‘कार्साङ’ नायिका सिर्जना : १० वर्ष कलाकारिता, अनि मूलधारमा | Khabarhub Khabarhub

कला

‘कार्साङ’ नायिका सिर्जना : १० वर्ष कलाकारिता, अनि मूलधारमा


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको रजतपटमा लागि नौलो नाम हो– सिर्जना निङ्लेखु ! शुक्रबार (आज)बाट प्रदर्शनमा आएको फिल्म ‘कार्साङ’ निङ्लेखुको डेब्यू फिल्म हो ।

म्यूजिक भिडियोमा भने सिर्जना परिचित अनि स्थापित नाम हुन् । यतिखेर कलाकारिता यात्रामा नयाँ परिचय हासिल गर्ने यात्रामा छिन् । त्यो परिचय हो– नायिका सिर्जना !

कलाकारितामा लागेको दशकपछि उनले चलचित्र ‘कार्साङ’मा अभिनय गरेकी हुन् । जसमा उनी अभिनेता दयाहाङ राईकी जोडीको भूमिकामा छन् ।

आफ्नो कलायात्राबारे सिर्जना भन्छिन्, ‘सिर्जनाले पहिल्यै फिल्ममा दयाको अपोजिटमा काम गर्न पायो भन्ने टिप्पणी सुन्ने गरेकी छु । तर, म कलाकारितामा लागेको १० वर्ष भइसक्यो ।’

गत बुधबार ‘कार्साङ’को प्रिमियर सम्पन्न भयो । प्रिमियरपछि सिनेक्षेत्रका स्थापित नामहरूले सिर्जनाको अभिनयको प्रशंसा गरेका छन् ।

निर्देशक तथा कलाकार दीपाश्री निरौलाले भनिन्, ‘सिर्जनाको अभिनय हेर्दा नवनायिका जस्तो लाग्दैन । अभिनयमा उहाँको भविष्य उज्ज्वल छ ।’

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले थपे, ‘हो ! काम हेर्दा सिर्जनालाई नवनायिकामात्रै मान्न सकिँदैन ।’

यी त सिर्जनाको अभिनय क्षमताबारे केही प्रतिनिधिमूलक प्रतिक्रिया हुन् । फिल्म दर्शकमाझ पुगेको छ । खास प्रतिक्रिया आजबाट आउनेछन् । दर्शकले उनको अभिनय क्षमतालाई कसरी ग्रहण गर्छन्, यो मुख्य कुरा हो ।

उनै सिर्जनाले आफ्नो अभिनय यात्राका उत्तारचढावबारे खबरहबसँग कुराकानी गरेकी छिन् ।

दुई स्थानमा बाल्यकाल

सिर्जनाको घर झापास्थित धरमपुर हो । तर, उनको जन्म भने मामाघर तेह्रथुमको स्याब्लामा भयो ।

सिर्जनाकी आमा एक्लीे छोरी भएकीले विवाहपश्चात् पनि माइतमै बस्नुपर्ने बाध्यता भयो । त्यसैले सिर्जनाको जन्म पनि मामाघर स्याब्लामै भयो ।

सुरुवाती बाल्यकाल स्याब्लामै बित्यो । उनी ११ वर्षको भएपछि मात्रै झापास्थित आफ्नो घरमा बस्न थालिन् ।

बुवा पशु चिकित्सक भएकाले नियमित कमाइ थियो । बाल्यकालमा खासै आर्थिक अभाव भोग्नुपरेन ।

उमेर नखुलाए पनि सिर्जना आफूलाई रेडियो र श्यामश्वेत (ब्लयाक एण्ड ह्वाइट) टेलिभिजनको जमानाको भन्छिन् ।

बाल्यकालमा रेडियो र टेलिभिजन स्मरणबारे उनी भन्छिन्, ‘मलाई सानैदेखि टेलिभिजनमा देखिन रहर थियो, त्यो रहर रहिरह्यो ।’

सन् २०१० मा एसएलसी दिएकी उनी पढाइमा भने आफूलाई मध्यमस्तरकै विद्यार्थी मान्छिन् । स्कूलका प्रायःजसो अतिरिक्त क्रियाकलापमा भाग लिन्थिन् । तर, अग्रस्थानमा खासै आउँदिनथिन् ।

सुनाइन्, ‘म गायन, नृत्य, वादविवाद, वक्तृत्वकला र हाजिरी जवाफ लगायत सबै प्रतिष्पर्धामा भाग लिन्थेँ, तर उत्कृष्ट तीनभित्र भने पर्दिनँथेँ ।’

स्कूलका ती कार्यक्रममा भाग लिँदा उनले हासिल गरेको मुख्य उपलब्धि हो : धेरै मानिसका अघि बोल्ने आत्मविश्वास विकास !

