केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल « Khabarhub

केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल


२३ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक मनोविज्ञान अझै टुटेको छैन । बाहिरबाट हेर्दा यो महाधिवेशन केवल नेतृत्व चयनको संवैधानिक प्रक्रिया जस्तो देखिए पनि भित्री आत्माचाहिँ यसपटक अत्यन्तै भिन्न तरल अवस्थाबाट गुज्रिरहेको छ । अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी मैदानमा छन् । दुवैजनाको उपस्थितिले पार्टीमा ऊर्जा बढाएको होइन, उल्टै एक प्रकारको अनिश्चितता र द्विविधा थपेको छ ।

ओली खेमाले खुलेरै ‘अध्यक्ष फेरि ओली नै’ भन्ने नारा उठाइरहेको छ । तर,  ओली स्वयंमले अझै औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् । यो केवल राजनीतिक रणनीति हो या आन्तरिक गणित आफूतिर तान्ने खेल ? त्यो उनी र उनका निकटस्थ नै जानुन् । तर, कान्तिपुरलाई दिएको अन्तर्वार्तामा उनले जसरी ‘विद्या भण्डारीका उम्मेदवार पराजित हुन्छन्’ भन्दै, ‘म नउठे पनि मेरो समर्थन पाउने साथी ७५ प्रतिशत मत ल्याएर जित्छन्’ भने । त्यसले संकेत गर्‍यो कि ओली नेतृत्वको अडानभन्दा बढी उनीभित्र अर्को समीकरण निर्माण भइरहेको छ ।

उता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भने स्पष्ट बोलिरहेका छन्, ‘अध्यक्षमा सर्वसम्मति मिल्छ, यदि ओलीले हलमै अरू कसैको नाम प्रस्ताव गरे ।’ यो वाक्य केवल निवेदन होइन, पार्टीभित्रै अडिरहेको गहिरो राजनीतिक द्वन्द्वको प्रतिबिम्ब हो । ओली पनि उठ्ने-उठ्ने विमर्शमा छन्, ईश्वर पनि लड्छु कि सहमतिको बाटोमा जान्छु भन्ने दोधारमा । यस्तो भू-राजनीतिक उल्झन् एमालेको इतिहासमा धेरैपटक देखिएको छ । तर, यसपटक उभिएको परिदृश्य भने निकै भिन्न छ ।

राजनीतिक रूपान्तरणको संघारमा उभिएको एमालेलाई न नयाँ विभाजन चाहिएको छ, न अन्तहीन द्वन्द्व । यसबेला पार्टीलाई सम्हाल्न सक्ने, पुनर्जीवन दिन सक्ने, सिद्धान्तलाई कार्यनीतिमा रूपान्तरण गर्न सक्ने,  नेतृत्वको वैचारिक स्पष्टता बोकेको एक नयाँ अनुहार आवश्यक छ  । र, त्यो अनुहारका रुपमा अहिले एमालेमा सबैभन्दा विश्वासिलो ढंगमा उदाइरहेको छन् शंकर पोखरेल ।

ओलीलाई ईश्वरले बुझाउन खोजेको दस्तावेज महासचिव शंकरलाई थमाउन लगाएको दृश्य केवल साधारण औपचारिकता थिएन । त्यो दृश्य राजनीतिक भाषाभित्रको मौन सन्देश थियो, ‘अब पार्टीलाई सम्हाल्न नेतृत्व शंकरले लिनुपर्छ ।’ एमालेको इतिहास धेरैजसो मौन संकेतले नै तय गरेको छ । मदन भण्डारीलाई एमालेको सिद्धान्तीय पहिचानमा बोकिएको भूमिकादेखि लिएर ओलीलाई पहिलोपटक अध्यक्ष बनाउन मद्दत गर्ने भूमिगत निर्वाचनसम्म । अहिले पनि त्यही प्रक्रिया पुनः दोहोरिन थालेको छ । ओली र ईश्वरबीचको द्वन्द्व चर्किदै जाँदा पार्टीभित्र तेस्रो विकल्पको खोजी सुरु हुनु स्वाभाविक हो । र, त्यो तेस्रो विकल्प केवल व्यक्तिको नाम होइन-सिद्धान्त, इतिहास र विश्वसनीयताको नाम हो शंकर पोखरेल ।

