी र घरेलु खेलाडीको अत्यधिक रोटेशनले टिममा स्थिरता आएन । केही खेलाडी आए–गए, कसैले निरन्तर भूमिका पाउन सकेनन् ।

ब्याटिङ असफलता नै मुख्य कारण

जनकपुरको सबैभन्दा कमजोर पक्ष यस सिजन ब्याटिङ रह्यो । जनकपुरको टप अर्डर चल्न सकेन । आसिफ शेखले पहिलो खेलमा अर्धशतक बनाए पनि सात खेलमा जम्मा १०५ रन मात्र जोड्न सके । अनिल साहले एक खेलमा ६१ रन बनाए पनि बाँकी खेलमा खासै योगदान गर्न सकेनन् ।

ब्याटिङमा मुख्य जिम्मेवारी विदेशी खेलाडीले मात्रै धाने । सञ्जय कृष्णमुर्तीले सात खेलमा दुई अर्धशतकसहित १६७ रन बनाए । माज सदाकतले पाँच खेलमा ११३ रन जोडे भने यान निकोल लफ्टी इटनले सात खेलमा १०८ रन बनाए ।

जनकपुरले जितेको खेलबाहेक कुनै पनि खेलमा १४५ रन पार गर्न सकेन । दुई खेलमा १३० रनभन्दा कम स्कोर बन्यो, जसले दबाब झनै बढाएको थियो ।

साविक विजेता जनकपुर बोल्ट्सका लागि एनपीएल दोस्रो संस्करण बिर्सनलायक रह्यो । धेरै परिवर्तन, कम स्थिरता, कमजोर टप अर्डर ब्याटिङ र असन्तुलित निर्णयले टोलीलाई उपाधिबाट सीधै पुछारसम्म पुर्‍यायो । च्याम्पियन टोलीका लागि यो असफलता केवल हार मात्र होइन, आगामी सिजनका लागि गहिरो आत्ममूल्याङ्कनको सन्देश पनि हो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : ४९ बजे

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुला रहने

काठमाडौं– सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी

उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल