काठमाडौं- जेन-जी आन्दोलनको उथलपुथलपछि पहिलो पटक गत १९ मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भयो ।
भदौ २३ र २४ को जेन-जी आन्दोलनले उपादेयता सकिएको सन्देश दिए पनि यी दुई नेताले अझै राजनीति नछोड्ने स्पष्ट सन्देश दिइसकेका छन् ।
एमाले अध्यक्ष ओली मंसिर २६ देखि हुन लागेको एघारौँ महाधिवेशनमा तेस्रो पटक अध्यक्ष लड्दैछन् । एमालेको सातौँ महाधिवेशनदेखि नै पार्टी जीवनको लोकतान्त्रिकरणका लागि दुई कार्यकाल र ७० वर्षे उमेर हदको वकालत गर्दै आएका ओली आफू नेतृत्वमा आएपछि ती कुरालाई लत्याउने बाटोमा छन् ।
दशौँ महाधिवेशनसम्म कायम यी दुई प्रावधान हटाएर अहिले ओली तेस्रो कार्यकाल अध्यक्ष हुने दौडमा छन् । उनी आफूलाई यो महाधिवेशनमा चुनौती दिन लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई जसरी पनि ठेगान लगाउने अभियानमा छन् । तर पोखरेलले यस पटक दह्रैसँग खुट्टा टेक्दा दशौँमा भीम रावललाई सजिलै पाखा लगाएका ओलीलाई मुश्किल परेको छ।
जेन-जी आन्दोलनको बलमा भदौ २४ गते सेनाको हेलिकप्टर चढेर भागेका उनै ओली ११ दिनपछि भक्तपुरको गुण्डुमा अवतरित भए । गुण्डु आएपछि लामो सयम २०८१ असार ३१ देखिका सत्ता सहयात्राी देउवालाई भेट्न गएका थिएनन् । ओलीको शासन असफल हुँदा नराम्रोसँग कुटाइ खाएका थिए देउवा र उनकी पत्नी आरजु राणााले । उनीहरू दुवै सिंगापुरमा उपचार गरेर आइसकेका छन् ।
सिंगापुरबाट फर्केदेखि कांग्रेसको राजनीतिमा मात्रै चासो राख्दै आएका देउवालाई अब एकाएक संसदीय राजनीतिको पनि चस्का लागेको छ। देउवा सिंगापुर हुँदै यता विघटित संसद्का प्रमुख सचेतक श्याम घिमिरेले भदौ २७ गते विघटित प्रतिनिधिसभा फर्काउने अभियानका लागि संस्थापनका करिब ४० सांसदहरूको हस्ताक्षर पनि संकलन गरेका थिए ।
उक्त हस्ताक्षर अभियानलाई लिएर इतर पक्षका नेताहरूले आपत्ति जनाए । त्यसपछि कांग्रेसले सबै सांसदहरूको हस्ताक्षर गर्न सकेको थिएन । तर देशको ठूलो दल नेपाली कांग्रेस पनि मंसिर २१ गते प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पुगिसकेको छ ।
उक्त कदम असंवैधानिक भएको ठहरसहित विघटित संसद्मा प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाउँदै सर्वोच्च अदालतमा रिट हाले ।
त्यसअघि नै एमालेले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बनेको अन्तरिम सरकारले गरेको संसद् विघटनविरुद्ध सर्वोच्चमा गइसकेको थियो ।
एमाले सर्वोच्चमा गइसकेपछि अध्यक्ष ओलीले संसद् फर्किएमा आफू फेरि प्रधानमन्त्री नहुने बताइसकेका छन् । यस्तोमा उनले विघटित संसद्को ठूलो दलका नेता देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सम्भावना बलियो छ। ओलीले देउवा सिंगापुर हुँदा र नेपाल आएपछि पनि देउवालाई त्यसका लागि तयार रहन भनेपछि कांग्रेस सर्वोच्च पुगेको हो ।
एमालेले त अझै पनि फागुन २१ मा चुनाव नहुने बताइरहेको छ । उसले त्यसको कारणका रुपमा सरकारले सुरक्षा व्यवस्था बनाउनै नसकेको जिकिर गरिरहेको छ।
जेन-जी आन्दोनका क्रममा सबैभन्दा ठूलो क्षति ब्यहोरेको पनि एमालेले नै हो । उसका करिब २५० नेताहरूको घरमा आगो लगाइयो भने डेढ सयको संख्यामा पार्टी कार्यालय जलाइए । एमालेले च्यासलस्थित केन्द्रीय कार्यालय पुनर्निर्माण गरिसकेको छ भने कांग्रेस सानेपाको कार्यालय बनाउन चन्दा बटुलिरहेको छ ।

सक्रिय हुँदै
ओलीले लगाइदिएको राजनीतिक चस्का कारण देउवा अहिले सक्रिय हुन थालेका छन् । करिब डेढ महिनासम्म कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसमा चर्किएको विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवाद देउवाले हस्तक्षेप गरेर टुंग्याइदिए । अब कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतकै भनाइमा कांग्रेसको महाधिवेशनमा आगामी पुस २७ गतेदेखि २९ गतेसम्म रकेटको स्पिडमा हुने छ ।
ओलीसँगको भेटले प्रधामन्त्री हुने चस्का लागेपछि देउवाले अहिले महाराजगञ्जस्थित भाडाको घरबाट आफू्लाई सक्रिय बनाइरहेका छन् । बूढानीलकण्ठस्थित निजी निवास जेन-जीका नाममा जलाएर ध्वस्त पारिएपछि उनी अहिले महाराजगञ्जमा छन् ।
त्यहीँबाट कांग्रेस र अन्य दलका नेता कार्यकर्तासँग देउवाले संवादलाई बाक्लो बनाइरहेका छन् । मंसिर १९ गते ओली दम्पतीसँग करिब डेढ घण्टा लामो संवाद गरेका उनी अहिले कांग्रेसका नेता-कार्यकर्ताका कुरा सुनिरहेका छन् ।
२०७९ मा डडेल्धुराबाट विजयी भएर पनि प्रधानमन्त्री हुन नपाएका देशकै ठूलो दलका नेता देउवा अहिले फेरि फागुन २१ मा हुने चुनावमा लड्ने तयारीमा छन् ।
उनले महाराजगञ्जस्थित निवासमा आउने नेताहरूसँग अन्तिमपटक डडेल्धुराबाटै चुनाव लड्ने बताइरहेका छन् ।
देउवाले आगामी निर्वाचनमा डडेल्धुराबाटै लड्ने बताइरहेका छन् । कांग्रेसको विधानका कारण दुई कार्यकालभन्दा धेरै सभापति हुन नपाइने भए पनि उनलाई संसदीय राजनीति गर्न भने कानुनले रोक्दैन ।
देउवाले कांग्रेस नेताहरूसँगको भेटका क्रममा आफ्नो जीवनकालमा अन्तिमपटक डडेल्धुराबाटै चुनाव लड्ने जनाउ दिइरहेका छन्।
उनी वि.सं. २०४८ सालबाट डडेल्धुराबाट जितिरहेका नेता हुन् । उनलाई एमाले र माओवादीले चुनौती दिए पनि सजिलै पाखा लगाउने गरेका छन् । २०७९ को चुनावमा स्वतन्त्र युवा सागर ढकालले दिएको चुनौतीलाई पनि उनले सजिलै पन्छाए ।
देउवाले २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र ०७९ मा जितेर प्रतिनिधिसभामा आइसकेका छन् । उनी राजनीतिक जीवनमा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।
डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउदले यसबारे खुलासा गरेका छन् । उनले सभापति देउवाले चुनाव लड्ने इच्छा जाहेर गरेकाले जिल्ला कार्यसमितिबाट उनको नाम सर्वसम्मत माथिल्लो कमिटीमा सिफारिस गर्ने तयारी थालेको बताएका छन् ।
उनले जिल्लाका अन्य नेताहरूसमते लिएर देउवालाई महाराजगञ्जमा भेटेका थिए । उनले राष्ट्रियसभा सदस्य जगतबहादुर पार्की र सुदूरपश्चिम प्रदेशसभा सदस्य ओमविक्रम भाटसँगको भेटमा पनि त्यही आशय व्यक्त गरेका बताइएको छ।
देउवालाई भेटेका नेताहरूले फागुन २१ को चुनाव लड्ने कुरामा इच्छा देखाएपछि जिल्ला कार्यसमितिबाट उनको नाम सिफारिस गर्न लागिएको बताएक छन् ।
देउवाले विभिन्न भ्रातृसंगठनका नेताहरूलाई पनि अन्तिम पटक चुनाव लड्ने बताइरहेका छन् । मंगलबार मात्रै नेविसंघ नेता भुवन भट्टले देउवालाई भेटेका थिए । उनीसँग पनि देउवाले अन्तिम पटक चुनाव लडेर संसद्मा आउने बताएका छन् ।
अहिले कांग्रेस फागुन २१ को चुनावका उम्मेदवारको नाम सिफारिसको क्रममा छ । मोरङ क्षेत्र नम्बर ३ बाट सुनील शर्माको नाम सर्वसम्मत सिफारिस भइसकेको छ । कांग्रेसले मंसिर मसान्तसम्म उम्मेदवारहरूको नाम केन्द्रीय कार्यसमितिमा पठाउन भनिसकेको छ।
कांग्रेसको विधानमा एकजना महिलासहित तीन दाबेदारको नाम निर्वाचन क्षेत्र समितिले माथिल्लो तहमा सिफारिस गर्नुपर्ने उल्लेख छ । निर्वाचन क्षेत्रीय समितिले मंसिर २५ गतेसम्म दाबेदार तीनजनाको नाम प्रदेश कार्यसमितिमा पठाउने छन् ।













प्रतिक्रिया