ओलीले हालै पार्टीका दुई ठूला नेताबीच उठेको विवादमा शंकरलाई बीचमा राखेर दस्तावेज बुझाउन लगाएको कार्य सन्देशमूलक छ । ऊ माथि कोही छैन भन्ने अहंकार होइन, को-कोसँग सम्बन्ध बनाइराखेर अघि बढ्न सक्छ भन्ने नेतृत्व गुणको परीक्षण हो । शंकरले त्यो परीक्षण पास गरिसकेका छन् । ओलीपश्चात् एमाले कसको हातमा सुरक्षित रहन्छ ? यो प्रश्न अहिले कार्यकर्ताको मात्रै होइन, राष्ट्रको पनि चासोको विषय हो ।

शंकर केवल नेता होइनन्, उनी ‘जसरी बोल्छन्, त्यसरी नै गर्छन्’ श्रेणीका कम्युनिस्ट राजनीतिज्ञ हुन् । उनी मदन भण्डारीको  ‘जनताको बहुदलीय जनवाद’ का सबैभन्दा बलिया व्याख्याता मात्र होइनन्, जबजलाई अहिलेको सान्दर्भिक राजनीतिक कठघरामा उभ्याएर वैज्ञानिक ढंगले अर्थ लगाउन सक्ने केही गन्तीका वैचारिक नेतृत्वमध्ये एक हुन् । एमालेमा धेरै नेता छन्, धेरै ओजिलो भाषण गर्नेहरू छन्, धेरै सङ्गठन सम्हालिसक्ने छन् । तर, विवेक, वैचारिक क्षमता, संगठन सञ्चालन, सरकार सञ्चालनको अनुभव, जनस्तरमा निष्ठा र आफ्नै खेमाभन्दा पार्टीलाई माथि राख्ने निर्भीकता,यी सबै तत्व एउटै व्यक्तिमा भेटिनु दुर्लभ कुरा हो । शंकर त्यही दुर्लभता हुन् ।

आजको एमालेलाई के चाहिएको छ ?

पहिलो : आन्तरिक एकताको सूत्र ।

दोस्रो : प्रतिष्ठासहित पुनर्जीवन ।

तेस्रो : नेता होइन, नेतृत्व  ।

चौथो : दृष्टि, न नीति मात्रै ।

पाँचौँ : विभाजन रोक्ने बाटो ।

यी पाँचै तत्व शंकरसँग छन् ।

ओलीले आफू अध्यक्षमा उठ्ने उठ्ने संकेत दिइराख्नुको मूल मर्म पनि दलभित्र अर्को पुस्ता तयार छ कि छैन भनेर अन्तिम पटक पर्खिने प्रयास हो । ओली भन्छन्- ‘म उठिनँ भने मेरो समर्थन भएको साथी ७५ प्रतिशत मत ल्याएर जित्छ।’ यो वाक्य सुन्दा केवल शक्ति प्रदर्शन जस्तो लागे पनि, राजनीतिका गहिरा तहमा हेर्दा यो एउटा संकेत हो-उनलाई थाहा छ, पार्टीभित्र अब ‘ओलीपछिको नेतृत्व’ को बहस परिपक्व भइसकेको छ । र, त्यो बहसमा स्थिर, सन्तुलित, सक्षम र एमालेको वैचारिक गति बोक्ने एक मात्रै नाम शंकर हो ।

ईश्वरको अडान पनि यिनै कारणहरूले ओलीसँग जुधिरहेको छ । उनी ठान्छन्-ओली उठेनन् भने नेतृत्व आफूले लिनुपर्छ । तर, समस्या नेतृत्वको आकांक्षा हुनु होइन, समस्या हो । त्यो नेतृत्वले दुई खेमालाई जोड्न सक्छ कि सक्दैन ? ईश्वरले संगठन धेरै सम्हालेका छन् । तर, उनी र ओलीबीचको व्यक्तिगत-राजनीतिक इतिहासमा बनेका पढ्दै-उतार्दै आएका द्वन्द्व अझै बाँकी छन् । दुवैजनाले एकअर्कालाई सम्मान गर्छन् । तर,  दुवैजनाको भविष्य भूमिका समान राखेर पार्टीलाई अगाडि लैजाने वातावरण बनेको छैन । शंकर भने दुवैको साझा बिन्दुमा छन् । उनी दुईबीचको तनाव होइन, समाधान बन्न सक्ने क्षमता राख्छन् । राजनीति केवल बल, पावर र मतको गणित होइन, त्यो मनोविज्ञानको खेल पनि हो । शंकरले त्यो मनोविज्ञान बुझ्ने र निष्पक्ष रूपमा व्यवहार गर्ने दुर्लभ क्षमता राख्छन् ।

आज एमालेलाई बाहिरका अरू दलसँग लड्नु छ, भित्रको विभाजनसँग होइन । पार्टीलाई अहिले विश्वासिलो अनुहार, दीर्घकालीन रोडम्याप, वैचारिक पुनर्संस्कार, राजनीतिक परिपक्वता र सहमतिमूलक नेतृत्व आवश्यक छ । शंकरले यो पाँचै कुराको संयोजन बोकेर हिँडिरहेका छन् । उनी ‘ओलीका मान्छे’ भनेर मात्रै चिनिने नेता होइनन्, उनी ‘एमालेका नेता’ हुन् । जब ओली अस्वस्थ भए, शंकरले पार्टीलाई शून्यमा जान दिएनन् । जब पार्टी विवादमा फस्यो, शंकरले सबैलाई समेट्ने भाषामा बोले । जब ओली र ईश्वरबीच दूरी बढ्यो, शंकरले आँटी प्रतिक्रिया होइन, सन्तुलनको भाषामा संवाद गरे । उनी राजनीतिमा ‘शब्द’भन्दा बढी ‘व्यवहार’मा विश्वास गर्ने नेता हुन् ।

एमालेको राजनीतिक आत्मा अहिले थकित छ । शक्तिशाली संगठन भएर पनि अराजकता, ठूला नेता भएर पनि एकता नहुनु, ठूलो इतिहास भएर पनि भविष्य अस्पष्ट देखिनु । यी सबै समस्याको मूल जरा नेतृत्वमा रहेको अविश्वास हो । यस अविश्वास मेट्ने एउटा मात्र उपाय छ,सर्वसम्मत नेतृत्व । र, सर्वसम्मत नेतृत्वका लागि उपयुक्त नाम अहिले एउटा मात्र हो शंकर पोखरेल ।

ओलीले हालै पार्टीका दुई ठूला नेताबीच उठेको विवादमा शंकरलाई बीचमा राखेर दस्तावेज बुझाउन लगाएको कार्य सन्देशमूलक छ । ऊ माथि कोही छैन भन्ने अहंकार होइन, को-कोसँग सम्बन्ध बनाइराखेर अघि बढ्न सक्छ भन्ने नेतृत्व गुणको परीक्षण हो । शंकरले त्यो परीक्षण पास गरिसकेका छन् । ओलीपश्चात् एमाले कसको हातमा सुरक्षित रहन्छ ? यो प्रश्न अहिले कार्यकर्ताको मात्रै होइन, राष्ट्रको पनि चासोको विषय हो । शंकरमा तीन प्रमुख गुण छन्, जसले यस प्रश्नको उत्तर दिन्छन्-एक, अविचल वैचारिक प्रतिबद्धता । दुई, संगठनात्मक परिपक्वता । तीन राजनीतिक संयमता ।