प्रतिष्पर्धाहरूले उनलाई स्कूल पढ्दादेखि नै अरूका अघि बोल्ने आत्मविश्वास दियो । जसलाई उनले आफ्नो लक्ष्य पूरा गर्ने क्रममा प्रयोग गर्न पाइन् ।

रेडियो र टेलिभिजनमा काम

सिर्जनाले सुनाइन्, ‘मेरो सपना र उद्देश्य कहिल्यै परिवर्तन भएन ।’

सिर्जनाको भनाइको अर्थ हो – रेडियोमा बोल्ने र टेलिभिजनमा देखिने बाल्यकालको लक्ष्य पछिसम्म कायम रह्यो ।

सोही लक्ष्य पछ्याउन सिर्जनाले एसएलसी दिएलगत्तै आरजे (रेडियो उद्घोषण) तालिम लिइन् । क्याम्पस पढ्दै गर्दा रेडियो पाथीभरामा जागिर नै गर्न थालिन् ।

भन्छिन्, ‘पहिलो प्रयासमा रेडियोमा जागिर खान पाइनँ । दोस्रो प्रयासमा भने काम पाएँ ।’

रेडियोमा बोल्ने इच्छा साकार पार्न उनले सबैभन्दा पहिले साङ्गीतिक कार्यक्रम चलाइन् । पछि भने ‘फोन इन’ कार्यक्रमसमेत चलाइन् ।

भन्छिन्, ‘मैले चलाएको चर्चित कार्यक्रम जिन्दगीको पाना थियो । यो साङ्गीतिक कार्यक्रम थियो । पछि फोन इन कार्यक्रम पनि चलाएँ ।’

सिर्जनाले रेडियोमा काम गर्दै गर्दा झापामा सन् २०१२ मा हिमशिखर टेलिभिजन खुल्यो । रेडियोमा जम्माजम्मी एक वर्ष काम गरेकी थिइन् । त्यही अनुभव उपयोग गर्दै टेलिभिजनमा फड्को मारिन् । अब उनी टेलिभिजनको स्थापनाकालकै कर्मचारी भइन् ।

टेलिभिजनबाट जुटेको अवसर

सिर्जना टेलिभिजनमा पनि ‘फोन इन’ कार्यक्रम चलाउनै प्रवेश गरेकी थिइन् । तर, एकै कार्यक्रममा मात्र आफू सीमित हुन चाहिनन् ।

पाएको अवसर सदुपयोग गरिन् । फोन इन कार्यक्रमसँगै रोड शोहरू पनि गर्न थालिन् ।

त्यसबेला ‘फोन इन’ र ‘रोड शो’ दर्शकले रुचाउने कार्यक्रममा पर्थे । ती कार्यक्रममा चलाउँदा उनलाई फाइदै भयो ।

‘टेलिभिजनमा अनुहार देखिएपछि मलाई मानिसहरूले चिन्न थाल्नुभयो । स्टेज होस्ट र म्यूजिक भिडियोको अफर आउन लाग्यो,’ सिर्जनाले सुनाइन् ।

टेलिभिजनमा देखिन लागेको केही महिनामै अर्थात् सन् २०१३ मै उनले पहिलोपटक म्यूजिक भिडियो ‘सेप्माङ ओ केदा’मा अभिनय गर्ने अवसर पाइन् । लिम्बू भाषाको गीतमा अभिनय गर्दै सिर्जनाले कलाकारितामा पहिलो पाइला टेकिन् ।

उनलाई टेलिभिजनले म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर मात्रै दिलाएन, स्टेज कार्यक्रम सञ्चालकको काम पनि दिलायो ।