धेरैजसो नेताहरू चुनाव जितेर नेता बन्ने गर्छन्, तर शंकर जस्ता नेता सिद्धान्त, चरित्र र दायराले नेता हुन्छन् । उनी पार्टीभित्र बर्हिगमनको विकल्प होइनन्, उनी ‘पुनर्जागरण’ को विकल्प हुन् । शंकर एमालेलाई फेरि जनताकै पार्टी बनाउने क्षमता राख्छन् । नारा, भाषण र गालीले होइन, नीति, कार्यक्रम र स्थिर नेतृत्वले । उनीबिना ‘ओलीपछिको एमाले’ एकल रेखामा उभिन सक्दैन ।

यही कारणले धेरै कार्यकर्ता अहिले खुला रूपमा नभए पनि मनमनै स्वीकार्दैछन्, ‘अब अध्यक्ष शंकरले लिनुपर्छ ।’

नेता बदल्न सजिलो हुन्छ, तर पार्टीको भविष्य बदल्न निकै कठिन । आज एमालेले यही कठिन तर, ऐतिहासिक मोड लिनुपर्छ । ओली र ईश्वर दुवै राजनीतिमा परिपक्व छन्, अनुभवी छन्, मूल्यवान् छन् । तर, उनीहरू दुईबीच सर्वसम्मति बनाउने, दुवैलाई सम्मान गर्ने, दुवैलाई उपयोगी बनाउने, र दुवैको योगदानलाई ‘अवरोध’ होइन ‘स्रोत’ मा बदल्ने क्षमता अहिलेको एमालेमा केवल शंकरसँग छ । यसकारण, एमालेले यसपटक इतिहासले दिएको अवसर गुमाउनु हुँदैन ।

अध्यक्ष पद केवल शक्तिको कुर्सी होइन,यो आगामी दशकको राजनीतिक दिशानिर्देशन हो । र, त्यो निर्देशन शंकरले दिँदा पार्टी सुरक्षित, सन्तुलित र भविष्यमुखी बन्छ ।

अब प्रश्न एउटै बाँकी छ, एमालेले अबका दिन विवादमा बिताउने कि सर्वसम्मत अध्यक्ष बनाएर एकताको नयाँ अध्याय सुरू गर्ने  ?

यदि पार्टीले एकता चाहेको हो, भविष्य चाहेको हो, वैचारिक स्पिरिट चाहेको हो, जनताको भरोसा फिर्ता ल्याउन चाहेको हो भने उत्तर स्पष्ट छ । शंकर पोखरेल नै एमालेको सर्वसम्मत अध्यक्ष हुनुपर्छ । यही बाटो एकता हो, यही बाटो जीत हो, यही बाटो भविष्य हो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  ७ : २८ बजे

‘जेन-जी सहिद’ का सपना पूरा गर्नु नै सरकारको प्रमुख दायित्व हो : मन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेन-जी सहिद’ योद्धाका अधुरा सपना पूरा

आजका समाचार : कांग्रेसबाट धमाधम उम्मेदवार सिफारिस, एमालेमा तानातान, महाधिवेशनको तयारी तीव्र, सुदूरपश्चिम दोस्रो पटक फाइनलमा र इजरायली आक्रमणमा ६७ पत्रकार मारिए

यातायातसम्बन्धी सर्वोच्चका आदेश कार्यान्वयन गर्न जाँचबुझ आयोगसरकारले यातायात क्षेत्रसम्बन्धी सर्वोच्च

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवको दौडधूप, प्रधानमन्त्रीसहितको उच्च नेतृत्वसँग एकैदिन भेटघाट   

काठमाडौं– भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुन्नु महावरले नेपाल

चीनद्वारा नयाँ उपग्रह ‘याओगान–४७’ प्रक्षेपण

एजेन्सी – चीनले मंगलबार लङ–मार्च–४बी बोक्ने रकेटमार्फत नयाँ उपग्रह ‘याओगान–४७’

केपी-ईश्वर टकरावको विकल्प सर्वसम्मत शंकर पोखरेल

नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै छ । तर, पार्टीभित्रको राजनीतिक