त्यतिबेला टेलिभिजनमा देखिने अनुहारलाई कार्यक्रम होस्ट गराउने लहर थियो । उक्त लहरले उनलाई होस्टिङमा तानेको थियो । सन् २०१४ तिर सिर्जना झापाकै व्यस्त कार्यक्रम होस्ट थिइन् ।

होस्टिङमा यति व्यस्त भइन् कि टेलिभिजनलाई समय दिनै भ्याइनन् । अनि, टेलिभिजनको काम छाडिदिइन् ।

उनको होस्टिङको काम झापाकेन्द्रित थियो । तर, त्यहीको कामले उनलाई विदेशका मञ्चसम्म पुर्‍यायो । सुनाइन्, ‘होस्टिङ गर्न सन् २०१५ मा म सबैभन्दा पहिले दक्षिण कोरिया गएकी हुँ । त्यसपछि बेलायत र यूएई पनि गएँ ।’

होस्टिङसँगै म्यूजिक भिडियो अभिनयको काम पनि छँदै थियो । सन् २०१३ पछिको तीन वर्षमा सिर्जनाले झण्डै दुई दर्जन म्यूजिक भिडियोमा अभिनय गरिन् ।

उनका म्यूजिक भिडियो विशेषतः लिम्बू समुदाय केन्द्रित छन् ।

अभिनय सिक्न काठमाडौं

म्यूजिक भिडियोमा प्रस्ताव बाक्लिन लागेपछि अभिनय सिक्न उनी काठमाडौं आइन् । काठमाडौं आएर उनी ‘एक्टर स्टुडियो’को १८ औं ब्याचकी विद्यार्थी भइन् ।

दुई दर्जन म्यूजिक भिडियो खेलेपछि अभिनय सिक्नुको कारणबारे सिर्जनाले सुनाइन्, ‘प्रस्ताव आइरहेको छ, अब अभिनय नै सिक्नुपर्छ भन्ने भयो ।’

एक्टर स्टूडियोको ‘स्टूडेन्ट प्रोडक्सन’ नाटक ‘कथा देश ३’ मा उनले अभिनयसमेत गरिन् ।

उनी पुनः पूर्व नै फर्किइन् । तर, त्यसपछि प्रस्ताव आए जति सबै म्यूजिक भिडियोमा भने अभिनय नगरेको सिर्जना बताउँछिन् ।

भन्छिन्, ‘अभिनय सिकेपछि काममा अलिक गम्भीर हुनुपर्छ भन्ने चेत आयो । अनि राम्रो प्रोजेक्टमात्रै गर्न थालेँ ।’

६ वर्ष बेलायतमा, अनि फिल्म निर्मात्री

सिर्जना पछिल्ला ६ वर्षयता बेलायतमा बस्दै आएकी छन् । तर, उनी नेपाली कलाकारिता क्षेत्रबाट टाढा भने छैनन् ।

पारिवारिक कारणले बेलायत बस्दै आए पनि उनले म्यूजिक भिडियो अभिनय गरिरहेकी थिइन् ।

भन्छिन्, ‘युकेमा रहँदा व्यवसायिक रूपमा कलाकारिता गर्न पाइनँ, तर वर्षमा एउटा म्यूजिक भिडियो गरेकै हुन्थेँ ।’

त्यहाँ हुने नेपाली सांस्कृतिक कार्यक्रम होस्ट पनि गरेको उनी बताउँछिन् । बेलायत बसाइकै क्रममा उनी ‘जारी’ फिल्मकी निर्मात्रीसमेत बनिन् ।

भन्छिन्, ‘जारी फिल्मका निर्देशक उपेन्द्र सुब्बा हाम्रो साइनोभित्रकै हुनुहुन्छ । उहाँको प्रस्तावमा मैले जारीमा लगानी गरेको हो । म जारी निर्मातामध्ये एक हुँ ।’

बेलायत बसाइ सिर्जनाले गरेको अर्को प्रमुख काम हो – भ्लगिङ ! उनको युट्यूब च्यानलमा साढे दुई लाख सस्क्राइबर छन् ।

भन्छिन्, ‘म ६ वर्ष युके बस्दा पनि सिर्जना यही क्षेत्रमा छ है भनेर मान्छेलाई याद गराउने भ्यागिङ नै हो जस्तो लाग्छ ।’

बिदामा नेपाल आउँदा फिल्म खेल्न प्रस्ताव

सिर्जनालाई ‘कार्साङ’ फिल्ममा प्रस्ताव यस फिल्मका निर्माता तथा छायाकार पुरुषोत्तम प्रधानमार्फत आएको हो ।

फिल्ममा प्रस्ताव आउनुको जस उनी सामाजिक सञ्जाललाई दिन्छिन् । भन्छिन्, ‘म सामाजिक सञ्जालमा सक्रिय नभएको भए वा भ्लग नगरेको भए प्रस्ताव आउने थिएन होला ।’

नेपाल आएको बेला प्रधानले फेसबुकमार्फत फिल्मको प्रस्ताव गरेको उनले सुनाइन् । भनिन्, ‘पुरुषोत्तम दाइ र म फेसबुकमा साथी रहेछौँ । उहाँले मेसेज गर्दै अडिशन दिन बोलाउनुभयो ।’

अडिसन पास भएपछि सिर्जना चलचित्र छायाङ्कनमा सहभागी भइन् । भन्छिन्, ‘म नेपाल भ्लग गर्नका लागि आएकी थिएँ, त्यो काम भएन । तर सानैदेखि फिल्ममा नायिका बन्ने सपना भने पूरा भयो ।’

‘म नयाँ होइन’

सिनेमावृत्तमा सिर्जनाको ‘कार्साङ’मा लगानी छ भन्ने चर्चा छ । यो कुरा धेरै मान्छेबाट सिर्जनाले पनि सुनेकी छिन् ।

भन्छिन्, ‘जारी फिल्ममा लगानी गरेकाले धेरैले यस्तो सोच्नुहुँदो रहेछ । यसमा मेरो लगानी छ भन्ने कुरा सत्य होइन ।’

उनी आफूलाई पहिलो फिल्ममै दयाहाङ राईसँग अभिनय गर्न पाउनुमा भाग्यमानी ठान्छिन् । तर, कला क्षेत्रमा १० वर्षको निरन्तरताले मात्रै यो अवसर पाएको उनको तर्क छ ।

भन्छिन्, ‘मैले धेरै स्थानमा सिर्जना एकैपटक फिल्ममा आयो भन्ने सुनेकी छु । तर यो सत्य होइन । यहाँसम्म आउन कला क्षेत्रमा मेरो १० वर्षको निरन्तरता छ ।’

एक वर्षपछि बेलायत फर्किने सोचले स्वदेश आएकी सिर्जनाको नेपाल बसाइ लम्बिएको छ । यसको एकमात्र कारण फिल्म नै हो ।

सिर्जना भन्छिन्, ‘परिवार उतै भएकाले म फर्कनु त पर्छ, तर फिल्ममा काम पाउने बेलासम्म मेरो बसाइ नेपालमै हुन्छ ।’

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १ : ०९ बजे

प्याब्सनको गैरकानुनी माग : अग्रिम जानकारी नदिई वाणिज्य विभाग अनुगमनमा नआओस्

काठमाडौं– निजी तथा आवासीय विद्यालयको छाता सङ्गठन (प्याब्सन) ले अग्रिम

जलवायु परिवर्तनका असर न्यूनीकरणमा संयुक्त राष्ट्रसंघ सहकार्य गर्न तयार

काठमाडौं– संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रमका प्रतिनिधि मण्डलले उपप्रधानमन्त्री एवम् शहरी

संसदमा गृहमन्त्रीको प्रष्टोक्ति- तीनकुने घटना अपराधकर्म हो, धर्म वा आस्थासँग नजोडौँ 

काठमाडौं– गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको

भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने उपसमिति विवादमा, योगेश र अमरेश नबस्ने, मनिष पनि असन्तुष्ट

काठमाडौं- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न

फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण

लमजुङ– नेपाली महिला फुटबल टोलीकी चर्चित फुटबल खेलाडी सावित्रा भण्डारीको